के सी जिन्पिङको दुनियाँमा अमेरिका रहन सक्छ?

सी ग्राफिक
तस्बिरको क्याप्शन, संसारको सबभन्दा महत्त्वपूर्ण भूराजनीतिक सम्बन्धमा सीको तेस्रो कार्यकालको अर्थ के हुन्छ?
    • Author, जोन सडवर्थ
    • Role, बीबीसी न्यूज

दशकौँ यता चीनका सबभन्दा शक्तिशाली नेताका रूपमा गत साता सी जिन्पिङ विश्वका सञ्चारमाध्यमका प्रतिनिधिसामु - उनको सरकारको विदेशी पत्रकारप्रति बढ्दो अनुदारपनाका कारण भिड अलि पातलो थियो - उपस्थित भए।

उनका पूर्ववर्तीहरू दोस्रो कार्यकालसम्म मात्र सीमित भएको परम्परा तोडिएको थियो। तेस्रो कार्यकालसँगै शायद उनले अनिश्चित् कालसम्मका निम्ति चीनमा आफ्नो शक्ति सुदृढ पारेका छन्।

तर देशभित्र उनको दबदबा बढ्दै गर्दा अन्तर्राष्ट्रिय मञ्चमा भने अवस्था यत्तिको अस्थिर यसअघि देखिएको थिएन।

चीनको निरङ्कुश शासन शैलीलाई कम्युनिस्ट पार्टीका यी नेताले जति कसिलो पारे उति नै उनले विश्वव्यापीकरणको हाम्रो युगका आधारभूत मान्यतालाई चुनौती दिएका छन् - चीन धनी हुँदै जाँदा थप स्वतन्त्र हुन थाल्छ भन्ने।

त्यही मान्यताका कारण वाशिङ्टन र बेइजिङबीच दशकौँसम्म व्यापार र सम्पर्क विस्तार भयो।

यसै मान्यतामा आधारित भएको आर्थिक साझेदारीका कारण प्रत्येक वर्ष ५ खर्ब डलर बराबरका सामग्रीले प्रशान्त महासागर वारपार गरे।

सीले तेस्रो कार्यकाल सुरु गर्दै गर्दा अमेरिकासँग व्यापार युद्ध जारी छ भने अमेरिकाको चीप निर्माणसम्बन्धी उच्चस्तरको प्रविधिमा चिनियाँ पहुँचमा ताजा अङ्कुश लगाइएको छ। कतिपय विश्लेषकहरू ठान्छन् यी कदम चीनको वृद्धिलाई 'जुनसुकै मूल्यमा' ढिलो गराइदिने मनसायले प्रेरित छन्।

बेइजिङ भन्छ सम्बन्धमा आएका चिसोपना विश्वमा सर्वशक्तिमान श्रेणीमा रहिरहने अमेरिकी चाहनाका कारण आएको हो।

राष्ट्रपति जो बाइडनले हालै सार्वजनिक गरेको राष्ट्रिय सुरक्षा रणनीतिले विद्यमान विश्व व्यवस्थाका निम्ति चीनलाई रुसभन्दा ठूलो खतरा मानेको छ। साथै वाशिङ्टनले प्रजातान्त्रिक ताइवानमा चिनियाँ अतिक्रमणको जोखिमलाई सुदूर सम्भावनाको साटो बढ्दो रूपमा यथार्थपरक मान्न थालेको छ।

एकअर्कालाई आर्थिक भरथेग गर्ने विषयले अन्तत: एक स्थापित महाशक्ति र अर्को उदाउँदो महाशक्तिबीच सैद्धान्तिक भिन्नता तथा तनाव मत्थर पार्ने भनेर विगतमा अमेरिकी र चिनियाँ नेताहरूले गर्ने गरेका घोषणाभन्दा अहिले स्थिति धेरै बदलिएको छ।

यहाँसम्म अवस्था कसरी आइपुग्यो?

'स्वतन्त्रताको बानी'

यो कुनै सानो विडम्बना होइन कि अचेल राष्ट्रपति जो बाइडनले चीनलाई शत्रुकै रूपमा व्यवहार गर्न थालेका छन्। आधुनिक सेमिकन्डक्टर प्रविधिमा चीनको पहुँच रोक्ने उनको प्रयास विगतमा अपनाइएको व्यापार तथा सम्पर्क विस्तारको शैलीभन्दा निकै फरक छ।

सन् १९९० को दशकको अन्ततिर अमेरिकी सिनेटका एक सदस्यको हैसियतमा चीनलाई विश्व व्यापार सङ्गठनमा स्वागत गर्ने प्रयासका बाइडन एक मुख्य योजनाकार थिए।

"चीन हाम्रो दुस्मन होइन," सन् २००० मा शाङ्घाइमा उनले पत्रकारहरूसँग भनेका थिए। बढ्दो व्यापारले चीनलाई विश्वव्यापी मान्यतामा आधारित प्रणालीमा बाँध्ने र उसलाई एक जिम्मेवार शक्तिको रूपमा उदाउन मद्दत गर्ने मान्यतामा उनको सो भनाइ आधारित थियो।

राष्ट्रपति जर्ज डब्लु बुशको पालामा चीनले डब्लुटीओको सदस्यता पायो।

चीन सन् २००० मा डब्लुटिओको सदस्य भयो - जसलाई पश्चिमाले स्वागत गरे

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, चीन सन् २००० मा डब्लुटीओको सदस्य भयो - जसलाई पश्चिमाले स्वागत गरे

अमेरिकाको व्यापारिक समुदायले पनि चीनको बजार खुला होस् भन्ने चाहन्थ्यो।

रोजगारी हट्ने चिन्तामा रहेका अमेरिकी मजदूर युनियनहरू तथा मानवअधिकारका चिन्ता गर्नेहरूलाई चीनको डब्लुटीओ सदस्यताको औचित्य सैद्धान्तिक धरातलमा प्रस्तुत गरियो।

मे २००० मा राष्ट्रपति निर्वाचनको प्रचारप्रसारका बेला टेक्सस राज्यका तत्कालीन गभर्नर बुशले त्यसलाई सबभन्दा सशक्त ढङ्गले राखे।

"चीनसँग व्यापारको औचित्य," उनले भने "वाणिज्यको मामिलामात्र होइन। बरु सिद्धान्तको मामिला हो।"

"आर्थिक स्वतन्त्रताले स्वतन्त्रताको बानी निर्माण गर्छ। अनि स्वतन्त्रताका बानीले प्रजातन्त्रको आश निर्माण गर्छ।"

केही समयका निम्ति चीनको बढ्दो सम्पन्नताले सीमित राजनीतिक सुधारका सम्भावना पनि बढायो। डब्लुटीओको सदस्यतापश्चात् अन्यत्रजस्तै इन्टरनेटले चिनियाँ जनतालाई पनि विचारविमर्श गर्न अनि विरोध जनाउन पहिल्यै नसोचिएका सम्भावना खुलायो।

सन् २०१२ मा सीले पार्टी महासचिवको पहिलो कार्यकाल थाल्दा पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका ध्यान गगनचुम्बी भवनहरू, सांस्कृतिक आदानप्रदान र नयाँ मध्यम वर्गको उदयतर्फ थियो जसलाई देखाउँदै चीन आधारभूत ढङ्गले बदलिइरहेको तस्बिर प्रस्तुत गरिएको थियो।

तर उनको शासनकालका प्रारम्भिक अवधिमै सी ले ती ससाना "स्वतन्त्रताका बानी" लाई विश्वव्यापीकरणका स्वागतयोग्य परिणाम होइन कि लड्नै पर्ने चुनौती ठान्न थालेका थिए।

उनको पहिलो कार्यकाल सुरु भएको केही महिनापछि कम्युनिस्ट पार्टीले निकालेको डकुमेन्ट नम्बर ९ मा सातवटा खतरा औँल्याइएका छन् जसमा "विश्वव्यापी मूल्यमान्यता", पार्टी नियन्त्रण बाहिरको "नागरिक समाजको" अवधारणा तथा स्वतन्त्र प्रेस थिए।

सोभियत युनियनको पतनको कारण सैद्धान्तिक कमजोरी तथा समाजवादी धार पक्रन नसक्नु रहेको सी को विश्वास थियो।

साझा तथा विश्वव्यापी मूल्यमान्यताका आदर्श ट्रोजन घोडाका रूपमा आउने र तिनले चिनियाँ कम्युनिस्ट पार्टीलाई पनि त्यही दिशामा लैजाने उनले ठाने।

र उनको जबाफ निकै द्रुत तथा सम्झौताविहीन थियो - निरङ्कुशता तथा एक पार्टी शासनको सुदृढीकरण।

प्रतिक्रिया

दोस्रो कार्यकालका बेला चीनले वकिलहरूलाई थुन्न थाल्यो। विरोधका स्वर दबाइए भने हङकङमा स्वतन्त्रता कुण्ठित गरिए। सिन्जियाङ प्रान्तमा दश लाखभन्दा धेरै उइगर समुदायका सदस्यहरूलाई आम बन्दी शिविरमा राखियो।

तर पनि पश्चिमा सरकारहरू चीनसँग व्यापार तथा सम्पर्क तोड्ने सुरुमा थिएनन्। बेइजिङले अचेल दाबी गरेजस्तो चीनको उदयलाई नै रोक्ने प्रयास थाल्ने कुरा त अझ टाढाको कुरा थियो।

डब्लुटीओमा चीनको प्रवेशले दशकौँसम्म कम्पनीहरूलाई ठूलो नाफा दिलायो जसले तिनका आपूर्ति शृङ्खलामा चिनियाँ श्रम जोडे अनि चिनियाँ उपभोक्तालाई तिनका वस्तु तथा सेवा बेचे। चीनस्थित पश्चिमा देशका दूतावासहरूमा सयौँको सङ्ख्यामा व्यापार टोली खटिन्थे। अहिले पनि कतिपयमा त्यस्तै छ।

चीनको द्रुत उदय पश्चिमा कम्पनीहरूको निम्ति फाइदाजनक रह्यो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, चीनको द्रुत उदय पश्चिमा कम्पनीहरूको निम्ति फाइदाजनक रह्यो

चीनसँग यूकेको "सुनौलो युग" - व्यापार तथा सम्पर्क विस्तारको स्वीकृति - सीको पहिलो कार्यकालमा सुरु भएर दोस्रोसम्म जारी रह्यो।

प्रजातान्त्रिक देशका राजनीतिज्ञहरू चीन भ्रमणका बेला सधैँ सम्पर्क विस्तारको महत्त्वबारे मुखरित हुन्थे जबकी मानवअधिकार जस्ता विषयलाई भने "बन्द कोठाभित्र" मात्र उठाइन्थे।

त्यही ताका राष्ट्रपति बाइडनका कान्छा छोरा हन्टर बाइडनले कम्युनिस्ट पार्टीसँग जोडिएका चिनियाँ कम्पनीसँग व्यापारिक सम्बन्ध गाँसे। यहि सम्बन्धका कारण उनी अहिले पनि राजनीतिक विवादमा परेका छन्।

पछाडि फर्किएर हेर्दा त्यतिखेरसम्म अमेरिकी तथा युरोपेली शासक वर्गहरू सम्पर्क विस्तारको शैली बदल्ने मनस्थितिमा थिएनन्।

बेइजिङमा म रहँदा कर्पोरेट कार्यकारीहरूले बेलाबेला मैले चीनमा दमनबारे गर्ने रिपोर्टिङले बढ्दो सम्पन्नताको वृहत् तस्बिर उजागर गर्न नसकेको बताउँथे।

यस्तो लाग्थ्यो व्यापार तथा सम्पर्क विस्तारले चिनियाँ अधिकारीहरूको आँखा खोल्नुको साटो बाहिरियाहरूको मन पो बदलिदिएको छ।

एक अमेरिकी बहुराष्ट्रिय कम्पनीका वरिष्ठ व्यवस्थापकले मलाई भने पश्चिमी समाजका मानिसहरूले जस्तो "चिनियाँ जनताले स्वतन्त्रता रुचाउँदैनन्।"

आफ्ना कारखानाका कामदारहरूसँग कुरा गर्दा तिनमा राजनीतिप्रति कुनै चाह नभएको आफूले निचोड निकालेको उनले बताए। "पैसा कमाएर उनीहरू खुसी छन्," उनले भने।

शायद त्यसै समयमा सरकार तथा कम्पनीहरूले चीनमा राजनीतिक स्वतन्त्रता लग्ने ठूला वाचा त्यागे।

बढ्दो सम्पन्नता नै पर्याप्त हुने ठानियो।

उसोभए के बदलियो?

दबावका शृङ्खला

पहिलो त जनमत। सन् २०१८ यता उइगर समुदायका विदेशस्थित सदस्यहरूले तिनका परिवारका सदस्यहरू सिन्जियाङका बन्दी शिविरमा हराएको बारे बोल्न थाले।

प्रारम्भिक अन्तर्राष्ट्रिय प्रतिक्रियाबाट सुरुमा चीन स्तब्ध भयो।

सिन्जियाङमा आपूर्ति शृङ्खला जोडिएका कर्पोरेसनहरूमाथि उपभोक्ता तथा सरकारहरूको चर्को दबाव पर्‍यो।

साथै अन्य मुद्दा पनि अगाडि आए। हङकङमा गरिएको दमन अनि दक्षिण चिनियाँ सागरमा गरिएको सैनिकीकरण तथा ताइवानमाथि बढ्दो खतरा।

तर सिन्जियाङको मुद्दाले सबभन्दा धेरै प्रभाव पार्‍यो - यो कुनै सन्जोग होइन कि सिन्जियाङको सत्यता खोतल्न प्रयास गर्नै म लगायत कैयन् अन्तर्राष्ट्रिय पत्रकारहरूलाई देशबाट बाहिर जान बाध्य पारिएको छ।

पछिल्लो पिउ जनमत सर्वेक्षणमा ८०% अमेरिकीहरूको मनमा चीनबारे नकारात्मक धारणा रहेको देखियो। एक दशकअघि त्यो आँकडा केवल ४०% को हाराहारीमा थियो।

अर्को महत्त्वपूर्ण पक्ष भनेको डोनल्ड ट्रम्प हो।

ट्रम्प सीको कार्यशैलीका प्रशंसक थिए तर चीनको उदयको भने थिएनन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ट्रम्प सीको कार्यशैलीका प्रशंसक थिए तर चीनको उदयको भने थिएनन्

डोनल्ड ट्रम्पले गर्नै चीनविरोधी टिप्पणी अलि अचम्मको थियो - चीनको अनुचित व्यापार अभ्यासबारे उनका आरोपहरूको सँगसँगै सी को शक्तिशाली नेतृत्वबारे उनको प्रशंसा। तर उनका टिप्पणीको प्रभाव भने निकै पर्‍यो।

छोटकरीमा भन्दा चीनसँगका व्यापार तथा सम्पर्क विस्तारको नीतिले खासै परिणाम दिएको देखिएन बरु अमेरिकी रोजगार तथा प्रविधि चीन पुगेको भन्ने उनका दाबी धेरैको मनमा गढ्यो।

राष्ट्रपति बाइडनले पनि ट्रम्पले पछ्याएको चीन नीतिमा खासै परिवर्तन गरेनन्। व्यापार युद्ध सकिएको छैन अनि चिनियाँ सामानमा थपिएका शुल्क घटेनन्।

ढिलो गरी वाशिङ्टनले के बुझ्यो भने व्यापार तथा प्रविधि हस्तान्तरणलाई राजनीतिक सुधारको साटो बेइजिङ्ले निरङ्कुश शैलीलाई सुदृढ गर्न प्रयोग गरेको छ।

नयाँ अवस्था

राष्ट्रपति बाइडनले हालै ताइवानबारे गरेको टिप्पणीले अमेरिका चीन सम्बन्धमा कति धेरै परिवर्तन आइसकेको छ भनेर स्पष्ट झल्काएको छ।

गत महिना उनलाई अमेरिकी सञ्चार संस्था सीबीएसले चिनियाँ अतिक्रमण भएको खण्डमा अमेरिकाले उसको रक्षाका निम्ति सेना खटाउँछ? भनेर सोधिएको थियो।

"हो," उनले जबाफ दिएका थिए, "यदि त्यहाँ अभूतपूर्व हमला भयो भने।"

यस मामिलामा लामो समयदेखि वाशिङ्टनले रणनीतिक अस्पष्टताको नीति अख्तियार गर्दै आएको थियो।

तर पछिल्लो टिप्पणी हेर्दाखेरि "रणनीतिक स्पष्टता" जस्तो देखियो र त्यसलाई अमेरिकी अडानमा आएको ठूलो परिवर्तन मान्दै बेइजिङ् क्रुद्ध बनेको छ।

साझा मूल्यमान्यता होइन कि अहिले चीनले अघि सारेको मोडल भनेको सम्पन्न निरङ्कुश शासन शैली विशिष्ट विकल्प हुनसक्छ भन्ने हो।

उसले यो प्रणालीको प्रबर्द्धनका निम्ति उसको विशाल प्रोपागान्डा परिचालन गरिरहेको छ।

तर वाशिङ्टनमा चीनले गम्भीर खतरा प्रस्तुत गरेको विषयमा दुर्लभै रूपमा प्रकट हुने गरेको दुई पार्टीबीचको एउटा सहमति देखिन्छ।

हुन त विकल्पहरू सजिला छैनन् - आपूर्ति शृङ्खलालाई मोड्न वर्षौँ लाग्न सक्छ र त्यो खर्चिलो हुनसक्छ।

अनि आफूसँग सम्पर्क बनाइराख्नेहरूलाई पुरस्कृत गर्न अनि अरूलाई दण्डित गर्न पनि चीन सक्षम छ।

तर के साँचो हो भने सीको तेस्रो कार्यकालको आरम्भमा संसार महत्त्वपूर्ण परिवर्तनको संघारमा आइपुगेको छ।

अनि चीनमा, रुसमा जस्तै, अमेरिकाको सामु आफूले नै निर्माण गर्न सघाउ पुर्‍याएको प्रतिद्वन्द्वी खडा भएको छ।