दक्षिण अफ्रिका बस दुर्घटनामा ४५ जनाको मृत्यु, आठवर्षे बालिका मात्र जीवित

दक्षिण अफ्रिका

तस्बिर स्रोत, Limpopo Department of Transport

दक्षिण अफ्रिकामा एउटा बस पुलबाट झन्डै ५० मिटर तल खस्दा ४५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

उक्त दुर्घटनामा एकजना आठ वर्षीया बालिका जीवित भेटिएकी छन्। उनको अवस्था गम्भीर छ र अहिले अस्पतालमा उपचार भइरहेको छ।

उक्त बस उत्तरपूर्वी लिम्पोपो प्रान्तमा बारमा ठोकिएर दुर्घटनाग्रस्त भएको थियो र खसेपछि त्यसमा आगो लागेको थियो।

त्यो बसमा बोत्स्वानाको राजधानी गाबारोनेबाट मोरिया सहरमा इस्टरका निम्ति यात्रा गरिरहेका तीर्थयात्रीहरू रहेका थिए।

कसरी भयो दुर्घटना?

दक्षिण अफ्रिका

तस्बिर स्रोत, Heidi Giokos

दक्षिण अफ्रिकाको सरकारी प्रसारक एसएबीसीका अनुसार बसले नियन्त्रण गुमाएपछि जोहानेसबर्गबाट करिब ३०० किलोमिटर उत्तरस्थित मोकोपेन र मर्केन बीचमा रहेको एउटा पुलबाट खसेको थियो।

बिहीवार साँझसम्म उद्धार कार्य सञ्चालन भएको थियो। मृतकमध्ये केहीको शव निकाल्न गाह्रो भएको बताइएको छ।

घटनास्थल पुगेका यातायात मन्त्री सिन्दसिवे चिकुङ्गाले बस दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारप्रति समवेदना प्रकट गरिन्।

उनले दक्षिण अफ्रिकी सरकारले शवहरू हस्तान्तरण गर्न र दुर्घटनाको कारणबारे पूर्ण अनुसन्धान गर्न सहयोग गर्ने बताइन्।

कमजोर सडक सुरक्षा

दुर्घटनापछि उद्धारमा खटिएकाहरू

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, दुर्घटनापछि उद्धारमा खटिएकाहरू

"यो कठिन समयमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनेर हामी कामना गर्छौँ," उनले भनिन्।

"हामी जिम्मेवारपूर्ण ड्राइभिङ गर्नुहोस् भनेर उच्च सजगता अपनाउन सधैँ आग्रह गर्छौँ।"

उनले इस्टर सप्ताहन्तमा धेरै मानिसहरू सडकमा निस्किएकाले पनि सुरक्षित ड्राइभिङको जिम्मेवारी सबैको भएकोमा जोड दिइन्।

दक्षिण अफ्रिका सडक सुरक्षा कमजोर भएको देशमध्ये पर्छ।

दुर्घटनाअघि त्यसै दिन जारी गरिएको इस्टरको सन्देशमा राष्ट्रपति सिरिल रामापोसाले पनि नागरिकहरूलाई "यसपालिको इस्टरलाई सुरक्षित इस्टर बनाउन सक्दो प्रयास गर्न" आह्वान गरेका थिए।

उनले त्यसमा भनेका छन्,, "हामी पछि पर्ने र हाम्रा सडकमा भएका दुर्घटना अनि घाइतेको तथ्याङ्क हेर्नका लागि हामीले कुरेर बस्नु हुँदैन।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।