प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा गरे ‘विदेशी षड्यन्त्रको चर्चा’

पुष्पकमल दाहाल प्रचण्ड

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, फाइल तस्बिर
    • Author, शरद केसी
    • Role, बीबीसी न्यूज नेपाली

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशमा देखिने गरेका असन्तुष्टिमा अन्तर्राष्ट्रिय चलखेल समेत रहेको भन्दै चिन्ता व्यक्त गरेको एक नेताले बीबीसीलाई बताएका छन्।

नेत्रविक्रम चन्द 'विप्लव'ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'ले समाजवादी मोर्चाको बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रचण्डले त्यस्तो बताएको जानकारी दिए।

प्रधानमन्त्रीले बेलाबखत "परिवर्तन उल्ट्याउने प्रयास" भइरहेको बताउने गरेका थिए।

देशका विभिन्न भागमा धार्मिक र जातीय प्रदर्शन हुने गरेका बेला उनले विदेशी भूमिकालाई पनि जोडेर दिएको अभिव्यक्तिलाई अर्थपूर्ण ठानिएको छ।

केही दिनअघि नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री शङ्कर भण्डारीले "चैतसम्म संविधान खारेज हुन सक्ने" सूचना आफूले पाएको बताएका थिए। त्यस्तै हिन्दू राष्ट्र र त्यससँगै राजसंस्था पुनर्स्थापना समेतको मुद्दा उठाउँदै आन्दोलन पनि घोषणा गरिएको छ।

कस्तो षड्यन्त्र

समाजवादी मोर्चाको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बोलेपछि प्रधानमन्त्री प्रचण्डले आफ्नो धारणा राखेका थिए।

त्यसपछि नेकपाका महासचिव विप्लव र नेता विश्वकर्माले बोलेका थिए।

नेता विश्वकर्माका अनुसार मोर्चा, सरकार र विगतका उपलब्धिविरुद्ध षड्यन्त्र भइरहेकोबारे साझा धारणा थियो।

नेताहरू

तस्बिर स्रोत, RSS

“त्यो षड्यन्त्र प्रतिगामी, दलाल प्रतिक्रियावादी र अर्को अलिकति विदेशी स्वार्थको छ भन्ने हाम्रो साझा ठहर छ,” बैठकमा नेताहरूको धारणाबारे उनले सुनाए।

उनका अनुसार प्रधानमन्त्रीले "परिवर्तन उल्ट्याउने र प्रतिगामी दिशातर्फ धकेल्ने षड्यन्त्र" भइरहेको सुनाएका छन्।

“कतिपय ठाउँमा जातीय नाममा, कतिपय ठाउँमा धार्मिक नाममा, कतिपय जनयुद्धका मुद्दा उठाएर अनि कतिपय हाम्रो तीनबुँदे सहमतिविरुद्ध अदालतबाट घटना गराएर व्यक्त भएका छन् भन्ने त प्रधानमन्त्रीले पनि भन्नुभयो,” नेता विश्वकर्माले बताए।

प्रधानमन्त्रीको सङ्केत भारततर्फ हो?

जातीय पहिचान र हकअधिकारको कुरा पनि उठ्ने गरेको छ। कोशी प्रदेशको नाम जातीय पहिचानको आधारमा राखिनुपर्ने माग गर्दै आन्दोलन चलिरहेको छ।

त्यसतर्फ सङ्केत गर्दै नेता विश्वकर्माले उत्पीडित समुदाय र वर्गमा अधिकार र उन्मुक्ति अनि त्यससँग सम्बन्धित मनोविज्ञान पनि रहेको बताउँदै त्यसको सम्बोधन गरिनुपर्नेमा साझा मत रहेको जानकारी दिए।

प्रचण्ड र मोदी

तस्बिर स्रोत, PIB INDIA

उनले भने, “यसैमा खेल्ने प्रवृत्तिहरू छन्, केही शक्तिहरू छन्, यसमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्वार्थ पनि कतै न कतै देखिन्छ भन्ने प्रधानमन्त्रीको धारणा थियो।”

कतिपयले हिन्दू राष्ट्र पुनर्स्थापनाको पक्षमा भइरहेका प्रदर्शनहरूमा दक्षिणी छिमेकी भारतका कतिपय शक्ति र संस्थाहरूको साथ, समर्थन र सहयोग रहेको आशङ्का गर्ने गरेको पाइन्छ।

प्रधानमन्त्रीको सङ्केत पनि त्यसैतर्फ हो कि भन्ने प्रश्ननमा उनले भने, “अहिले त्यो नभनौँ, तर जे होस् यसको सम्बन्ध अन्तर्राष्ट्रिय रूपबाट पनि अछुतो छ भन्न नसकिने भाव उहाँको थियो।”

BBC
गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र हाम्रो समाजवादी यात्राविरुद्धको षड्यन्त्रको रूपमा आएको छ...भन्ने आशयको रूपमा प्रधानमन्त्रीको भनाइ थियो...
खड्गबहादुर विश्वकर्मा
नेता, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षता ‘निसानामा’

समाजवादी मोर्चाका नेताहरूले देशको पछिल्लो अवस्थाबारे आआफ्नो विश्लेषण र मूल्याङ्कन प्रस्तुत गरेका थिए।

त्यस क्रममा राष्ट्रिय रूपमा षड्यन्त्रहरू भइरहेको र त्यसमा अन्तर्राष्ट्रिय स्वार्थ जोडिएको कुरामा सबैको साझा धारणा रहेको उनले बताए।

तर प्रधानमन्त्रीले जातीय र धार्मिक असन्तुष्टिलाई लिएर संविधानका महत्त्वपूर्ण विशेषताहरूलाई पनि निसाना बनाउन खोजिएको आशय प्रकट गरेको नेता विश्वकर्माले जानकारी दिए।

“गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र हाम्रो समाजवादी यात्राविरुद्धको षड्यन्त्रको रूपमा आएको छ,” उनले भने, “अनि नेपालको समृद्धि र स्वाधीनताको विरुद्धमा पनि यो आएको छ भन्ने आशयको रूपमा प्रधानमन्त्रीको भनाइ थियो।”

देशका विभिन्न स्थानमा विभिन्न खालका असन्तुष्टि र आन्दोलनहरू देखिँदा प्रमुख दलहरूले केही महिनाअघि "संयुक्त रूपमा मिलेर उपलब्धिको रक्षा गर्ने" साझा धारणा सार्वजनिक गरेका थिए।

पछिल्ला दिनहरूमा सत्तापक्षकै केही नेताहरूले प्रदेश संरचना र धर्मनिरपेक्षताको विपक्षमै खुलेर धारणा राख्न थालेको पाइन्छ।

समाजवादी मोर्चाको बैठकमा प्रचण्ड र अरू नेता

तस्बिर स्रोत, RSS

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।