'के देशमा साँच्चै केही नभएकै हो?' भन्दै प्रधानमन्त्रीले सुनाएको वर्ष दिनको प्रगतिमा के-के छ?

प्रचण्ड

तस्बिर स्रोत, RSS

प्रधानमन्त्रीका रूपमा आफ्नो तेस्रो कार्यकालको एक वर्ष पूरा गरेको अवसरमा मङ्गलवार जनताका नाममा गरेको सम्बोधनमा पुष्पकमल दाहाल प्रचण्डले देशमा "हीनताबोध""नकारात्मकता" फैलिरहेको भन्दै त्यसलाई "चिन्ताजनक" बताएका छन्।

त्यसले "समाजको सिर्जनशीलता मारिरहेको" भन्दै उनले त्यसलाई "नियोजित" भएको आरोप समेत लगाए।

मङ्गलवारको सम्बोधनको सुरुमै प्रचण्डले "के देशमा साँच्चै केही नभएकै हो?" भनेर आफ्ना विवरण सुनाउन थालेका थिए।

प्रचण्डले "देश असफल नभए पनि आफ्नो हुटहुटी अनुसार परिणाम नआएको" बताएका छन्।

जसक्रममा उनले आफ्ना प्रगतिदेखि सत्ता नेतृत्वको नयाँ वर्षका लागि गर्न चाहेका कुराहरू समेत प्रस्तुत गरे। कतै उनले आत्ममूल्याङ्कनहरू समेत गरेका छन्।

प्रधानमन्त्रीले देखेका प्रगति के हुन्?

  • एक वर्षमा ७०० मेगावाटसम्म विद्युत् निर्यात गरी १५ अर्ब २७ करोड रूपैयाँ बराबरको विदेशी मुद्रा आर्जन, एक वर्षमै करिब ५४१ मेगावाट थप
  • उपभोक्ता मूल्य वृद्धिदर गत वर्षभन्दा २.७ प्रतिशत बिन्दुले कम
  • ब्याङ्कहरूको आधार ब्याजदर एकल अङ्कमा पुगेको र ऋणको ब्याजदर पनि घटेको
  • विप्रेषण आप्रवाहमा २६ प्रतिशतले वृद्धि
  • २ सय ९२ अर्ब ५१ करोड रूपैँया बराबरको लगानी स्वीकृत
  • सात वर्षपछि शिक्षा विधेयक संसद्मा पेस
  • नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, त्रिभुवन विमानस्थलबाट सुनको अवैध आयात लगायतका काण्डमा अनुसन्धान र कारबाही
  • किसानहरूलाई समयमै ४ लाख १ हजार मेट्रिक टन रासायनिक मल सुनिश्चित
  • भारत र चीनसँग सुदृढ र सन्तुलित सम्बन्ध कायम
  • आफ्नो निमन्त्रणामा भएको संयुक्त राष्ट्र सङ्घका महासचिवको नेपाल भ्रमण
  • गैर आवासीय नेपालीहरूको आफ्नो पुर्खासँग साइनो जीवित राख्न गैर आवासीय नागरिकता वितरणको प्रक्रिया सुरु
  • वैदेशिक रोजगारीका क्रममा हुने ठगी नियन्त्रण एवं राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन मार्सल टिम, शीघ्र प्रत्युत्तर टोली, चौबीसै घण्टा गुनासो सुन्‍नेगरी श्रम कल सेन्टर सञ्चालन
  • श्रमिकहरूको न्यूनतम ज्याला वृद्धि गरी रु. १७ हजार ३ सय ५० पुर्‍याइएको
  • ९ लाख ५० हजार व्यक्ति योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समाहित
  • तातोपानी–खासा, रसुवा–केरूङ्ग, हिल्सा–पुराङ्ग र मुस्ताङको कोरला नाका द्विपक्षीय व्यापारका लागि खुला

उनले गर्न चाहेका कुरा के छन्?

प्रचण्ड

तस्बिर स्रोत, RSS

  • यसै साता प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गरिने
  • बुढी गण्डकीजलविद्युत् आयोजनाका लागि पेट्रोलियम पदार्थमा लगाइँदै आएको पूर्वाधार करसमेत सोही आयोजनालाई उपलब्ध गराइने
  • पूर्वाधारमा अब कम्तीमा दुई सिफ्टको प्रत्याभूति गरिने र सकेसम्म “ब्यारेक मोडल”मा लैजाने गरी नीतिगत र व्यवहारिक छलफल
  • कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरू फिर्ता बोलाइने
  • विश्वकप क्रिकेटको तयारीमा कुनै कसर बाँकी नराखिने
  • अब विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डा नगरिने
  • चैतभित्र सबै केन्द्रीय स्तरका सरकारी कार्यालयहरूमा सूचना प्रविधिमा आधारित एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू गरिने
  • अनलाइनबाटै राहदानी नवीकरणको प्रक्रिया अघि बढाउने तयारी
  • संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि विनियोजन गरिएको रकम आठ अर्ब २५ करोड रूपैयाँ हाललाई भूकम्पपछिको पुनर्निर्माण तथा पुनस्र्थापनामा खर्च गर्ने र थप १ अर्ब ७५ करोड रूपैयाँ समेत सो कोषमा थप गरी रु. १० अर्ब विपद् व्यवस्थापनमा खर्च गरिँदै
  • योग्यता पुगेका स्टार्टअपलाई ५ वर्षको लागि २ प्रतिशत ब्याजदरमा ५० लाखसम्म ऋण दिने व्यवस्था मिलाइँदै

चुनौती

प्रधानमन्त्रीले आर्थिक वृद्धिदर सोचेकोभन्दा कम भएको स्वीकारेका छन्।

उनले समयमा आयोजनाहरू पूरा नहुँदा नकारात्मक भाष्य मात्र नबनीकन तिनको लागत बढेको र जनताले सास्ती खेप्नुपरेको बताएका छन्।

उनले ठुलो खर्च भएका पोखरा र भैरहवा विमानस्थललाई पूर्ण सञ्चालनमा ल्याउन नसकिएको बताएका छन्।

काठमाण्डू विमानस्थल सहित तिनलाई सार्वजनिक निजी साझेदारीमा ती विमानस्थल सञ्चालनमा ल्याउनेबारे आफूले सोचिरहेको पनि प्रधानमन्त्रीले बताए।

मेलम्चीको पानी काठमाण्डूवासीले उपयोग गर्ने सपना अधुरो रहिरहेको अवस्थाबारे समेत आफूले बुझेको भन्दै त्यस 'भाष्यलाई गलत साबित गर्ने' चुनौती रहेको बताए।

आफूहरूलाई 'असफल हुने छुट नभएको' बताउँदै उनले मन्त्रिहरूलाई लक्षित गर्दै भने: "कार्यक्षमता प्रमाणित गर्न नसके कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ। यो मैले अरूलाई दिएको उपदेश मात्र होइन, आफैँसँग गरेको वाचा पनि हो।"

राजनीतिक विश्लेषक झलक सुवेदीको टिप्पणी: प्रधानमन्त्रीले भनेजस्तो आशा गर्नुपर्ने स्थिति देशमा छैन

प्रधानमन्त्रीले भनेजस्तो आशा गर्नुपर्ने स्थिति देशमा छैन। 

जनतामा निराशा छ र विभिन्न शक्तिहरूले त्यसलाई आफ्नो पक्षमा पार्ने प्रयास गर्छन्। 

गत वर्षको चुनावमा स्वतन्त्र उम्मेदवार र राष्ट्रिय स्वतन्त्र पार्टीले त्यही निराशालाई प्रयोग गरेर शक्ति आर्जन गरेका थिए। 

अहिले गणतन्त्रविरोधीहरू, धर्म निरपेक्षताका विरोधीहरू समेत सलबालाइरहेको देखिन्छ र त्यसको निम्ति निराशालाई नै हतियार बनाएको देखिन्छ।

यसमा अरूलाई गाली गर्नुभन्दा पनि स्थानीय तहदेखि नै सरकारमा रहनेहरूले जनताको पक्षमा काम गरेको देखिनेगरी सेवा प्रवाह र नतिजा दिन सक्नुपर्छ।

नक्कली शरणार्थी लगायतका केही घटनाहरूमा सकारात्मक अनुसन्धान भए पनि त्यसको अन्त्यतिर शङ्कास्पद वा त्यसलाई कमजोर बनाउन खोजिएको जस्तो सन्देश गएको छ। 

आज सम्बोधनमा प्रधानमन्त्री अझै प्राथमिकतामा अल्मरिइरहेको देखिन्छ। प्रदेश सरकारलाई गति दिने कुरामा अस्पस्टता देखिन्छ। 

औद्योगिक विकास र रोजगारीमा पनि प्राथमिकतामा नपरेको देखिन्छ। तर ३२ जनाको दलको नेताले बहुमतको सरकार चलाइरहँदा प्रचण्डबाट अपेक्षा गर्ने कुराका समेत केही सीमितता छन्। 

सरकार समाजवादी हो कि पूँजीवादी हो की उदारवादी हो वा कता जान लागेको हो भन्ने स्पष्ट छैन।

प्रधानमन्त्रीमा तेस्रो कार्यकालका महत्वपूर्ण घटनाक्रम

  • १० पुस २०७९: एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र ३ स्वतन्त्र सांसद्को समर्थनमा तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री नियुक्त
  • २६ पुस २०७९: प्रतिनिधिसभामा २६८ सांसद्ले दिए विश्वासको मत, १० दलको समर्थन, विपक्षमा नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका सांसद् गरी २ मत
  • १३ फागुन २०७९: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
  • १५ फागुन २०७९: राष्ट्रपति निर्वाचनका बेला नयाँ गठबन्धन बनेपछि एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
  • ६ चैत २०७९: नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्डले पुनः संसद्‌मा विश्वासको मत प्रमाणित गर्दा पक्षमा १७२ र विपक्षमा ८९ मत
  • २२ वैशाख २०८०: राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
  • २८ जेठ २०८०: माओवादी सशस्त्र द्वन्द्वकालमा बालबालिकाहरूलाई लडाकुको रूपमा प्रयोग गरेको आरोपमा प्रचण्डलाई प्रधानमन्त्रीबाट ‘निलम्बन गर्न’ माग गरिएको मुद्दा सर्वोच्चमा दर्ता

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।