तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'युक्रेन नेटोमा सहभागी हुन पाउँदैन': युद्ध अन्त्य गराउन ट्रम्प र जेलेन्स्कीबीच वार्ताको तयारी
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सोमवार वाशिङ्टनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली साझेदारहरूसँग वार्ता गर्दै छन्।
यसै वर्षको सुरुतिर ह्वाइट हाउसमा भनाभन गरेका जेलेन्स्की र ट्रम्पबीच त्यसयता अमेरिकामा पहिलो पटक भेटवार्ता हुने छ।
रुससँग युद्ध अन्त्य गराउने विषयमा हुने वार्तामा सहभागी हुने नेताहरूमा उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोका महासचिव मार्क रुट र यूकेका प्रधानमन्त्री सर किअर स्टार्मरलगायत हुने छन्।
ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीत अलास्कामा शिखर बैठक भएको केही दिनपछि यो वार्ता हुन लागेको हो। उक्त बैठकमा ट्रम्पले युद्धविरामको माग छोडेर स्थायी शान्ति सम्झौता हुनुपर्ने माग गरे।
नेटोको जस्तै सम्भावित सुरक्षा समझदारीबारे पुटिन सहमत भएको अमेरिकी दूतले बताएका छन्।
जेलेन्स्कीसँग वार्ता हुनुभन्दा केही घण्टाअघि बोल्दै ट्रम्पले "युक्रेनी राष्ट्रपतिले चाहेमा" रुससँगको युद्ध अन्त्य गराउन सक्ने बताएका छन्।
तर सम्झौताअन्तर्गत "युक्रेन नेटोमा सहभागी हुन नपाउने" उनले जनाए।
ट्रम्पको दबावबारे चिन्ता
"रुसबारे ठूलो प्रगति। कृपया हामीसँगै रहनुहोला!" भन्दै थप केही नखुलाई ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रूथ सोशल'मा लेखेका छन्।
सोमवारको वार्ताका लागि वाशिङ्टनतर्फ लाग्ने नेताहरूमा फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँ, इटलीकी प्रधानमन्त्री जोर्जा मलोनी, जर्मन चान्सलर फ्रिड्रिख मेट्स, फिन्ल्यान्डका राष्ट्रपति एलेक्सान्डर स्टुब, युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायन छन्।
उनीहरूमध्ये को-को ह्वाइट हाउसको वार्तामा सहभागी हुन्छन् भन्ने कुरा चाहिँ स्पष्ट भएको छैन।
गत शुक्रवार पुटिनसँगको शिखर बैठकमा जेलेन्स्कीलाई सहभागी नगराएका ट्रम्पले सम्झौताका लागि सर्तहरू मान्न उनीमाथि दबाव सिर्जना गर्न सक्ने कुराप्रति युरोपेली अधिकारीहरू चिन्तित रहेको कूटनीतिक स्रोतहरूले बताएका छन्।
तर अमेरिकी विदेशमन्त्री मार्को रुबिओले ट्रम्पले जेलेन्स्कीलाई शान्ति सम्झौताका निम्ति दबाव दिने कुरा "सञ्चारमाध्यमहरूको मूर्खतापूर्ण भाष्य" भएको बीबीसीको अमेरिकी साझेदार सीबीएसलाई प्रतिक्रिया दिए।
युरोपेली नेताहरू सजग
नेटोका नेताहरू गत फेब्रुअरीमा जस्तो ट्रम्प, जेडी भान्स र जेलेन्स्कीबीच भनाभन हुने अवस्था सिर्जना हुन नदिनेबारे सतर्क देखिन्छन्।
त्यस बेला ट्रम्पले जेलेन्स्कीमाथि "तृतीय विश्वयुद्ध निम्त्याउन खोजेको" आरोप लगाएका थिए। त्यसले वाशिङ्टन र किएभको सम्बन्धमा तिक्तता निम्त्यायो।
तर त्यसपश्चात् सम्बन्ध सुधार्न युरोपेली नेताहरूले पर्दा पछाडिबाट निरन्तर काम गर्दै आएका छन्।
युक्रेनका नेतालाई सम्झौता हुने गरी कुरा गर्न सुझाव दिइएको छ, जुन भाषा ट्रम्पको भाषासँग मेल खान्छ।
गत एप्रिलमा युक्रेनले अमेरिकासँग खनिज पदार्थसम्बन्धी एउटा सम्झौता गर्यो जसबाट अमेरिकाले युक्रेनमा आर्थिक साझेदारी हात पार्यो।
पोप फ्रान्सिसको अन्तिम संस्कारअघि भ्याटिकनमा जेलेन्स्की र ट्रम्पबीच गोप्य कुराकानी भयो। युक्रेनले अमेरिकालाई अस्त्रहरूका लागि रकम तिर्ने स्पष्ट पार्यो।
जुलाईसम्म आइपुग्दा दुई नेताले टेलिफोन संवाद गरे। त्यसलाई जेलेन्स्कीले आफूहरूबीच भएकामध्ये "सबैभन्दा राम्रो संवाद"को सङ्ज्ञा दिएका छन्।
यसैबीच ट्रम्पले युक्रेनमाथि रुसले लगातार गरिरहेका हमलाप्रति असन्तोष व्यक्त गर्न थालेका थिए।
उनले पुटिन "एकदमै सन्काहा" भएको टिप्पणी गर्दै शान्ति सम्झौता गर्ने समयसीमा घटाइदिए। उनले मस्कोमाथि आर्थिक नाकाबन्दीहरू लगाउने घोषणा पनि गरे।
यता नेताहरू वार्तामा संलग्न हुँदै गर्दा रुसी सैनिकहरू लडाइँको मैदानमा अगाडि बढ्दै छन्। सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा पूर्ण स्तरको अतिक्रमण थालेयता रुसले अहिलेसम्म युक्रेनको २० प्रतिशतजति भूभागमा आफ्नो नियन्त्रण कायम गरेको छ।
यसअघि आइतवार जेलेन्स्की र यूके, फ्रान्स अनि जर्मनीका नेताहरूबीच भर्चूअल शिखर बैठक भएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।