तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ट्रम्पले रुसबाट केही युक्रेनी भूभाग 'फिर्ता गराउन' प्रयास गर्ने
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लामदिमिर पुटिनसँग शुक्रवार हुने भेटवार्ताका क्रममा रुसबाट केही युक्रेनी भूभाग फिर्ता गराउन प्रयास गर्ने बताएका छन्।
"रुसले युक्रेनको एउटा ठूलो हिस्सा अधीनमा लिएको छ। उनीहरूले महत्त्वपूर्ण भूभाग लिएका छन्। हामी केही भूभाग फिर्ता गराउने प्रयास गर्न जाँदै छौँ," ह्वाइट हाउसमा एउटा पत्रकार सम्मेलनका क्रममा ट्रम्पले भने।
यो साताको अन्त्यतिर ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच अलास्कामा वार्ता हुने तय भएको छ।
प्रगति सम्भव हुने वा नहुने कुरा पुटिनसँगको भेटको दुई मिनेटमै आफूले थाहा पाउने ट्रम्पको दाबी छ।
युद्ध अन्त्य गर्नका लागि पुटिनलाई आग्रह गर्ने गरी शुक्रवारको बैठक "मनस्थिति बुझ्ने बैठक" हुने ट्रम्पले बताएका छन्।
भूभाग साटासाट
पुटिनले उक्त भेटवार्तालाई प्रारम्भिक भेटघाटका रूपमा पनि हेर्न सक्ने ट्रम्पले उल्लेख गरे। रुस र युक्रेनबीच "केही भूभाग साटासाट, परिवर्तन" हुने उनले चेतावनी दिए।
ट्रम्पले "भूभाग साटासाट" को कुरा गरेको पहिलो पटक भने होइन, यद्यपि रुसले कुन भूभाग दिन सक्ने भन्ने कुरा स्पष्ट छैन। किएभले रुसी भूभागमाथि कहिल्यै आफ्नो दाबी गरेको छैन।
भेटवार्ताका क्रममा पुटिनले "निष्पक्ष सम्झौता" को प्रस्ताव गरेमा त्यसबारे युरोपेली नेताहरू जानकारी गराउने ट्रम्पले बताएका छन्।
"सम्मान स्वरूप" सबैभन्दा पहिला युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग सबैभन्दा पहिला त्यसबारे कुरा गर्ने पनि ट्रम्पले उल्लेख गरे।
"सबैभन्दा पहिला म उनलाई कल गर्छु… म उनलाई त्यसपछि कल गर्छु र भन्न सक्छु भाग्यले साथ देओस्, लडिराख्नूस् अथवा म भन्न सक्छु कि हामी एउटा सम्झौता गर्न सक्छौँ," ट्रम्पले भने।
यसअघि जेलेन्स्कीसँग भेटवार्ता हुँदा उनले गरेका कुरासँग आफू एकदमै असहमत भएको पनि ट्रम्पले बताए।
यसअघि ट्रम्पले सन् २०२२ को फेब्रुअरीदेखि रुसले पूर्ण स्तरमा अतिक्रमण गर्ने गरी जेलेन्स्कीले युक्रेनमा युद्ध निम्त्याएका आरोप लगाएका थिए।
जेलेन्स्कीको प्रतिक्रिया
भावी भेटवार्तामा जेलेन्स्की पनि सहभागी हुन सक्ने भन्दै ट्रम्पले पुटिन र आफू पनि त्यसमा संलग्न हुने बताए।
युरोपेली आयोगकी उपाध्यक्ष काया कालसले युक्रेन सहमत नहुने सम्झौताप्रति युरोप सहमत नहुने कुरा स्पष्ट रहेको बीबीसीलाई बताइन्।
"यदि सम्झौताको एउटा हिस्सा युक्रेन हुँदैन भने कुनै पनि सम्झौता लागु हुने छैन। त्यो भएर सम्झौताका लागि युक्रेनको संलग्नता जरुरी हुन्छ," जेलेन्स्कीलाई पनि बैठकमा निम्त्याइने आशा व्यक्त गर्दै उनले भनिन्।
क्रेम्लिनले जेलेन्स्कीसँग बैठक हुने अपेक्षालाई सधैँ बेवास्ता गर्दै आएको छ। हालै पुटिनले जेलेन्स्कीसँग भेटवार्ताको सम्भावना सुदूर रहेको दोहोर्याएका थिए।
ट्रम्पले रुसी राष्ट्रपति आफ्नो भेटवार्ता हुन लागेको कुरा गत शुक्रवार घोषणा गरेका थिए।
युक्रेनसँग युद्धविराम सम्झौता गर्न वा थप कडा प्रतिबन्धहरूको सामना गर्न भन्दै उनले युक्रेनलाई शुक्रवारसम्मकै म्याद दिएका थिए।
अलास्कामा दुई दुई नेताबीच हुन लागेको शिखर बैठकसम्बन्धी समाचारबारे प्रतिक्रिया जनाउँदै जेलेन्स्कीले किएभको तर्फबाट केही नभई गरिने "निर्णयहरू मृत सरह" हुने टिप्पणी गरे।
सोमवार युक्रेनी गुप्तचर निकायको एउटा रिपोर्टलाई उल्लेख गर्दै जेलेन्स्कीले रुस लडाइँ रोक्ने तयारी गरेको कुनै सङ्केत नपाइएको बताएका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।