रहस्यकै गर्भमा रहेका बिटक्वाइनका आविस्कारक खोज्ने प्रयास किन असफल

- Author, जो टिडी
- Role, साइबर संवाददाता
बिस खर्बको क्रिप्टोकरेन्सी उद्योग धानिरहेको बिटक्वाइन अहिले विश्वका सबैभन्दा ठूला लगानी घरानाहरूले समेत खरिद-बिक्री गरिरहेका छन्। एउटा देशले त यसलाई सरकारी मुद्राको मान्यता समेत दिएको छ।
यसको आकासिएको मूल्यपछाडिको एउटा गहिरो रहस्य अहिले पनि अनुत्तरित छ। त्यो यसका संस्थापकको वास्तविक परिचय हो। अहिलेसम्म सार्वजनिक नभएका सातोसी नाकामोतो को हुन्?
अनुत्तरित प्रश्न
सातोसी नाकामोतो को हुन भनेर पत्ता लगाउने प्रयास धेरैले गरेका भए पनि ती प्रयास असफल भएका छन्। अक्टोबरमा एचबीओको एउटा उच्चस्तरको वृत्तचित्रले क्यानडाली बिटक्वाइन विज्ञ पिटर टोड नै सातोसी नाकामोतो भएको हुनसक्ने सङ्केत गर्यो।
तर समस्या के भयो भने उनी आफैँले आफू सातोसी नाकामोतो नभएको बताए। त्यसपछि क्रिप्टो सन्सारले यसलाई विश्वास गरेन।
अन्ततः बिहीवार एउटा पत्रकार सम्मेलनमा क्रिप्टोका आविस्कार सार्वजनिक हुने खबर आएपछि हाम्रो समाचार कक्षमा मात्रै नभएर क्रिप्टोको संसारभरि मानिसहरूका कान ठाडा भए।
क्रिप्टो उद्योगलाई व्यापक बनाउन मद्दत गरेका क्रान्तिकारी प्रोग्रामर मानिने सातोसी नाकामोतो को हुन् भन्नेबारे व्यापक चासो पाइन्छ।

तस्बिर स्रोत, Getty Images
उनीहरूको आवाज, धारणा र विश्व दृष्टिकोणले निकै प्रतिबद्ध समर्थकहरू रहेको यो उद्योगमा निकै प्रभाव पार्नसक्छ।
सातोसी नाकामोतोप्रति मानिसहरूको मोह किन पनि छ भने उनीसँग १० लाख भन्दा धेरै बिटक्वाइन छन्। बिटक्वाइनको मूल्य अहिलेसम्मकै उच्च विन्दु नजिक भएको वर्तमान समयमा उनी कम्तीमा पनि अर्बपति छन्।
अस्वाभाविक भुक्तानीको माग
यति धेरै सम्पत्ति भए पनि बिहीवार सातोसी नाकामोतोलाई सार्वजनिक गर्ने भनिएको पत्रकार सम्मेलनका आयोजकले आफ्नो सिटका लागि पैसा तिर्नुपर्ने बताए।
पहिलो पङ्क्तिको सिटमा बस्न १०० पाउन्ड तिर्नुपर्ने थियो। यदि चाहे जति प्रश्न उनलाई सोध्ने हो भने अतिरिक्त ५० पाउन्ड तिर्नुपर्थ्यो।
आयोजक चार्ल्स एन्डरसनले ५०० पाउन्ड खर्च गर्ने भए मलाई मञ्चमै सतोसीको अन्तर्वार्ता लिने मौका दिने प्रस्ताव गरे। मैले अस्वीकार गरेँ।
एन्डरसनले पत्रकार सम्मेलनमा सिट भरिने जोखिमप्रति पनि मलाई सचेत गराए। त्यहाँ भरिभराउ पत्रकारहरू हुने ठानिएको थियो।
तर पत्रकार सम्मेलन सुरु हुँदा सिट पाउन कसैलाई समस्या भएन।
प्रतिष्ठित फ्रन्टलाइन क्लबमा जम्मा करिब एक दर्जनको सङ्ख्यामा पत्रकारहरू उपस्थित थिए।
साँच्चिकै सातोसी नाकामोतो आए?

केहीबेरमै प्रस्ट भयो त्यहाँ सहभागी सबै जना शङ्कास्पद थिए।
केही बेरको सोधीखोजीपछि थाहा भयो आयोजक र सातोसी भनेर प्रस्तुत गरिएका दुवै जना सातोसी भएको झुटो दाबी गरेको अभियोगमा कानुनी लडाइँ लडिरहेका व्यक्तिहरू थिए।
सुरुआतबाटै खराब हुँदै गएको पत्रकार सम्मेलन अन्त्यसम्म अझै खराब भयो।
एन्डरसनले सातोसी भनिएका व्यक्तिलाई मञ्चमा बोलाए।
स्टीफन मोल्ला नाम गरिएका एक जना व्यक्ति शान्त भएर मञ्चमा आए र छेउमा बसे। उनले त्यहाँ घोषणा गरे, “म यहाँ सातोसी नाकामोतो मै हुँ र मैले नै ब्लकचेन प्रविधिमा बिटक्वाइन बनाएको हो भनेर घोषणा गर्न आएको हुँ।”
आफ्नो दाबीमा कुनै पनि भरपर्दो प्रमाण दिन नसकेपछि यसअघि समाइलो मानिरहेका पत्रकारहरू अब चिढिए।
पत्रकारहरूलाई आश्वस्त बनाउन मोल्लाले सातोसीले मात्रै गर्न सक्ने पहिलो पटक बनाइएको बिटक्वाइनको हेल-मेरी प्रक्रिया प्रदर्शन गरेर देखाउने वाचा गरे।
तर उनले गरेनन्।
यो पनि सातोसीलाई खोज्ने अर्को असफल प्रयास मात्रै भएको निष्कर्ष निकालेर निराश देखिएका अरू पत्रकारहरूसँगै म पनि त्यहाँबाट बाहिरिएँ।
सातोसी दाबी गर्नेहरूको असफल प्रयासका शृङ्खला

तस्बिर स्रोत, Reuters
आफू सातोसी नाकामोतो भएको असफल दाबी गर्नेहरूको सूची लामै भइसकेको छ।
सन् २०१४ मा न्यूजविकमा छापिएको एक लेखमा क्यालिफोर्निआमा बस्दै आएका डोरिअन नाकामोतो नै सातोसी भएको दाबी गरिएको थियो।
तर उनले आफू सातोसी नभएको बताएसँगै उक्त दाबी असफल भयो।
त्यसको एक वर्षपछि अस्ट्रेलियाका कम्युटर बैज्ञानिक क्रेग राइट सातोसी भएको हुनसक्ने विवरण पत्रकारहरूले सार्वजनिक गरे।

तस्बिर स्रोत, Reuters
उनी आफैँले त्यसलाई सुरुमा त्यसलाई अस्वीकार गरे तर पछि आफू सातोसी भएको दाबी गरे पनि प्रमाण पुर्याउन सकेनन्।
गएको मार्चमा लन्डनको एक उच्च अदालतले राइट बिटक्वाइनका आविस्कारक नभएको फैसला गर्यो।
प्रविधि अर्बपति इलोन मस्क पनि यो क्रिप्टोकरेन्सीका आविष्कारक भएको हुनसक्ने उनको कम्पनी स्वेस एक्सका पूर्व कर्मचारीले दाबी गरे। तर मस्क आफैँले यस्तो दाबी अस्वीकार गरेका छन्।
यी सबै कुराले सातोसी को हुन् भन्ने कुराको कुनै महत्त्व छ भन्ने प्रश्न पनि उब्जाएको छ।
गुगल भन्दा धनी क्रिप्टो
यो क्रिप्टोको अहिलेको बजार मूल्याङ्कन गुगलको भन्दा धेरै छ। हाम्रो जीवनमा निकै महत्त्वपूर्ण भूमिका खेल्ने यो प्रविधि कसले बनायो भन्ने थाहा नहुने कुरा पनि आफैँमा विश्वास गर्न कठिन छ।
सातोसीले आफूलाई अझै नचिनाउनुको पनि कारण हुनसक्छ।
उनीसँग भएको बिटक्वाइनको मूल्याङ्कन करिब ६९ अर्ब अमेरिकी डलर बराबर छ जसले पहिचान भएको अवस्थामा उनीमाथि नियमनहरू हुने जोखिम छ।
एचबीओको वृत्तचित्रमा सातोसीको रूपमा चित्रण गरिएका पिटर टोडले आफूप्रति मानिसहरूको अनावश्यक ध्यानले आफ्नो सुरक्षाबारे त्रास बढाएको बताएका छन्।
क्रिप्टो संसारका कैयौँ यो विषय रहस्यमै रहेकोमा मजा मानिरहेका छन्।
"सातोसी को हो भन्ने कसैलाई थाहा छैन र यो राम्रो कुरा हो," यसको विकासमा संलग्न भएकामध्येका एक एडम ब्याकले हालै आफ्नो एक्समा पोस्ट गरेका थिए। कतिपयले उनी पनि सातोसी भएको हुनसक्ने ठानेका छन्।
बिटक्वाइन सम्बन्धी पोडकास्ट सञ्चालन गर्ने न्याटली ब्रुनेल सातोसीको पहिचान नखुलाउनु अत्यावश्यक भएको बताउँछन्।
अहिले पनि वास्तविक सातोसीको खोजी भने जारी छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








