बिटकोइनले एल साल्भडोरलाई फाइदा हुँदै छ कि घाटा?

एल साल्भडोर

तस्बिर स्रोत, Reuters

    • Author, जो टाइडी र सेसिलिया बारिया
    • Role, साइबर संवाददाता र बीबीसी मुन्डो

लगातार बिटकोइनको मूल्यवृद्धिका बीच एल साल्भडोरका राष्ट्रपतिले सरकारी रकमबाट खरिद गरेको बिटकोइन ‘रिजर्भ’ नाफामा गएपछि उनले त्यसको उत्सव मनाइरहेका छन्।

सन् २०२१ यता नायिब बुकेलेले बिटकोइन किन्न आफ्नो गरिब राष्ट्रको १० करोड अमेरिकी डलरभन्दा बढी रकम खर्च गरिसकेका छन्।

“पहिलेको भनाइ फिर्ता गर र मसँग माफी माग,” उनले आलोचकहरूलाई (पहिले ट्विटर भनिने) एक्समा लेखेका छन्।

अर्थशास्त्रीहरू भने बिटकोइनले अपनाउने उच्च-जोखिमयुक्त कारोबारका कारण उनले यसरी उत्सव मनाउन हतार गरेको बताउँछन्।

उक्त मध्यअमेरिकी देशमा उनको लोकप्रियता उच्च रहेकोले विवादास्पद दोस्रो कार्यकालका लागि प्रचार गर्न बुकेलेले यसै साता राष्ट्रपति पदबाट राजीनामा दिएका छन्।

मूल्य कति बढ्यो?

उनको बिटकोइनको ‘पोर्टफोलियो’ ‘ट्र्याक’ गर्ने वेबसाइटका अनुसार उनले किनेका दुई हजार सात सय ६४ कोइनको मूल्य मङ्गलवार दिउँसो उनले तिरेको रकमभन्दा बढी भएको छ।

यदि उनले ती कोइनहरूलाई एक्समा लेखेको समयमा बेचेका भए थप लगभग ३७ लाख अमेरिकी डलर कमाउन सक्थे।

ती विवरणहरूमा प्रत्येक खरिदको घोषणा गर्ने बुकेलेका एक्स पोस्टहरूको मात्र अनुमान गरिएको छ।

तर उक्त वेबसाइटका सञ्चालकसँग भने सम्पर्क हुन सकेन।

एल साल्भडोरका राष्ट्रपति नायिब बुकेले

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, एल साल्भडोरका राष्ट्रपति नायिब बुकेले

राष्ट्रपतिले के भने?

बुकेलेले सोमवार आफ्नो सफलताको घोषणा गर्दै उक्त वेबसाइटको ग्राफको तस्बिर पोस्ट गरेका थिए।

तर एक्स प्रयोगकर्ताहरूले त्यसमा गणनाको गल्ती भएको र उनले देखाएको स्तरमा २४ घण्टापछि मात्र पुगेको औल्याए।

"एल साल्भडोरको बिटकोइन लगानी नाफामा छ," बुकेलेले एक्समा पोस्ट गरेका छन्।

"वास्तवमा हजारौँ लेखहरू लेखिएका थिए र तिनले हाम्रो अनुमानित घाटा देखाउँदै हामीलाई खिल्ली उडाएका थिए", उनले भने।

"ती चर्चित लेखका लेखकहरूले उनीहरूको दाबी फिर्ता लिनु महत्त्वपूर्ण हुनेछ।"

बुकेलेका पोस्टहरूलाई प्रायः प्रशंसा गरिएको पाइन्छ।

बिटकोइनप्रति उत्साहित हुनेहरूले उनको दूरदर्शिता र डिजिटल मुद्राको सम्भावनालाई पुष्टि गर्नका निम्ति त्यस्तो गर्ने गर्छन्।

भाउ बढ्नु कति महत्त्वपूर्ण?

एक चरणमा बुकेलेको तिरेको रकमभन्दा उनले किनेको बिटकोइनको मूल्य आधा थियो। तर गत साता एउटा बिटकोइनको मूल्य ४४ हजार डलरले बढेको छ।

अमेरिका र अन्यत्र क्रिप्टोकरन्सीसम्बन्धी वित्तीय नियमहरूमा सम्भावित परिवर्तनको असर त्यसमा पर्ने ठानिएको छ।

एल साल्भडोर र अन्यत्रका केही अर्थशास्त्रीहरू अहिलेको क्षण बुकेलेले चाहेजस्तो महत्त्वपूर्ण नभएको बताउँछन्।

उनको सरकारले बिटकोइन किन्नमा खर्च गरेको १० करोड अमेरिकी डलर बिटकोइनलाई साल्भडोरियनहरूबीच प्रवर्द्धन गर्न प्रयोग गरिएको सार्वजनिक कोषको एउटा अंश मात्र हो।

उक्त देश नगदकै जसरी क्रिप्टोकरेन्सीलाई मान्यता दिने पहिलो देश बनेको थियो।

एल साल्भडोरको सान साल्भडोरस्थित फ्रान्सिस्को गाभिडिया विश्वविद्यालयको इन्स्टिट्यूट अफ साइन्सका निर्देशक ओस्कर पिकार्डो भन्छन्, "सरकारले चिभो वालेट एप्लिकेशन विकास गर्न धेरै पैसा खर्च गर्‍यो। त्यस्तै काम नगर्ने एटीएमहरू स्थापना गर्न पनि उसले खर्च गरेको छ।"

उनका अनुसार सरकारले अन्तर्राष्ट्रिय प्रवर्द्धनात्मक कार्यक्रमका लागि पनि ठूलो धनराशि खर्चेको छ।

उनी भन्छन्, "तपाइँले सबै खर्चहरू जोडेपछि परिणाम सकारात्मक हुन सक्दैन। त्यसको परिणाम भनेको घाटा हो।"

एल साल्भडोर

तस्बिर स्रोत, Reuters

प्रयोगकर्ता कम

एल साल्भडोरमा बिटकोइन प्रयोगबारे गत जुनमा बीबीसीले वृत्तचित्र बनाउने क्रममा त्यहाँ ठूलो लगानी गरिए पनि धेरैजसो जनसङ्ख्याले बुकेले र अन्य बिटकोइन प्रयोगबाट उत्साहित भएकाहरूले चाहेकोभन्दा कम मात्रामा उक्त डिजिटल मुद्रा प्रयोग गरिरहेको पत्ता लगाएको थियो।

त्यहाँका एक स्वतन्त्र अर्थशास्त्री तातिआना मारोक्विन भन्छिन्, "बिटकोइनको मूल्यवृद्धिबारे बुकालेको विजयी भाव एकदम भ्रमपूर्ण छ।”

"यसले बिटकोइन परियोजनाको आर्थिक क्षतिको पूर्ति गर्न सक्दैन।"

लगभग २० करोड अमेरिकी डलर सार्वजनिक कोषको रकम नागरिकहरूलाई डिजिटल मुद्रा प्रयोग गर्न मनाउनका निम्ति प्रयोग गरिएको उनी बताउँछिन्।

"यो पूर्ण रूपमा असफल भएको कुरा हो," उनले भनिन्।

"एल साल्भडोरमा लगभग कसैले बिटकोइन प्रयोग गर्दैन। पर्यटनमा पनि यसको आकर्षक भएको जस्तो लाग्दैन।"

फाइदा के?

बुकेलेले लगातार लागुऔषध विरुद्ध गरेको कारबाहीले उनलाई देशमा निकै लोकप्रिय बनाएको छ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, बुकेलेले लागुऔषधविरुद्ध गरेको कारबाहीले उनलाई देशमा निकै लोकप्रिय बनाएको छ

एउटा थिङ्कट्याङ्क सेन्ट्रल अमेरिकन इन्स्टिट्यूट अफ फिस्कल स्टडीज (आईसीईएफआई) की वरिष्ठ अर्थशास्त्री लाउर्डेस मोलिनाले विदेशमा पैसा पठाउन लागत घटाउनका लागि बिटकोइनको प्रयोग घटेको कुरामा सहमति जनाइन्। साल्भडोरिअनहरू नगदका रूपमा डलरको स्थिरतामा भर पर्ने गर्छन्।

यद्यपि हालका महिनाहरूमा बिटकोइनको मूल्यमा वृद्धि भएको छ।

"चरम गरिबी र खाद्य असुरक्षा अनि त्यो बढ्दै गएको सन्दर्भमा यस्ता सौदाबाजीमा सार्वजनिक कोषको रकम बाँड्नुको सामाजिक लागत व्यापक छ," उनी भन्छिन्।

"सार्वजनिक कोषको रकम साल्भडोरिअन जनसङ्ख्याको आधारभूत आवश्यकताहरू सुनिश्चित गर्न प्रयोग गर्न सकिन्छ। त्यस्ता कुरमा खानामा सबैको पहुँच वा आफू टिक्न सक्ने आयआर्जनको व्यवस्थालगायतका कुरा हुन सक्छन्।"

अर्थशास्त्रीहरू पारदर्शिताको कमी भएको पनि बताउँछन्। बिटकोइनमा भएको खर्च वा बुकेलेको १० करोड अमेरिकी डलर बराबरको ‘रिजर्भ’को स्थितिलाई कुनै पनि सार्वजनिक निकायले हेरेका छैनन्।

पारदर्शिताको प्रश्न

बिटकोइन

तस्बिर स्रोत, Reuters

लन्डन स्कूल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्सको स्कूल अफ पब्लिक पोलिसीका नीतिसम्बन्धी फेलो फ्रान्क मुसी भन्छन्, "(बिटकोइनमा भएको खर्चबारे) राष्ट्रपति बुकेलेका ट्वीटबाहेक अरू कुनै आधिकारिक जानकारी छैन।"

उनले सरकारले दाबी गरेजस्तो बिटकोइनको शून्य लागतको दाबीमाथि पनि शङ्का व्यक्त गरे।

बिटकोइन प्रयोग गर्न उत्साहित केही व्यक्तिहरू पनि जानकारीको कमीबारे आलोचनात्मक छन्।

"यो धेरै दुर्भाग्यपूर्ण किनभने उनीहरूले आफ्नो बिटकोइन खातालाई औपचारिक रूपमा खुलासा गर्दैनन्," एकजना क्रिप्टो लगानीकर्ता प्लेडिटरले एक्समा लेखेका छन्।

"एक हिसाबले यो फोर्ट नक्समा रहेको अमेरिकाको सुन भन्दा पनि बढी अपारदर्शी छ।"

बुकेलेको कार्यालयलाई बिटकोइनबारे प्रश्न सोधिएको भए पनि उसले कुनै टिप्पणी वा जानकारी दिएन।

'द बिटकोइन स्ट्यान्डर्ड'का लेखक सेफिडिअन अमोसलाई बुकेले सरकारले बिटकोइनका लागि आर्थिक सल्लाहकारको रूपमा नियुक्त गरेको थियो।

उनले पनि पारदर्शिता नभएको भन्ने विषयमा उठेका प्रश्नहरूको जबाफ दिएनन् तर बिटकोइनको ‘रिजर्भ’मा बढेको मूल्य भनेको उत्सव मनाउने क्षण भएको बताए।

"के महत्त्वपूर्ण छ भने एल साल्भडोरको लगानीले दुई वर्षपछि पुन: प्रतिफल प्राप्त गरेको छ। राजनीतिज्ञ, अर्थशास्त्री र अन्तर्राष्ट्रिय संस्थाहरूले बारम्बार बुकेले र उनको बिटकोइन नीति असफल भएको भनेका थिए। त्यसको कारण भनेको बिटकोइनको मूल्य घट्नु थियो," उनले भने।

उनले बिटकोइनले राष्ट्रिय मुद्राहरू र सरकारी बन्डहरूका निम्ति एउटा आकर्षक विकल्प प्रस्ताव गरेको बताए।

यद्यपि बिटकोइनको मूल्यमा निरन्तर गिरावट आएको छ।

आईएमएफको आलोचना

"उपभोक्ताले भुक्तानीका लागि अपनाउने विधिको छोटो अवधिको चिन्ताका आधारमा एल साल्भडोरको बिटकोइन रणनीतिलाई खारेज गर्दा समग्र अवस्था बुझ्न सकिँदैन," अमोसले भने।

"उपभोक्ताले गर्ने भुक्तानीभन्दा धेरै महत्त्वपूर्ण भनेको बिटकोइनले आर्थिक स्वतन्त्रता र एल साल्भडोरको ढुकुटीमा खेल्न सक्ने भूमिका हो। यसले एउटा मौज्दातमा रहेको सम्पत्तिको रूपमा काम गर्छ र समयसँगै यसले व्यापक रूपमा बढ्दो विश्वव्यापी तरलताको पुल बन्ने काम गर्छ।"

बुकेलेले बारम्बार अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) जस्ता संस्थाहरूको आलोचना गरेका छन्।

ती संस्थाहरूले एल साल्भडोरलाई क्रिप्टोकरन्सीले निम्त्याउने जोखिमहरूको बारेमा चेतावनी दिएका थिए।

उनको आलोचनापछि ती संस्थाबाट ऋण पाउन गाह्रो हुने बताइएको छ। आईएमएफले भने पछिल्लो विवरणबारे कुनै टिप्पणी गरेको छैन।

बुकेलेले बिटकोइनको मूल्यमा उतारचढाव जारी रहने कुरा स्वीकार गरेका छन्। तर बिटकोइनको रिजर्भ बेच्ने उनको कुनै योजना छैन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।