स्टेबलकोइन धराशायी हुँदा क्रिप्टोकरेन्सी बजारमा हलचल

तस्बिर स्रोत, Getty Images
- Author, जो टाइडी
- Role, साइबर संवाददाता
एउटा लोकप्रिय टोकनको मूल्य ९९ प्रतिशतले तल झरेपछि क्रिप्टोकरेन्सी बजारमा हलचल आएको छ।
टेरायूएसडी नामक स्टेबलकोइनसँग सम्बन्धित टेरा लुना नामक टोकनको मूल्य गत महिना ११८ अमेरिकी डलर पुगेको थियो तर बिहीवार त्यो ०.०८ डलरमा झर्यो।
स्टेबलकोइन भनेको अमेरिकी डलर या अन्य मुद्रासँग सटही दर स्थायी राख्न खोजिने क्रिप्टोकरेन्सी हुन्। यसका कम्पनीले एक टोकन बराबर एक वा कुनै निश्चित अमेरिकी डलरसँग सटही दर राख्न प्रयास गर्छन्।
यसले गर्दा त्रसित भएका लगानीकर्ताहरूले प्रमुख क्रिप्टोकरेन्सी बेच्न खोज्दा समग्र बजार नै प्रभावित बनेको थियो।
तर बिहीवार टेरायूएसडीको मूल्य ०.४ अमेरिकी डलरमा झरेको कोइन मार्केट क्याप नामक वेबसाइटले जनाएको छ।
सबैभन्दा लोकप्रिय स्टेबलकोइन टीथरको मूल्य पनि ०.९५ अमेरिकी डलर मात्रै रह्यो।
त्रसित लगानीकर्ता
ट्विटर र गुगलमा क्रिप्टोक्य्राश शब्द बिहीवार चर्चामा रह्यो।
अहिले क्रिप्टोकरेन्सीको समग्र बजार मूल्य ११ खर्ब २० अर्ब अमेरिकी डलर बराबर छ जुन गत नोभेम्बरको बजार मूल्यभन्दा एक तिहाइ मात्रै हो। यो सातामात्रै क्रिप्टोकरेन्सी बजारको मूल्य ३५ प्रतिशतले घट्यो।
बिहीवार एक बिटकोइनको मूल्य २७ हजार अमेरिकी डलर रह्यो जुन सन् २०२० डिसेम्बरयता सबैभन्दा कम हो। यसको मूल्य गत वर्ष ७० हजार प्रति बिटकोइनसम्म पुगेको थियो।
गत २४ घण्टामा दोस्रो मूल्यवान क्रिप्टोकरेन्सी इथरीअमको मूल्य २० प्रतिशतले घटेको छ।
"टेरायूएसडी धराशायी भएपछि त्यसले ठूला लगानीकर्ताहरूले धेरे मात्रामा सम्पत्ति बेच्ने प्रयास गर्न र साना लगानीकर्ताले जति सकिन्छ पैसा उठाउन प्रयास गर्न दुरुत्साहन गर्यो" अर्थशास्त्री फ्रान्सेस कोपोलाले भने।
"अहिले जे भइरहेको छ त्यो अत्यास हो।"
बुधवार टेरायूएसडी र टेरालुना चलाउने टेराफर्म ल्याब्सका संस्थापकले ट्वीट गरे, "हामी सबैका लागि गत ७२ घण्टा धेरै नै कठिन भएको म बुझ्छु। म तपाईँहरू प्रत्येकसँग काम गरेर यो सङ्कट टार्न र यहाँबाट आफ्नो निकास खोज्न कटिबद्ध छु।"
टेरालुनालाई उकास्न थप टोकनहरू बनाउने योजना बनाइएको छ तर ट्विटरमा धेरैले टेराफर्म ल्याब्सको सहयोग मागेका छन्।
सो कम्पनीका सदस्यहरूले छलफल गर्ने च्यानल भने "नयाँ मानिसहरू आएर त्रास, अन्योल र मिथ्या सूचना फैलाउन सक्ने भएकोले" बन्द गरिएको बताइएको छ।
टीथरका प्रमुख प्रविधि अधिकारीले भने बेच्न चाहने सबैलाई पुग्ने कोष कम्पनीमा रहेको दाबी गरेका छन्।
नियमन आवश्यक
केही देशका सांसद र अधिकारीहरूले स्टेबलकोइन नियमन गर्नु पर्ने बताएका छन्।
अमेरिकी वित्तमन्त्री जानेट यलनले सिनेटको एक समितिको मङ्गलवारको बैठकमा टेरायूएसडीको नाम लिँदै बलियो नियमन आवश्यक रहेको बताइन्।
"यसले यो तीव्र गतिमा विस्तार भएको उत्पादन भएको तथा आर्थिक स्थिरतामा जोखिम भएको र उपयुक्त नियमन आवश्यक भएको देखाउँछ," उनले भनिन्।









