बिटकोइन: सबैभन्दा ठूलो क्रिप्टो मुद्राको मूल्य किन ओरालो लागिरहेको छ

bubble burst

तस्बिर स्रोत, Getty Images

    • Author, जोइ क्लिनमेन
    • Role, प्रविधि सम्पादक

बिटकोइनको बारेमा लेख्ने विषयको पहिलो नियम हो: यसबारे नलेख्नुहोस्।

किनभने विश्वमा सबैभन्दा चर्चित क्रिप्टोकरेन्सीबारे कुनै पनि कुरा आश्चर्यजनक द्रुत गतिमा परिवर्तन हुन्छ। र हामीले केही लेख्यौँ भने त्यो केही घण्टामै फरक हुनसक्छ।

तर अहिले यसका बारेमा लेख्नै पर्ने अवस्था आएको छ किनभने गएको केही दिनमा बिटकोइनमा ठूलो सङ्कट देखिएको छ।

यो सामग्री बिटकोइनको बारेमा छ तर अन्य सबै क्रिप्टोकरेन्सीमा पनि यो लागु हुनसक्छ किनभने अहिले समग्र क्रिप्टोकरेन्सी बजारमा सङ्कट देखिएको छ।

के भइरहेको छ?

बिहीवार एउटा बिटकोइन २२,१२७ अमेरिकी डलरमा कारोबार भइरहेको छ। गएको पाँच दिनयता यसमा २५ प्रतिशत गिरावट आएको छ।

विगत १८ महिनामा यो सबैभन्दा कम मूल्य पनि हो।

गएको नोभेम्बरमा बिटकोइनको मूल्य हालसम्मकै उच्च ७०,००० डलर रहेको थियो।

विगतको महिनामै पनि बिटकोइनको मूल्य ओरालो लागिरहेको देखिन्छ।

बिटकोइनको मूल्य

किन बिटकोइनको मूल्य ओरालो?

विज्ञहरूका अनुसार विश्वव्यापी आर्थिक अवस्था कारण यस्तो भएको हो। क्रिप्टोबजारमा मात्रै होइन अहिले सबैतिर समस्याहरू देखिएका छन्।

मन्दी सन्निकट देखिन्छ भने महँगी आकासिएको छ। ब्याजदर बढिरहेको छ भने जीवनयापनको खर्च धान्नै नसकिने अवस्थामा पुगेको छ। सेयर बजार पनि अस्थिर छ।

यसको परिणाम स्वरूप ठूला लगानीकर्ताहरूको पनि आफ्नो रकमलाई लिएर हात बाँधिएको छ। सामान्य लगानीकर्ताहरूलाई लगानी गर्न गाह्रो अवस्था छ।

धेरैका लागि जोखिमपूर्ण र पूर्वानुमान गर्न नसकिने क्रिप्टोकरेन्सी जस्ता क्षेत्रमा लगानी गर्नु यस्तो बेलामा ठूलो जोखिम हुने देखिन्छ।

यो वित्तीय निकायहरूद्वारा नियमन नगरिएको र सुरक्षा नदिइएको क्षेत्र हो।

क्रिप्टोकरेन्सीको मूल्य घट्यो वा क्रिप्टो वालेटको पहुँच गुम्यो भने लगानीकर्ताको बचन त्यसै डुब्न सक्छ।

क्रिप्टो

तस्बिर स्रोत, crypto.com

तस्बिरको क्याप्शन, हलिवुडका चर्चित कलाकार म्याट डेमोनले सन् २०२१ को अक्टोबरमा क्रिप्टोको विज्ञापनमा अभिनय गरेका थिए

किन अहिले नै?

अघिल्लो महिना चर्चामा नरहेका दुई वटा क्रिप्टो मुद्रा डुबे। त्यसले बजारप्रति जनविश्वासमा ठूलो प्रहार गर्‍यो।

जसका कारण मानिसहरूले क्रिप्टोकरेन्सी बिक्री गर्ने निर्णय लिन थाले।

जति बढी मानिसहरूले बिटकोइन बिक्री गर्छन्, त्यति नै त्यसको मूल्य कम हुन्छ।

यसको मूल्य मानिसहरूले यसलाई किन्ने चाहनामा निर्भर हुन्छ। मूल्य घटेको देख्न थालेपछि अझ धेरै व्यक्तिहरूले बिक्री गर्न थाल्छन् र यो चक्र निरन्तर रहिरहन्छ।

अरू परम्परागत सम्पत्तिजस्तो बिटकोइनसँग आफूलाई बलियो बनाउने कुनै आधारभूत मूल्य नभएको फाइनान्सियल टाइम्सकी बजार सम्पादक केटी मार्टिन बताउँछिन्।

"यसको मूल्य यो कतिमा किन कति मान्छे तयार छन् भन्ने हो।"

उनले धेरै जना मानिसहरूले बिक्री गर्न चाहे यसको मूल्य स्थिर राख्ने उपाय नरहेको बताइन्।

"यदि धेरे मानिसहरूले बिटकोइन नराख्ने निर्णय गरे वा बेच्ने निर्णय लिने भने भोलि यसको कारोबार १० हजार डलरमा हुने अवस्थाबाट कसैले रोक्न सक्दैन।"

किन अहिले यस्तो भइरहेको छ?

बिटकोइनको पछिल्लो पृष्ठभूमि एकदमै कठिन देखिएको छ र पछिल्ला केही दिनमा देखा परेका जटिलता यस्ता छन्:

  • विश्वकै सबैभन्दा ठूलो क्रिप्टो कारोबार प्लेटफर्मले केही घण्टा बिटकोइनहरू किनबेच प्रतिबन्ध लगाएको थियो। उसले एउटा 'कारोबारमा अवरोध' भएपछि त्यसो गरेको बताएपनि सबैले त्यसलाई विश्वास गरेनन्।
  • क्रिप्टो उधारो दिने सेल्सिअसले पनि त्यस्तै गर्‍यो। तर उसले प्राविधिक जटिलताभन्दा पनि 'खराब बजार अवस्था' उल्लेख गरेको थियो।
  • कोइनबेसले "क्रिप्टोमा देखिएको समस्यालाई" दोष लगाउँदै आफ्ना १८ प्रतिशत कर्मचारीहरू कटौती गर्ने बताएको छ।
  • यसबाट आश्चर्यमा परेका लगानीकर्ताहरूले अझ धेरै बिटकोइनहरू बिक्री गर्न थालेका छन्।

पहिलो दुईवटा कदमले भयको अवस्था निम्त्यायो।

कल्पना गर्नुहोस् त हामी आफ्नो ब्याङ्कबाट पैसा झिक्न सक्दैनन् भन्ने थाहा भयो र एटीएम नजिक छौँ भने हामी के गर्छौँ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, न सिक्का न नोटः बिटकोइन के हो?

अवस्था फेरिन्छ?

बिटकोइन बजारलाई स्थिर बनाउने हो भने त्यसको स्वामित्व भएका व्यक्तिहरू अडिनुपर्छ र अरूले यसलाई फेरि किन्न थाल्नुपर्छ।

पहिले यस्तो पनि भएको छ। क्रिप्टो समर्थकहरूले अहिले तपाईँलाई मूल्य सस्तो भएकाले यो किन्ने सही समय भएको बताउँछन्।

चाँडै धनी भएका व्यक्तिका पत्यारिला कथाहरू र चर्चित सेलेब्रेटीहरूको यसलाई प्रचार गर्दा नयाँ लगानीलाई आकर्षित गर्छ।

इलोन मस्कले क्रिप्टोप्रति आफ्नो प्रेमबारे ट्वीट गरेका छन् भने उनको विद्युतीय कार कम्पनी टेस्लाले अघिल्लो वर्ष बिटकोइनमा डेढ अर्ब डलर लगानी गरेको थियो।

तर लगानी परामर्शदाताहरूले सावधानी अपनाउनुपर्नेमा जोड दिएका छन्।

"साँच्चै भन्नुपर्दा यो भनेको आँटिलाहरूले प्रवेश गर्नुपर्ने क्षेत्र हो," स्टेट स्ट्रिट सल्लाहकार अल्ताफ कसामले बीबीसी रेडिओ फाइभको एउटा कार्यक्रमसँग भनेका छन्।

र त्यस्ता आँटिला व्यक्तिको तुलना गर्दा हलिवुडका चर्चित कलाकार म्याट डेमोनको पनि सम्झना गरिन्छ जसले सन् २०२१ को अक्टोबरमा 'भाग्यले साहसी व्यक्तिहरूलाई साथ दिन्छ" भन्दै क्रिप्टोको विज्ञापनमा अभिनय गरेका थिए।

त्यो विज्ञापन युट्युब र ट्विटरमा दुई करोड ८० लाख पटक हेरिएको छ।

त्यो विज्ञापन आउँदा बिटकोइन खरिद गर्ने व्यक्तिहरू त्यसबेला जति 'आँटिला' थिए अहिले उनीहरूले आफूलाई कुनै 'विशेष व्यवहार' नगरिएको सम्भवतः महसुस गरिरहेका होलान।

त्यसबेला बिटकोइनको मूल्य सम्भवतः अहिले भन्दा करिब तीन गुणा बढी थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कतै तपाईँको फोनमा जासुसी गर्ने स्पाईवेअर त छैन?