तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारत-चीन सीमास्थित तनावग्रस्त क्षेत्रमा 'अभूतपूर्व सङ्ख्यामा भारतीय सैनिक'
चीनसँगको विवादित सीमा क्षेत्रमा परिचालित भारतीय सैनिकको सङ्ख्या थप गर्दै अहिलेसम्मकै सबैभन्दा धेरै पुर्याइएको भारतीय विदेशमन्त्रीले बताएका छन्।
विदेशमन्त्री एस जयशङ्करले चीन एक्लैलाई “सीमामा जारी यथास्थितिमा परिवर्तन ल्याउन” भारतले नदिने बताए।
अरुणाचल राज्यमा गत साता भारत र चीनका सैनिकहरूबीच झडप भएपछि भारतीय विदेशमन्त्रीको यस्तो प्रतिक्रिया आएको हो।
चिनियाँ सैनिकहरूले सीमामा अतिक्रमण सुरु गरेपछि प्रतिवाद गरिएको भारतीय पक्षको दाबी छ।
चीनको विदेश मन्त्रालयले झडप भएको सीम क्षेत्र अहिले शान्त रहेको र दुवै पक्षले शान्ति कायम राख्नेबारे छलफल चलिरहेको जनाएको छ।
भारत र चीनबीच ३,४४० किलोमिटर सीमा क्षेत्रमा विवाद छ।
दुई देशबीचको विवादित सीमाक्षेत्रलाई लाइन अफ एक्चूअल कन्ट्रोल ‘एलएसी’ भनिन्छ र यो क्षेत्रमा सीमा विभाजन एकदमै अस्पष्ट छ।
समयसमयमा भइरहन्छ झडप
दुवै पक्षका सैनिकहरू कतिपय अवस्थामा आमनेसामने हुने गरेका छन्। कहिलेकाहीँ उनीहरूबीच झडप र अन्य खालका यगायतका तनाव पनि उत्पन्न हुने गरेका छन्।
सन् २०२० मा हिंसात्मक झडप भएपछि दुवै पक्षले तनाव कम गर्ने प्रयास जारी राखेका छन्। लद्दाख क्षेत्रको गलवान उपत्यकामा भएको उक्त झडपमा २० भारतीय सैनिक र चार चिनियाँ सैनिकको ज्यान गएको थियो।
गत डिसेम्बर ९ मा पुनः झडप भयो र त्यसमा केही सैनिक घाइते पनि भए।
अहिले दुवै पक्ष उक्त क्षेत्रबाट पछि हटेको भारतीय सेनाले जनाएको छ।
सञ्चार कम्पनी इन्डिया टुडले सोमवार आयोजना गरेको एक कार्यक्रममा जयशङ्करले भने, “हामीले अभूतपूर्व सङ्ख्यामा भारतीय सैनिकहरू चीनसँगको सीमामा परिचालित गरेका छौँ।"
“चिनियाँ उग्रताको प्रतिवाद गर्न त्यसो गरिएको हो। एलएसीको एकपक्षीय परिवर्तनमा प्रतिवादका लागि भारतीय सैनिकहरू अहिले परिचालित छन्,” उनले भने।
यसबारे चीनले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन।
पछिल्लो झडपले भारतमा गत साता राजनीतिक आक्रोश पैदा गरेको थियो।
सीमाको स्थितिबारे संसद्मा तत्काल छलफल गर्नुपर्ने आफ्नो माग अस्वीकृत भएपछि प्रतिपक्षी दलहरूले संसद् बहिष्कार गरेका थिए।
भारतको विपक्षी कंग्रेसका नेता राहुल गान्धीले सरकारलाई चीनबाट हुन सक्ने खतरालाई बेवास्ता गरेको आरोप लगाएका छन्।
सीमामा भारत र चीनबीच विवाद किन
नेपालका शक्तिशाली दुई छिमेकी देशहरूबीचको ३,४४० किलोमिटर सीमा क्षेत्रमा विवाद भइरहनुको प्रमुख कारण स्पष्ट सिमाना तय नहुनु हो।
नदी, ताल र हिउँले छुट्टाएको सीमा समय समयमा परिवर्तन भइरहन्छ र यसले सीमा सुरक्षामा खटिएका सैनिकहरू आमनेसामने हुने स्थिति सिर्जना गर्छ।
अर्को प्रमुख कारण भनेको सीम क्षेत्रमा दुई देशबीच पूर्वाधार निर्माणमा भइरहेको प्रतिस्पर्धा हो।
भारतले सडक बनाएको विषयमा सुरु भएको विवादका कारण सन् २०२० को जुन महिनामा पूर्वी लद्दाखको गलवानमा चीन र भारतका सैनिकहरूबीच रक्तपातपूर्ण भिडन्त भएको थियो।
गत वर्षको ज्यानुअरीमा पनि भुटाननजिकै रहेको क्षेत्रमा दुई देशका सैनिकहरूबीच झडप हुँदा केही घाइते भएका थिए।
गत वर्षकै सेप्टेम्बरमा भारतीय सैनिकहरूले सीमामा गोली चलाएको आरोप चीनले लगाएको थियो। यदि त्यो सत्य थियो भने सन् १९६२ मा दुई देशबीच भएको युद्धपछि त्यो पहिलो गोली प्रहार हो।
सन् १९९६ मा दुई देशबीच भएको सम्झौताले सीमाक्षेत्रमा हतियार र विस्फोटक पदार्थ प्रयोग निषेध गरेको छ।
दुई देशबीच हालसम्म एक पटक मात्रै युद्ध भएको छ जसमा भारतले हार बेहोरेको थियो।
आणविक शक्तिसम्पन्न राष्ट्रका रूपमा उदाएका यी दुई देशबीच समयसमयमा तनाव भइरहने गरेको छ।