गैरआवासीय नेपाली नागरिकता लिएकाले नेपाल आउँदा भिसा लगाउनु पर्ने

गैर आवासीय नेपाली नागरिकता वितरण

तस्बिर स्रोत, DAO SOLUKHUMBU

गैरआवासीय नेपाली नागरिकता लिएका करिब १,४०० गैर आवासीय नेपालीहरूले नेपाल आउँदा भिसा लगाउनु पर्ने गृह मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

गृह मन्त्रालयले पछिल्लो पटक अद्यावधिक गरेको विवरण अनुसार माघ १० गतेसम्म १,३७२ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन्।

गत जेठमा कानुन र असोजमा नियमावली बनेपछि सरकारले नयाँ संविधान अनुसारको गैरआवासीय नेपाली नागरिकता वितरण सुरु गरेको थियो।

गैरआवासीय नेपाली सङ्घका तत्कालीन कार्यकारी अध्यक्ष बद्री केसी, र अध्यक्ष कुल आचार्य सहितका पदाधिकारीलाई प्रधानमन्त्री मार्फत् नागरिकता हस्तान्तरण गरेर सुरु भएको यस्तो नागरिकता वितरण सबैभन्दा धेरै काठमाण्डू जिल्लाबाट भएको गृह मन्त्रालयको तथ्याङ्क छ।

सबैभन्दा धेरै गैरआवासीय नागरिकता जारी भएका जिल्लाहरू

काठमाण्डू४३१
चितवन८४
ललितपुर८४
कास्की८२
रुपन्देही५४
झापा५३
भक्तपुर५२
जम्मा जारी गैर आवासीय नागरिकता सङ्ख्या: १३७२
Source: गृह मन्त्रालय

चार महिनाको अवधिमा काठमाण्डूबाट मात्रै ४३१ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन्। त्यसपछि चितवन र ललितपुरबाट सबैभन्दा धेरै यस्तो नागरिकता वितरण भएका छन्।

गृह मन्त्रालयका अनुसार हुम्ला, डोल्पा, मुस्ताङ लगायतका कतिपय दुर्गम हिमाली जिल्लाबाट हालसम्म एक जनाले पनि यस्तो नागरिकता लिएका छैनन्।

नागरिकता लिन के गर्नुपर्छ

गैर आवासीय नेपाली नागरिकता वितरण

तस्बिर स्रोत, Kul Acharya

‍गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख थानेश्वर गौतम कुनै समय नेपाली नागरिक भएको प्रमाण पुगेसम्म जिल्ला प्रशासन कार्यालयहरूले यस्तो नागरिकताका लागि सहजीकरण गरिरहेको बताउँछन्।

“कुनै समय नेपाली नागरिक रहेको र अहिले गैरआवासीय नेपाली भएको पुष्टि हुने प्रमाण भएको अवस्थामा यसअघि लिएको नेपाली नागरिकताको सक्कल प्रति नभेटिएका कतिपय गैरआवासीय नेपालीहरूलाई पनि गैरआवासीय नेपाली नागरिकता दिइरहेका छौँ,” गौतमले भने।

गैर आवासीय नेपाली नागरिकता वितरण सम्बन्धी कार्यविधिमा निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै साबिकमा नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्ने भनिएको छ।

असोज ४ गते गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको नियमावलीमा गैरआवासीय नेपाली नागरिकता लिन आफ्नो वा आफ्नो आमाबुवा वा बाजे बज्यैको नेपाली नागरिकता जारी भएको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सकिने उल्लेख छ।

गैरआवासीय नेपालीहरूले आफू बसिरहेको वा उक्त देश हेर्ने नेपाली राजदूतावास वा महावाणिज्य दूतावासबाट पनि निवेदन दिनसक्छन्।

गैर आवासीय नेपाली नागरिकता लिनका लागि सरकारले अनिवार्य गैर आवासीय परिचयपत्र लिनुपर्ने व्यवस्था गरेको छ। नेपालको परराष्ट्र मन्त्रालयमार्फत् वितरण हुने यस्तो परिचयपत्र लिन ५०० अमेरिकी डलर शुल्क तोकिएको छ।

“कानुनले तोकेको प्रक्रिया पूरा गरेपछि उहाँहरूलाई नागरिकता दिने हो। कतिपय अस्पष्टता भएका जिल्लामा गृह मन्त्रालयले परिपत्र गरेरै भए पनि सहजीकरण गरिरहेको छ,” गौतमले भने।

नेपाल आउन भिसा लगाउनुपर्ने

अध्यागमन

तस्बिर स्रोत, DoI Nepal

अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार गैरआवासीय नेपालीहरूले नेपाल आउने क्रममा अन्य विदेशी नागरिकहरू सरह भिसा लगाएर आउनुपर्छ।

“गैरआवासीय नागरिकता नेपालको नागरिकता त्याग गरिसकेपछि पाइने कुरा हो। उहाँहरू नेपाली राहदानी वाहक नहुने भएकाले नेपाल आउँदा अन्य विदेशी नागरिक सरह नै भिसा लगाएर आउनुपर्छ,” तामाङले भने।

“गैरआवासीय परिचयपत्र भएका तर गैर आवासीय नागरिकता नलिएका व्यक्तिहरूले मात्रै अध्यागमनमा छाप लगाएर नेपाल आउन पाउँछन्। तर गैरआवासीय नेपाली नागरिकता लिएकाहरूले भिसा शुल्क पनि तिर्नुपर्छ।”

भिसा लगाएर आउने अधिकांश गैरआवासीय नेपालीहरू नाताका आधारमा दिइने प्रवेशआज्ञाका आधारमा नेपाल आउने गरेका छन्। अध्यागमन विभागका अनुसार यस्तो भिसा लिनका लागि प्रतिमहिना १० अमेरिकी डलर शुल्क तिर्नुपर्छ।

तर गैर आवासीय नेपाली परिचयपत्रका आधारमा नेपालको प्रवेशआज्ञाका लागि कुनै शुल्क नलाग्ने विभागले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।

'सम्बोधनको पहल गरिरहेका छौँ'

गैर आवासीय नेपाली नागरिकता वितरण

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, गैरआवासीय नेपाली नागरिकता लिएकाहरूले पाउने अधिकारबारे अझै केही अस्पष्टता देखिएको छ

गैरआवासीय नेपाली सङ्घका अध्यक्ष बद्री केसी यस्तो समस्या सम्बोधनका लागि गैरआवासीय नेपाली ऐन संशोधनका लागि आफूहरूले पहल गरिरहेको बताउँछन्। (महाधिवेशनबाट केसी निर्वाचित भएको अस्वीकार गर्दै समानान्तर समिति पनि सक्रिय छ।)

“संविधानमै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सहितको नागरिकता भनिएको छ। तर हामीले नागरिकता पायौँ पुरानै कार्यविधि र नियमहरू संशोधन नहुँदा अधिकार पाएनौँ,” उनले भने।

“गैरआवासीय नेपाली ऐनको संशोधन र यसमा समेट्नुपर्ने कुराहरूमा हामीले पहल गरिरहेका छौँ। यो कानुन संशोधन भएपछि धेरै समस्या सम्बोधन हुनेवाला छन्।”

गैर आवासीय नेपाली सम्बन्धी ऐन संशोधनका लागि कानुन आयोगबाट मस्यौदा तयार गरेर परामर्शका लागि सम्बन्धित मन्त्रालयहरूमा पठाइसकेको बताइएको छ।

“नागरिकता भए पछि भिसा लिनुपर्ने होइन तर नेपाली राहदानी नभएका कारण भिसा लिनुपर्छ भनिएको छ। हामीले ऐनमा गैरआवासीय नेपाली नागरिकताका आधारमा नेपाली राहदानी पनि पाउने व्यवस्था प्रस्ताव गरेका छौँ,” केसीले भने।

उनले गैरआवासीय नेपालीहरूले गैरआवासीय नागरिकताका आधारमा जग्गा पास गर्दा पनि समस्या भएको गुनासो गरिरहेको बताए।

भूमि व्यवस्थाबारेको निर्देशिकामा घरजग्गा किनबेचका लागि नेपाली नागरिक हुनुपर्ने व्यवस्था गरिएको तर गैरआवासीय नेपाली नागरिकलाई नेपाली नागरिक भएको परिभाषा नभएका कारण समस्या भएको डिल्लीबजार मालपोत कार्यालयका एक अधिकारीले बताए।

“यसबारे हामी पनि जानकार छौँ। सरकार पनि जानकार छ। तर आवश्यक कानुनी नीतिगत व्यवस्था हुन बाँकी छ,” केसी भन्छन्।

“यसअघि गैर आवासीय नेपाली परिचयपत्र पाइसकेपछि पनि समस्या थियो त्यसको समाधान हुन केही समय लाग्यो। अब कानुन संशोधन भएपछि यो समस्या पनि समाधान हुने हाम्रो विश्वास छ।”

गैरआवासीय नेपाली नागरिकता लिन कस्तो प्रमाण चाहिन्छ?

गैरआवासीय नागरिकता लिनका लागि कानुन अनुसार बुझाउनुपर्ने प्रमण यस्ता छन्:

  • निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै साबिकमा नेपालको नागरिक रहेको प्रमाण
  • सम्बन्धित व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण
  • विदेशी मुलुकको नागरिकता भएको प्रमाण
  • दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठनका सदस्य राष्ट्रबाहेकको देशमा बसोबास गरेको प्रमाण
  • नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिबद्धतापत्र।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।