भारतसँगको नयाँ समझदारीले नेपाल-बाङ्ग्लादेश व्यापारलाई कति सहज पार्छ?

    • Author, विष्णु पोखरेल
    • Role, बीबीसी न्यूज नेपाली

नेपाल र बाङ्ग्लादेशबीच सडक मार्गबाट हुने व्यापारिक गतिविधिलाई सहजीकरण गर्न दिल्ली र काठमाण्डूका उच्च वाणिज्य अधिकारीहरू सहमत बनेको दुवै देशले जनाएका छन्।

उक्त समझदारीपछि भारतीय बाटो हुँदै नेपाल र बाङ्ग्लादेशबीच हुने व्यापारिक आदानप्रदान "निकै सहज बन्ने" व्यापारी तथा विज्ञहरूको विश्वास छ।

नेपालका लागि बाङ्ग्लादेश दक्षिण एशियाली राष्ट्रहरूमा भारतपछिको मुख्य व्यापारिक साझेदार मध्येमा पर्छ।

सामुद्रिक मार्गसम्म आफ्नो सीधा पहुँच नभएको नेपालका लागि कतिपय अवस्थामा बाङ्ग्लादेशी बन्दरगाह भारतीय बन्दरगाहको विकल्प बन्न सक्ने बताइन्छ।

अहिले गरिएको समझदारी कस्तो

गत साता काठमाण्डूमा व्यापार तथा पारवहनसम्बन्धी भारत–नेपाल अन्तरसरकारी समिति आईजीसीको दुई दिने बैठक भएको थियो।

नेपालबाट उक्त बैठकको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले गरेका थिए भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँका वाणिज्य सचिव सुनिल बर्थवालले गरेका थिए।

उक्त बैठकमा विभिन्न सहमति बनेको दुवै देशका वाणिज्य मन्त्रालयहरूले जारी गरेका विज्ञप्तिमा उल्लेख छ।

त्यसमा नेपालको पूर्वी नाका काँकडभिट्टाबाट भारतको फुलबारीहुँदै बाङ्ग्लादेशको बङ्गलाबन्धसम्मको पारवहन व्यवस्थालाई सहजीकरण गर्ने विषय पनि समेटिएको छ।

भारतीय वाणिज्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "नेपाली पक्षको अनुरोधमा भारतीय पक्षले फूलबारी (भारत) को रुट हुँदै काँकडभिट्टा (नेपाल)–बङ्गलाबन्ध (बाङ्ग्लादेश) सम्मको 'कार्गो–इन–ट्रान्जिट'का हकमा सडक परिवहन तथा राजमार्ग मन्त्रालयको प्रचलित नियमअनुसार 'टू एक्सल' सवारीसाधनका लागि अधिकतम 'एक्सल' तौल १८.५ टन र 'थ्री एक्सल' सवारीसाधनका लागि अधिकतम २८ टनको 'एक्सल' तौल नेपाली सवारीसाधनका हकमा पनि लागु गर्न सकिनेमा सहमति जनाएको छ।"

अहिले काँकडभिट्टाबाट बाङ्ग्लादेशतर्फ जाने नेपाली ट्रकहरूको अधिकतम तौल १९ टनभन्दा माथि हुन नहुने व्यवस्था थियो।

सहमतिअनुसार अबको केही समयपछि नै नयाँ व्यवस्था लागु हुने अपेक्षा नेपाली अधिकारीहरू तथा व्यवसायीले बताएका छन्।

त्यसले के फाइदा हुन्छ?

उक्त बैठकमा नेपालको नेतृत्व गरेका वाणिज्य सचिव कार्कीले नेपाल र बाङ्ग्लादेशबीच व्यापारलाई थप सजिलो बनाउन यो समझदारीले भूमिका खेल्ने बताए।

उनले बीबीसीसँग भने, "यसले अब नेपाल र बाङ्ग्लादेशबीचको व्यापारलाई निकै सहज बनाउँछ। हामीले उक्त रुटबाट पारवहन सहजीकरणका लागि थप अनुरोध पनि गरेका छौँ। त्यसमा पनि सकारात्मक जबाफ पाइएको छ।"

पारवहन सेवा दिने व्यवसायीहरूको संस्था नेपाल फ्रेड फर्वाडर्स एसोसिएसन नेफाका वरिष्ठ उपाध्यक्ष नरेशकुमार अग्रवालले आफूहरूले लामो समयदेखि उठाउँदै आएको माग यो समझदारीले सम्बोधन गरेको बताए।

उनले भने, "अब भारतीय बाटोमा पनि हाम्रा ट्रकहरू र भारतीय ट्रकका लागि एउटै नियम लागु हुने भयो। यसअघि भुटानले यस्तो सुविधा पाउँदै आएको थियो। हामीले पनि त्यस्तै सुविधा हुनुपर्छ भन्दै आएका थियौँ।"

"यसले अब नेपालबाट निर्यात गर्दा वा बाङ्ग्लादेशबाट आयात गर्दा ढुवानी व्यवस्थापनमा लाग्ने खर्च घट्छ। आखिर त्यसले सामानको मूल्य घटाउने हो त्यसको फाइदा उपभोक्तालाई पनि हुन्छ," उनले भने।

नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तर्गतको स्थल यातायात तथा पारवहन समितिका सभापति भइसकेका अर्का व्यवसायी प्रकाशसिंह कार्कीले नयाँ सहमतिले बाङ्ग्लादेशसँगको व्यापार सहजीकरणमा मद्दत गर्ने बताए।

उनले भने, "भारतीय गाडीले बोकेसरह हाम्रा गाडीले पनि सामान बोक्न पाउने अवस्था बन्नु निकै सकारात्मक विषय हो।"

'सहमति गर्नुपर्ने अन्य विषय पनि छन्'

अधिकारी, व्यवसायी र विज्ञले पछिल्लो नेपाल-भारत वाणिज्य समझदारीलाई "उपलब्धिमूलक" भने पनि अझै अन्य कतिपय विषयमा भारतीय सहजीकरणका लागि पहल जारी राख्नुपर्ने आवश्यकता औँल्याए।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्व सहसचिव एवं व्यापारविज्ञ रविशंकर सैँजु भन्छन्, "पूर्वी नेपालबाट बाङ्ग्लादेशसम्मको रुटमा अन्य केही प्राविधिक बाधाहरू छन्। तिनलाई हटाउनका लागि हामीले पहिले नै प्रस्ताव गरिसकेका छौँ। अब त्यतातर्फ पनि ध्यान दिनु आश्यक छ।"

हाल नेपालबाट बाङ्ग्लादेश जाने ट्रकहरूको दैनिक निश्चित सङ्ख्या तोकिएको छ र ती पनि दिउँसो मात्र फूलबारीहुँदै बङ्गलाबन्ध जानुपर्छ। दिनको समयमा मात्र ती आवतजावत गर्न पाउँछन्।

काँकडभिट्टाबाट हिँडेका ती ट्रकका ताँतीलाई भारतीय प्रहरीको सुरक्षामा फूलबारी हुँदै बङ्गलाबन्ध पुर्‍याइन्छ।

नेपालबाट बाङ्ग्लादेश पठाएको सामानहरू बङ्गलाबन्धमा पुर्‍याएर नेपाली ट्रकहरूले खन्याउन पाउँछन् तर उताबाट भने सामान ल्याउन पाउँदैनन्।

बङ्गलाबन्धबाट फूलबारीसम्म बाङ्ग्लादेशी ट्रकले सामान ल्याउँछन्। "त्यहाँबाट हामीले लोड गरेर ल्याउने हो," व्यवसायी अग्रवालले भने।

नेपाल-भारत पारवहन सन्धिको प्रोटोकलमा भारतीय सुरक्षामा एक दिनमा २० देखि २५ वटासम्म मात्र नेपाली ट्रकको ताँतीलाई फूलबारी पुर्‍याउने व्यवस्था गरिएको छ।

त्यसरी नेपाली ट्रकहरू पठाउँदा नेपाल पारवहन तथा गोदाम व्यवस्था लिमिटेडको काँकडभिट्टा शाखाका कर्मचारीहरू पनि कागजपत्र लिएर जानुपर्ने हुन्छ।

"यो व्यवस्था निकै झन्झटिलो भएकाले त्यसलाई हटाएर निर्बाध रूपमा नेपाली ट्रकहरूको आवतजावत गर्ने व्यवस्था हुनुपर्छ भन्ने हाम्रो भनाइ रहँदै आएको छ। यो तौल बढाउनेसँगै त्यसो भयो भने सहज हुन्छ," सैँजुले भने।

नेपाल पारवहन तथा गोदाम व्यवस्था लिमिटेडका सूचना अधिकारी तुलसी पोखरेल "सन्धिको प्रोटोकलमा भएको व्यवस्थाअनुसार" नै अहिलेसम्म ट्रकहरूको ताँती बनाएर भारतीय सुरक्षाकर्मीको सुरक्षामा लैजाने गरिएको बताउँछन्।

गत वर्ष वाणिज्य सहसचिवस्तरीय बैठकमा काँकडभिट्टा-फूलबारी-बङ्गलाबन्ध रुटको व्यापार तथा पारवहन सहजीकरण गर्नेबारे छलफल भई समझदारीपत्र आदानप्रदान भइसकेको अधिकारीहरू बताउँछन्।

त्यसमा ट्रकहरूलाई स्वचालित रूपमा चल्ने वातावरण बनाउन तिनमा 'इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम' लगाउने विषय पनि समेटिएको उनीहरूले बताए।

सैँजु भन्छन्, "त्यसो गर्दा बङ्गलाबन्धमा ट्र्याकिङ प्रणाली लगाइदिने अनि काँकडभिट्टामा त्यसलाई खोलिदिने गर्दा भइहाल्छ।"

बाङ्ग्लादेशबाट आएको सामान नेपाल नपुर्‍याइ भारतमै बिक्री नगरियोस् भनेर भारतले ट्रकका ताँतीलाई सुरक्षा दिएर वारपार गराउने प्रणाली सुरु भएको अधिकारीहरू बताउँछन्।

गत साताको बैठकमा नेपाल पक्षको नेतृत्व गरेका कार्की भारतसँग उक्त नाकाबाट हुने व्यापार सहजीकरणका समग्र विषयमा चर्चा भएको र अधिकांश विषयमा भारतीय पक्ष सकारात्मक रहेको बताउँछन्।

उनले भने, "हाम्रो आदानप्रदान भइसकेको समझदारीबारे पनि भारतीय पक्ष सकारात्मक छ। हामी त्यसबारे पनि चाँडै निष्कर्षमा पुग्छौँ।"

अरु कस्ता सहमति भए?

सचिव कार्कीले दिएको जानकारी अनुसार उक्त बैठकमा व्यापार र लगानी सम्बन्धलाई सुदृढ पार्नेबारे विविध विषयमा सकारात्मक छलफलहरू भएका छन्।

बैठकमा द्विपक्षीय व्यापार र आर्थिक सम्बन्धको समस्त क्षेत्रको विस्तृत समीक्षा भएको थियो भने भारतको गुणस्तर दर्तासम्बन्धी प्रावधानका कारण नेपाली निर्यातकर्ताले भोगेको समस्याबारे पनि चर्चा भएको थियो।

केही समयदेखि भारतीय गुणस्तर प्रमाणपत्र नपाउँदा वा नवीकरण नहुँदा नेपालबाट सिमेन्ट, प्लाइउड, जुत्ताचप्पललगायत सामग्रीहरू निर्यातमा समस्या देखिएको छ।

भारतीय पक्षले त्यसबारे नेपालको चासो सम्बोधन गर्ने आश्वासन दिएको अधिकारीहरूले बताए।

त्यस्तै नेपालले दुई लाख टन गहुँ आपूर्ति गर्न गरेको आग्रहलाई भारतले स्वीकृत गरेको जानकारी उक्त बैठकमा भारतीय पक्षले दिएको थियो।

त्यस्तै नेपालबाट भारतमा निर्यात हुने केही वस्तुलाई भारतको क्वारन्टीन सूचीमा राख्न तथा नेपालले भारतीय केही सामानलाई त्यस्तै गर्न पनि बैठकमा सहमति जुटेको बुझिएको छ।

उक्त बैठकमा भारतीय पक्षले नेपालमा दूध निर्यातमा लागेको प्रतिबन्धबारे चासो राखेको थियो।

त्यसबारे नेपालले विचार गर्ने बताएको भारतीय वाणिज्य मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ।

त्यसमा नेपालमा उत्पादन नहुने दुग्धजन्य पदार्थका लागि नेपालले सकारात्मक जबाफ दिएको उल्लेख छ।

नेपाल र बाङ्ग्लादेशबीच व्यापार

नेपालको परराष्ट्र मन्त्रालयका अनुसार काठमाण्डू र ढाकाबीच व्यापार विस्तार र वृद्धि भइरहेको छ भने यसको विस्तार अझै हुने सम्भावना रहेको छ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार नेपालबाट बाङ्ग्लादेशमा मुख्यत: मुसुरो, बिउबिजन, अम्रिसो, अदुवा, अलैँची, जुसलगायतका सामग्रीहरू बाङ्ग्लादेश जान्छन्।

हालै मात्र नेपालले बाङ्ग्लादेशसँग भारतीय बाटो र पूर्वाधार हुँदै ४० मेगावाट जलविद्युत् पठाउने सम्झौता गरेर त्यस्तो बिजुली निर्यात पनि गर्न थालेको छ।

यद्यपि सुक्खा र जाडो मौसम भएकाले अहिले नियमित बिजुली निर्यात भइरहेको छैन।

बाङ्ग्लादेशबाट नेपालमा आयात हुने मुख्य वस्तुमा तयारी पोसाक, औषधी, विद्युतीय सामग्री, जुटका सामग्री, आलुलगायतका वस्तु रहेका छन्।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा नेपालबाट बाङ्ग्लादेशमा करिब साढे ५५ करोड रुपैयाँ बराबरका सामान निर्यात भएका थिए भने बाङ्ग्लादेशबाट ४ अर्ब २२ करोड रुपैयाँ बराबरका सामग्री आयात भएका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।