राष्ट्रपति निर्वाचनको मतपत्रमै उम्मेदवारको फोटो

नमुना मतपत्र

तस्बिर स्रोत, Election Commission Nepal

तस्बिरको क्याप्शन, नमुना मतपत्र निर्वाचन आयोगले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ

आगामी बिहीवार हुने राष्ट्रपति चुनावका लागि निर्वाचन आयोगले उम्मेदवारको तस्बिर सहितका मतपत्र तयार गरेको छ।

निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले नेपालको राष्ट्रपतीय निर्वाचनमा पहिलो पटक यस्तो अभ्यास गरिएको बताए।

“फोटो सहितको मतपत्र यसपालि पहिलो पटक अभ्यास गरिएको हो,” उनले भने।

मतदान प्रयोजनका लागि तयार गरिएका नमुना मतपत्र निर्वाचन आयोगले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ।

आयोगले ३३४ जना सङ्घीय सांसद र ५५० जना प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतपत्र तयार गरेको छ।

राष्ट्रपति निर्वाचनमा ८८२ मतदाता

मतदानस्थल

तस्बिर स्रोत, Shekhar Adhikari

प्रतिनिधिसभाको चितवन क्षेत्र नम्बर २ रिक्त रहेको र मनाङका सांसद टेकबहादुर गुरुङ भ्रष्ट्राचार प्रकरणमा निलम्बनमा रहेका कारण दुई जना मतदाता कम हुने छन्।

निर्वाचन आयोगले ३३२ जना सङ्घीय सांसदको मात्रै मतदाता नामावलीमा नाम प्रकाशित गरेको छ। प्रदेशका भने ५५० जनाकै नाम मतदाता सूचीमा प्रकाशित भएको छ।

सङ्घ र प्रदेशका सांसदको मतभार फरक हुने भएकाले छुट्टाछुट्टै मतपत्र तयार गरिएको आयोगले जनाएको छ।

अहिले सङ्घीय संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ।

सङ्घीय संसद् अन्तर्गतका राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्यहरूले मतदान गर्ने मतपत्र सेतो पृष्ठभूमिमा गुलाबी रङ्गको छ भने प्रदेशसभा सदस्यले मतदान गर्ने मतपत्र सेतो पृष्ठभूमिमा हरियो रङ्गले छापिएको छ।

पहिलो कोठामा नेपाली कांग्रेस सहितको गठबन्धनले अघि सारेका नेता रामचन्द्र पौडेलको नाम सहितको मतपत्र र दोस्रो कोठामा नेकपा एमालेले अघि सारेका सुवासचन्द्र नेम्वाङको नामसँगै तस्बिर पनि हुनेछ।

मतपत्रमा फोटो किन?

निर्वाचन आयोगले मतपत्रमा उम्मेदवारहरूको तस्बिर राख्नुको उद्देश्य कम मत बदर गर्ने उद्देश्य पनि एक भएको बताएको छ।

“राष्ट्रपतिको निर्वाचनमा अरू चुनावजस्तो पार्टीको चिह्न हुँदैन। दुई जना मात्रै उम्मेदवार भएका कारण मतपत्रमा ठाउँ पनि रहने भयो, जसले गर्दा मतपत्र आकर्षक पनि देखियो,” भुसालले थपे।

“अर्को कुरा चाहिँ यसो गर्दा मत बदर पनि कम हुन्छ भन्ने हो।”

नयाँ राष्ट्रपति चयनका लागि मतदान गर्न फागुन २५ गते १० बजेदेखि ३ बजेसम्मको समय तोकिएको छ।

सङ्घ र प्रदेशका सबै सांसदहरू राष्ट्रपति निर्वाचनमा भोट हाल्न काठमाण्डू आउनुपर्ने निर्वाचन आयोगले जनाएको छ।

मतदानका लागि नयाँ बानेश्वरस्थित संसद् भवनमा निर्वाचन कार्यालय स्थापना गरिएको छ।

एकै दिनमा मत परिणाम

निर्वाचन कार्यालय

तस्बिर स्रोत, ECN

निर्वाचन निर्देशिका अनुसार राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवारहरूले निर्वाचन प्रयोजनका लागि चार लाख रुपैयाँसम्म खर्च गर्न पाउँछन्।

मनदाताहरूले उम्मेदवारको फोटो र नामसँगको कोठामा मत चिन्ह लगाउनुपर्ने नियम छ।

एक ठाउँबाट मतदान हुने र दुईजना मात्रै उम्मेदवार भएकाले बिहीवार साँझसम्म मत परिणाम सार्वजनिक गरिसक्ने तयारी गरिएको निर्वाचन आयोगले जनाएको छ।

राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दर्ताका लागि ४५ वर्ष उमेर पुरा भएको हुनुपर्ने र पाँच पाँच जना सङ्घीय वा प्रदेश सांसद प्रस्तावक र समर्थक चाहिने व्यवस्थाका कारण पनि कम उम्मेदवारी परेको अधिकारीहरूको बुझाइ छ।

निर्वाचन आयोगले उपराष्ट्रपति पदको निर्वाचन मिति चैत्र ३ गतेका लागि तय गरेको छ। त्यसअघि फागुन २७ गते उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका छ।