'मनभित्रका गोठहरू नभत्किएसम्म छाउपडी प्रथा रोकिँदैन'

तस्बिर स्रोत, Hikmat B Rawal/ BBC
- Author, हिक्मतबहादुर रावल
- Role, धनगढी
गत साता कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाउगोठमा बसेकी एक महिलाको सर्पदंशका कारण मृत्यु भएपछि स्थानीय अधिकारीहरूले छाउगोठ भत्काउने अभियान सुरु गर्न लागेका छन्।
कृष्णपुरका नगरप्रमुखका अनुसार छाउगोठ भत्काउन १५ दिनको 'अल्टिमेटम' दिइएको छ। उक्त नगरपालिकाका विभिन्न वडाहरूमा १०० को हाराहारीमा छाउगोठ रहेको अनुमान गरिएको छ।
"यसअघि पनि चारवटा गोठ भत्काएका थियौँ। एकचोटि भत्काउने, फेरि बनाउने परम्परा नै भइसक्यो," नगरप्रमुख हेमराज ओझाले भने।
"अब हामी निर्मम रूपमा अघि बढेका छौँ," उनले भने, "१५ दिनको समयमा पनि नभत्काउने, अटेर गर्नेहरूलाई नगरपालिकाले प्रदान गर्ने सामाजिक सेवा भत्ता र अन्य सेवा सुविधाबाट वञ्चित गर्ने निर्णय गरेका छौँ।"
कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले जिल्लामा भएका सबै स्थानीय तहलाई छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न पत्राचार गरेको छ। "हामीले निर्देशन हैन, कुप्रथाविरुद्ध अभियान सञ्चालनका लागि सबैलाई आग्रह गरेका हौँ," प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले भने।
छाउगोठमा अनेकौँ घटना

तस्बिर स्रोत, Hikmat B Rawal/ BBC
गत असार २८ गते शुक्रवार राति छाउगोठमा सर्पले डस्दा कृष्णपुर नगरपालिका वडा नं १ निगाली बस्ने २८ वर्षीया कमला दमाईको मृत्यु भयो। छिमेकीको छाउगोठमा सुतिरहेकी उनलाई सर्पले टोकेपछि राति नै धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको तर उनको मृत्यु भएको जेठाजु सिद्ध आउजीले बताए।
"गुजरातको सुरतमा काम गर्थिन्, गत वैशाखमा आएकी थिइन्। तीन महिना नपुग्दै यस्तो भयो," उनले भने।
दुई वर्षअघि साउनमा बैतडीको पञ्चेश्वर गाउँपालिकामा एक १६ वर्षीया किशोरीको पनि छाउगोठमा सर्पले डस्दा मृत्यु भएको थियो।
गत वर्ष असारमा अछामको पञ्चदेवल विनायक नगरपालिकाकी १६ वर्षीया किशोरी छाउगोठमै बलात्कृत भएकी थिइन्। अछाम प्रहरीका अनुसार बलात्कार गरेको अभियोगमा उनकै एक नातेदार युवकविरुद्ध मुद्दा चलिरहेको छ।
छाउगोठको कथा र व्यथा दर्साउने यी केही प्रतिनिधिमूलक घटना मात्रै हुन्।
प्रहरीका अनुसार सबैभन्दा बढी अछाम जिल्लामा घटना भएका छन्। जिल्ला प्रहरी अछामका प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीका अनुसार विगत १५ वर्षयता अछाममा मात्रै छाउगोठमा निस्सासिएर, आगो लागेर, सर्पले टोकेर, जङ्गली जनावरको आक्रमणमा परी १८ किशोरीको मृत्यु भएको अभिलेख छ।
कानुनी प्रतिबन्ध तर पनि निरन्तरता

तस्बिर स्रोत, DAO Kanchanpur
नेपालमा छाउपडी प्रथा अन्त्य गर्न कानुनी, नीतिगत र संस्थागत पहलहरू भएका छन्। तर लोकव्यवहारमा उक्त प्रथाले निरन्तरता पाएको देखिन्छ।
घरेलु हिंसा (अपराध तथा सजाय) सम्बन्धी ऐन, २०६६ ले छाउपडी प्रथालाई दण्डनीय अपराध मानेको छ । मुलुकी अपराध संहिता ऐन, २०७४ ले छाउपडीलाई पूर्ण रूपमा निषेध गरेको छ। महिनावारी हुँदा वा सुत्केरी हुँदा महिलालाई घरबाट छुट्ट्याएर छाउपडीमा अलग्गै राख्ने वा अन्य भेदभाव, छुवाछुत गरेको ठहर भए तीन महिनासम्म कैद वा ३,००० रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुन सक्ने व्यवस्था उक्त कानुनले गरेको छ।
यसैबीच २०७६ साल पुस ९ गते सङ्घीय सरकारले सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लामा रहेका छाउगोठ भत्काउने निर्णय गरेको थियो। गृह मन्त्रालयले विभिन्न ठाउँमा रहेका छाउगोठलाई समुदाय, स्थानीय तह र प्रहरीसमेतको सहकार्यमा नष्ट गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन नै दिएको थियो।
त्यसपछि ठाउँठाउँमा छाउगोठ भत्काउने अभियान चल्यो। छाउप्रथा सबैभन्दा बढी रहेको भनिएको सुदूरपश्चिम प्रदेशको अछाममा मात्रै ५,००० वटाभन्दा बढी छाउगोठ भत्काइएको तथ्याङ्क अछाम प्रहरीले दिएको छ।
''अभियानले मात्रै पनि नपुग्दो रहेछ, अहिले पनि गाउँगाउँमा छाउगोठहरू देखिन्छन्,'' प्रहरी नायब उपरीक्षक भण्डारी भन्छन्।
कुलदेवताको डर
कृष्णपुर नगरपालिकाकी बासिन्दा दीपा रावत छाउपडी प्रथा महिलाहरूका लागि अभिशाप भएको ठान्छिन्।
"हरेक महिना दुःख भोग्नुपर्छ। नमानौँ - गाउँलेको डर। कुलदेवता रिसाउँछन् भन्छन्। मानौँ - यो पीडा कसरी सहने?" उनी भन्छिन्।
कृष्णपुरको वडा नं १ का अध्यक्ष मोहनबहादुर बस्नेत जति प्रयास गर्दा पनि छाउगोठ हटाउन नसकिएको बताउँछन्। "धेरै पटक धामीझाँक्री बोलाएर बैठक नै गर्यौँ। गाउँमा कोही बिरामी भए छाउकै कारण हो भन्ने मान्यता छ।"
"अब भने हामीले भनेका छौँ – घरसँगै जोडेर एउटा कोठा बनाउनुहोस्। देउता रिसाउने भन्ने कुरा अन्धविश्वास हो। तर धैरैले मानेका पनि छन् । नमान्नेलाई विभिन्न तवरबाट सम्झाइरहेका छौँ।"
सुदूरपश्चिम विश्वविद्यालयमा समाजशास्त्र विषयका प्राध्यापक पृत बिष्ट अहिले छाउपडी प्रथाबारे हजुरआमा पुस्ता र नातिनी पुस्ताबीच मतभिन्नता देखा पर्न थालिसकेको औँल्याउँछन्।
गुलरियाकी रमिता दमाई भन्छिन्, "धर्ती सबै छोइएकै हुन्छ। मान्छे छोए के हुन्छ? अब त रिसाउने देवीदेवताले पनि सोच्नुपर्छ।"
उपाय के हुन सक्छ

तस्बिर स्रोत, DPO Achham
कृष्णपुरका सुचित्र शाह छाउपडीविरुद्ध धेरै अभियान चले पनि सफल हुन नसकेको स्वीकार गर्छन्। "यसको कारण भनेकै सामाजिक मनोविज्ञान हो। यो नमाने बर्बाद भइन्छ भन्ने सोच व्याप्त छ । यसलाई कसरी हटाउने भन्ने चुनौती हो।"
समाजशास्त्री बिष्ट छाउगोठको विषयलाई कानुनभन्दा केही पर राखेर फरक ढङ्गले समस्या समाधान गर्नुपर्ने धारणा राख्छन्।
"भौतिक रूपमा गोठ भत्काएर पुग्दैन, मनभित्रका गोठहरू नभत्किएसम्म यो समस्या निकै लामो समय अझै रहन सक्छ," बीबीसी न्यूज नेपालीसँग उनले भने।
"राज्यको हस्तक्षेपले मात्रै पुग्दैन । सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी समुदाय (खस आर्य) हिन्दू परम्परामा बढी विश्वास गर्छ । धर्म, पाप र पुण्यको गहिरो मनोविज्ञान छ।"
बिष्टका अनुसार मिश्रित समाज नभएका कारण पनि यस्ता प्रथा र कुप्रथाहरुले नराम्ररी जरा गाडेका छन्। "यो हटाउन राज्यको नियम, कानुन कार्यान्वयसँगै समुदायको सोच, व्यवहार रूपान्तरणका प्रयासहरू आवश्यक हुन्छन्।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








