तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ट्रम्पसँगको भेटमा दक्षिण कोरियाली राष्ट्रपतिको 'प्रशंसा रणनीति'ले टारेको सङ्कट
- Author, जाँ मक्केन्जी
- Role, सोल संवाददाता
- Author, को यू
- Role, बीबीसी न्यूज , सिङ्गापुर
दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङसँग भेट गर्नुअघि संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले 'ट्रूथ सोशल'मा एउटा पोस्ट लेखे।
"दक्षिण कोरियामा के हुँदै छ? सफाया वा क्रान्तिजस्तो। हामीलाई त्यो स्वीकार्य छैन र हामी त्यहाँ व्यापार गर्न सक्दैनौँ...।"
ट्रम्पले गत डिसेम्बर महिनामा दक्षिण कोरियामा सैन्य कानुन लागु गर्ने विफल प्रयास गरेका तात्कालिक राष्ट्रपति यून सुन यउलविरुद्ध मुद्दा चलाइएको विषयतिर सङ्केत गरेको धेरैको बुझाइ थियो। बैठकअघि ओभल अफिसमा बोल्दै ट्रम्पले सोलले "चर्चहरूमा छापा मारेको" र "धेरै नराम्रा काम" गरेको टिप्पणी पनि गरेका थिए।
तर ली ह्वाइट हाउसमा निकै संयमित र मित्रवत् शैलीमा प्रस्तुत भए। उनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र दक्षिण अफ्रिकाका सिरिल रामापोसाले जस्तो असहज अवस्थामा पर्नुपरेन।
बैठकमा ट्रम्पले बारम्बार उत्तर कोरियाको कुरा गरे। दक्षिण कोरियाली राष्ट्रपतिबाट प्रशंसाका शब्दहरू सुन्न पाए पनि ट्रम्पले व्यापारिक सम्बन्ध सुधार र प्रतिरक्षाको क्षेत्रमा सहकार्यका विषयमा दक्षिण कोरियालाई खासै ठूलो राहत भने दिएनन्।
दक्षिण कोरियाको रणनीति
बैठकको सुरुतिरै लीले ओभल अफिसको नयाँ सजावट देखेर आफू मुग्ध भएको बताए। उनले ट्रम्प र उत्तर कोरियाली नेता किम जङ अनबीच रहेको व्यक्तिगत सम्बन्धको पनि प्रशंसा गरे।
"प्रगति हासिल गर्न सक्ने एकमात्र व्यक्ति तपाईँ हुनुहुन्छ, राष्ट्रपति महोदय," कोरियाली प्रायःद्वीपमा शान्तिस्थापनाको विषयतिर सङ्केत गर्दै लीले भने।
"यदि तपाईँ 'पीसमेकर' (शान्तिस्थापक) बन्नुहुन्छ भने म 'पेसमेकर' बनेर तपाईँलाई सहयोग गर्छु," लीले भने।
उनले उत्तर कोरियामा ट्रम्प टावर निर्माण हुने र एक दिन त्यहाँ गल्फ खेल्ने भन्दै ठट्टा पनि गरे।
चाप्लुसीजस्तो देखिएको भए पनि यो उच्चस्तरीय बैठकमा दक्षिण कोरियाको रणनीतिअन्तर्गत नै लीले त्यसो गरेका थिए। उक्त बैठकमा व्यापार, दक्षिण कोरियामा अमेरिकी सैनिकहरूको भूमिका र प्रतिरक्षाका लागि दक्षिण कोरियाले गर्ने खर्चबारे छलफल गर्नु सोलको उद्देश्य थियो।
ली किमसँग वार्ता गर्न अनि दुई कोरियाबीच शान्तिपूर्ण सम्बन्ध स्थापना गर्न चाहन्छन्। तर आफूले भन्दा ट्रम्पबाट त्यो बढी सम्भव हुने कुरा उनलाई थाहा छ।
आफ्नो पहिलो राष्ट्रपतीय कार्यकालमा ट्रम्पले किमसँग तीन पटक भेट गरेका थिए। उनी बारम्बार किमको प्रसङ्ग उठाउने गर्छन्।
"मैले उनीसँग धेरै समय बिताएको छु, हामीले कुरा गर्नु नहुने ठानिएका विषयहरूमा कुरा गर्दै," सोमवार ट्रम्पले भने। "म उनीसँग निकै राम्ररी घुलमिल हुन्छु।"
"म उपयुक्त समयमा किम जङ अनसँग भेट गर्ने प्रतीक्षामा छु," उनले भने।
लीको डेमोक्र्याटिक पार्टीका समर्थकहरू दक्षिण कोरियाले शान्ति र संवादमार्फत् उत्तर कोरियासँग एकीकरण हासिल गर्नुपर्ने मान्यता राख्छन्।
पछि एक संवाददाताले दक्षिण कोरियाली अधिकारीहरूले चर्चहरूमा छापा मार्ने गरेको भन्ने उनको टिप्पणीबारे सोध्दा ट्रम्पले "गुप्तचर निकाय'बाट त्यसबरे सुनेको भने।
उक्त "अफवाह" सम्भवतः "गलत बुझाइ" भएको उनको भनाइ थियो। लीले त्यस्तो दाबीबारे छानबिन भइरहेको बताए। ट्रम्पले दक्षिण कोरियाली पक्षले त्यसबारे तथ्य पत्ता लगाउने विश्वास व्यक्त गरे।
व्यापार र प्रतिरक्षाका विषय ज्यूँका त्यूँ
लीको ह्वाइट हाउस भ्रमणका मुख्य उद्देश्य व्यापार र प्रतिरक्षासँग सम्बन्धित थिए। तर ती दुवै विषयमा ठोस सहमति भएन।
दक्षिण कोरियाले आफ्नो देशबाट निर्यात हुने वस्तुमा अमेरिकाले लगाउने ट्यारिफ १५ प्रतिशतमा सीमित पार्न सफल भएको थियो। ट्रम्पले उक्त दर २५ प्रतिशतसम्म हुन सक्ने चेतावनी दिएका थिए।
दक्षिण कोरियाले अमेरिकामा ३५० अर्ब डलर लगानी गर्ने सहमति गरेपछि अमेरिका ट्यारिफ घटाउन तयार भएको हो। दक्षिण कोरियाले गर्ने लगानीमध्ये १५० अर्ब डलर अमेरिकालाई पानीजहाज निर्माण गर्न सघाउन खर्चन हुने छ।
दक्षिण कोरियामा पानीजहाज निर्माण उद्योग निकै फस्टाएको छ। चीनपछि धेरै जहाज दक्षिण कोरियाले निर्माण गर्छ।
ली र ट्रम्पबीच भेट भएको केही घण्टापछि कोरियन एअरले अमेरिकी बोइङ कम्पनीसँग १०३ वटा विमान किन्ने घोषणा गरेको छ।
तर तत्काल दक्षिण कोरियाली सामानमा ट्यारिफ घट्ने देखिँदैन। लीसँगको बैठकपछि ट्रम्पले विस्तृत विवरण नदिई संवाददाताहरूलाई व्यापारबारे "मलाई सहमति भइसक्यो जस्तो लाग्छ" भने।
"यसबारे उनीहरूलाई केही समस्या थियो। तर हामी आफ्नो अडानमा कायम रह्यौँ," उनले भने।
दक्षिण कोरियाबाट अमेरिकी सैनिकहरू फिर्ता गर्ने विषयमा सोधिएको एउटा प्रश्न ट्रम्पले पन्छाए। ट्रम्पले सोलमाथि बारम्बार अमेरिकाले प्रदान गरेको सुरक्षाको फाइदा लिएको तर प्रतिरक्षाका लागि पर्याप्त खर्च नगरेको आरोप लगाउँदै आएका छन्।
तर उनले ओसन हवाई अड्डा अवस्थित भूमि अमेरिकी स्वामित्वमा हुनुपर्ने कुरा सोलसँग उठाए। उक्त आधारशिविर अमेरिका र दक्षिण कोरियाले संयुक्त रूपमा सञ्चालन गर्दै आएका छन्।
अहिलेका लागि लीले ट्रम्पबाट दुई देशबीच आर्थिक सहकार्यको आश्वासन भने पाए। लीको उपस्थितिमा ट्रम्पले पत्रकारहरूलाई अमेरिका र दक्षिण कोरियालाई "एकअर्का"को आवश्यकता भएको बताए।
"हामीलाई उनीहरूको काम मन पर्छ, हामीलाई उनीहरूले उत्पादन गरेको सामान मन पर्छ, हामीलाई उनीहरूको पानीजहाज मन पर्छ, हामीलाई उनीहरूले बनाएका धेरै चिज मन पर्छ," उनले भने।
दक्षिण कोरियालाई आवश्यक तेल र ग्यास अमेरिकाले बेच्ने उनले बताए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।