नेपाल आउने सबै विदेशीलाई 'ट्र्याक' गर्ने प्रणाली लागु हुँदै, भारतीय नागरिक पनि समेट्ने योजना

पोखरामा हिमशृङ्खलाहरू हेर्दै विदेशी पर्यटकहरू

तस्बिर स्रोत, RSS

    • Author, विनिता दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

नेपाल आउने सबै विदेशी नागरिकहरूको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र पर्यटन प्रवर्धन गर्ने उद्देश्यले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली लागु गर्न लागिएको अध्यागमन विभागले जनाएको छ।

उक्त प्रणालीमार्फत् नेपालमा रहेका विदेशी नागरिकहरूबारे होटेल, मनी एक्सचेन्जलगायत पर्यटकहरूसँग सम्बन्ध हुने स्थलहरूले आवश्यक विवरण डिजिटल माध्यमबाट दर्ता अध्यागमन विभागमा गर्नुपर्ने छ। यो प्रणालीमा नेपाल आउने भारतीय नागरिकहरूलाई पनि समेट्ने सरकारको योजना छ।

"यो प्रणालीअन्तर्गत विदेशी नागरिकले केही गर्नुपर्ने होइन। यो हाम्रा सेवाप्रदायकहरूले राख्नुपर्ने विवरण हो। विदेशी नागरिक बसेको होटेलले 'चेक-इन' भएको सूचना हाम्रो सिस्टमलाई दिने, कतै यात्रा गर्नुभयो भने त्यसको सूचना हाम्रो प्रणालीमा दर्ता हुने मात्रै हो," विभागका महानिर्देशक रामचन्द्र तिवारीले भने।"

उनका अनुसार विदेशी नागरिकलाई त्यसरी निगरानी गर्नुको उद्देश्य आवश्यक पर्दा उनीहरूलाई खोज्नु हो।

एउटा प्रयोजनका लागि नेपाल भित्रिने तर अन्य क्रियाकलाप गर्ने र कोहीकोही त आपराधिक गतिविधिमा पनि संलग्न हुने घटनाहरू बढ्न थालेपछि सरकारी निकायबाटै विदेशी नागरिकहरूको अनुगमन गर्न आवश्यक भएको विज्ञ तथा पर्यटन क्षेत्रका जानकारहरूले बताएका छन्।

सरकारले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको अवधारणा आठ वर्षअगाडि नै अघि सारेको भए पनि अहिले कार्यान्वयनमा जान लागेको हो।

गत असोज महिनाबाट सुरु गर्ने भनिएको उक्त प्रणाली जेन जी आन्दोलनपछि उत्पन्न परिस्थितिमा लागु गर्न नसकिएको विभागले जनाएको छ।

कसरी हुन्छ कार्यान्वयन

अध्यागमन विभागको कार्यालय भवन

तस्बिर स्रोत, DOI

अध्यागमन विभागले आफ्नो वेबसाइटमा एउटा सूचना जारी गर्दै यो प्रणालीलाई पहिलो चरणमा पुस १७ गतेदेखि काठमाण्डू उपत्यकाभित्रका तारे होटेलहरूमा अनिवार्य लागु गरिने जनाएको छ।

त्यसपछि दोस्रो चरणमा फागुन १७ गतेदेखि देशभित्रका सबै तारे होटेल, विमान कम्पनी, टूर्स एन्ड ट्राभल कम्पनी, मनी एक्सचेन्ज र सबै प्रकारका होटेल, गेस्टहाउस र अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा लागु गर्ने कार्य योजना विभागको रहेको छ।

यो प्रणालीको कार्यान्वयन प्रभावकारी बनाउन विदेशी नागरिकहरूलाई सेवा दिने सबै निकायहरूले प्रणालीमा दर्ता हुनुपर्ने विभागले जनाएको छ।

"पहिलो चरणमा उपत्यकाका तारे होटेलहरूमा अनिवार्य लागु गर्ने भए तापनि विदेशी नागरिकहरूलाई सेवा दिने सबै सार्वजनिक संस्था तथा निजी कम्पनीहरू अग्रिम रूपमा यो प्रणालीमा आबद्ध हुन सक्ने छन्," विभागले भनेको छ।

विभागका महानिर्देशक तिवारीका अनुसार अहिलेसम्म २२ वटाजति तारे होटेलहरू मात्रै यो प्रणालीमा दर्ता भएका छन् भने केही त्यसबारे बुझ्न आएका छन्।

"यो संसारभरि हुने प्रणाली हो। हामीकहाँ ढिलो मात्रै भएको हो। हामीले प्रणाली विकास गरिसकेपछि कोही पर्यटक पदयात्राका क्रममा हराए पनि सजिलो हुन्छ। कहिलेकाहीँ जेलबाट कैदी होटेलमा 'चेक-इन' भए पनि अपराध अनुसन्धानमा पनि सहयोग हुने भयो," उनले भने।

"तर त्यतिकै लागि मात्रै गर्न लागेको भन्ने बुझ्न चाहिँ हुँदैन।"

दर्ता हुने प्रणाली आवश्यक कि झन्झटिलो?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन जाँच गर्ने ठाउँ

तस्बिर स्रोत, DOI

अध्यागमनले लागु गर्न लागेको प्रणाली विश्वका धेरै देशमा रहेको र यो आवश्यक भएको विज्ञहरू बताउँछन्।

यसले पर्यटकलाई झन्झटिलो बनाउनेभन्दा पनि पर्यटकीय प्रयोजनका लागि आउनेहरूलाई थप सुरक्षित बनाउने उनीहरूको तर्क छ।

"यो अत्यन्तै आवश्यक छ र ढिला भइसकेको छ। विदेशीहरू आउँछन् भने कुन गतिविधि गर्छन्, कहिलेसम्म भिसा छ, कहाँकहाँ गइरहेका छन् भन्ने त देशले थाहा पाउनुपर्‍यो नि," अध्यागमन विभागका महानिर्देशक रहिसकेका भूतपूर्व गृहसचिव उमेशप्रसाद मैनालीले भने।

"विदेशीको कसको स्वार्थ के छ, कसैको इसाई धर्म प्रचार होला कसैको राजनीति गर्ने होला। ती कुरा त निगरानी हुनुपर्‍यो नि। यो कार्यान्वयन गर्नुपर्छ। यो प्रणालीमा गएपछि गाह्रो हुँदैन।"

विगतमा आफू विभागको महानिर्देशक हुँदा पनि चिनियाँ पर्यटकहरू ठूलो सङ्ख्या नेपालमा आइरहेको र उनीहरूको अनुगमन गरिएको मैनालीले बताए।

उनीहरूले टोलटोलमा सामान बेच्दै हिँडेको पाइएको र पछि कडाइ गरिएको अनुभव उनले सुनाए। विदेशी नागरिकलाई गरिने अनुगमन भनेको पर्यटककै सुरक्षाका लागि आवश्यक भएको उनको भनाइ छ।

'सही सूचना प्रवाह भएन'

मैनालीको तर्कमा सहमति जनाउँदै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी पनि विदेशी नागरिकलाई 'ट्र्याक' गर्ने कार्य आवश्यक रहेको बताए। तर यसबारे सही सूचना प्रवाह नभएको उनले औँल्याए।

"पर्यटकको सुरक्षाका दृष्टिकोणले यो राम्रो हो। तर 'कम्युनिकेशन ग्याप' कस्तो देखियो भने पर्यटकको हरेक गतिविधि 'ट्र्याक' हुन्छ भन्ने खालको बुझाइ बनिदियो," उनले भने।

"खासमा चाहिँ हरेक गतिविधि 'ट्र्याक' हुने नभएर पासपोर्टवाहक कहाँकहाँ बस्नुभएको हो भन्ने सुरक्षित सूचना हुन्छ भनेर अध्यागमनले भनेको छ।"

अध्यागमन विभागले पनि यसबारे सरोकारवालाहरूलाई आफूहरूले बुझाउनुपर्ने देखिएको र त्यसमा काम भइरहेको जनाएको छ।

भारतीय नागरिक कसरी 'ट्र्याक' गरिन्छ

खास गरी भारतीय नागरिकहरू ठूलो सङ्ख्यामा स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने गर्छन्। नेपालमा धेरै भारतीय नागरिकहरू विभिन्न पेसामा आबद्ध छन्। उनीहरूको सूचना अध्यागमनको प्रणालीमा दर्ता हुने कुरा कति चुनौतीपूर्ण होला त?

विभागका महानिर्देशक तिवारीले होटेल, बस सेवालगायत सबै सरोकारवालाहरू प्रणालीमा दर्ता हुन आइसकेपछि त्यो कार्यान्वयनमा कठिनाइ नहुने बताएका छन्।

उनले भने, "प्रारम्भमा सबैतिर हुँदैन। यो पूर्ण रूपमा कार्यान्वयन गर्न समय लाग्छ। हामी पहिलो पटक सुरु गर्दै छौँ। हामीले सरोकारवालालाई पनि बुझाउनुपर्ने छ, पूर्वाधार तयार गराउनुपर्ने छ। त्यसमा हामी अहिले लागिरहेका छौँ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।