वार्षिक २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य नेपालका लागि कति ठूलो हो?

हिमालमा पदयात्रा गर्दै एक पर्यटक

तस्बिर स्रोत, Getty Images

    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली

५ लाख, १० लाख, २० लाख, २५ लाख, ३५ लाख।

यी सङ्ख्या पछिल्लो साढे दुई दशकभन्दा केही बढि समयका अन्तरालमा नेपालले विदेशी पर्यटक भित्र्याउन राखेका वार्षिक लक्ष्य हुन्।

सन् १९९८ को पर्यटन वर्ष मनाउँदा पाँच लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको नेपालले सन् २०३२ सम्ममा ३५ लाख पुर्‍याउने नयाँ लक्ष्य अघि सारेको छ। तर अझै वार्षिक रूपमा नेपाल आउने पर्यटकको सङ्ख्या १० लाख आसपासमा मात्र देखिएका छन्।

"यी लक्ष्यहरू हामीकहाँ उपलब्ध होटल रुमका आधारमा निर्धारण गरिएका हुन। त्यसरी हेर्दा अहिले नै हामीसँग वार्षिक ३५ लाख पर्यटक भित्र्याउने क्षमता छ," भिजिट नेपाल २०११ का संयोजक रहेका पर्यटन व्यवसायी योगेन्द्र शाक्यले बीबीसीसँग भने।

"हाम्रोमा सन् २०११ मा ८ लाख पर्यटक आएका थिए। सन् २०१९ मा त्यो १२ लाख पुगिसकेको थियो। त्यसपछि कोभिडले बिथोल्यो। हामीले पाँच वर्षमा पुरानै अवस्थामा फर्किएला भन्ने सोच्दै थियौँ। तर फेरि जेन जी आन्दोलन आइपर्‍यो।"

सन् २०२५ को सुरुमा नेपाल पर्यटन बोर्डले यस वर्ष १६ लाख विदेशी पर्यटकलाई नेपाल भित्र्याउने लक्ष्य राखिएको जनाएको थियो।

"तर भदौ २३ र २४ गते भएका जेनजी आन्दोलन लगत्तै सेप्टेम्बरका ५० प्रतिशत र अक्टोबरका २५ प्रतिशत बुकिङ रद्द भए," थप कैयौँ नेपाल जाने-नजाने दोधारमा परेको बताउँदै शाक्य भन्छन्।

पछिल्लो अवस्थापछि बोल्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले "यस्ता सङ्कटका अवस्थाका लागि सधैँ तयार अवस्थामा रहनुपर्ने" देखिएको बताउँछन्।

"पछिल्ला दुई दशकजतिको घटनाहरू हेर्दा देशभित्र मात्र नभएर अन्तर्राष्ट्रिय रूपमा पनि आन्दोलन एवं सङ्कटहरू आइराख्ने देखिएकाले हामी सङ्कटका अवस्थाका लागि सधै तयार रहनुपर्ने देखिएको छ," जोशी भन्छन्।

५ लाखदेखि ३५ लाख: लक्ष्य भने बढेको बढ्यै

सन् १९९८ को नेपाल भ्रमण वर्षको लक्ष्य पाँच लाख विदेशी पर्यटक भित्र्याउने भए तापनि देशले त्यसको करिब एक दशकपछि सन् २००७ मा पुगेर मात्र पहिलोपटक उक्त लक्ष्य भेट्न सकेको थियो।

सन् २००९ को सुरुमै 'भिजिट नेपाल २०११' को घोषणा गर्दा त्यसवर्ष १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखिएको थियो।

त्यसबीचमा व्यापक तयारी र गन्तव्य प्रवर्द्धनका प्रयासहरू भए तापनि सन् २०११ सकिँदा करिब आठ लाखजति मात्र विदेशी पर्यटक नेपाल आएका पाइयो।

नेपाल भ्रमण वर्ष २०२० को लोगो

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिए पनि त्यो कोभिड महामारीको मारमा पर्‍यो

नेपालले आफ्नो सो लक्ष्य पहिलोपटक सन् २०१८ मा पुगेर मात्र भेट्न सक्यो। जतिखेर ११ लाख भन्दा केही बढि सङ्ख्यामा नेपालमा विदेशी पर्यटकहरू भित्रिएका थिए।

करिब १ दशकअघिको राखिएको आफ्नो महत्त्वकांक्षालाई दोबर पार्दै २० लाख पर्यटक भित्र्याउने उद्देश्यका साथ नेपालले 'भिजिट नेपाल २०२०' घोषणा गरे तापनि कोभिड महामारीको मार उक्त वर्ष र त्यसपछिका थप केही वर्षमा देखिए।

सन् २०२२ पछि कोभिड महामारी सुस्ताउँदै अवस्था सहज हुन थाले पनि नेपालको वार्षिक पर्यटक आगमन अहिले लगभग १० लाख त नाघ्न थालेको छ। तर २० लाखभन्दा निकै पर छ।

यस वर्षको सुरुवाती ६ महिनामा साढे पाँच लाखभन्दा केही बढी विदेशी पर्यटक आइसकेका थिए।

तर बर्खा सकिएपछिको मुख्य पर्यटकीय शरद यामको सुरुमै भएको 'जेन जी' आन्दोलनको धक्का फेरि एकपटक नेपालको पर्यटनमा देखा पर्न थालेको व्यवसायीहरूले बताउन थालेका छन्।

नेपालसामु सोह्रौँ योजना सकिने आर्थिक वर्ष २०८५/८६ सम्म वार्षिक पर्यटक आगमन २५ लाख पुर्‍याउने अर्को लक्ष्य छँदै छ।

आर्थिक वर्ष २०८०/८१ को बजेटमा समेत सन् २०२३-२०३२ लाई पर्यटन दशक घोषणा गर्दै अन्त्यसम्ममा ३५ लाख विदेशी पर्यटक भित्र्याइने लक्ष्य राखिएको छ।

निरन्तर सङ्कट

जेन जी आन्दोलनपछि काठमाण्डूका सडकमा सेना

तस्बिर स्रोत, Reuters

नेपाल पर्यटन बोर्डका प्रमुख दीपकराज जोशी हरेक तीन-चार वर्षमा केही न केही भइरहने भएकाले हामीले त्यस्तोमा स्वचालित रूपले काम गर्ने संयन्त्र बनाउनुपर्ने देखिएको बताउँछन्।

बोर्डमा त्यस्तो अवस्थाका लागि 'क्राइसिस ह्यान्डलिङ सेल' समेत रहेको बताउँदै उनी नेपालजस्तो देशका लागि पर्यटन सम्बन्धी संवेदनशीलतामा सघाउने 'स्वयंसेवक'हरू बनाउन आवश्यक रहेको बताउँछन्।

"अहिले नै सामान्य अवस्थामा औसत १२ लाख पर्यटक आउन थालेको अवस्था हो। त्यसमा भारतबाट स्थल मार्ग हुँदै आउने पर्यटकहरूको गणना सामेल छैन। त्यसको सङ्ख्या समेत उल्लेख्य छ।"

उनी भूकम्पका बेला खस्किएको पर्यटन लगत्तैको वर्षमा २५ प्रतिशतले तङ्ग्रिएको उल्लेख गर्दै नेपाल सङ्कटहरूबीचमा छिटो पुनरुत्थान हुने देशमध्येमा पर्ने बताउँछन्।

"अहिलेको अवस्था केही फरक भए पनि नेपालको निजी क्षेत्रसँग समेत त्यस्तो खाले सहनशीलता विकसित भएकाले यस पटकको सङ्कटबाट समेत छिटो लयमा फर्कने आशा छ।"

पर्यटन व्यवसायी योगेन्द्र शाक्यले कुनै बेला नेपालमा धेरै भइरहने "बन्द-हडताल"ले नराम्रो छवि सिर्जना गरेको स्मरण गर्दै नयाँ राजनीतिक सङ्क्रमणका बेला त्यस्तो परिस्थिति दोहोरिन दिन नहुने बताउँछन्।

"सन् २०११ मा २२ वटा राजनीतिक दलहरूले बन्दविरुद्ध उभिनेगरी ऐक्यबद्धता प्रस्तुत गरेका थिए। दरबार हत्याकाण्ड, सशस्त्र द्वन्द्व र संविधान निर्माणका क्रममा लगातार घटिरहेको पर्यटक आगमनका लागि त्यो सबैभन्दा राम्रो सन्देश थियो।"

'लक्ष्य ठूलो होइन'

नेपालका पदयात्रा मार्ग

तस्बिर स्रोत, BBC/Pradeep Bashyal

प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा), नेपालका अध्यक्ष खेम लकाई तत्कालका लागि २० लाख पर्यटक भित्र्याउने लक्ष्य "ठूलो पनि होइन, हासिल गर्न नसकिने पनि होइन" भन्छन्।

"किनकी हामीकहाँ गन्तव्यको कमी छैन र मुख्य पूर्वाधारका रूपमा होटलहरू तयार छन्। करीब एक दशकबीचमा पर्यटकीय होटल रुमको सङ्ख्या दोबर भएको उत्साहजनक अवस्था नेपालमा छ," लकाई भन्छन्।

नेपालमा सन् २०११ मा छवटा रहेका पाँचतारे होटलको सङ्ख्या यतिखेर दुई दर्जन नाघिसकेको अवस्था छ।

"तर नेपाल आइपुग्नका लागि नेपाली विमान सेवाहरू बलियो नहुँदासम्म होटल पूर्वाधार भएर मात्र पुग्दैन। नेपाली विमान कम्पनीहरूमाथि रहेको युरोपेली सङ्घको कालोसूची समेतले राम्रो सन्देश प्रवाह गरिरहेको छैन," लकाई थप्छन्।

त्यससँगै नेपालमा अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित रहेका पोखरा र भैरहवाका दुई अन्तर्राष्ट्रिय विमानस्थललाई व्यापक स्तरमा चलायमान गराउन सक्दा त्यसले पर्यटकहरूको आगमन ह्वात्तै बढाउन सक्ने व्यवसायीहरूको विश्वास छ।

लकाईले भनेझैँ बर्सेनि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले निकाल्ने सूचीमा नेपालका गन्तव्य घुम्न लायक भनेर परिरहेको पाइन्छ।

नेपालमा रहेका सगरमाथासहितका उच्च हिमाल आरोहणका लागि स्थिर सङ्ख्यामा पर्वतारोहीहरू बर्सेनि बढिरहेका छन्।

पर्यटकहरू आउन थालेको सात दशकको नेपालको इतिहासमा पर्वतीय र साहसिक गतिविधि गर्ने गन्तव्यको रूपमा देशको राम्रो छवि स्थापित हुन सके पनि त्यसमा विस्तार आवश्यक रहेको जानकारहरू बताउँछन्।

सन् २०२५ मा न्यूयोर्क टाइम्स पत्रिकाले सार्वजनिक गरेको विश्वका ५२ पर्यटकीय गन्तव्यमा नेपालको बौद्ध जन्मस्थल लुम्बिनी परेको थियो।

चालु दशकका लागि अमेरिकाको प्रसिद्ध पत्रिका फोर्ब्सले जारी गरेको विश्वका उत्कृष्ट १० पर्यटकीय गन्तव्यको सूचीमा नेपाल पनि रहेको छ।

नेपालका पदयात्रा मार्ग र राष्ट्रिय निकुञ्जहरू समेत बारम्बार विश्वका प्रतिष्ठित सूचीमा पर्ने गरेका पाइन्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।