आखिर कहाँ जाँदै छन् नेपाली काठका ठेकीहरू

काठका ठेकी बनाइँदै

तस्बिर स्रोत, RSS

    • Author, विमला चौधरी
    • Role, नेपालगन्ज

गत वर्षसम्म काठको ठेकीमा दही, मही राख्दै आएकी दैलेखकी शारदा रिजाल आचार्यसँग अहिले एउटा पनि छैन।

ससुराले जोगाएर राखेको ठेकी धमिराले खाइदिएपछि प्रयोग गर्न छाडेको उनी बताउँछिन्।

काठको ठेकी नभएपछि बजारमा पाइने ठेकीकै आकारको आल्मुनियमको भाँडो प्रयोग गर्दै आएको उनले बताइन्।

“अब त काठको ठेकी पाउनै मुस्किल छ,” रिजालले भनिन्।

“पहिले त ठेकी बनाउने गिठी रूख घरआँगनमै हुन्थे अनि ठेकी बनाउने मान्छे पनि घरमै आइपुग्थे। अहिले न त्यो रूख देखिन्छ न त ठेकी बनाउने मान्छे नै।”

ठेकीको राम्रो मूल्य

रुकुमको चौरजहारी नगरपालिका-१ का ऋषिप्रसाद जैसीको आफ्नै भैँसी फार्म छ।

उनले दैनिक सयौँ लिटर दूध डेरीमा लगेर विक्री गर्नुका साथै फार्ममै दही, मही, घ्यू बनाउँदै आका छन्।

फार्मबाट उत्पादित दूध, दही, घ्यू र नौनी काठकै परम्परागत ठेकीमा राख्न चाहे पनि ठेकी नपाएको उनको गुनासो छ।

रुकुमतिर ठेकी बनाउने काम गर्दै आएका चँदरा समुदायका मानिसहरूले पछिल्लो समय फरक पेसा अपनाएकाले पनि ठेकी पाइन छाडेको जैसीको तर्क छ।

“फार्म सञ्चालनको शुरूवातदेखि नै ठेकीको खेजीमा छु। तर पुराना ठेकी पनि गाउँघरबाट हराइसके, नयाँ त झन् कहाँ पाइने होला,” उनले भने।

काठका ठेकी
तस्बिरको क्याप्शन, काठका पुराना ठेकी हराउँदै गएका स्थानीय बासिन्दा बताउँछन्

नेपालगञ्जसम्म लैजाने भन्दै रुकुमका गाउँहरूमा केही महिनाअघि मात्र पुराना ठेकी खरिद गर्न आएका मानिसहरूलाई देखेको जैसीले बताए।

प्रयोगविहीन भएका पुराना ठेकीको पनि राम्रो मूल्य पाएपछि अधिकांशले बेचिसकेको उनको अनुमान छ।

प्रयोग गर्न सजिलोका कारण ठेकीको साटो प्लास्टिक, स्टील, आल्मुनियमका भाँडा हावी भएका जैसीको ठम्याइ छ।

“मेरै फार्ममा स्टीलको बाल्टिनमा दूध दुहेर त्यसैमा दही जमाउने गरेका छौँ।”

पहाडी जिल्लामा मात्र नभएर दाङका भैँसी पालक कृषकले पनि काठका ठेकीलाई विस्थापित गरिसकेको बताउँछन्।

पेसा सङ्कटमा किन?

आल्मुनियमको ठेकी
तस्बिरको क्याप्शन,

तुलसीपुर उपमहानगरपालिका-१६ साइपुरका कृषक मदन ओली हिजोआजका मानिसले आधुनिक भाँडो मन पराउन थालेपछि गाउँघरबाट ठेकी विस्थापित भएको बताउँछन्।

“ठेकीमा राखेर बजारतिर दही बेच्न जाँदा गन्ध आयो, काठको फोहोर भाँडो भनेर उपभोक्ताले अनेक कुरा गर्छन्। बाध्य भएर अहिले टिलिक्क टल्किने स्टीलका डिब्बा प्रयोग गर्ने गरेको छु।”

बाउबाजेको चिनोका रूपमा घरमा एउटा मात्र ठेकी जतन गरेर राखेको र घरमा खाने दही, मही राख्नलाई त्यही ठेकी प्रयोग गर्दै आएको उनी बताउँछन्।

बजारमा खोजे जस्तै प्लास्टिकका डिब्बा, स्टीलका किटली, सिलाबरका ठेकी पाइने र प्रयोग गर्न पनि सहज हुने भएकाले भैँसीपालक कृषकले ठेकीको सट्टा त्यस्ता भाँडा प्रयाग गर्न थालेको ओलीको निष्कर्ष छ।

कतिपयले काठको ठेकीमा राख्दा घुन नलाग्ने भन्दै बीउका लागि मसुरो, चना, केराउ जस्ता अन्न भण्डारण गरेर राख्ने गरेको ओली बताउँछन्।

तुलसीपुर उपमहानगरपालिका-१६ फचकलुवाका कृषक प्रेमबहादुर ओली पनि चर्किसकेको ठेकी घरमा प्रयोग गर्दै आएका छन्।

प्लास्टिक

काठको ठेकी कहिलेकाहीँ मात्र प्रयोगमा आउँदा चर्किने र फुट्ने समस्या हुनेगरेको उनको अनुभव छ।

गाउँघरमा धेरैले गाईभैँसी पाल्न छाडिसकेकाले पनि काठका ठेकी प्रयोगविहीन भएको ओली बताउँछन्।

“चाहिँदाको मात्रै भाँडो भन्या जस्तै त्यतिकै राख्नुभन्दा दुई/चार पैसाका लागि लगभग सबैले पुराना ठेकी बेचिसके,” उनले भने।

“मसँग पनि पुराना ठेकी खोज्ने मान्छे धेरै आए। तर चर्किसकेको ठेकी पनि प्रयोगमा आइरहेकाले बेच्न सकेको छैन।”

वन ऐनले जथाभावी काठ काट्न रोक लगाएका कारण ठेकी बनाउनेहरूको पेसा सङ्कटमा पर्नुका साथै ठेकी लोप हुँदै गएको पूर्वशिक्षक समेत रहेका ओली बताउँछन्।

“एक त जङ्गलमा सजिलै काठ काट्न पाइँदैन र निर्माण गरेका ठेकी पनि प्रयोगमा नआएपछि काम नै भएन।”

गाउँघरमा रहेका ठेकी कहाँ जान्छन् भन्नेबारे अहिलेसम्म स्थानीय सरकार वा कसैको ध्यान नगएको ओली बताउँछन्।

कति मूल्य पाइन्छ?

दूध, दही राख्न प्रयोगमा नआएका ठेकी अधिकांशले विक्री गरिसकेका दाङका कतिपय स्थानीय बासिन्दा बताउँछन्।

तुलसीपुर उपमहानगरपालिका-१६ फचकलुवाका यज्ञमूर्ति गौतमले गत वर्ष नै आफ्ना टोलछिमेकबाट ठेकी किन्नेहरूले लगिसकेका बताए।

ठेकीको आकार हेरेर सानोलाई डेढ सयदेखि दुई सय रुपैयाँसम्म र अलि ठूलो आकारको साढे तीन सय रुपैयाँसम्म मूल्य दिएर लगेका आफूले देखेको उनले बताए।

“हाम्रो टोलछिमेकमा सम्भवतः अहिले कसैको घरमा काठको ठेकी छैन, टुटेफुटेका ठेकी के काम भनेर गत वर्ष नै सबैले बेचिसके। कतिपयले त प्रयोग गर्न मिल्ने खालका ठेकी पनि बेचिसके।”

पुराना कहाँ जान्छन्?

नेपालका ग्रामीण भेगबाट कवाडीका रूपमा सङ्कलन गरी काठका पुराना ठेकीहरू भारततर्फ लैजाने गरिएको मानिसहरू बताउँछन्।

वर्षौँ पहिले नेपालमा बनेका पुराना ठेकी भारत जाने गरेको सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी अधिकारीहरू पनि बताउँछन्।

यसअघि पुराना ठेकी कवाडीका रूपमा सहजै भारततर्फ लगिए पनि पछिल्लो समय निगरानी बढाइएको सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेका गणपति सशस्त्र प्रहरी उपरिक्षक विमल डाँगीले बताए।

सिलाबारका ठेकी
तस्बिरको क्याप्शन, शारदा रिजाल

नेपालका अन्य नाकाबाट भारत लैजाँदै गरिएका पुराना ठेकीमा शङ्का लागेर परीक्षण गर्दा कतिपय ठेकीभित्र लागुऔषध चरेस पनि फेला परेकोले जमुनाहा नाका र आसपासका क्षेत्रबाट भारत लैजाने ठेकीमा निगरानी बढाइएको उनले उल्लेख गरे।

करिब एक महिनाअघि बाँकेको जयसपुर हुँदै अवैध रूपमा ट्रकमा लोड गरेर भारततर्फ लैजाँदै गरिएका पुराना ठेकी बरामद गरिएको एकीकृत जाँच चौकी (आईसीपी) को सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी निरीक्षक नरेश चौधरीले बताए।

“यस्ता ठेकी पहिले धेरै गइसके, तर माथिको निर्देशानुसार एक ट्रक नियन्त्रणमा लिएर एकएक गरी ठेकी चेक जाँच गर्‍यौँ। कुनै शङ्कास्पद वस्तु फेला परेन।”

पुराना भारततर्फ किन?

सीमानाकाबाट नियन्त्रणमा लिइएका पुराना ठेकीभित्र कुनै शङ्कास्पद वस्तु नभेटिएपछि अहिले सबैको चासोको विषय बनेको छ।

नेपालका गाउँबस्तीबाट ठेकी खरिद गर्ने र लैजाने व्यक्तिहरूको पहिचान गर्न नसकिए पनि अनुसन्धानका क्रममा भारतले तिनै पुराना ठेकीको बाहिरी भागमा तामा वा अन्य धातुको प्रयोग गरी अझ आकर्षक बनाएर तेस्रो मुलुकतिर निर्यात गर्ने गरेको पाइएको सशस्त्र प्रहरीका अधिकारीहरू बताउँछन्।

तेस्रो मुलकमा सजावट सामग्रीका रूपमा प्रयोग गर्ने गरिएको सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक अस्मिन थापाले बताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।