यूकेका राजा चार्ल्सको स्वास्थ्यः यस्तो छ घटनाक्रम

यूकेका राजा चार्ल्सलाई एक प्रकारको क्यान्सर भएको पत्ता लागेको छ। प्रस्टेट बढेपछि उपचार गराइरहँदा क्यान्सर निदान भएको तर त्यो प्रस्टेटको क्यान्सर नभएको बताइएको छ।

बकिङ्गम दरबारले ७५ वर्षे राजा "आफ्नो उपचारबारे पूर्ण रूपमा सकारात्मक रहेको" र "यथासम्भव चाँडो" पूर्ण सार्वजनिक जिम्मेवारीमा फर्किने उनले अपेक्षा गरेको जनाएको छ।

यो घोषणा राजाको स्वास्थ्यस्थितिबारे समाचार प्रकाशित भएको दुई साताभन्दा बढी समयपछि आएको हो।

के भएको हो भन्ने घटनाक्रम यहाँ प्रस्तुत गरिएको छ।

१७ ज्यानुअरी

बकिङ्गम दरबारले राजा चार्ल्स तृतीयको प्रस्टेट बढेकाले उनी उपचार गराउन अगामी साता अस्पताल जान लागेको घोषणा गर्‍यो।

१८ ज्यानुअरी

एबर्डीन आर्ट ग्यालरीको भ्रमणको क्रममा रानी कमिलाले राजा "ठिक" रहेको र "काममा फर्किने प्रतीक्षामा रहेको" बताइन्।

१९ ज्यानुअरी

राजा चार्ल्स स्कटल्यान्डबाट विमान चढेर फर्किए अनि उपचार सुरु गर्नुअघि आराम गर्न नोर्फोकस्थित स्यान्ड्रिङ्गम गए।

२५ ज्यानुअरी

लन्डन फर्केर उपचारका लागि तयार हुनुअघि राजाले केम्ब्रिज विश्वविद्यालयका प्राज्ञहरूसँग स्यान्ड्रिङ्गम हाउसमा भेट गरे।

२६ ज्यानुअरी

राजा चार्ल्स 'लन्डन क्लिनिक'मा भर्ना भए। त्यहाँ उनको प्रस्टेटको उपचार गरियो। “उहाँलाई राम्रो भइरहेको छ,” रानी कमिलाले राजा चार्ल्सबारे भनिन्।

२९ ज्यानुअरी

राजा चार्ल्स तीन रातपछि अस्पतालबाट फर्किए। बकिङ्गम दरबारले "व्यक्तिगत स्वास्थ्यलाभका लागि समय चाहिने" भन्दै राजाले सार्वजनिक कार्यक्रमहरू स्थगित गर्नुपरेको जनायो।

३१ ज्यानुअरी

रानी कमिलाले अस्पतालको उपचारपछि आफ्ना पति "निको भइरहेको" बताइन्।

४ फेब्रुअरी

राजा र रानी स्यान्ड्रिङ्गमस्थित एउटा गिर्जाघरमा उपस्थित भए। उपचार गरेपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित भएका राजा चार्ल्सले त्यहाँ शुभचिन्तकहरूलाई हात हल्लाएका थिए।

५ फेब्रुअरी

बकिङ्गम दरबारले हालैको उपचारका क्रममा राजा चार्ल्सलाई एक प्रकारको क्यान्सर भएको पत्ता लागेको घोषणा गर्‍यो। कुन प्रकारको क्यान्सरको भन्ने खुलाइएको छैन। तर बकिङ्गम दरबारको विज्ञप्तिअनुसार राजाले "नियमित उपचार" सुरु गरिसकेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।