माओवादीलाई नयाँ सरकारमा सहभागी हुने ‘ढोका बन्द’ गरेको कांग्रेसको सन्देश

शेरबहादुर देउवा र प्रचण्ड

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, एमाले-कांग्रेसको सहमतिले कांग्रेस र माओवादी एकअर्काबाट टाढिएजस्तो देखिन्छ

नेपाली कांग्रेसले 'राष्ट्रिय सहमति' भने पनि नयाँ सरकारमा नेकपा माओवादी केन्द्र सहभागी हुने सम्भावना नरहेको जनाएको छ।

उसले राष्ट्रिय सहमतिको निम्ति विश्वासको वातावरण बनाउन नेकपा एमालेसँगको सहमतिमा पुनर्विचार गर्ने सम्भावना पनि अस्वीकार गरेको छ।

माओवादी केन्द्रका महासचिव देव गुरुङले दुई दलबीच भएको आलोपालो सरकारको नेतृत्व गर्नेलगायतका विषयमा भएको सहमति त्याग्न तयार भएमा राष्ट्रिय सहमतिको निम्ति आफ्नो पार्टी तयार रहेको जनाएका छन्।

बीबीसीसँग कुरा गर्दै उनले भने, “राष्ट्रिय सहमति हुनुपर्छ भनेर हामीले त पहिलेदेखि नै कुरा गरिरहेका छौँ, तर त्यसका निम्ति उहाँहरू मध्यरातमा गरेको सहमतिबाट पछि हट्न तयार हुनुपर्छ।”

तर कांग्रेस प्रवक्ता प्रकाशशरण महतले अब त्यो सम्भावना नरहेको बताए। उनले आफ्नो पार्टी एमालेसँगको सहमतिबाट कुनै हालतमा पछि नहट्ने अडान व्यक्त गरे।

“कांग्रेस अरू पार्टीजस्तो होइन, निर्णयबाट पछि हट्ने कुरै हुन्न”, महतले भने, “संसद्को बाँकी कार्यकालमा पहिले (केपी शर्मा) ओलीजी र त्यसपछि (शेरबहादुर) देउवाजी प्रधानमन्त्री बन्ने हो।”

माओवादीको 'वैकल्पिक प्रस्ताव' तर ढोका बन्द?

माओवादी केन्द्रका महासचिव गुरुङले 'राष्ट्रिय सहमति' भने पनि एमाले र कांग्रेस त्यसको पक्षमा नरहेको बताए।

बरु उनीहरू देशको राजनीतिलाई दुईदलीय अभ्यासमा लग्ने प्रयासमा रहेको आरोप लगाउँदै उनले भने, “ओलीजीले राष्ट्रिय सहमति भन्नुहुन्छ तर देउवाजीले ‘होइन, राष्ट्रिय सहमति भनेको होइन, त्यो सम्भव छैन, कांग्रेस र एमाले मात्रै मिलेर अघि बढ्ने सहमति गरेका हौँ’ भन्नुभएको छ।”

कांग्रेसले पार्टी निर्णय सार्वजनिक गर्दा राष्ट्रिय सहमतिकै सरकार बनाउने उल्लेख गरेको छ।

ओली र देउवा

तस्बिर स्रोत, KP SHARMA OLI'S SECRETARIAT

तस्बिरको क्याप्शन, ओली र देउवाले यसै साता 'राष्ट्रिय सहमति'को सरकार बनाउने सहमति गरेका छन् (फाइल तस्बिर)

तर कांग्रेस प्रवक्ता महतले प्रधानमन्त्रीले विश्वासको मत लिने निर्णय गरेकाले उनको दल प्रतिपक्षमा बस्ने निचोडमा पुगेको भनी बुझ्नुपर्ने बताए।

“संविधान संशोधन गर्न सकेसम्म धेरै दल मिल्ने भन्ने हो तर सबै आउँछन् भन्ने होइन”, माओवादीलाई सरकारमा सहभागी गराउने प्रयास समेत नगर्ने सङ्केत दिँदै उनले भने, “प्रधानमन्त्रीले विश्वासको मत लिने भनेकाले माओवादी त सहभागी हुँदैन होला।”

कांग्रेसले एमालेसँगको सहमतिबाट पछि नहट्ने र अन्य विकल्पमा छलफल नगर्ने बताएर माओवादीको निम्ति ढोका बन्द गरेको सन्देश दिएको ठानिएको छ।

राष्ट्रिय सहमतिको निम्ति देउवा विकल्प?

माओवादीका एक जना नेताले सङ्क्रमणकालीन न्यायलगायतका विषयमा राजनीतिक सहमति जुटाउनुपर्ने लगायतका काम बाँकी रहेकाले दलहरूबीच संवाद भइरहेको बताए। उनले तत्काल नभए पनि भविष्यमा राष्ट्रिय सहमतिको वातावरण बन्न सक्ने कुरा अस्वीकार गरेनन्।

कतिपयले विश्वासको मत लिने र त्यो विफल भएपछि सबैभन्दा ठूलो दलको हैसियतले शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सम्भावनातर्फ धकेल्न प्रधानमन्त्रीले प्रयास गरिरहेको विश्लेषण गरेको पाइन्छ।

प्रचण्ड र देउवा

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, माओवादीले ओलीको सट्टा देउवा प्रधानमन्त्री बनून् भन्ने चाहेजस्तो देखिए पनि कांग्रेस त्यसतर्फ आकर्षित नभएजस्तो देखिन्छ

ओलीभन्दा पहिल्यै देउवा प्रधानमन्त्री बनेमा राष्ट्रिय सहमतिको पक्षमा कुरा अघि बढाउन बाटो खुल्ने माओवादी नेताहरूले ठानेको हुन सक्ने उनीहरूको बुझाइ छ।

कांग्रेस प्रवक्ता महतले त्यो सम्भावनाबारे अस्वीकार गरेका छन्। उनले भने, “प्रधानमन्त्रीले विश्वासको मत लिएपछि कस्तो सरकार बन्छ भन्ने कुरा हामीलाई पनि थाहा छ, हामीले बहुमत सिद्ध गरेमा एमाले र कांग्रेसकै बहुमतकै सरकार बन्छ।”

उनले राष्ट्रपतिले सबैभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्री बनाउने बाटोमा नलाग्ने विश्वास व्यक्त गर्दै आफ्नो दल अन्य विकल्पतर्फ लागेर एमालेसँगको सहमतिबाट पछि नहट्ने बताए।

माओवादी महासचिव गुरुङले पनि राष्ट्रिय सहमतिको कुरा गरे पनि कांग्रेस र एमाले त्यसको पक्षमा नरहेको आरोप लगाएका छन्।

उनले भने, “राष्ट्रिय सहमतिको त कुरै छाड्नुस्, संविधानमा लेखेको बहुदलीय प्रणालीमाथि नै प्रहार गर्ने गरी उहाँहरू दुई दलीय व्यवस्थातर्फ लाग्नु भएको छ।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।