मङ्गल ग्रहमा जीवन खोज्ने प्रयासमा नासा

पर्सिभिअरन्स र यसलाई बोक्ने इन्जन्यूइटी हेलिकप्टर

तस्बिर स्रोत, NASA/JPL-CALTECH/MSSS

    • Author, जोनाथन एमस
    • Role, बीबीसी विज्ञान संवाददाता

अमेरिकी अन्तरिक्ष निकाय नासाले पठाएको पर्सिभिअरन्स रोभरले यो सातादेखि मङ्गल ग्रहको सतहमा त्यहाँ सङ्कलित चट्टानका नमुनाहरू मिलाएर राख्न थाल्नेछ।

भविष्यमा मङ्गल ग्रहबाट फेरि सङ्कलन गरेर पृथ्वी ल्याउने उद्देश्यसहित चट्टानका ती नमुनाहरू ससाना टाइटेनिअम ट्यूबमा राखिएको छ।

मङ्गल ग्रहमा जीवको अस्तित्व छ कि छैन भन्ने पत्ता लगाउन यो अभियानलाई एउटा मुख्य कोसेढुङ्गा मानिएको छ।

मङ्गल ग्रहका चट्टान र माटोका नमुनाको पृथ्वीका प्रयोगशालामा अध्ययन गरेर मात्र त्यो कुराको निर्क्योल निकाल्न सकिने वैज्ञानिकहरूको भनाइ छ।

पर्सिभिअरन्स यानले 'जेजेरो खाडल' मा अन्वेषण गरिरहेको स्थानको भुइँमा १० वटा सिलिन्डर राख्नेछ।

ती स्थानमा पत्रे चट्टान र ज्वालामुखी विस्फोटनपछि बनेको आग्नेय चट्टानको मिश्रण छ। पर्सिभिअरन्स रोबटले विगत १५ महिनादेखि ती स्थानमा 'ड्रिल' गरिरहेको छ।

त्यसमा मङ्गल ग्रहको माटो र वायुका नमुनाहरू पनि हुनेछन्।

कहाँ र कसरी राखिनेछ नमुना

मानिसको औँलाजत्रो आकारको पहिलो ट्यूब बुधवारसम्म राखिसकिने नासाको योजना छ। त्यसका लागि “थ्री फोर्क्स” उपनाम दिइएको समथर भाग रोजिएको छ।

“त्यो सतह पुल खेल्ने टेबल जस्तो छ – निकै पट्यारलाग्दो,” नासामा मङ्गल ग्रह मामिलाका प्रमुख वैज्ञानिक माइक मेयरले भने।

भविष्यमा त्यहाँ जाने अन्तरिक्ष अभियानहरूलाई त्यसरी राखिएका सामग्रीहरू सङ्कलन गर्न सजिलो हुनेछ।

आगामी केही साता त्यसरी राखिने सबै सामग्री पृथ्वी ल्याउने प्राथमिक वस्तुको सूचीमा पर्दैनन्। वास्तवमा त्यो त एउटा वैकल्पिक योजना हो।

पृथ्वीबाट लिन आउने भावी अभियानलाई आफैँले ती नमुना र ड्रिल गर्न बाँकी अरू नमुना सोझै उपलब्ध गराउन सक्ने अपेक्षासहित पर्सिभिअरन्सले तिनलाई सुरक्षित हुनेगरी राख्नेछ।

जेजेरो खाडल

रोभर बिग्रियो भने के हुन्छ

तर रोभर बिग्रिन सक्ने र सबै नमुना त्यसभित्रै अड्किन सक्ने सम्भावनाबारे नासा सचेत छ। त्यो जोखिम लिन नासा तयार छैन।

त्यसैले थ्री फोर्क्सस्थित उक्त स्थान महत्त्वपूर्ण छ।

कारणवश पर्सिभिअरन्सले नमुना उपलब्ध गराउन नसकेमा पृथ्वीमा नमुना ल्याउनका लागि निकै महत्त्वपूर्ण मानिएको नमुना सङ्कलन कार्य सुनिश्चित हुने भएकाले उक्त स्थानलाई विशेष मानिएको एरिजोना स्टेट यूनिभर्सिटीमा कार्यरत तथा उक्त अभियानमा संलग्न वैज्ञानिक मीनाक्षी वाध्वाले बताइन्।

“यसले मङ्गल ग्रहको नमुना ल्याउने हाम्रो योजनालाई सबल पार्छ,” संवाददाताहरूसँग उनले भनिन्।

यदि पर्सिभिअरन्स निष्क्रिय भयो भने भविष्यमा त्यता पठाइने खोजी अभियानलाई सोझै थ्री फोर्क्सतिर परिचालन गर्न सकिनेछ।

त्यसमा ट्यूबहरू अँठ्याउन सक्ने पन्जा भएका र तिनलाई पृथ्वीमा ल्याउने रकेटसम्म पुर्‍याउन सक्ने दुइटा ड्रोन हुनेछन्।

जेजेरो खाडल

तस्बिर स्रोत, NASA/JPL-CALTECH/MSSS

मङ्गल ग्रहमा सङ्कलित नमुनाको अध्ययनबाट के खुल्छ

त्यहाँबाट सङ्कलित नमुनाहरूको विभिन्न किसिमले विश्लेषण गर्न सकिने वैज्ञानिकहरूको विश्वास छ।

आग्नेय चट्टानबाट जेजेरो क्रेटरको उमेर र मङ्गल ग्रहको बृहत्तर भौगर्भिक इतिहासबारे जानकारी पाइनेछ।

प्राचीन जैविक प्रमाण खोज्ने प्रयासमा पत्रे चट्टान महत्त्वपूर्ण मानिएको छ।

पर्सिभिअरन्सले नमुना सङ्कलन गर्न जेजेरोमा प्राचीन त्रिवेणीको अवशेष रहेको स्थानमा ड्रिल गरेको थियो।

ठूलो जलाशयमा प्रवेश गर्ने नदीको गति कम हुँदा थुप्रिएको पाँगो र बालुवाबाट ती दुईको मिलनबिन्दुमा त्रिकोणाकारको डेल्टा बन्छ।

मङ्गल ग्रहमा सूक्ष्मजीवहरू कुनै बेला अस्तित्वमा थिए भने त्यसमा त्यसको प्रमाण पाइन सक्ने ठानिएको छ।

जेजेरो खाडलमा भएको चट्टान

तस्बिर स्रोत, NASA/JPL-CALTECH/MSSS

तस्बिरको क्याप्शन, जेजेरो खाडलमा भएका चट्टानमा सूक्ष्मजीवको सङ्केत फेला पर्ने वैज्ञानिकहरूको अपेक्षा छ

कसरी होला अध्ययन

नासाको ग्रहविज्ञान निर्देशक लोरी ग्लेजका अनुसार मङ्गल ग्रहमा जैविक अस्तित्व रहेको वा नरहेको भन्ने प्रश्नको उत्तर पृथ्वीमा उपलब्ध जटिल प्रविधिहरू प्रयोग गरेर मात्र पाउन सम्भव छ।

“हामीसँग उपलब्ध रिमोट-सेन्सिङ साधनको सहयोगमा हामी तत्स्थानमै धेरै काम गर्न सक्छौँ। तर हामी प्रयोगशालाका सबै उपकरण र विशेषज्ञहरू मङ्गल ग्रहमा लैजान सक्दैनौँ। त्यसैले हामी ती नमुना यहाँ ल्याउँछौँ...। दशकौँसम्म ती नमुना हामीसँग हुनेछन् अनि [तिनको परीक्षण गर्न] अहिलेसम्म हामीले नसोचेका नयाँ जुक्तिहरू आउनेछन्,” उनले बीबीसीसँग भनिन्।

सङ्कलित नमुना भएका ट्यूबहरू एक महिना लगाएर उक्त स्थानमा राखिनेछ।

छ-छ मिटरको दूरीमा नागबेली पारेर ट्यूबहरू राखिएपछि तिनको स्थान स्पष्ट हुनेगरी तस्बिर खिचिनेछ तथा अभिलेख राखिनेछ।

पर्सिभिअरन्स

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, पर्सिभिअरन्स निष्क्रिय भयो भने हेलिकप्टरहरूले नमुनाहरू जम्मा गरेर पृथ्वी आउने रकेटमा पुर्‍याउनेछन्

कहिले ल्याइएला पृथ्वीमा

यो काम सकिएपछि पर्सिभिअरन्स र यसलाई बोक्ने हेलिकप्टर इन्जन्यूइटी डेल्टाको माथिल्लो भागमा जानेछन् र आफ्नो अभियानको बाँकी काम थाल्नेछन्।

उक्त रोभरमा अझै २० वटा रित्ता ट्यूबहरू छन्। चाखलाख्दा चट्टानहरू फेला परेपछि पर्सिभिअरन्सले तिनबाट पनि नमुना सङ्कलन गर्नेछ।

मङ्गल ग्रहबाट ती नमुना सङ्कलन गर्ने नयाँ अभियानमा एउटा अवतरण गर्ने मञ्च, हेलिकप्टरहरू, एउटा रोबटिक हात र पृथ्वी फिर्ता आउने रकेट छन्।

उक्त अभियान सन् २०२८ को मध्यतिर पृथ्वीबाट मङ्गल ग्रहका लागि प्रस्थान गर्नेछ। मङ्गल ग्रह पुग्न त्यसलाई झन्डै दुई वर्ष लाग्नेछ।

त्यसले थ्री फोर्क्सस्थित भण्डार वा अर्को स्थानबाट पर्सिभिअरन्सबाट सोझै हात पार्ने नमुनाहरू सन् २०३३ सम्म पृथ्वी ल्याउइपुर्‍याउनेछ।

नासाले युरोपेली अन्तरिक्ष निकाय ईएसएसँग मिलेर यो परियोजना संयुक्त रूपमा सञ्चालन गर्न लागेको हो।

यो योजनाबारे गत साता आयोजित अमेरिकन जिओफिजिकल यूनियन फल मीटिङमा छलफल भएको थियो।