अङ्ग्रेजी भाषा 'जान्ने' नेपाली यूकेका थाइ रेस्टुराँमा सेफ

    • Author, स्वेच्छा राउत
    • Role, बीबीसी न्यूज नेपाली

लन्डनसहित यूकेका विभिन्न सहरका रेस्टुराँको भान्सामा अहिले नेपाली युवाहरू- चाउचाउ, तरकारी र अन्य परिकारमा लेमनग्रास, पुदिना, कागती, गलाङ्गल वा खुर्सानीको तालमेल मिलाइरहेका भेटिन्छन्।

उनीहरूले त्यहाँ प्रयोग गर्ने कतिपय मसला नेपाली पकवानहरूमा कहिल्यै प्रयोग गरिन्न। अनि, उनीहरूले तयार पारेर ग्राहकको थालमा पस्कने केही खाना सायदै काठमाण्डूको कुनै रेस्टुराँको मेन्युमा अटाउला। तर, पाककलाकै कारण ती नेपाली युवाहरू अहिले एक थाइ परिकार पाइने विशेष रेस्टुराँमा कार्यरत् छन्।

यहाँ, थाइल्यान्डको मौलिक स्वादका लागि थाइल्यान्डकै भान्से किन छैनन् त? भन्ने प्रश्न उठ्न सक्छ। उत्तर रोचक छ- अङ्ग्रेजी भाषाको परीक्षामा थाइल्यान्डका सेफहरूको तुलनामा नेपालीले उत्कृष्ट अङ्क ल्याउनु।

अवसर पाउनेहरूको अनुभव

सामान्यतया पढ्नका लागि यूके जाने नेपालीहरूले आईईएलटीएसमा कम्तीमा कुल ६ अङ्क ल्याउनु पर्छ। उनीहरूले ब्याङ्कमार्फत् शैक्षिक प्रयोजनका लागि ऋण लिनु पर्छ र निश्चित तहसम्मको शैक्षिक प्रमाणपत्रहरू अनिवार्य पेश गर्नु पर्छ।

नुवाकोटका २९ वर्षीय निकेश थापा मगर काठमाण्डूको एउटा होटलमा काम गर्थे। उनले माध्यमिक तहसम्मको मात्र पढाइ पूरा गरेका छन्। त्यसैले तत्काल विदेश जानेबारे सोचेका थिएनन्। तर, एक्कासि आफन्तमार्फत् यूके जाने अवसरबारे थाहा पाएपछि उनको योजना बदलियो। आवेदन दिनका लागि न्यूनतम आवश्यकताहरूबारे हेरे:

पहिलो- अङ्ग्रेजी भाषाको परीक्षा आईईएलटीएसमा लिखित, मौखिकसहित चार विधामा कम्तीमा ४/४ अङ्क ल्याउनु पर्ने। दोस्रो थाइ परिकार पकाउन तालिम लिएको प्रमाण र सम्बन्धित भान्सामा काम गरेको अनुभव।

त्यसपछि स्वास्थ्य परीक्षण र सरकारी निकायबाट श्रम स्वीकृतिको पाटो।

मगरले दुई वर्षअघि थाइ सेफसँग पाककला सिकेका थिए। वर्षौँ त्यही क्षेत्रमा काम गर्नुको अनुभव छँदै थियो।

“तर मलाई अङ्ग्रेजी अलि गाह्रो लाग्थ्यो। प्रयास गरे सकिन्छ कि भनेर जाँच दिने तयारी गर्न थालेँ। दुई महिना पढेँ। आवश्यक अङ्क (५.५) ल्याएँ र अहिले यूकेमा छु,” उनले भने।

आफ्नो अनुभव बीबीसीसँग साट्दा मगर सन्तुष्ट सुनिन्छन्।

“कार्यस्थल राम्रो छ। यहाँ गरिने व्यवहार पनि राम्रो छ। हामीले आवश्यक माया, साथ र सम्मान पाएका छौँ र खटेअनुसार पैसा पनि,” उनले भने।

यो पनि पढ्नुहोस्

यद्यपि, महङ्गीका कारण व्यक्तिगत खर्च बढी भएको र सोचेअनुरूप रकम जोगाउन गाह्रो भएको उनले बताए।

गोर्खाका सुरज भट्टले थाइ सेफको रूपमा यूके पुग्नुले आफूलाई भविष्यबारे आशावादी बनाएको बताए। नेपालमा वैदेशिक शिक्षा वा रोजगारको अवसर निकै महङ्गो भएको छ। त्यस्तो परिप्रेक्ष्यमा उनले यूके जानका लागि न ब्याङ्कबाट ऋण लिनु पर्‍यो न त सेवा शूल्कको नाममा कुनै कन्सल्टेन्सीलाई मोटो रकम नै बुझाउनु पर्‍यो।

“कम खर्चमा यूके जाने अवसरबारे सुन्दा सुरुमा त छक्क परेँ। धेरै कागजपत्र बुझाउनै परेन। मैले लिएको तीन महिना लामो तालिम (थाइ खाना बनाउने) को प्रमाणपत्र नै पर्याप्त भयो,” २७ वर्षीय भट्टले सुनाए।

“म काममा रमाएको छु र यहाँका मान्छेले हरेक कामलाई गर्ने सम्मान देखेर चकित छु। मैले यहीँबाट अझै आफ्नो सीप र शैलीमा निखार ल्याउने र यसै क्षेत्रमा करिअर बनाउनेबारे सोचेको छु,” उनले थप भने।

यिनै युवाहरूको जोस, लगनशीलता, मिहेनत र सीपले मूलतः लन्डनसहित यूकेका विभिन्न सहरमा शाखा भएको “रोजाज थाइ” नामक रेस्टुराँलाई नेपालसँग जोडेको हो।

नेपालमै आएर कामदार छनौट

गत डिसेम्बरमा रोजाज थाइ नामको रेस्टुराँकी सञ्चालक साइफिन मूर नेपाल आएकी थिइन्। उनले आवेदन दिएका सेफहरूको कार्यकुशलता निरीक्षण गरेर छनौट प्रक्रिया अघि बढाएको सुनाइन्।

“मैले उनीहरूको कामको गति हेरेँ। अन्तर्वार्ता लिएँ र आफ्नो व्यवसायमा सही योगदान पुर्‍याउन सक्ने व्यक्तिको पहिचान गरेँ। म सबैको मेहनत देख्दा साँच्चै प्रफुल्लित भएँ,” उनले बीबीसीसँग भनिन्।

अन्तर्वार्ता दिएको करिब एक महिनामा ६ जना नेपाली यूके गए। त्यस्तै थप ५ जना अप्रिल अन्त्यसम्ममा त्यहाँ पुग्ने तय भएको छ। र, छनौट भएका बाँकी १० जनाको प्रक्रिया अगाडि बढिरहेको उनले बताइन्।

मूरले सन् २०२४ को मध्यसम्ममा थप २० जना नेपालीलाई विभिन्न जिम्मेवारीसहित आफ्नो कामदारको रूपमा लैजाने तयारी गरेको बताएकी छन्।

साइफिन मूर स्वयं थाइ शेफ हुन्। उत्तरी थाइल्यान्डमा हुर्किएकी उनी सन् २००२ मा बालबच्चा स्याहार्ने कामका लागि हङकङ पुगेकी थिइन्। कमाउनका लागि विदेश पुगेकी उनले अतिरिक्त आम्दानीका लागि नियमित कामको साथमा रेस्टुराँमा काम गर्थिन्।

“म त्यति बेलादेखि नै थाइ खानामा केन्द्रित भएँ। अरू परिकार मिसाउन चाहिनँ। केही गर्नेहरू एउटै काममा निपुण हुनुपर्छ। एउटा कामलाई अर्कोसँग मिसाउनु हुँदैन भन्ने मेरो विश्वास हो,” मूरले आफ्नो विचार राखिन्।

त्यहाँ काम गर्दाको अनुभवका आधारमा उनी भोक र स्वादसँगको व्यवसायमा जोडिइन् र व्यसायिक उडानले नै उनलाई सन् २००६ मा लन्डन पुर्‍यायो। त्यसयता अहिलेसम्म उनको रेस्टुराँको ३५ वटा शाखा बिस्तार भइसकेको छ।

नेपाली कामदार रोज्नुको कारण

व्यवसाय सुरुवातदेखि नै राम्रो भए पनि सेफलगायत अन्य कामदारलाई थाइल्यान्डको शैली, परम्परा र मौलिकता सिकाउनु चुनौतीपूर्ण रहेको उनले जिकिर गरिन्।

“त्यसका लागि सिक्न चाहने मान्छे चाहिन्छ। त्यो हुटहुटी मैले नेपालीहरूमा देखेकी थिएँ।”

आफूले हङकङमा छँदा थुप्रै नेपालीहरू भेटेको र उनीहरूबाट प्रभावित भएको उनले बताइन्। “उनीहरू निकै मेहनत गर्छन् र इमानदार हुन्छन्। उनीहरू सधैँ नयाँ कुरा सिक्न उत्सुक देखिन्छन्,” उनले नेपालीबारे आफ्नो धारणा राखिन्।

रोजगारीसँग सम्बन्धित थप सामग्रीहरू

“मलाई सधैँ उनीहरू उत्कृष्ट कामदार हुन् भन्ने लाग्थ्यो। अब त उनीहरू मसँगै काम गर्दै छन्,” उनले थप भनिन्।

तर, कोरोनाभाइरस महामारीअघि सम्म उनले धेरै नेपालीसँग निकट रहेर काम गर्ने मौका जुरेको थिएन।

हाल नेपालमै आएर आफ्नो व्यवसायका लागि नेपाली कामदार भर्ती गर्नुको पछाडि यूकेले यूरोपियन यूनियन छोड्नु, महामारी फैलनु र यूकेमा कामदार अभाव हुनुजस्ता समस्याहरू पनि सम्बन्धित छन्।

ब्रेक्जिट र कोभिडको प्रभाव

सन् २०२० मा ब्रिटेनले यूरोपियन यूनियन छाड्ने निर्णयको आधिकारिक कार्यान्वयन भयो। त्यसपछि त्यहाँ ईयूका कामदारहरू आवतजावत गर्न पाउने स्वतन्त्रता खुम्चियो र अङ्कमा आधारित नयाँ आप्रवासन प्रणाली लागू भयो। उक्त प्रणाली अन्तर्गत निश्चित मापदण्डहरू पूरा गरेर तोकेअनुरूप अङ्क पाउने व्यक्तिहरूलाई मात्र यूकेको भिसा दिइन्छ।

यस प्रणालीले विभिन्न माध्यमहरूमार्फत् दक्ष जनशक्तिहरूलाई यूके जान सहजीकरण गर्छ। रोजगारदाताहरूको हकमा यूके बाहिरका मानिसहरूलाई काममा लगाउन उनीहरूलाई “स्पोन्सर लाइसेन्स“को लिनु पर्ने नियम छ।

“ब्रेक्जिटपछि नै काम गर्ने मानिसहरू कम भइसकेका थिए। कोभिडपछि त्यो समस्या झनै विकराल बन्यो,” मूरले भनिन्।

उनको रेस्टुराँको १६औँ शाखा स्थापनापछि सेफकै अभाव खड्कन थालेपछि आफूले पनि स्पोन्सर लाइसेन्स लिएको उनले बताइन्।

अनुमति पत्र लिएपछि उनले थाइल्यान्डमै गएर सेफलगायत अन्य कामदारको खोजी गरिन्।

“उनीहरूले हरेक खानालाई थाइ संस्कृति वा स्वादसँग जोडेर बुझ्न सक्थे। उनीहरूले मेरो रेस्टुराँको मर्म बुझ्न कुनै तालिम लिनु पर्दैन थियो। तर दुर्भाग्य, उनीहरू धेरैजसो अङ्ग्रेजीमा कमजोर छन्। कसैले पनि परीक्षामा न्यूनतम अङ्क समेत ल्याउन सकेनन्,” मूरले थाइ सेफलाई अवसर दिन नसक्नुको कारण प्रस्ट्याइन्।

त्यसपछि उनले थाइ खाना पकाउन सक्ने सीपसँगै अङ्ग्रेजी भाषा जान्ने कामदारको खोजी गरेकी हुन्।

कति कमाइ र कस्ता सुविधा?

त्यसरी लगिने कामदारहरूको सम्पूर्ण खर्च प्रायोजक अर्थात् कम्पनीले नै व्यहोर्छ।

मूरका अनुसार नेपाली कामदारहरूले आईईएलटीएस र मेडिकल जाँचको लागि मात्र व्यक्तिगत खर्च गर्नुपर्छ।

“कसले केमा खर्च गर्ने भन्ने कुरा ब्रिटिश सरकारले नै तोकिदिएको हुन्छ। खर्च मात्र होइन उनीहरूको आम्दानी पनि निश्चित हुन्छ,” उनले भनिन्।

रेस्टुराँमा खट्ने कामदारहरूले जिम्मेवारी अनुसार प्रतिघण्टा सेवा शूल्कसहित १३ देखि १५ पाउन्ड कमाउने मूरले जानकारी दिइन्। उनीहरूले साताको पाँच दिन दैनिक ८ देखि १० घण्टा काम गर्नु पर्ने हुन्छ। साप्ताहिक दुई दिन विश्रामबाहेक वर्षभरमा २८ दिन बिदा लिन पाइने र बीमालगायतको सुविधासमेत प्रदान गरिन्छ।

रोजाज थाइबाहेक यूकेका अन्य रेस्टुराँहरूमा पनि नेपालीको उपस्थिति रहेको तथ्याङ्कले देखाउँछ। वैदेशिक रोजगार विभागका अनुसार सन् २०२२ को अक्टोबर १ देखि सन् २०२३ को मार्च ३१ सम्ममा कुल ९३५ नेपाली विभिन्न कामका लागि यूके गएका छन्।

तीमध्ये २८६ जना प्रत्यक्ष रूपमा रेस्टुराँमा संलग्न छन्। उदाहरणको लागि: २५७ जना नेपाली, भारतीय, थाइ वा कन्टिनेन्टल शेफका रूपमा र केही भने पिज्जा, तन्दुरीलगायत खाना बनाउने कुकका रूपमा गएको देखिन्छ।

तथ्याङ्क अनुसार २८ जना रेस्टुराँ, क्याटरिङ वा बार व्यवस्थापकको रूपमा गएका छन् भने वेटरको रूपमा जम्मा एक जना त्यहाँ पुगेका छन्।

रोजगारीसँग सम्बन्धित थप सामग्रीहरू

यीबाहेक करिब १९ जना मासु काट्ने वा माछा खुर्कने तथा काट्ने कामका लागि यूके गएको देखिन्छ।

“आम नेपालीको यूकेको मौसमी रोजगारीप्रति बढी चासो देखिएको थियो। यस पटक त्यो अवसर आएन। केही फाट्टफुट्ट गइरहेका छन् तर त्योभन्दा धेरै होटल/रेस्टुराँको कामको लागि गएको देखिन्छ,” वैदेशिक रोजगार कार्यालयका निर्देशक वसन्तबहादुर बोहराले बताए।

“विकसित देश भएकाले हुनसक्छ दक्ष जनशक्तिको यूकेप्रति आकर्षण बढ्दो छ,” उनले थप भने।