तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
यूके नेपाली नर्स: सात दशकअघि नै ब्रिटिश सेनामा भर्ना भएका थिए 'नेपाली' महिला, केही बनेका थिए अधिकृत
- Author, विष्णु पोखरेल
- Role, बीबीसी न्यूज नेपाली
रोजगारीका लागि १० हजार नेपाली नर्सलाई यूकेमा पठाउन नेपाल र ब्रिटेनबीच हालै एउटा सम्झौता अघि बढाइएको अधिकारीहरूले बताएका छन्।
सरकार-सरकारबीच सम्झौता भएर यसरी यूके नर्स पठाइन लागेको यो पहिलो पटक भएको उनीहरूको भनाइ छ।
सरकारी स्तरबाट औपचारिक रूपमा नर्सलाई पठाइन लागेको यो पहिलो पटक भए पनि नेपाली महिला तथा पुरुषले यूकेमा नर्सका रूपमा काम गरेको दशकौँ भइसकेको विवरण पाइएका छन्।
गैरसैनिक क्षेत्रमा विगत दुई दशकदेखि नेपाली नर्स यूकेका अस्पतालमा कार्यरत रहेको जानकारहरूको भनाइ छ।
सैन्य क्षेत्रमा भने त्यो भन्दा धेरै अघिदेखि नेपालीले काम गरेको तथ्य पाइन्छ।
ब्रिटिश सेनामा काम गरेका नेपाली महिलाबारे अध्ययन गरेका व्यक्तिका विवरण तथा विभिन्न पुस्तक एवम् ऐतिहासिक तथ्यले कम्तीमा सात दशकअघि नै नेपाली महिलाले ब्रिटिश फौजको नर्सिङ सेवामा काम गरेको देखाएका छन्।
तर सुरुवाती चरणमा भारत, सिङ्गापुर तथा हङ्कङबाट नेपालीभाषी र नेपाली नागरिकहरू नर्सका रूपमा ब्रिटिश सेनामा प्रवेश गरेका तथ्यहरू भेटिएका छन्।
न्याशनल युनिभर्सिटी अफ सिङ्गापुरमा गोर्खा महिलाबारे विद्यावारिधि गरिरहेका सञ्जय शर्मा भन्छन्, "सुरुमा नेपाली नागरिक नै प्रवेश गरे वा नेपालीभाषी मात्र भन्ने कुराबारे थप अध्ययन हुनुपर्ने देखिन्छ। सुरुवाती चरणमा नेपाल बाहिर नै रहेका नेपालीभाषी महिला नर्सका रूपमा ब्रिटिश फौजमा काम गरेको पाइन्छ।"
"मैले हालसम्म भेटेका विवरणले दोस्रो विश्वयुद्धका बेला नै नेपाली महिला ब्रिटिश सेनामा नर्सका रूपमा काम गरेको देखाएका छन्।"
ब्रिटिश गोर्खामा पहिलो नेपाली नर्स
हालसम्म उपलब्ध तथ्यहरूले शोभाकुमारी क्षेत्री ब्रिटिश सेनामा काम गर्ने पहिलो नेपालीभाषी नर्स भएको खुल्न आएको छ।
हाल ब्रिटेनमा बसोबास गर्ने शोभाकुमारीका ७५ वर्षीय छोरा राजेन्द्रका अनुसार शोभाकुमारीले मिडवाइफ (सुडेनी) का रूपमा ब्रिटिश फौजमा काम सुरु गरेकी थिइन्।
यद्यपि उनले नेपालबाटै सेवा सुरु नगरेको राजेन्द्र बताउँछन्।
"हाम्रो बाजे बाग्लुङ जिल्लाबाट ब्रिटिश भारत कालमा शिलोङ (हाल पूर्वोत्तर राज्य मेघालयको राजधानी) जानु भएको रहेछ। मेरो आमाले त्यही मिडवाइफका रूपमा सेनामा काम थाल्नु भएको हो," बीबीसीसँग कुरा गर्दै उनले भने।
"म पनि शिलोङमै जन्मिएको थिए तर सानैमा आमासँगै मलाया गएर उतै पढे। पछि ब्रिटेनमा आएर नर्सका रूपमा काम गरे।"
उनले दिएको जानकारी अनुसार शोभाकुमारीलाई ब्रिटिश सेनामा काम गर्ने पहिलो नेपालीभाषी नर्स मान्न सकिने देखिन्छ।
यद्यपि राजेन्द्र मलायाबाट ब्रिटेन जाने बेलामा त्यहाँ कार्यरत ब्रिटिश गोर्खा सैन्य अधिकृतहरूको सिफारिसका आधारमा आफूले नेपाली राहदानी नै पाएको बताउँछन्।
"सन् २०१९ सम्म म नेपाली राहदानी बोकेर नेपालीकै रूपमा यहाँ बसिरहेको थिएँ। तर पछि पासपोर्ट नवीकरण गर्ने बेलामा लण्डनस्थित नेपाली दूतावासले नयाँ कानुन अनुसार मिल्दैन भनेर मानेन अनि म राज्यविहीन बने," उनी भन्छन्।
"अहिले चाहिँ म ब्रिटेनमा स्थायी बसोबासको अनुमति लिएर बसिरहेको छु।"
राजेन्द्रकी आमा शोभाकुमारीले करिब ३५ वर्षसम्म १० जीआर अर्थात् १० गोर्खा राइफल्समा मिडवाइफ र नर्सको रूपमा काम गरेकी थिइन्।
उनले सन् १९३८ मा काम सुरु गरेर सन् १९७२ मा नर्सका रूपमा अवकाश पाइन्।
तर उनले भारत र दक्षिणपूर्वी एशियामा मात्र सेवा गर्न पाएको तथा कहिल्यै पनि ब्रिटेन जाने अवसर नपाएको शोभाकुमारीका पुत्र राजेन्द्रको भनाइ छ।
सुरुमा उनलाई ब्रिटिश फौजमा जागिर दिनुको मुख्य उद्देश्य अङ्ग्रेजी भाषा नबुझ्ने ब्रिटिश गोर्खा फौजमा कार्यरत नेपालीका गर्भवती श्रीमतीलाई सेवा दिनु रहेको थियो।
क्षेत्रीले सुरुमा भारतमा त्यसपछि मलायामा र अन्तिम समयमा हङ्कङमा काम गरेको राजेन्द्र स्मरण गर्छन्।
उनलाई नेपाली गोर्खा समुदायले "आमाजी" भनेर सम्बोधन गर्ने गर्थे।
गोर्खा सैनिकहरूले आफ्ना परिवार पनि सँगै लान पाउने व्यवस्था भएपछि मलाया र हङ्कङमा खटिएका कतिपयले आफ्ना श्रीमतीलाई सँगै लिएर गएका थिए।
त्यसबेला गोर्खा सैनिकका श्रीमतीहरू गर्भवती हुँदा रेखदेख गर्नेदेखि मलाया युद्धका घाइतेको उपचारका क्रममा समेत शोभाकुमारी खटिएको राजेन्द्र स्मरण गर्छन्।
घाइते सैनिकहरूलाई मनोपरामर्श दिने काममा पनि उनी खटिएकी बताइन्छ।
सन् १९८८ मा निधन भएकी उनलाई सन् १९६० मा ब्रिटिश एम्पायर मेडल (बीईएम) ले सम्मान गरिएको थियो।
नर्स भर्नाको सिलसिला
शोभाकुमारीजस्तै सन् १९४० र ५० को दशकमा अन्य केही नेपाली नागरिक तथा नेपालीभाषी महिलाहरू ब्रिटिश सेनाको नर्सिङ सेवामा भर्ना भएका विवरणहरू पाइन्छन्।
तर त्यस्ता नेपाली नागरिक वा नेपालीभाषी महिलाहरूलाई नेपालबाट सीधै भर्ना गरेको देखिँदैन।
"ब्रिटिश सेनामा काम गरेका नेपालीहरूका छोरी विशेषगरी भारत, सिङ्गापुर, मलाया वा हङ्कङ जस्ता क्षेत्रमा रहेकै बेला उतैबाट नर्सका रूपमा भर्ना भएको देखिन्छ," सञ्जय शर्मा भन्छन्।
तर सन् १९५० दशकको अन्त्यतिर र सन् १९५६० को दशकको सुरुवातदेखि नेपालबाट प्रक्रियागत रूपमै महिलाहरूलाई नर्सका रूपमा भर्ना लिन थालिएको पुष्टि भएको छ।
त्यस क्रममा पनि भारत, सिङ्गापुर, मलाया वा हङ्कङमा बसेका लाहुरे परिवारका छोरीहरू ब्रिटिशहरूको प्राथमिकतामा परेको देखिन्छ।
त्यसको एउटा कारण उनीहरूको अङ्ग्रेजी भाषामा भएको पकड पनि हुनसक्ने ठानिन्छ।
साथसाथै नेपालभित्र भन्दा बाहिर रहेका लाहुरेका छोरीहरूले शिक्षाको अवसर पाउनु अर्को कारण हुनसक्ने बताइन्छ।
तर ब्रिटिश सेनामा नेपाली नर्सहरूको भर्नाबारे धेरै विवरण पाउन कठिन देखिएको गोर्खा महिलाबारे अध्ययन गरिरहेका शर्माको भनाइ छ।
यद्यपि विभिन्न पुस्तकहरू तथा ब्रिटिश सेनासम्बन्धी अभिलेखहरूको अध्ययनबाट केही नेपाली नर्सबारे सामान्य जानकारी प्राप्त भएका छन्।
सन् १९६० तथा ७० को दशकदेखि ८० को दशकसम्म ब्रिटिश सेनाको नर्सिङ सेवामा काम गरेका कतिपय नेपाली नर्सले पनि त्यसबारे जानकारी दिएका छन्।
सन् १९६० को दशकदेखि नेपाली महिलाहरू क्वीन अलेक्जान्ड्राज् रोयल आर्मी नर्सिङ कोर (क्यूएआरएएनसी) मा भर्ना हुन थालेको देखिन्छ।
क्यूएआरएनसी सुरुमा क्वीन अलेक्जान्ड्राज् इम्पेरियल मिलिटरी नर्सिङ सर्भिस (क्यूएआईएमएनएस) नाममा सन् १९०२ मा स्थापना भएको थियो।
तर सन् १९४९ मा त्यसको नाम परिवर्तन गरेर क्यूएआरएएनसी बनाइयो।
त्यो सँगै सन् १९६० को सुरुवात्देखि क्यूएनआरएएनसीमा नेपाली महिलाहरूको भर्ना लिन थालिएको टिम आई गुरुङले आफ्नो पुस्तक 'आयो गोर्खाली: अ हिस्ट्री अफ द गोर्खाज्'मा उल्लेख गरेका छन्।
विशेषगरी शिक्षित गोर्खा महिलाले त्यसमा अवसर पाएको गुरुङले लेखेका छन्।
उनी लेख्छन्, "शिक्षित गोर्खा महिलाका लागि सन् १९६० को प्रारम्भमा एउटा दुर्लभ अवसर आयो। त्यसबेला क्यूएआरएएनसीमा पहिलो पटक उनीहरूका लागि भर्ना खोलियो।"
"सुरुमा उनीहरूलाई नेपालको धरानबाट भर्ती गरिएको थियो। सफल उम्मेदवारहरूलाई ब्रिटेन लगियो र सामान्य अस्पतालमा तीन वर्षको आधारभूत प्रशिक्षण प्रदान गरियो।"
गुरुङका अनुसार आफ्नो करिअर अघि बढाउन उनीहरूले आवश्यक प्रशिक्षण पूरा गरेपछि पनि एक वा दुई विशेषज्ञ प्रशिक्षणहरू लिनुपर्थ्यो।
'गौरवको अनुभूति'
त्यसरी धरानबाट क्यूएआरएएनसीमा भर्ना हुने अवसर पाउनेमा हाल अस्ट्रेलियामा बसोबास गर्ने रुक्मणी देवान ओ'कनर पनि पर्छिन्।
उनी र उनकी बहिनी सुधा राई देवान दुवैले ब्रिटिश सेनाको नर्सिङ सेवामा काम गरेका हुन्।
"हाम्रा बाबा मेजर धनलाल देवान पनि ब्रिटिश आर्मीमै हुनुहुन्थ्यो। त्यही भएर हामी सानैमा सिङ्गापुर गएका थियौँ," रुक्मणीले बीबीसीसँग भनिन्।
बाल्यकाल सिङ्गापुर र हङकङमा बिताएकी उनी ब्रिटिश सेनाको नर्सिङ सेवामा प्रवेश गर्न भने धरानमा आइन्।
ब्रिटिश गोर्खा र उनीहरूका परिवारका सदस्यलाई स्वास्थ्य सेवा दिनका लागि भनेर सन् १९६० ताका धरानमा ब्रिटिश मिलिटरी हस्पिटल (बीएमएच) स्थापना भएको थियो।
सुरुमा उक्त अस्पतालमा प्रारम्भिक प्रशिक्षण दिएका नर्सहरूलाई नै ब्रिटेन पठाएर थप तालिम दिएर क्यूएआरएएनसीमा भर्ना लिने गरिएको देवान बताउँछिन्।
"म पनि त्यही भर्नाका लागि धरान पुगेकी थिएँ," उनले भनिन्।
सन् १९७० मा ब्रिटिश सेनामा नर्सिङ सेवा सुरु गरेकी उनले करिब १० वर्ष विभिन्न स्थानमा नर्सका रूपमा बिताइन्।
उनी भारतको दार्जिलिङमा जन्मिएकी थिइन् तर बाल्यकाल हङ्कङ र सिङ्गापुरमा बिताइन्।
यद्यपि आफू धरान आएर नेपाली नागरिककै रूपमा ब्रिटिश सेनाको नर्सिङ सेवामा भर्ना भएको उनी बताउँछिन्।
उनले भनिन्, "त्यो बेलामा नेपाली पुरुष दाजुभाइ मात्र ब्रिटिश सेनामा हुने गरेकोमा म र मेरो बहिनी सुधाले पनि यस्तो प्राविधिक सेवा गर्न पाएकोमा मलाई अहिले पनि गौरव महसुस हुन्छ।"
उनका अनुसार सुधा देवानले चाहिँ सन् १९७४ मा ब्रिटिश सेनामा नर्सिङ सेवा सुरु गरेकी थिइन् भने सन् १९८२ मा उनले अवकाश पाइन्।
दुवैजना दिदीबहिनी क्याप्टेन तहसम्म पुगेर अवकाश भएका हुन्।
'गोर्खा महिलाको भर्ना: महत्त्वपूर्ण घटना'
कतिपयका बुझाइमा क्यूएआरएएनसीमा नेपाली महिलाको भर्ना ब्रिटिश सैन्य इतिहासमा निकै महत्त्वपूर्ण घटना थियो।
त्यस्तै सङ्केत जुलियट पिगटद्वारा लेखिएको पुस्तक "फेमस रेजिमेन्टस्: क्वीन अलेक्जेन्ड्राज् रोयल आर्मी नर्सिङ कोर" मा पनि पाइन्छ।
त्यसमा लेखिएको छ, "कोरको इतिहासमा सन् १९७० भन्दा पहिले कम शानदार तर अत्यन्त महत्त्वपूर्ण घटना भएको थियो। सन् १९६२ मा सिङ्गापुरमा भर्ना लिइएका पहिलो गोर्खाको टोलीलाई इङ्ल्यान्ड ल्याइयो र उनीहरू क्वीन अलेक्जान्ड्रा क्याम्पमा आइपुगे।"
गोर्खा फौज र ब्रिटिश सेनाको नर्सिङ कोरबीच पहिलेदेखि नै नजिकको सम्बन्ध रहेको उल्लेख गर्दै उक्त पुस्तकमा अन्तत: क्यूएआरएएनसीको हिस्साका रूपमा नेपाली युवतीहरूले पनि प्रवेश पाएको उल्लेख छ।
तर त्यसका लागि साठी वर्ष लागेको भन्दै त्यसमा "क्यूएआरएएनसीमा नेपाली अधिकृत र अन्य पदका दुवैखाले व्यक्तिहरू छन् भन्ने कुरा खुसीसाथ स्वीकार गरिएको तथ्य" भएको उल्लेख छ।
त्यस्तो पहिलो भर्ती सन् १९६१ मा भएको र उनीहरूले सुरुमा लुइस मार्गरेट अस्पतालमा मिडवाइफ तालिम लिएको उक्त पुस्तकमा लेखिएको छ।
त्यसमा जनाइए अनुसार पहिलो पटक क्यूएआरएएनसीमा भर्ना हुने गोर्खा नर्सहरूमा चार जना अधिकृत र चार जना सार्जेन्ट तहका थिए।
गोर्खा महिलाबारे अध्ययन गरिरहेका शर्माका भनाइमा यस्ता तथ्यहरूले नेपालबाट पहिले अदक्ष व्यक्तिहरू र विशेषगरी पुरुष मात्र विदेशमा काम गर्न जान्थे भन्ने मान्यता गलत रहेको देखिन्छ।
"अधिकृत तहमा काम गरेका नेपाली नर्सहरू समेत हुनुले गोर्खा भर्तीमा महिलाको उपस्थितिलाई दर्शाउने मात्र होइन, नेपालबाट हुने श्रम आप्रवासन पुरुष र अदक्ष कामदारमा मात्र सीमित थियो भन्ने भाष्य गलत हो भन्ने देखाउँछ," उनी भन्छन्।
उच्च तहमा नेपाली नर्स
नेपाली नागरिक वा नेपालीभाषी नर्सहरू ब्रिटिश सेनाको अधिकृत तहमा दशकौँअघि पुगिसकेको विभिन्न विवरणहरूले देखाएका छन्।
सन् १९६० र ७० को दशकमा प्रकाशित लन्डन ग्याजेटका केही अङ्कहरूमा बढुवा भएका सैन्य अधिकृतहरूका नामावली प्रकाशित हुँदा नेपाली नर्सहरूको नाम पनि परेको भेटिएको छ।
टिम आई गुरुङले आफ्नो पुस्तकमा लेखे अनुसार सन् १९८० को दशकको अन्त्यतिर धरानस्थित ब्रिटिश मिलिटरी हस्पिटल बन्द भएसँगै नेपाली नर्सहरूको क्यूएआरएएनसीमा हुने भर्ना रोकिएको देखिन्छ।
तर त्यसबेलासम्म करिब ५० गोर्खा महिलाहरू क्यूएआरएएनसीमा भर्ना भइसकेको देखिएको गुरुङले लेखेका छन्।
उनका अनुसार त्यसबेलासम्म सातजना गोर्खा महिलाहरू सैन्य अधिकृत तहको नर्स बन्न सफल भएका थिए।
त्यसमा सबैभन्दा माथिल्लो पदमा पुग्ने पहिलो नेपाली नर्समा मेजर राधा रावत रहेको ठानिएको छ।
उनी सन् १९५६ मा क्यूएआरएएनसी भर्ना भएको पाइएको गोर्खा महिलाबारे अध्ययन गरेका शर्मा बताउँछन्।
गुरुङले पुस्तकमा उल्लेख गरे अनुसार रावतपछि सरस्वती पाण्डे र विष्णु राईले पनि मेजर भएर अवकाश पाएका थिए।
त्यस्तै डोमा लामा, विमला बाङ्देल, रुक्मणी देवान र सुधामणि देवानले चाहिँ क्याप्टेन बनेर अवकाश पाएका थिए।
हाल ब्रिटेनमा कार्यरत नेपाली नर्स
सन् १९८० को दशकको अन्त्यतिर नेपाली नर्सहरूको क्यूएआरएएनसीमा हुने भर्ना रोकिएपछि ब्रिटिश सैन्य सेवामा आफ्नै ढङ्गले छिटपुट रूपमा मात्र नेपालीहरूको भर्ना भएको पाइएको जानकारहरूको भनाइ छ।
यद्यपि नेपाली लाहुरेहरू ब्रिटेनमै गएर बस्न पाउने भएपछि दोस्रो पुस्ताका पुरुष र महिला दुवैखाले नर्सहरू ब्रिटिश सेनामा भर्ना भइरहेको पाइएको छ।
त्यस्तै सन् २००० ताकादेखि उल्लेख्य सङ्ख्यामा नेपाली नर्सहरू ब्रिटेनको गैरसैनिक क्षेत्रमा काम गर्न जान थालेका छन्।
यूकेमा रहेका नेपाली नर्सहरूबारे अध्ययन गरेकी युनिभर्सिटी अफ द वेस्ट अफ स्टकल्यान्डकी एकजना लेक्चरर राधा अधिकारीका भनाइमा सन् २००० पछि थुप्रै नेपाली नर्सहरू ब्रिटेनमा गएर त्यहाँका विभिन्न अस्पतालहरूमा काम गरिरहेका छन्।
ब्रिटेनमा हाल कति नेपाली नर्सहरू कार्यरत छन् भन्ने यकिन विवरण सहजै उपलब्ध छैन।
यद्यपि बर्सेनि यो सङ्ख्या बढिरहेको जानकारहरूको भनाइ छ।
सरकारले सम्झौता नै गरेर १० हजार नर्सलाई यूके रोजगारीका लागि पठाउने पहल अघि बढाइरहेका बेला त्यसलाई नेपालभित्र सकारात्मक र नकारात्मक दुवै ढङ्गले हेर्नेहरू छन्।
नेपाल नर्सिङ काउन्सिलले सरकारलाई नेपालमै दक्ष जनशक्ति आवश्यक भएकाले अहिले ठूलो मात्रामा नेपाली नर्स पठाउने निर्णय गर्नेबारे पुनर्विचार गर्न आग्रह गरेको थियो।
राधा अधिकारी पनि ठूलो मात्रामा नेपाली नर्सहरूलाई यूके पठाउने विषयका दुवै पक्ष रहेको बताउँछिन्।
"महिलाहरूको हिसाबले हेर्दा यो अवसर हो तर नेपाल सरकारले आफ्नो देशका दक्ष जनशक्तिलाई विदेशिन उत्प्रेरित गर्नेभन्दा पनि स्वदेशमै काम गर्ने वातावरण बनाउनुपर्छ," उनी भन्छिन्।
सधैँका लागि विदेशिने कुरालाई भन्दा केही समय सीप सिकेर स्वदेश फर्किनुपर्छ भन्ने मतमा आफूले विश्वास गर्ने अधिकारी बताउँछिन्।
"विदेश मात्र पठाउँदा के हुन्छ भन्ने हामीले फिलिपिन्समा पनि देखिरहेका छौँ। उनीहरूले दक्ष नर्सलाई विदेश पठाउने कुरालाई प्रोत्साहन गरे। त्यसले आर्थिक लाभ भयो होला तर त्यहाँको स्वास्थ्य प्रणाली सुधार हुन सकेको छैन," अधिकारीले भनिन्।
नेपाल सरकारले पनि यी दुवै पक्षलाई ख्याल गरेर आवश्यक नीति लिनुपर्ने सुझाव उनको छ।