ताइवानमा शक्तिशाली भुइँचालोपछि कैयौँ मानिसहरू सुरुङभित्र फसेका विवरण: क्षतिको पछिल्लो अवस्था के छ?

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधवार ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प जाँदा धनजनको क्षति भएको विवरण आएको छ। प्रभावित क्षेत्रमा उद्धारकार्य जारी रहेको अधिकारीहरूले बताएका छन्।
अहिलेसम्म कम्तीमा नौजनाको मृत्यु भएको छ भने आठ सयभन्दा बढी मानिस घाइते भएका छन्।
क्षतिग्रस्त तटीय क्षेत्रमा पर्ने पहाडी क्षेत्रका सुरुङहरू भत्कँदा त्यहाँ झण्डै १२७ जना मानिसहरू फसिरहेको बताइएको छ।
तटीय सुहुआ राजमार्गमा पर्ने एउटा सुरुङभित्र मात्र साठी जना मानिसहरू फसेको ठानिएको छ जसमध्ये होटलका कर्मचारीहरूले भरिएका चार मिनिबस समेत छन्।
एक पर्वतीय ह्वालिएन क्षेत्रमा दर्जनौँको सङ्ख्यामा खानीका कामदारहरू समेत सम्पर्कविहीन भएको बताइएको छ।
ताइवानको ख्वालिएन सहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसले जनाएको छ।
ह्वालिएन सहरमा धेरै भवन भत्किएका छन्। त्यहाँ उद्धारकार्य जारी छ।
सन् १९९९ को सेप्टेम्बरमा ताइवानमा ७.६ म्याग्निट्यूडको विनाशकारी भूकम्प जाँदा २,४०० व्यक्तिको ज्यान गएको थियो।
भूकम्पका कारण ताइवान र छिमेकी देशहरूमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको थियो। तर पछि चेतावनी फिर्ता गरियो।
ताइवानका अधिकारीहरूले यो २५ वर्षयताकै त्यहाँ गएको सबैभन्दा शक्तिशाली भूकम्प भएको बताएका छन्।
भूकम्पका कारण पहाडी भेगमा ठाउँठाउँमा पहिरो गएको छ।
१०० भन्दा बढी परकम्प

तस्बिर स्रोत, Getty Images
ताइवानको केन्द्रीय आपत्कालीन केन्द्रले स्थानीय समयानुसार दिउँसो ३ बजेसम्म १०१ वटा परकम्प मापन गरिएको जनाएको छ।
ताइवानकी राष्ट्रपतिले उद्धारकार्यमा सेना परिचालन गरिने बताएकी छन्।
जापान र चीनले ताइवानलाई आवश्यक सहयोग गर्ने प्रस्ताव गरेका छन्।
राजधानी ताइपेईमा खिचिएको भिडिओमा भवनहरू हल्लिएको देखिन्छ।
"यो भूकम्प जमिननजिकै र जमिनको सतहबाट पनि नजिकै गयो। यो ताइवानभरि र अरू टापुमा पनि महसुस भयो...। यो २५ वर्षयताको सबैभन्दा शक्तिशाली भूकम्प हो," ताइवानको भूकम्प मापन केन्द्रका निर्देशक वु चिएन फुले यसअघि भनेका थिए।

स्थानीय समयानुसार बिहान ७ः५८ बजे जमिनको सतहबाट १५.५ किलोमिटरभित्र भूकम्प उत्पन्न भएको थियो।
त्यसपछि ४ म्याग्निट्यूड वा सोभन्दा माथिका अरू परकम्प मापन गरिएको अधिकारीहरूले जनाएका छन्।
आवासीय भवनहरू भत्केका र मानिसहरूलाई घर एवं विद्यालयबाट उद्धार गर्दै गरिएको दृश्य देखिने भिडिओ स्थानीय सञ्चारमाध्यमले प्रसारण गरेका छन्।

तस्बिर स्रोत, Reuters
ताइवानमा विद्युत् आपूर्ति र इन्टरनेटमा अवरोध पुगेको विवरण आएको छ।
चीनको दक्षिणपूर्वी फुजिएन प्रान्तमा पनि भूकम्पको धक्का महसुस गरिएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ।
आपत्कालीन सेवा प्रदान गर्ने ताइवानको सरकारी निकायका अनुसार ह्वालिएन सहरबाहिर अवस्थित एउटा राष्ट्रिय निकुञ्जमा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।

तस्बिर स्रोत, Reuters
सो निकायका अनुसार ह्वालिएन सहरमा ५० जनाभन्दा बढी मानिस घाइते भएका छन् भने केही भवन र सुरुङमार्गमा फसेका छन्।
चिप निर्माण गर्ने कम्पनी टीएसएमसीले कर्मचारीको सुरक्षाका लागि आफ्ना कारखानाहरू खाली गराइएको जनाको छ। टीएसएमसीले एपल र एन्भिडिआजस्ता प्रविधि कम्पनीलाई सेमिकन्डक्टर आपूर्ति गर्छ।
सुनामीको डर
भूकम्प गएपछि ताइवान र छिमेकी देशहरूमा सुनामी आउन सक्ने डर उत्पन्न भएको थियो। स्थानीय अधिकारीहरूले सुनामीको चेतावनी पनि जारी गरेका थिए।
जापानको दक्षिणपश्चिमी क्षेत्रको ठूलो भागमा तीन मिटर अग्ला छाल भएको सुनामी आउन सक्ने चेतावनी त्यहाँको मौसमसम्बन्धी निकायले दिएको थियो।
यद्यपि पछि चेतावनीको तह घटाउँदै उक्त निकायले स्थानीयवासीहरूलाई "त्यति नै शक्तिशाली परकम्प" जान सक्ने भएकाले एक सातासम्म सतर्क रहन आग्रह गरेको छ।
ताइवानमा भूकम्प गएको केही बेरमै फिलिपिन्सको भूकम्प मापन निकायले फिलिपिन्समा सुनामी आउन सक्ने चेतावनी जारी गरेको थियो। तर पछि उक्त चेतावनी स्थगित गरियो।
प्यासिफिक सुनामी वार्निङ सेन्टरले भूकम्प गएको दुई घण्टापछि एउटा सूचना जारी गर्दै सुनामीको खतरा टरेको जनाएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।









