ज्यानुअरी १ बाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदै, तर अन्तर्राष्ट्रिय उडानको 'टुङ्गो छैन'

तस्बिर स्रोत, Pradeep Bashyal/BBC
ज्यानुअरी १ बाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भइ सञ्चालनमा आउने भए तापनि अझैसम्म त्यहाँबाट हुने अन्तर्राष्ट्रिय उडानहरूको टुङ्गो नभइसकेको अधिकारी तथा विमान कम्पनीहरूले जनाएका छन्।
यान्त्रिक परीक्षण उडान अर्थात् 'क्यालिब्रेसन फ्लाइट' सम्पन्न भइसके तापनि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्यसको प्रमाणीकरण पूरा गरिनसक्दा औपचारिक रूपमा विदेशी विमान कम्पनीहरूले प्रक्रिया सुरु गर्न सकेका छैनन्।
प्राधिकरणले अबको ‘एक-दुई दिनमा’ यान्त्रिक परीक्षण उडानको प्रतिवेदन प्रमाणीकरण गर्ने तयारी गरिरहेको जनाएको छ।
"त्यसैले अहिलेसम्म बाहिरी विमान कम्पनीबाट आह्वान आइसकेको छैन," प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बीबीसीसँग भने।
"नेपालकै हिमालय एअरलाइन्सले त्यहीँ आधार बनाएर उडान गर्नमा रुचि देखाएको भए पनि औपचारिक रूपमा हामीसामु प्रस्ताव ल्याएको छैन। बुद्ध एअरले भने भारतमा उडानका लागि अनुमति माग गरिसकेको छ।"
‘उडानको टुङ्गो छैन’

तस्बिर स्रोत, Pradeep Bashyal/BBC
पोखराबाट अन्तर्राष्ट्रिय उडानको प्रक्रिया थालिसकेको बुद्ध एअरले भारतसँग उडान गर्ने अनुमतिका लागि दुई साताअघि नै प्रस्ताव लगिए तापनि त्यसको जवाफ आइनसकेको जनाएको छ।
"हामीले तत्काललाई पोखरा-बनारस उडान गर्न चाहेका छौँ," बुद्ध एअरका प्रवक्ता दीपेन्द्र कर्ण भन्छन्।
"तर त्यसको जवाफ कहिलेसम्म आउँछ भन्ने हामीलाई थाहा छैन। भविष्यमा हामीले पोखराबाट दिल्ली र देहरादूनका लागि समेत योजना बनाइरहेका छौँ।"
चिनियाँ आर्थिक सहायता तथा प्रविधिमा निर्मित विमानस्थल भएकाले त्यसलाई भारतले कसरी हेर्छ भन्ने चासोको विषय रहने जानकारहरू बताउँछन्।
तयारी पूरा
नेपालमा सञ्चालनमा आउन लागेको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका लागि सम्पूर्ण तयारी पूरा भइसकेको विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मी बताउँछन्।
विमानस्थल सञ्चालनका लागि अब दुई साताभन्दा कम समय बाँकी छ।
जसका लागि ठूला अवरोधमध्ये रहेको ल्याण्डफिल साइट पुर्ने काम एक साताभित्रै सकिने आयोजना प्रमुख मुनकर्मी बताउँछन्।
त्यसबाहेक रिठ्ठेपानी डाँडा कटानको काम ४० मिटर हुनुपर्नेमा १७ मिटर सम्पन्न भइसकेको जनाइएको छ।
"उडानका लागि अहिले त्यो अवरोध छैन। क्यालिब्रेसन उडानका लागि १४ मिटर कटान हुनुपर्थ्यो हामीले १७ मिटर कटान गरिसकेका छौँ। चैतसम्ममा पूरा कटान भइसक्छ," मुनकर्मी भन्छन्।
१ ज्यानुअरीबाट अन्तर्राष्ट्रिय विमानस्थलबाटै आन्तरिक उडानहरू समेत हुनेछन्।
यद्यपि छुट्टै स्थानमा रहेको पुरानो आन्तरिक विमानस्थललाई के प्रयोजनमा उपयोग गर्ने भन्ने अझै टुङ्गो लागिसकेको छैन।
क्षमता

तस्बिर स्रोत, PRADEEP BASHYAL/BBC
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग प्रतिघण्टा झण्डै ६०० यात्रुहरू व्यवस्थापनको क्षमता रहेको बताइएको छ।
"त्यहाँ एकपटकमा ३ वटा अन्तर्राष्ट्रिय विमान एवं ठूलासाना ४-४ वटा गरेर आठ वटा आन्तरिक सेवाका विमान रहन सक्छन्," आयोजना प्रमुख मुनकर्मी भन्छन्।
"तर सबै विमानहरू लामो समय र एकै समय विमानस्थलमा नरहने भएकाले वास्तविक दैनिक क्षमता त्यसको तीन-चार गुणासम्म हुन्छ।"
२५०० मिटर लामो धावनमार्ग रहेको विमानस्थललाई ठूला विमानहरूतर्फ एअरबस ए३२०, बोइङ ७३७-७०० सिरिज वा बोइङ ७५७-२०० जस्ता न्यारोबडी विमानका उडानका लागि अनुकूल मानिएको छ।
चौबिसै घण्टा चल्न सक्ने यस विमानस्थलमा अवतरण गर्न कठिनाइ हुँदाका अवस्थामा विमान घुम्ने क्षेत्रमा प्याराग्लाइडिङ हुने क्षेत्र समेत पर्छ।
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदा त्यसको व्यवस्थापन कसरी हुन्छ भन्ने विषयमा समेत अझै अस्पष्टता देखिन्छ।











