चुनावी मुद्दा बन्न नसकेको पोखरालाई 'पर्यटकीय राजधानी' बनाउने चर्चा

- Author, प्रदीप बस्याल र नारायण कार्की
- Role, बीबीसी न्यूज नेपाली, पोखरा
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न विगतमा औपचारिक रूपमै मागहरू उठे तापनि यसपटक त्यो चुनावी मुद्दा बन्न नसकेको नेता तथा व्यवसायीहरूले स्वीकारेका छन्।
चार वर्षअघि पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकारदेखि र हालै निर्वाचित पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले त्यस्तो माग गर्दै सङ्घीय सरकारलाई पत्राचार गरेका थिए।
प्रदेशका पर्यटन मन्त्री मणिभद्र शर्माले धेरै कुरामा देखा परेको दोधारले गर्दा ‘गण्डकीका लागि महत्त्वपूर्ण भएर पनि पर्यटन चुनावमा गम्भीर रूपमा नउठेको’ बताए।
"प्रदेश सरकारसँग कर्तव्य छ तर अधिकार छैन," पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री शर्माले हालैको एक बिहान बीबीसीसँग भने।
"पर्यटकीय राजधानी बनाउन पनि हामीलाई सङ्घको आशीर्वाद आवश्यक पर्छ, ढोकैमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ तर त्यसको स्वामित्व हामीसँग छैन।"
पोखरालाई पर्यटकीय राजधानी बनाउनका लागि यसअघि सातै प्रदेशको अनौपचारिक साथ रहने भनिएको भए तापनि त्यो सङ्घको प्राथमिकतामा परेन।
कोभिड महामारी सुरु हुनुअघिका वर्षमा पोखरामा वर्षेनी झण्डै १० लाखको सङ्ख्यामा आन्तरिक र बाह्य पर्यटक आउने गरेको बताइन्छ।
पर्यटकीय राजधानी भए के फरक पर्छ?

अनुमानित तीन खर्ब रुपैयाँ लगानी भएको विश्वास गरिने पोखराको पर्यटनसँग उक्त सहर मात्र नभएर आसपासका जिल्लाको समेत समृद्धि जोडिने व्यवसायीहरू ठान्छन्।
पर्यटकीय राजधानी बनाउँदा त्यससँगै त्यहाँको पूर्वाधार, जीवनशैली र समग्र अर्थतन्त्रमा परिवर्तन आउने भए तापनि नेताहरूले त्यसको ‘खास अर्थ नबुझेको’ कतिपय व्यवसायीको मत पाइन्छ।
होटल सङ्घ नेपालका गण्डकी प्रदेश अध्यक्ष हरिप्रसाद शर्माले पर्यटकीय राजधानी बनाउनु भनेको ‘पर्यटक केन्द्रमा राखेर सम्पूर्ण गतिविधि हुनु’ रहेको बताए।
"अहिले पोखरा नेपालको पर्यटकीय केन्द्र भए पनि यहाँका गतिविधिको उच्च गुणस्तर कायम हुने गरी सूक्ष्म निगरानी छैन," उनी भन्छन्।
"बाटोघाटोदेखि बिजुली, खानपानदेखि बसोबास, सेवा-सुरक्षा जस्ता कैयौँ कुरामा शून्य सहनशीलताको विषय यससँग जोडिन्छ।"

उनीजस्ता व्यवसायीहरू आधारभूत रूपमै पर्यटक ल्याउने गरी कामहरू नभएको बताउँछन्।
जस्तो, काठमाण्डूदेखि पोखरा आउने सहज बाटो नहुनु, लुम्बिनी र पश्चिम नेपालका गन्तव्यसँग सहज पहुँचका लागि सिद्धार्थ राजमार्ग भरपर्दो नभएको कुरामा व्यवसायीको साझा गुनासो पाइन्छ।
उनीहरूका अनुसार छोटो समयमा आउने पर्यटकहरू योजनाबद्ध ढङ्गले घुम्न नसक्नु, निकै धेरै खर्च गर्ने पर्यटकहरूलाई तान्ने पूर्वाधार नहुनुमा पर्यटन केन्द्रित सोचको अभाव पाइन्छ।
"प्राकृतिक दृष्टिले विश्वस्तको गन्तव्य भएर पनि यस्तै व्यवस्थापकीय कमजोरीले गर्दा पोखराले त्यसको फाइदा उठाउन सकेको छैन," शर्माको भनाइ छ।
अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘आशा’

चुनाव लगत्तै परीक्षण उडानहरू गरेर ज्यानुअरीबाट प्राविधिक रूपमा त्यहाँ बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनेछ।
"नयाँ वर्षसँगै नयाँ विमानस्थलबाट आन्तरिक उडानहरू हुनेछन् र अन्तर्राष्ट्रिय उडानका लागि व्यावसायिक तयारी थालिनेछ," विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मी भन्छन्।
"तीन वटा न्यारोबडी आकारका अन्तर्राष्ट्रिय जहाज पार्किङ र ८ वटा सानो जहाज पार्किङ गर्न सकिने यस विमानस्थलले पोखरालाई सिधै अन्तर्राष्ट्रिय बजारसँग जोड्नेछ।"
व्यवसायीहरूले पनि पहिले पोखराको प्रवर्द्धन गर्दा काठमाण्डू जोड्नै पर्ने बाध्यता रहेकोमा त्यो तोडिने बताउँछन्।

तर त्यसबाहेक पोखराको चिनारीसँग जोडिएको प्याराग्लाइडिङ, अल्ट्रालाइटजस्ता साहसिक पर्यटकीय गतिविधिको भविष्यबारे कुरा उठेको छ।
"अहिले जहाँ ती गतिविधि हुने गर्छन् ती ठाउँ जहाज अवतरण गर्न नसक्दाको अवस्थामा घुम्ने क्षेत्र हुन्," विमानस्थलका मुनकर्मी भन्छन्।
पर्यटनमन्त्री मणिभद्र शर्मा सहित कतिपयले तिनको लागि छुट्टै निश्चित समय छुट्याउने कि अन्यत्र सार्ने भन्ने विकल्पमा छलफल भइरहेको बताएका छन्। मुनकर्मी भने उडानहरू कहिले ढिलो हुने त कहिले आपत्कालीन अवस्थाहरू समेत हुने हुँदा छुट्टै समय छुट्याउने कुरा समेत व्यवहारिक नदेखिने बताउँछन्।
उनी भन्छन्, "त्यसमाथि यो त चौबिसै घण्टा व्यावसायिक दृष्टिले चल्नुपर्ने विमानस्थल हो।"








