फुटबल खेलका क्रममा झडप हुँदा गिनीमा कैयौँको मृत्यु

गिनीको दोस्रो ठूलो सहर एन्जेरेकोरेमा एउटा फुटबल खेलका क्रममा भएको झडपमा कम्तीमा ५६ जनाको मृत्यु भएको सरकारले जनाएको छ।

आइतावार खेलका क्रममा रेफ्रीले लिएको विवादास्पद निर्णयपछि घटना भएको सङ्केत विवरणहरूले गरेका छन्।

रेफ्रीले खेलका क्रममा आगन्तुक समूह ‘लबी’का दुईजना खेलाडीलाई बाहिर पठाएका थिए भने एउटा विवादास्पद पेनाल्टी किकको अवसर दिएका थिए।

प्रधानमन्त्री औरी बाले घटनालाई ‘दुःखद’ भन्दै शोक सन्तप्त परिवारप्रति सहानुभूति जनाएका छन्।

एउटा वक्तव्यमार्फत उनले घटनाका जिम्मेवार व्यक्ति पत्ता लगाउन छानबिन सुरु भएको बताए।

नाम खुलाउन नचाहेका एकजना चिकित्सकले समाचार संस्था एपीएफसँगको कुराकानीमा “अस्पतालमा आँखाले देख्नेसम्म शवहरूको लस्कर लागेको” बताए।

“अन्य शवहरू कोरिडोरमा लडिरहेका छन्। मुर्दा घर भरिएको छ,” उनले भने।

स्थानीय सञ्चारमाध्यमका अनुसार ‘लबी’का समर्थकहरूले रेफ्रीप्रति आक्रोश जनाउँदै मैदानमा ढुङ्गा हान्न थालेपछि प्रहरीले उनीहरूमाथि अश्रुग्याँस प्रहार गरेको थियो।

“रेफ्रीको विवादित निर्णयपछि यो सबै सुरु भयो। प्रशंसकहरूले मैदानमा आक्रमण गरे,” एकजना प्रत्यक्षदर्शीले एएफपीसँग भने।

सामाजिक सञ्जालमा देखिएका तस्बिर र भिडिओहरूमा रङ्गशालाबाहिर भद्रगोलको दृश्य देखिन्छ।

त्यहाँ ठूलो भिड पर्खाल चढ्ने कोसिसमा लागेको देखिन्छ। थुप्रै मानिसहरू मैदानमा लडिरहेका देखिन्छन्।

प्रतिक्रियाहीन भई लडिरहेका ती मानिसको जमातमा केही केटाकेटी जस्ता पनि देखिन्छन्। बीबीसीले स्वतन्त्र रूपमा ती भिडिओहरूको पुष्टि गर्न सकेको छैन।

एन्जेरेकोरेका एकजना पत्रकार पल सकौभोजीले बीबीसीसँग केही स्थानमा इन्टरनेटमाथिको पहुँचमा रोक लगाइएको बताए।

उनका अनुसार घाइतेहरूको उपचार भइरहेको स्थानमा प्रहरीले पहरा दिइरहेको छ।

“मैले अस्पतालका तीन वटा प्रवेशद्वार अगाडि प्रहरीका ६ वटा पिक–अप राखेको देखेँ। केवल स्वास्थ्य कर्मचारीलाई प्रवेश दिइएको छ, बाँकीलाई जसरी आएको हो त्यसै गरी फर्कन भनिएको छ," ती पत्रकारले भने।

प्रधानमन्त्रीले सम्पूर्ण घाइतेहरूको उपचार खर्च बेहोर्ने प्रतिबद्धता जनाएका छन्।

एन्जेरेकोरे र लबीबीचको खेलका क्रममा झडप हुँदा हजारौँ दर्शकहरू उपस्थित रहेको स्थानीय समाचारसम्बन्धी वेबसाइट मिडियागिनीले जनाएको छ।

आइतबारको उक्त प्रतियोगिता सन् २०२१ मा ‘कू’मार्फत सत्ता कब्जा गरेका राष्ट्रपति ममदी डोम्बउयाको सम्मानमा आयोजित खेलको हिस्सा थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।