भुटानका राजा काठमाण्डूमा, शरणार्थी आशावादी

काठमाण्डूमा भुटानका राजको स्वागत

तस्बिर स्रोत, MoFA FACEBOOK

तस्बिरको क्याप्शन, भुटानका राजालाई काठमाण्डूमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले स्वागत गरेकी थिइन्

भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुकले शुक्रवार नेपाल भ्रमणमा आएका छन्।

भ्रमण निजी भएको र काठमाण्डूमा केवल तीनदेखि चार घन्टा मात्रै रहने बताइएको छ।

भारत भ्रमणमा आएका उनी भुटान फर्किने क्रममा 'ट्रान्जिट भिजिट' का रूपमा काठमाण्डूमा अवतरण गरेको बताइएको छ।

"उहाँहरूले काठमाण्डूका बौद्ध तीर्थस्थलहरूको भ्रमण गर्नुहुने छ। उहाँहरूका लागि गाडी, सुरक्षा व्यवस्था र स्वागतका लागि हामीले कोअर्डिनेट गर्ने काम गरेका छौँ," परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता सुभाङ्ग पराजुलीले बीबीसीसँगको सङ्क्षिप्त कुराकानीमा भने।

उनको यो भ्रमण राजनीतिक सामाजिकभन्दा पनि "धार्मिक र नितान्त व्यक्तिगत" भएको बताइएको छ।

तीनचार घण्टाको भ्रमणमा कुनै पनि राजनीतिक भेटघाटको कार्यक्रम नरहेको पनि बताइएको छ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले भुटानी राजालाई विमानस्थलमा स्वागत गरिन्।

नेपालका पूर्वराजाले भेट्लान्?

केही महिनाअघि नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह भुटानका राजाको निम्तोमा थिम्पु गएको बताइएको थियो

तस्बिर स्रोत, The Royal Family Nepal/Facebook

तस्बिरको क्याप्शन, केही महिनाअघि नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह भुटानका राजाको निम्तोमा थिम्पु गएको बताइएको थियो

गत असोजमा दशैँको घटस्थापनाका दिन पूर्वराजा ज्ञानेन्द्र शाहले परिवारका केही सदस्यहरूसहित भुटानको भ्रमण गरेका थिए।

उक्त भ्रमणका लागि भुटानका राजा जिग्मे खेसर-नाम्गेल वाङचुकले नै पूर्वराजपरिवारलाई थिम्पु भ्रमणको निम्तो दिएको शाहका संवाद सचिव फणिराज पाठकले बीबीसीलाई बताएका थिए।

त्यति बेला सामाजिक सञ्चालहरूमा सार्वजनिक भएका तस्बिरहरूमा शाहको टोलीलाई भुटानी राजकुमारीले विमानस्थलमै पुगेर स्वागत गरेको देखिएको थियो।

ती तस्बिरहरूमा शाहलाई लामो रातो कार्पेट ओछ्याएर स्वागत गरिएको पनि ती तस्बिरहरूमा देख्न सकिन्थ्यो। भुटानले नेपालका पूर्वराजालाई ठूलो सम्मान दिएको भन्ने विषयमा सामाजिक सञ्जालहरूमा पनि चर्चा भएको थियो।

भुटानका राजारानी जिग्मे खेसर नाम्गेल वाङचुक र जेट्सुन पेमा वाङचुक

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, भुटानका राजारानी जिग्मे खेसर नाम्गेल वाङचुक र जेट्सुन पेमा

त्यसरी भुटानमा स्वागत पाएका शाहले अहिले भुटानका राजा वाङचुकले काठमाण्डूको भ्रमण गर्दा उनलाई भेट्दै छन्?

जबाफमा पाठकले भने, "मलाई त्यसबारे जानकारी छैन। तर अहिले उहाँहरू (ज्ञानेन्द्र शाह र उनको परिवारका सदस्यहरू) भ्रमणमा रहनुभएकोले त्यस्तो भेट्ने कार्यक्रम केही छ जस्तो लाग्दैन।"

शाह गत सोमवार पश्चिम नेपालका जिल्लाहरूको भ्रमणका लागि गएका थिए।

"उहाँहरूले नेपालगञ्ज, दाङ, बर्दिया, महेन्द्रनगर भ्रमण गर्ने कार्यक्रम रहेको छ र उहाँहरूको यो कार्यक्रम केही लामै छ," शाहका पाठकले भने।

भारतको औपचारिक भ्रमणमा आएका भुटानका राजारानीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशङ्करसँग बिहीवार भेटवार्ता गरेका थिए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकको भेट

तस्बिर स्रोत, NARENDRA MODI/X

के भन्छन् नेपालमा रहेका भुटानी शरणार्थी?

सन् १९८० को दशकको अन्त्यदेखि भुटानले 'एक देश, एक भाषा'को नीति लिएपछि झन्डै एक लाख नेपालीभाषी भुटानी भारतको बाटो हुँदै नेपाल निर्वासनमा आएका थिए।

यहाँ आएदेखि देशफिर्तीका लागि लामो समय भुटानी शरणार्थीहरूले पहल गरे।

तर नेपाल र भुटानबीच विभिन्न चरणमा वार्ता भए पनि त्यसले कुनै निष्कर्ष निकाल्न नसकेपछि करिब एक लाख १३ हजार भुटानी शरणार्थीहरू तेस्रो देश पुनर्वास कार्यक्रम अन्तर्गत अमेरिका, क्यानडा, अस्ट्रेलियालगायत युरोपका देशहरूमा गए।

तर पुनर्वासमा जान नमानेर भुटान नै फर्किने अडान लिएर सानो सङ्ख्यामा शरणार्थीहरू अहिले पनि पूर्वी नेपालको झापा जिल्लास्थित बेलडाँगी र शनिश्चरेमा बस्दै आएका छन्।

त्यसरी बस्ने दर्ता भएका शरणार्थीको सङ्ख्या ६,२०० रहेको छ। तिनैमध्येका एक हुन् दिल भुटानी।

भुटानका राजारानी नेपालमा भ्रमणमा आएका बेला उनलाई कस्तो लागेको छ?

भुटानी भन्छन्, "हामीमा फेरि एकपटक स्वदेश फिर्ती हुन्छ कि भन्ने आशा जागेको छ। राष्ट्रिय मेलमिलापको आधारमा हाम्रो समस्या समाधान भयो भने दीर्घकालीन रूपमा भुटानको राजतन्त्रका लागि र प्रवासमा रहेका हामी वा पुनर्वासमा रहेका भुटानी नागरिकका लागि त्यसले राम्रो वातावरण बनाउँथ्यो भन्ने लाग्छ।"

तर भुटानले चाल्दै आएको रणनीति र कूटनीति हेर्दा त्यति धेरै आशा गर्ने ठाउँ नरहेको उनी बताउँछन्।

दिल भुटानी (महत)

तस्बिर स्रोत, DIL BHUTANI/FACEBOOK

तस्बिरको क्याप्शन, भुटानका राजा नेपाल आउँदा आफूलाई स्वदेशफिर्तीको आश जागेको भुटानी शरणार्थी दिल भुटानी बताउँछन्

भुटानका पाँचौँ राजा जिग्मेको नेपालमै जन्म भएको भन्ने आफूले सुनेको र त्यसै कारणले उनले यहाँ भ्रमण गर्न लागेको सुन्दा आफूलाई खुसी लागेको उनले बताए।

"चौथो राजाभन्दा अहिलेका पाँचौँ राजाले पछिल्लो राजनीति र विश्वलाई बुझेकाले सम्पूर्ण भुटानमा रहेका भाषाभाषीलाई समेटेर नयाँ राष्ट्रियता र राष्ट्रिय एकता निर्माण गर्नुहुन्छ भन्ने लाग्छ," उनले भने।

भुटानले भन्ने गरेको 'ग्रस न्याश्नल ह्यापिनेस' (खुसी राष्ट्रको सूचकाङ्क) भुटानी शरणार्थीहरूलाई भुटान नफर्काउँदासम्म नारामा मात्रै सीमित हुने कुरा राजाले बुझ्नुपर्ने उनी ठान्छन्।

"हामी त्यहाँको राजतन्त्रलाई स्वीकार गर्ने र भुटानको राजतन्त्रले पनि शरणार्थीहरू स्वदेश फिर्ता गर्नुपर्‍यो र जति पनि स्थापना भएका राजनीतिक दलहरू छन्, उनीहरूलाई राजनीतिक गतिविधि गर्ने अधिकार दिनुपर्‍यो," उनले भने।

"यति भयो भने नयाँ आधारमा हामी एक हुन सक्थ्यौँ र अन्तर्राष्ट्रिय रूपमा पनि भुटानको छवि राम्रो भएर जान्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।