जापानमा सत्ताधारी दलले बहुमत नपुर्याउने एक्जिट पोलको सङ्केत

तस्बिर स्रोत, Reuters
- Author, शाइमा खलिल
- Role, बीबीसी जापान संवाददाता
जापानको सत्ताधारी पार्टीले एकल बहुमत नपुर्याउने एक्जिट पोल (मत सर्वेक्षण)हरूले देखाएका छन्।
जापानी प्रसारण संस्था एनएचकेका अनुसार सत्ताधारी लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी)ले तल्लो सदनमा १५३ देखि २१९ सिट जित्ने एक्जिट पोलहरूले देखाएका छन्।
प्रमुख विपक्षी कन्स्टिट्यूसनल डेमोक्र्याटिक पार्टी (सीडीपी)ले १२८ देखि १९१ सिट जित्ने मत सर्वेक्षणहरूले देखाएका छन्।
डाएट भनिने संसद्मा बहुमतका लागि २३३ सिट आवश्यक पर्छ। एकल बहुमत हासिल नगरेको अवस्थामा एलडीपीले गठबन्धनको सरकार बनाउन सक्छ।
यसअघि एलडीपीले कोमेटो पार्टीसँग गठबन्धन गरेको थियो। उक्त दलको यसअघिको संसद्मा ३२ सिट थियो।
तर पूर्वानुमानहरू अनुसार दुई दल मिल्दा पनि बहुमत पुग्न कठिन हुने देखिएको छ। जसकारण विश्वको चौथो ठूलो अर्थतन्त्र भएको देशमा अब कस्तो सरकार बन्छ भन्ने अनिश्चितता देखिएको छ।

तस्बिर स्रोत, Reuters
केही वर्षदेखि सत्तामा रहेको दलको उतारचढावपूर्ण अवस्थाबीच समयअगावै भएको निर्वाचनमा आइतवार जापानीहरूले मतदान गरेका थिए।
सत्ताधारी दल कैयौँ विवाद, मतदाताको व्यापक बेवास्ता र सर्वेक्षणहरूमा न्यून मात्रामा नेताहरूमाथि विश्वास देखिएको अवस्थामा चुनावमा गएको थियो।
एलडीपीका नेता चयन भएको तीन दिनमै शिगेरु इशिबाले चुनावको घोषणा गरेका थिए। त्यस बेला उनले औपचारिक रूपमा प्रधानमन्त्रीको शपथ लिन समेत बाँकी थियो।
'राजनीतिक कोष'का लागि रकम सङ्कलनमा भ्रष्टाचार भएको विवादसँगै यसै वर्षको सुरुको सर्वेक्षणमा एलडीपीलाई २० भन्दा कम मतदाताले मात्र अनुमोदन गर्ने देखिएको भए पनि उनले निर्वाचन घोषणा गरेका थिए। यद्यपि एलडीपी अझै पनि विपक्षी दलभन्दा शक्तिशाली देखिन्छ।
विपक्षीहरू एकताबद्ध भएर सत्ताधारीविरुद्ध लाग्न पनि असफल भएका छन् वा मतदाताले उनीहरूलाई शासनका लागि व्यावहारिक विकल्पका रूपमा विश्वास गरेका छैनन्।
संसद् विघटन हुनुअघि प्रमुख प्रतिपक्षी दललाई जम्मा ६.६ प्रतिशत मतदाताले मात्र अनुमोदन गरेका थिए।
"पार्टी छान्ने निर्णय गर्न धेरै कठिन छ। मलाई लाग्छ- मान्छेले यसमा चासो राख्न छाडेका छन्," केयर-होम क्षेत्रमा काम गर्ने र लामो समयदेखि एलडीपी समर्थक रहेकी ६६ वर्षीय मियुकी फुजिसाकीले मतदान सुरु हुनुअघि बीबीसीसँग भनिन्।
"एलडीपीमा भ्रष्टाचारजन्य समस्या छन् तर विपक्षीहरू पनि त्यसमा खडा हुन सक्दैनन्।"
उनले विपक्षीहरूले गुनासो धेरै गरेको तर आफूले गर्न चाहेको कामबारे पनि स्पष्ट पार्न नसकेको दाबी गरिन्।
राजनीतिक चहलपहल

मतदाताको निराशाबीच जापानको राजनीतिमा हालैका महिनाहरूमा व्यापक हलचल भएको छ।
शिगेरु इशिबाले आफ्ना पूर्ववर्ती फुमिओ किशिदाको उत्तराधिकारीका रूपमा सत्ता सम्हालेका हुन्।
सन् २०२१ देखि प्रधानमन्त्री रहेका किशिदाले गत अगस्टमा राजीनामा गर्ने आश्चर्यजनक निर्णय लिएपछि सत्ताधारी पार्टीले संसदीय दलको नेताको जिम्मेवारी दिएपछि इशिबा प्रधानमन्त्री बने।
जनतामाझ बिग्रेको आफ्नो नराम्रो छविलाई सुधार गरेर एलडीपी पुनर्स्थापित हुन आतुर भएका बेलामा निर्वाचन भइरहेको छ।
इशिबा लामो समयदेखि राजनीतिमा रहेका व्यक्ति हुन् र उनी यसअघि रक्षामन्त्री बनेका थिए। उनले चुनावलाई "जनताको निर्णय"को रूपमा वर्णन गरेका छन्।
सन् १९५५ देखि लगातार सत्तामा रहँदै आएको एलडीपीले जनताको विश्वास जित्छ र पुनर्स्थापित हुन्छ कि हुँदैन भन्ने चाहिँ अहिलेसम्म अनिश्चित छ।
खस्केको प्रतिष्ठा
विभिन्न काण्डका शृङ्खला बाहिर आएपछि सत्ताधारी दलको प्रतिष्ठा खस्केको छ।
त्यस्ता काण्डमध्ये एउटा मुख्य विवाद युनिफिकेसन चर्चसँग उक्त दलको सम्बन्धबारे रहेको छ।
उक्त चर्चलाई आलोचकहरूले एउटा छुट्टै "पन्थ"का रूपमा हेर्ने गर्छन् र उसको एलडीपीका सांसदहरूमा प्रभाव रहेको ठानिन्छ।
त्यसपछि एउटा राजनीतिक कोषमा भएको भ्रष्टाचारको काण्ड बाहिर आयो।
जापानी अभियोजनकर्ताहरूले एलडीपीका दर्जनौँ सांसदहरूलाई राजनीतिक कोषका लागि रकम सङ्कलनका क्रममा पैसा जम्मा गरेको आरोपमा अनुसन्धान गरिरहेका छन्।
ती अनुसन्धानहरूले लाखौँ डलर खर्च गर्न सक्ने अवस्थामा चलिरहेका उक्त दलभित्रका शक्तिशाली गुटहरू विघटन हुन पुगे। त्यस्ता गुटहरूलाई पार्टीको मेरुदण्ड मानिन्छ।

विपक्षी समर्थक के भन्छन्?
"सत्ताधारी दल कस्तो दयनीय अवस्थामा छ," टोकियोको बाहिरी इलाकास्थित उरावा स्टेसनमा विपक्षीको राजनीतिक र्यालीका लागि गइरहेकी मिचिको हमादाले भनिन्।
“मैले सबैभन्दा बढी महसुस गरेको यही हो। त्यो कर छली हो र त्यो अक्षम्य छ।"
जापानीहरूले महँगीको सामना गरिरहेका बेला बाहिर आएको यस्तो घटनाले उनलाई विशेषगरी गम्भीर रूपमा प्रभाव पारेको छ।
तीन दशकदेखि तलब बढेको छैन। त्यसलाई "हराएका ३० वर्ष" भन्ने गरिन्छ। तर भाउ चाहिँ पछिल्लो दुई वर्षमा झन्डै आधा शताब्दीकै तीव्र दरमा बढेको छ।
अन्योलमा मतदाता
महँगी बढेकै कारण पेन्सनबाट जीविका चलाउने ची शिमिजु आफूले 'पार्ट टाइम' काम गर्नु परेको बताउँछिन्।
उनले तलब नबढ्दा खानेकुरा किन्न समेत सहरभन्दा बाहिरी क्षेत्रमा जानु परेको बताइन्।
वर्षौँदेखि मतदान नगरेकी उनले यस पटक गर्न पनि सक्छिन्।
यद्यपि उनले हालसम्म कुन उम्मेदवार वा कुन पार्टीलाई भोट दिने तय गर्न सकेकी छैनन्।
उनले बीबीसीसँग भनिन्, “मैले भोट दिनका लागि कसैलाई भेटिनँ। मलाई कोही पनि हाम्रो नेता छन् भन्नेमा विश्वास छैन। लोभका लागि सांसद बन्ने देखेर मलाई अचम्म लाग्छ।”
राजनीतिक जुवा

तस्बिर स्रोत, Getty Images
मतदाताको उदासीन मनस्थितिको पृष्ठभूमिमा इशिबाले चुनाव घोषणा गरेर राजनीतिक जुवा खेलेको जस्तो देखिन्छ।
यसअघिको निर्वाचनमा उनको पार्टीले संसद्को तल्लो सदनका ४६५ सिटमध्ये २४७ सिट जितेको थियो।
उनको गठबन्धन साझेदार कोमेटोको ३२ सिट थियो। उक्त सदनमा बहुमतका लागि २३३ सिट चाहिन्छ।
अहिलेको चुनावमा कोमेटोले फेरि त्यस्तै सीट ल्याउँछ कि ल्याउँदैन भन्ने अवस्था बन्दै गएको देखिएको छ।
आइतवारको चुनावअघि पहिले संसद्मा ९८ सीट रहेको प्रमुख विपक्षी दलप्रति मतदाताको आकर्षण बढ्दो क्रममा देखिएको छ।
“एलडीपी आफैँले बाहिर निस्कन गाह्रो हुने गहिरो खाडल खनेको जस्तो मलाई लाग्छ,” टेम्पल विश्वविद्यालय जापानमा एशियाली अध्ययन र इतिहासका प्राध्यापक जेफ किङ्स्टनले बीबीसीसँग भने।
उनले त्यसको कारण हालै सार्वजनिक भएका घोटालाका काण्डहरू भएको बताए। यद्यपि त्यसैले उक्त दलले चुनाव हारिहाल्छ भन्न चाहिँ नसकिने उनले बताए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








