कार्गो जहाज धावनमार्गबाट चिप्लेर समुद्रमा खस्दा दुई जनाको मृत्यु

तस्बिर स्रोत, Reuters
स्थानीय सञ्चारमाध्यमका अनुसार हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट एक कार्गो विमान चिप्लिएर समुद्रमा खस्दा दुई जनाको मृत्यु भएको छ।
इमिरेट्सको उडान ईके९७८८ को उक्त बोइङ स्थानीय समयअनुसार लगभग ०३:५० मा हङकङ आइपुगेको थियो। अवतरणका क्रममा उक्त जहाजले धावनमार्गको दक्षिणमा रहेको एउटा सवारी साधनलाई ठक्कर दिएको थियो।
त्यस क्रममा दुईजना 'ग्राउन्ड स्टाफ' समुद्रमा खसेका थिए। उनीहरूको दुर्घटनास्थलबाट उद्धार गरिएको भएपनि अस्पतालमा मृत्यु भएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
अहिलेसम्म हामीलाई के थाहा छ?
विमानमा चालक दलका चार सदस्य सवार थिए। उनीहरू जीवितै रहेको र अस्पताल लगिएको विवरणहरूमा जनाइएको छ।
अग्निनियन्त्रक दलका सदस्यहरू दुई मिनेटमै घटनास्थल पुगेका थिए। जहाज दुई टुक्रा भएको र एउटा भाग पानीमा तैरिरहेको अवस्थामा भेटिएको उनीहरूले बताएका छन्।
घटना भएको धावनमार्ग बन्द गरिएको छ तर विमानस्थलका अन्य दुई धावनमार्ग सञ्चालनमा रहेका बताइएको छ।
विमानस्थलमा सोमवार कम्तिमा ११ वटा कार्गो जहाज अवतरण गर्ने तालिका रहेकामा सबै रद्द गरिएका विमानस्थलको वेबसाइटमा जनाइएको छ।
विमानस्थलका अधिकारीहरूले घटनाबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै अवतरण गर्नुअघि उक्त विमानले कुनै खतराको सङ्केत नपठाएको उल्लेख गरेका छन्।
अधिकारीहरूले के भने?
उक्त पत्रकार सम्मेलनमा एउटा गस्तीमा खटिने कारलाई उक्त कार्गो विमानले धकेलेर समुद्रमा पुर्याएको र त्यस क्रममा ३० र ४१ वर्षका दुई जनाको मृत्यु भएको जानकारी गराइएको थियो।
उक्त विमान अवतरण गर्ने क्रममा धावनमार्गबाट बाहिर गएको थियो र बारमा दुर्घटनाग्रस्त भएपछि रनवे बाहिर रहेको गस्तीमा संलग्न कारसँग ठोक्किएको थियो।
अवतरण गर्नुअघि उक्त विमानले कुनै खतराको सङ्केत दिएको थिएन। अनुसन्धानकर्ताहरूले समुद्रबाट उक्त विमानको ब्ल्याक बक्स खोजी गर्ने प्रयास गरिरहेका छन्।
दुर्घटना भएको समयमा उक्त धावनमार्गको अवस्था सुरक्षित रहेको भनिएको छ। तर उक्त कार्गो विमान दुर्घटनाभएसँगै उत्तरमा अवस्थित उक्त धावनमार्ग बन्द गरिएको छ र सुरक्षा मूल्याङ्कनपछि मात्रै त्यसलाई खुल्ला गरिने भनिएको छ।
विमानस्थलका दुई अन्य धावनमार्गहरू सञ्चालनमा छन्। विमानस्थलका अधिकारीहरूले समुद्रबाट दुर्घटनाग्रस्त विमानको भागहरू हटाउने विषयमा वायुसेवा कम्पनीसँग छलफल गरिरहेको उल्लेख गरेका छन्।
अधिकारीहरूले वायुसेवा कम्पनीका प्रतिनिधिहरू हङकङ आउने क्रममा रहेको र उनीहरू आउने बित्तिकै त्यसबारे छलफल हुने उल्लेख गरेका छन्।
टर्कीको मालबाहक एअरलाइन एअर एटीसीको स्वामित्वमा रहेको उक्त ७४७-४८१ जहाजले पहिले यात्रु बोक्ने गर्थ्यो तर पछि त्यसलाई मालबाहक बनाइएको थियो।
उक्त विमान ३० वर्षभन्दा पनि पुरानो भएको र सन् १९९३ मा पहिलो पटक उडान गरेको विमानसम्बन्धी बेवसाइट 'एअरफ्लिट्स'ले जनाएको छ।
इमिरेट्सले दुर्घटना हुँदाको समयमा जहाजमा कुनै मालसामान नभएको जनाएको छ।
विमानस्थलमा व्यस्तता बढ्ने समयमा यो दुर्घटना भएको थियो।
प्रहरीले यो मामिलामा फौजदारी अनुसन्धानको सम्भावना अन्त्य नभइसकेको उल्लेख गरेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








