ड्रोन आक्रमणमा चार इजरेली सैनिकको मृत्यु, ६० भन्दा बढी घाइते

इजरेल हिजबुल्लाह तनाव

तस्बिर स्रोत, Getty Images

उत्तरी इजरेलस्थित एउटा सैन्य आधारशिविरलाई लक्षित गरी भएको ड्रोन हमलामा चार सैनिकको मृत्यु भएको र ६० भन्दा बढी घाइते भएको इजरेल डिफेन्स फोर्सेस आईडीएफले जनाएको छ।

आईडीएफका अनुसार हाइफाबाट दक्षिणतर्फ करिब ३३ किलोमिटर टाढा "बिन्यामिनाको छेउमा" रहेको सहरस्थित एउटा सैन्य आधारशिविरमा भएको आक्रमणमा सात सैनिकहरू गम्भीर घाइते भएका छन्।

हिजबुल्लाहले उक्त आक्रमणको जिम्मेवारी लिएको छ। उसले तेल अभिभ र हाइफाको बीचमा रहेको गोलानी ब्रिगेडको प्रशिक्षणशिविरलाई आफूले निसाना बनाएको बताएको छ।

हिजबुल्लाहको सञ्चार कार्यालयले बिहीवार दक्षिणी लेबनन र बेइरुतमा भएको इजरेली हमलाको प्रतिउत्तरमा उक्त आक्रमण गरिएको बताएको छ।

घाइतेको अवस्था

उक्त समूहले इजरेलस्थित शिविरलाई "ड्रोनहरूको समूह" प्रयोग गरेर निसानामा पारेको बताएको छ।

इजरेली एम्बुलेन्स सेवा म्यागेन डेभिड एडोम एमडीएले त्यो आक्रमणमा परेर ६१ जना घाइते भएको बताएको छ। त्यसमध्ये तीन जनाको अवस्था गम्भीर छ।

घाइते भएका ३७ जनालाई एम्बुलेन्स वा हेलिकप्टरबाट ८ क्षेत्रीय अस्पतालहरूमा लगिएको उसले जनाएको छ।

आईडीएफले सैनिकहरू मारिएको पुष्टि गर्नुअघि एउटा विज्ञप्तिमा एमडीएले तीन जना गम्भीर घाइते भएको, १८ जनाको अवस्था मध्यम खालको भएको र ३१ जनालाई सामान्य चोटपटक लागेको अनि अन्य ९ जनालाई "चिन्तित देखिएको" जनाएको थियो।

एमडीए र आईडीएफले दिएका जानकारीहरूमा गम्भीर घाइतेको सङ्ख्या फरक परेको देखिन्छ तर त्यसको कारण स्पष्ट छैन।

इजरेल

तस्बिर स्रोत, Reuters

कसरी भयो आक्रमण?

इजरेलरमा लगाइएको सेन्सरशिपको नियमका कारण आईडीएफले बिन्यामिना आधारशिविर क्षेत्रमा हमाला भएको पुष्टि गर्नुअघि सञ्चारमाध्यमहरूलाई ठ्याक्कै कहाँ वा केलाई लक्षित गरिएको थियो भनेर समाचारहरू प्रकाशन तथा प्रसारण गर्न रोक लगाइएको थियो।

केही इजरेली सञ्चारमाध्यमहरूले उक्त आधारक्षेत्रलाई लेबननबाट प्रक्षेपण गरिएका सामान्य खालका ड्रोनहरूको निसानामा पारेको जनाएका छन्।

अप्रत्याशित खालका अस्त्रहरूले आक्रमण अवस्थामा चेतावनीका साइरनहरू बज्ने गरेकामा त्यस्तो नभएको भन्दै उनीहरूले ती ड्रोनहरू सामान्य हुन सक्ने जनाएका हुन्।

आइतवार साँझ टेलिभिजन बुलेटिनहरू, सामाजिक सञ्जाल पोस्टहरू र अनलाइनहरूमा हेलिकप्टर र आपत्कालीन सवारी साधनहरूबाट अस्पतालहरूमा घाइतेहरूलाई लैजादै गरिएको भिडिओ फुटेजहरू देखाइएको थियो।

उक्त स्थानमा के भएको थियो भन्ने विवरणहरू अझै पनि स्पष्ट रूपमा आउँन सकेका छैनन्।

तर धेरै घाइतेहरू क्यान्टिनमा रहेका र आक्रमण हुँदा अचम्ममा परेको भिडिओहरूमा देखिन्छ।

सामाजिक सञ्जालमा वितरण भएका तस्बिरहरूमा छतमा प्वाल परेको र खाली अवस्थामा रहेको सामूहिक रूपमा खाना खाने स्थान देखाइएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।