भारतीय सेनाले बनाउन लागेको ड्रोन बटालियन कस्तो

भारतीय सैनिकको हातमा ड्रोन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, भारतीय सेना अब ड्रोन बटालियन बनाउने तयारी गर्दै छ
    • Author, शकील अख्तर
    • Role, बीबीसी उर्दू, दिल्ली

यो वर्ष मे महिनामा भारत र पाकिस्तानबीच भएको सैन्य सङ्घर्षपश्चात् भविष्यका युद्धको तयारीको रणनीतिस्वरूप भारतीय स्थल सेनाले आफ्ना विभिन्न अङ्गहरूका लागि विशेष 'ड्रोन बटालियन' बनाउने निर्णय गरेको छ।

यस रणनीतिअन्तर्गत स्थल सेनाको आर्टिलरी, इन्फन्ट्री तथा आर्मर्ड डिभिजनहरूमा एक-एक वटा ड्रोन युनिट बनाइने छ। यी नयाँ एकाइहरूको काम केवल ड्रोन सञ्चालन गर्नु रहेको छ। अधिकारीहरूका अनुसार यसका निम्ति सैनिक अफिसरहरूलाई छुट्टै विभिन्न अपरेशनका उच्चस्तरीय प्रशिक्षण दिइने छ।

जुलाई २६ मा 'कारगिल विजय दिवस'को अवसरमा भारतका स्थल सेनाका प्रमुख उपेन्द्र द्विवेदीले सेनामा ३० लाइट कमान्डो बटालियन र ड्रोनसहित सबै अस्त्र तथा उपकरणले लैस 'रुद्र ब्रिगेड' बनाउने घोषणा गरेका थिए।

ड्रोन बटालियनले के काम गर्नेछ?

ड्रोन बटालियन बनाउने रणनीति भारतीय सेनाको आधुनिकीकरण तथा यसका तीनै अङ्गमा समन्वयको व्यापक योजनाको एउटा हिस्सा हो।

रक्षा विश्लेषक राहुल बेदी भन्छन् ड्रोन बटालियनको चर्चा पहिले देखि नै चलिरहेको थियो।

भारतीय सेना

तस्बिर स्रोत, Corbis via Getty Images

तस्बिरको क्याप्शन, जुलाई २६ मा 'कारगिल विजय दिवस'को अवसरमा भारतीय सेनामा ड्रोन बटालियन बनाउने घोषणा गरिएको थियो।

बेदी भन्छन्, "अपरेशन सिन्दूरपछि ड्रोनलाई सेनामा कम्ब्याट युनिटजस्तै गरी सामेल गर्नु एउटा व्यापक रणनीतिको हिस्सा बन्न पुग्यो। पछिल्लो दश वर्षमा भएका युद्ध, चाहे हाल जारी युक्रेन-रुस युद्ध होस् वा अजरबैजानको युद्ध होस् वा इजरेल, लेबनन र इरानबीच भएका लडाइँ होस्, यी सबैमा ड्रोनको प्रयोग ठूलो सङ्ख्या र धेरै प्रभावकारीताका साथ भए।"

"ड्रोनको एउटा विशेषता के पनि छ भने यो सामान्यतया सस्तो हुन्छ र यिनलाई अर्बौँ रुपैयाँ पर्ने ट्याङ्कहरूलाई नष्ट गर्न प्रयोग गरिन्छ। त्यसैले यसलाई एक सस्तो र प्रभावशाली हतियारका रूपमा हेरिएको छ।"

राहुल बेदी भन्छन् भारतीय सेनाले अब ड्रोनका निम्ति विशेष ब्रिगेड बनाउँदै छ। जसमा २५ देखि १०० सैनिक तथा प्राविधिक विशेषज्ञहरूलाई केवल ड्रोन सञ्चालनको जिम्मा दिइने छ।

उनी भन्छन्, "ड्रोन दुई थरी हुन्छन्। एकथरी आक्रामक, अट्याक ड्रोन र अर्कोथरी निगरानी, सर्विलन्स ड्रोन अर्थात् सूचना सङ्कलन गर्न खुफिया उडान भर्ने। सर्विलन्स ड्रोनले निशाना कहाँ छ भनेर पत्तो पाउँछ अनि अट्याक ड्रोनलाई सङ्केत दिन्छ। अट्याक ड्रोन एक्लै वा २०-२५ ड्रोनका झुन्डमा उडेर उक्त निशानामा हमला गर्छ।"

ड्रोन तीन श्रेणीका हुन्छन्। छोटो दूरीका ड्रोन जो २० देखि ५० किलोमिटरसम्म काम गर्छन्। मध्यम वा उच्चस्तरका ड्रोन जसले विस्तारित दूरीका उडान भर्न सक्छन्। अनि अत्याधुनिक अट्याक ड्रोन, उदाहरणका लागि एमक्यू-एनबी।

भारतले यस्ता ३१ ड्रोन साढे तीन अर्ब डलरमा अमेरिकासँग किनेको छ। भारतले सन् १९९० को दशकको अन्त्यतिरदेखि नै ड्रोन किन्न सुरु गरेको हो।

भारतले इजरेलसँग हार्पी, हेरोप र हेरोन श्रेणीका ड्रोन किनेको छ जसको अपरेशन सिन्दूरका बेला पनि व्यापक प्रयोग गरिएको थियो। भारतले आफ्नो घरेलु ड्रोन पनि बनाइरहेको छ।

लद्दाख तथा अरुणाचल प्रदेशजस्ता धेरै उचाइमा अवस्थित पर्वतीय इलाकाहरूमा सैनिकहरूलाई युद्ध सामग्री तथा रसदपानी पुर्‍याउन पनि ड्रोनहरूको उपयोग भइरहेका छन्।

ड्रोनको प्रविधि विकासमा खासगरी तीनवटा देशले धेरै प्रगति गरेका छन् – सबभन्दा पहिले इजरेलले अत्याधुनिक ड्रोनहरू बनायो, त्यसपछि अमेरिकाले त्यसमा महारथ हासिल गर्‍यो र अब चीन पनि यो क्षेत्रमा तीव्रताका साथ अगाडि आइरहेको छ।

'भविष्यका युद्धमा मानिसको जरुरत कम हुनेछ'

टर्कीको सोनगार ड्रोन

तस्बिर स्रोत, ASISGUARD.COM

तस्बिरको क्याप्शन, टर्कीको सोनगार ड्रोन

भारत र पाकिस्तानबीच मे मा भएको सङ्घर्षमा पाकिस्तानले चीन र टर्कीका ड्रोन प्रयोग गरेको थियो। उच्च प्रविधियुक्त ड्रोनको लडाइँ वा हाइटेक ड्रोन वारफेर अब धेरैभन्दा धेरै हुन थालेको छ।

रक्षा विश्लेषक राहुल बेदीले विगतमा पैदल फौजबीच लडाइँ हुने गरेको र त्यसलाई कन्ट्याक्ट वारफेर भनिने गरेको बीबीसीलाई बताए।

उनी भन्छन्, "अब त्यस्ता लडाइँका दिन सकिन लागे। अब यस्ता काम मेशीनलाई दिइन्छ। अब त कम्प्युटरले नियन्त्रण गर्ने पाइलटविनाका लडाकू विमान पनि बन्न थालेका छन्।"

"पाइलटबाट बरु निशानामा मार हान्न चुक हुन सक्ला तर मेशीनले गल्ती गर्ने सम्भावना न्यून हुन्छ।"

राहुल बेदी भन्छन् भविष्यका युद्धमा मानिसहरूको जरुरत कम भएर जानेछ र मेशीनहरूको जरुरत बढेर जानेछ।

"जसले आधुनिक प्रविधि अपनाउँछन् र जसको यसमाथि नियन्त्रण हुन्छ उसैको जित हुनेछ।"

के भारतीय सेनालाई पाकिस्तानमाथि फाइदा हासिल होला?

भारतीय सेना

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, भारतीय सेनाले सन् १९९० को दशकको अन्त्यतिर देखि नै ड्रोन किन्न थालेको हो

रक्षा विश्लेषक तथा सैन्य मामिलाको पत्रिका 'फोर्स'का सम्पादक प्रवीण साहनीका अनुसार भारतले आफ्नो सेनामा जुन ड्रोन बटालियन बनाउँदै छ त्यसको धेरै ठूलो फाइदा हुनेछैन।

जबसम्म भारतसँग जमिनमा चौबिसै घण्टा नजर राख्नका लागि आफ्नो एक प्रभावशाली भूउपग्रह प्रणाली हुँदैन तबसम्म यी ड्रोनले प्रभावकारी ढङ्गले काम गर्न नसक्ने उनले बताए।

साहनी भन्छन्, "हामीले अपरेशन सिन्दूरको समयमा देख्यौँ कि चीनको भूउपग्रह सञ्जालको सहयोगमा पाकिस्तानलाई चौबिसै घण्टाको सर्विलन्स मिलेको थियो। यसको मतलब भारतीय सेनाका जुन गतिविधि भइरहेका थिए उनीहरूले त्यो देखिरहेका थिए। कुन चीज कहाँ छ भनेर उनीहरूलाई थाहा थियो।"

युद्ध मैदानबारे जानकारी प्राप्त भएका बेला ड्रोनको महत्त्व हुने उनले बताए। "तपाईँ यस्तो लडाइँ लडिरहनु भएको छ जसमा दुवै पक्षलाई अगाडि के छ भनेर थाहा छैन। दुवै देश अधिकतर क्षेप्यास्त्रको प्रयोग गरिरहेका छन्।"

चौबिसै घण्टा निगरानी गर्ने क्षमताको अभावमा यस्ता ड्रोन युनिटहरूको कुनै मतलब नहुने उनले बताए।

प्रवीण साहनीले भने, "म यो भन्दिन कि यसको कुनै जरुरत नै छैन। तर वर्तमान परिस्थितिमा यसलाई प्राथमिकता दिनु आवश्यक छैन।"

उनको विचारमा भारतीय सेनाको पहिलो आवश्यकता चौबिसै घण्टा युद्ध मैदानको सफा तस्बिरको निगरानीका निम्ति भूउपग्रह प्रणाली हो, जुन चीनको माध्यमबाट पाकिस्तानलाई उपलब्ध छ।

उनी भन्छन्, "त्यसपछि हामीलाई इलेक्ट्रोनिक वारफेरको क्षमता चाहिन्छ, जुन अहिले पाकिस्तानसँग छ।"

"अहिले भारतीय सेनाले सीमापारीको गतिविधिको जानकारीका लागि यूएभी (मानवरहित साना विमान)को प्रयोग गर्छ। यतिबेला भारतका लागि सबभन्दा महत्त्वपूर्ण आवश्यकता सेनाको एकीकरण हो अर्थात् तीनवटै अङ्गबीच सम्पूर्ण समन्वयका साथ काम गर्ने आवश्यकता। अहिले जुन आधुनिकीकरण भइरहेको छ त्यो समन्वयपूर्ण ढङ्गले भइरहेको छैन। सन् २०२० देखि नै इन्टिग्रेटेड थिएटर कमान्ड बनाउने चर्चा चलिरहेको छ तर अहिलेसम्म यसबारे केही प्रस्ट भएको छैन।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।