इजरेलमा फसेका नेपालीका आफन्त भन्छन्- ‘सरकार के गर्दैछ?’

तस्बिर स्रोत, Reuters
- Author, फणीन्द्र दाहाल
- Role, बीबीसी न्यूज नेपाली
इजरेलमा जारी युद्धमा 'घाइते भएका' भनिएका सुदुरपश्चिम नेपालका एक जना विद्यार्थीका परिवारका सदस्यले उनको पछिल्लो स्वास्थ्य अवस्था र परिस्थितिबारे थप जानकारी खोजी गरिरहेको बीबीसीलाई बताएका छन्।
बझाङका गणेशकुमार नेपाली कृषि विषयमा स्नातक अध्ययन पूरा गरेपछि झन्डै एक महिनाअघि एउटा रोजगारीसहितको आदानप्रदान कार्यक्रममा इजरेल पुगेका थिए।
तेल अभिभस्थित नेपाली राजदूतावासका एक जना उच्च अधिकारीले आफूहरू नेपालीका परिवारसँग सम्पर्कमा रहेको भए पनि अझै प्रभावितहरूको अवस्थाबारे वास्तविक विवरण लिने प्रयासमा नै रहेको बताएका छन्।
आइतबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री एनपी साउदले गाजा क्षेत्र नजिकै रहेको एउटा कृषि फर्ममा काम गर्दै सिक्ने योजना अन्तर्गत रहेका १७ जना नेपालीमध्ये तीन जना घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र दुई जना सकुशल रहेको जानकारी दिएका छन्।
उनले १२ जना नेपालीहरू भने सम्पर्कविहीन रहेको जानकारी सदनलाई गराए र केही नेपाली हताहत भएको पनि हुनसक्ने बताए।
परराष्ट्रमन्त्रालयले शनिवार साँझ एउटा विज्ञप्ति जारी गर्दै १४ जना कामदार कार्यरत एउटा कृषि फर्ममा आक्रमण भएको र त्यसमा ९ जना घाइते भएका विवरण आएको जनाएको थियो।
आफन्त के भन्छन्?

तस्बिर स्रोत, Nepal Embassy
इजरेलमा गरिएको आक्रमणमा नेपालबाट ‘लर्न एन्ड अर्न कार्यक्रम’ अन्तर्गत कृषि अध्ययनका लागि गएका नेपाली विद्यार्थीहरू पनि परेका विवरण आएका छन्।
गैर आवासीय नेपाली सङ्घका अनुसार सेदोट नेगेभ कृषि केन्द्रमा प्रयोगात्मक अध्ययन एवं रोजगारीमा पुगेका नेपालीहरू घाइते र सम्पर्कविहीन भएका हुन्।
घाइते भएका नेपालीहरू मध्ये २५ वर्षका गणेशकुमार नेपाली पनि भएको तेल अभिभस्थित नेपाली राजदूतावासले पुष्टि गरेको छ।
उनका दाजु विकासले बीबीसीसँग भने, “अहिले हाम्रो एउटै उद्देश्य भनेको उसको अवस्था के छ भन्ने जान्ने हो। अरू उद्देश्य केही छैन। उसको अवस्था जान्ने र सही अवस्थामा भएको भए सरकारले छिटो भन्दा छिटो उद्धार गरोस् र नेपालमा फिर्ता गरोस्। त्यति भए हामीलाई पुग्छ।”
गणेशका दाइ हाल धनगढीमा छन् भने उनका आमाबुवा बझाङको दुर्गम गाउँमा बसोबास गरिरहेका छन्।
इजरेलमा आक्रमण हुनु एक दिनअघि मात्रै भाइसँग फोनमा कुराकानी भएको उनले सम्झना गरे।
उनले थपे, “टीकापुर बहुमुखी क्याम्पसबाट कृषि विज्ञानमा स्नातक तह उत्तिर्ण गरेपछि २६ दिनअघि मात्रै भाइ इजरेल गएको हो। आक्रमण हुनुभन्दा २४ घण्टाअघि मसँग कुरा भएको थियो। त्यतिबेला घर-परिवारको, कलेजको अनि अर्को भाइको पढाइको विषयमा कुरा भयो। घरायासी विषयमा कुरा भयो। त्यहाँ भूकम्प आएछ के कस्तो छ भनेर सोधेको थियो, मैले केही क्षति भएको छैन भने।”
हुलाकमा कार्यरत विकासले आफ्नो आमाबुवाले भाइको अवस्थाबारे सोधिरहेको बताए।
उनले थपे, “मैले घरमा सान्त्वना दिएको छु। विद्यार्थीहरूलाई बङ्करभित्र राख्ने प्रयास गरिएको छ र त्यहाँ भित्र उनीहरू सुरक्षित छन् भनेको छु। चिन्ता नगर्नुहोला। पछि म आएपछि सबै कुरा बताउँछु भनेको छु।”
अधिकारीहरू के भन्छन् ?

तस्बिर स्रोत, Embassy of Nepal Israel
बीबीसीसँग इजरेलस्थित नेपाली राजदूतावासका प्रथम सचिव अर्जुन घिमिरेले भने, “हामी अझै पनि परिस्थिति बुझिरहेका छौँ। यहाँ अस्तव्यस्त अवस्था छ। हामीले वास्तविक सूचना नै पाउन सकिरहेका छैनौँ।”
गणेशको पछिल्लो अवस्था बुझ्न काठमाण्डूमा रहेका उनका एक जना गाउँले दाइ अर्जुनकुमार दर्जीले पनि प्रयास गरिरहेका छन्।
उनले इजरेलस्थित नेपाली राजदूतावासमा आइतबार बिहान पनि सम्पर्क गरेको उल्लेख गर्दै भने, “घाइते भएको पुष्टि गरे पनि उद्धार भइसकेको छैन। त्यहाँ जानसक्ने परिस्थिति छैन भनेर भनिरहनुभएको थियो।”
उनका अनुसार बझाङ जिल्लाबाट इजरेल सरकारको कृषिसम्बन्धी उक्त अध्ययन आदानप्रदानमा सहभागी हुने गणेश एक जना मात्रै थिए।
नेपालमा सन् २०१३ मा सुरु गरेको उक्त आदानप्रदान कार्यक्रम अन्तर्गत तीन हजारभन्दा बढी युवाहरू इजरेल पुगेका छन्।
गणेशका दाजु विकास आफ्ना भाइ पढाइमा अब्बल रहेको उल्लेख गर्छन्।
उनले भने, “पढाइमा ७० प्रतिशत भन्दा धेरै ल्याउँथ्यो। प्रविणता प्रमाणपत्र तह र स्नातक तह दुवै छात्रवृतिमा पढेको हो।”
उनले आफ्नो भाइ इजरेल पुगेर त्यहाँको द्वन्द्वको चपेटामा पर्नसक्ने आफूहरूले कहिल्यै पनि नसोचेको बताए।
उनले भने, “भाइले विमानस्थलमा पुग्ने बित्तिकै नेपाली १८ हजार जति इजरेल सरकारले दिएको र एउटा फोनको सिमकार्ड पनि पाएको कुरा गर्थ्यो। एउटा प्याकिङ कम्पनीमा छौँ भनेको थियो। आलु जस्ता उत्पादनहरू आउँछ यसलाई प्याक गरेर अन्य ठाउँमा पठाउनुपर्छ भन्थ्यो।”
तर भाइले सम्भावित लडाइँसँग जुध्न बनाइएका बङ्कर र जडान गरिएका साइरनको चर्चा भने गरेको उनले सुनाए।
उनले थपे, “रकेट हमला भएपछि साइरन बज्छ अनि हामी बङ्कर भित्र जानुपर्ने हुन्छ भन्ने कुरा गरेको थियो। तर त्यसलाई हामीले बुझ्न सकेनौँ। इजरेल धनी देश उसले सुरक्षा व्यवस्था राम्रो गरेको होला भन्ने लाग्यो। रकेट फायर हुँदा पनि आकाशमा नै डिफ्युज गरिन्छ र त्यसका टुक्राहरूले चोट लाग्छ भनेर मात्रै बङ्कर बनाइएको हो भनेको थियो।”

तस्बिर स्रोत, REUTERS
परराष्ट्रमन्त्री के गर्दैछन्?

तस्बिर स्रोत, NP Saud/Facebook
शनिवार परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा हमला भएका क्षेत्रमा रहेका नेपालीहरूसँग निकटबाट सम्पर्कमा रहेको उल्लेख गरिएको थियो।
त्यसबाहेक इजरेली निकायसँग सुरक्षा र उद्धार अनि उपचारसहितका क्षेत्रमा समन्वय गरिरहेको जनाउँदै इजरेलमा रहेका नेपाली नागरिकलाई सुरक्षा सावधानी अपनाउन अनुरोध गरिएको थियो।
शनिवार साँझ नै मन्त्रालयका उच्च अधिकारीहरूसँग छलफल गरेका परराष्ट्रमन्त्री एनपी साउदले आइतबार इजरेलमा भएको हमला र त्यहाँ रहेका नेपालीहरूको सुरक्षाको विषयमा काठमाण्डूस्थित इजरेली राजदूतसँग कुराकानी गरेका छन्।
प्रतिनिधिसभाको आइतवारको बैठकमा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले इजरेलमा नेपालीहरूको अवस्थाबारे जानकारी दिएका थिएका छन्।
त्यसक्रममा उनले अन्य १२ जना भने अहिले सम्पर्कविहीन रहेकाले उनीहरूको अवस्थाबारे जानकारी लिने काम जारी रहेको बताएका थिए।
परराष्ट्रमन्त्रीले नेपाल सरकार नेपालीहरूलाई आवश्यक पर्ने सबै सहयोग गर्न र उद्धार गर्नुपर्ने भएमा त्यो पनि गर्ने अवस्थामा रहेको जानकारी सदनलाई गराए।
उनले त्यसका लागि सरकारले एउटा उच्चस्तरीय संयन्त्र बनाइसकेको र आवश्यकता अनुसार त्यसले काम गर्ने बताए।
साउदले भने, “दक्षिणी इजरेलमा रहेका नेपालीको सुरक्षाको प्रत्यभूति गर्न नेपाली दूतावासलाई निर्देशन दिइएको छ र त्यहाँ उद्धार गर्नु परेमा त्यसको व्यवस्था मिलाइनेछ।”
हाल इजरेलमा ४ हजार ५ सय नेपालीहरू केयरगिभरको रूपमा कार्यरत रहेको र २६५ जना विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ योजना अन्तर्गत काम गर्दै सिक्नका लागि कृषि क्षेत्रमा रहेको पनि उनले जानकारी दिए।
हमासको आक्रमणबाट प्रभावित भएका भनिएका नेपालीहरू सुदुरपश्चिम विश्वविद्यालय अन्तर्गत कृषि सम्बन्धी अध्ययनका लागि गाजा नजिकै पर्ने दक्षिण इजरेलको किबुज अलुमीम क्षेत्रको एउटा फर्ममा पुगेका परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्रमन्त्रीको सचिवालयद्वारा जारी विज्ञप्तिमा घाइते नेपालको उपचार र उद्धारबारे पनि छलफल भएको उल्लेख छ।
धनगढीमा इजरेलबाट ताजा खबर कुरिरहेका विकास भन्छन्, “मेरो भाइ निक्कै जेहन्दार विद्यार्थी हो। उसको अमेरिका गएर पढ्ने धोको छ। साथीहरू चाँडै घुलमिल हुने उसको स्वभाव छ। गीत गाउन मन पराउँछ। उसको अवस्था छिटो भन्दा छिटो थाहा पाउन पाए हुन्थ्यो।”
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








