इजरेलमा घाइते नेपालीहरूको 'उपचार, उद्धार र सुरक्षा'का लागि 'समन्वय'

इजरेल

तस्बिर स्रोत, Reuters

    • Author, विष्णु पोखरेल
    • Role, बीबीसी न्यूज नेपाली

प्यालेस्टिनी हमला र त्यसको प्रतिउत्तरमा इजरेलले गरिरहेको कारबाहीका क्रममा गाजा क्षेत्र नजिकै रहेका केही नेपाली नागरिकसमेत घाइते भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

शनिवार बिहानैदेखि इजरेल र प्यालेस्टिनी लडाकु समूह हमासबीच लडाइँ जारी छ। सुरुमा हमासले इजरेलमाथि सयौँ रकेटहरू प्रहार गरेपछि उक्त लडाइँ सुरु भएको हो।

त्यस क्रममा हालसम्म हमासको आक्रमणमा ३०० जना भन्दा बढी मारिएको इजरेलले जनाएको छ। त्यस्तै गाजामा २३० भन्दा बढीको मृत्यु भएको छ।

इजरेलस्थित नेपाली दूतावासले “केही नेपालीहरू घाइते भएको खबर आएको र त्यसबारे थप जानकारी सङ्कलन भइरहेको” बीबीसीलाई बताएको छ।

घाइतेको औषधोपचारका लागि ‘समन्वय’

शनिवार साँझ एउटा वक्तव्य जारी गर्दै परराष्ट्र मन्त्रालयले १४ जना नेपालीहरू कार्यरत रहेको कृषि फर्म पनि आक्रमणमा परेको जनाएको छ।

मन्त्रालयका अनुसार आक्रमणमा परेर ९ जना नेपालीहरू घाइते भएका छन् त्यसमध्ये दुई जनाको अवस्था गम्भीर छ।

तेल अभिभमा रहेको नेपाली दूतावास आक्रमणमा परेका क्षेत्रमा बसोबास गर्ने नेपालीहरूसँग नजिकको सम्पर्कमा रहेको बताइएको मन्त्रालयले जनाएको।

“घाइतेहरूको औषधोपचार, उद्धार र सुरक्षाका लागि नेपाली दूतावासले इजरेली अधिकारीहरूसँग सम्पर्क र समन्वय गरिरहेको छ,” मन्त्रालयले वक्तव्यमा भनेको छ।

सरकारले इजरेलमा रहेका नेपालीहरूलाई सजग रहन र प्रशासनबाट प्राप्त सुरक्षा सावधानीहरू अपनाउन भनेको छ।

इजरेलमा नेपालीहरू घाइते भएको विवरण आएपछि परराष्ट्रमन्त्री एनपी साउदले शनिवार मन्त्रालयका उच्च अधिकारीसँग छलफल गरी आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिएका थिए।

मन्त्रालयले वक्तव्यमा इजरेलमा भएको हमलाको निन्दा पनि गरेको छ।

इजरेल

तस्बिर स्रोत, Reuters

सुरक्षाका लागि बङ्करमा

यसअघि इजरेलस्थित नेपाली दूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता अर्जुन घिमिरेले “नेपालीहरू कार्यरत एउटा कृषि फर्ममा पनि आक्रमण भएको र त्यस क्रममा नौ जना नेपाली घाइते भएको” विवरण आएको तर त्यसलाई दूतावासले आधिकारिक रूपमा पुष्टि गर्न बाँकी रहेको बताएका थिए।

उनले भनेका थिए, “स्थिति अझै सामान्य नभएकाले यकिन कुरा आइसकेको छैन।”

कतिपय सञ्चारमाध्यमले केही नेपालीलाई हमासले बन्धक बनाएको पनि लेखेका थिए।

यद्यपि गैर आवासीय नेपाली सङ्घ इजरेलका अध्यक्ष श्रीकृष्ण भण्डारीले "बन्धक भने कोही पनि नभएको बुझिएको" बीबीसीलाई बताए।

उनले भने, "त्यो फर्म रहेको क्षेत्र अहिले पनि तनावग्रस्त भएकाले इजरेली सेनाले फोन उठाउन पनि दिएको छैन त्यसैले कसैसँग पनि राम्ररी कुरा हुन सकिरहेको छैन। तर धेरै साथीहरू बङ्करमा सुरक्षित रूपमा बस्नु भएको छ भनेर त्यहाँबाट मेरो सम्पर्कमा आएका चार जना साथीहरूले भन्नुभएको थियो।"

उनले हालै इजरेल आएका नेपालीहरू बसेको स्थानमा हमला भएकाले उनीहरू आत्तिएको तर स्थानीय सुरक्षाकर्मीको निर्देशन पालन गरेर बस्न आफूहरूले सुझाव दिएको पनि जानकारी दिए।

हमलामा पर्ने नेपाली को हुन्?

इजरेल

तस्बिर स्रोत, Nepal Embassy

तस्बिरको क्याप्शन, नेपाली विद्यार्थीले काम सिकिरहेको स्थानमा नेपाली राजदूतको अवलोकन (फाइल तस्बिर)

विभिन्न विवरणमा जनाइए अनुसार हमलामा पर्ने नेपालीहरू नेपाल र इजरेलबीच भएको सरकार-सरकारबीच (जीटुजी) सम्झौता अनुसार कृषि क्षेत्रमा अध्ययनसँगै काम गर्न गएका नेपालीहरू हुन्।

भण्डारीका अनुसार अहिले त्यहाँ अहिले करिब आठ सय जति नेपाली नागरिकहरू कृषि क्षेत्रमा कार्यरत रहेको बुझिएको छ।

नेपालबाट प्रशिक्षार्थी कामदारका रूपमा पनि कृषि क्षेत्रमा नेपाली नागरिकहरू जाने गरेका छन्।

नेपाली कामदारहरू कार्यरत रहेको गाजा क्षेत्रको कृषि फर्ममा रकेट प्रहार हुँदा उनीहरू घाइते भएको बताइएको छ।

गैर आवासीय नेपाली सङ्घका अध्यक्ष भण्डारीले दिएको जानकारी अनुसार इजरेलमा विभिन्न क्षेत्रमा काम गर्न गएका नेपालीहरूको सङ्ख्या करिब पाँच हजार रहेको छ।

इजरेलमा रहेका नेपालीलाई दूतावासको आग्रह

इजरेलमा कार्यरत नेपाली नर्सहरूसँग नेपाली राजदूत कान्ता रिजाल

तस्बिर स्रोत, Embassy of Nepal

तस्बिरको क्याप्शन, इजरेलमा कार्यरत नेपाली नर्सहरूसँग नेपाली राजदूत कान्ता रिजाल, इजरेलको स्वास्थ्य क्षेत्रमा पनि उल्लेख्य नेपालीहरू कार्यरत छन्

इजरेलस्थित नेपाली राजदूतावासले उक्त देशमा रहेका नेपालीहरूका लागि विशेष अपिल जारी गरेको छ।

दूतावासले सामाजिक सञ्जालमार्फत नेपालीहरूलाई "सतर्क रहन र स्थानीय सुरक्षा निकायको निर्देशन पालन गर्न" भनेको छ।

उक्त अपिलमा भनिएको छ, "इजरेलको गाजासँगको सीमाना लगायत विभिन्न क्षेत्रमा हाल द्वन्द्व चलिरहेको सबैलाई जानकारी नै छ। यस्तो अशान्त वातावरणमा आफ्नो सुरक्षाको ख्याल राख्नुहुन र स्थानीय सुरक्षा निकायको निर्देशन अक्षरश: पालना गर्नुहुन सबै नेपाली समुदायमा अनुरोध छ।"

"साथै, अप्ठ्यारोमा पर्नुभएका नेपाली नागरिकहरूको सहयोग तथा उद्धारका लागि दूतावासले इजरायलका सम्बन्धित निकाय तथा अधिकारीहरुसँग निरन्तर समन्वय गरिरहेको व्यहोरा अनुरोध छ।"

"...अप्ठ्यारो परिस्थिति छ, हामी सबै त्रसित छौँ। तर पनि यसको नकारात्मक सन्देश जानेगरी सोसल मिडियाहरूमा सेअर गरेर अरुलाई त्रसित नगराउनुहोला।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।