'अचेल हामी महिनामा एक पटक मात्र मासु खान्छौँ'

    • Author, वेरोनिका स्मिङ्क
    • Role, बीबीसी न्यूज मुन्डो, आर्जेन्टिना

आर्जेन्टिनामा एप्रिल महिनाको आँकडामा वार्षिक मुद्रास्फीति दर १०९ प्रतिशत पुगेको थियो। त्यसको अर्थ सो ल्याटिन अमेरिकी देशमा दशौँ लाख मानिसहरू आफ्ना आधारभूत आवश्यकता पूरा गर्न सक्दैनन् भन्ने हो। बीबीसीले केही त्यस्ता आर्जेन्टिनीहरूलाई भेटेको छ जो अवस्था अझ कतिसम्म खराब हुनसक्ला भनेर घोत्लिरहेका छन्।

यनिनाका लागि जीवनयापनका लागि बढ्दो महँगी नौलो कुरा होइन।

राजधानी ब्युनस एरिजस्थित काम गरिखाने मानिसहरूको बसोबास भएको छिमेकमा १० वर्षअघि उनले सानो किराना पसल खोल्दा वार्षिक मुद्रास्फीति २५ प्रतिशत नाघेको थियो।

त्यसयता महँगी दर बढिरहेको छ तर पनि यनिना सम्झिन्छिन् मानिसहरू जसोतसो किनमेल गरिरहेका थिए। "आवश्यक मात्र होइन अन्य सामग्री पनि किनिरहेका थिए।"

"उनीहरूले किन्ने १० वटा सामानमध्ये चारवटा मात्रैलाई हामी आधारभूत भन्न सक्थ्यौँ," यनिनाले भनिन्।

डरलाग्दो संयोग

तर सन् २०१८ यता आर्जेन्टिनाको वार्षिक महँगी दर निकै द्रुत गतिले बढेको छ।

एप्रिलको आधिकारिक आँकडाले देखाए अनुसार महँगी दर १०९ प्रतिशतमा रहेको छ। तीन दशक यता पहिलो पटक उक्त दर तीन अङ्कमा पुगेको हो।

मुद्रा सङ्कट र अहिलेसम्मकै सबैभन्दा बढी सुख्खा अवस्था आइपर्दा कृषि व्यापारमा परेको चरम प्रभाव - यी दुवै कुरा एकै पटक हुँदा देशको आर्थिक अवस्था अहिलेसम्मकै खराब अवस्थामा छ।

त्यसबाहेक अर्थतन्त्र टाट पल्टने अवस्थाबाट जोगिन अन्तर्राष्ट्रिय मुद्रा कोषले राखेको दुई वटा सर्त अनुसार मितव्ययितासम्बन्धी कदमहरू चाल्न ब्युनस एरिज बाध्य भएको छ जसले परिस्थितिलाई थप जटिल बनाएको छ।

त्यसले पक्कै पनि यनिनाका ग्राहकको किन्ने बानी परिवर्तन गरिदिएको छ।

"अहिले उनीहरू केवल अत्यावश्यक सामग्री मात्रै किन्छन्," उनले भनिन्।

उनीहरू भाग्यशाली हुन्। आर्जेन्टिनाको तथ्याङ्क र जनगणनासम्बन्धी विभागले मार्चमा ४० प्रतिशत आर्जेन्टिनीहरू गरिबीमा बाँचिरहेको बताएको थियो। १४ वर्ष मुनिका बालबालिकामाझ यो करिब ५५ प्रतिशत रहेको छ।

यो वर्ष महँगी दर बढेको परिणामस्वरूप त्यस्तो सङ्ख्या अझै बढ्ने अर्थविद्हरूले बताएका छन्।

मुद्रास्फीति दर वा महँगी त्यस्तो प्रवृत्ति हो जसले असमान रूपमा गरिबलाई धेरै असर गर्छ। महँगी चरम रूपमा बढ्दा खाद्यान्नको मुख्य पनि धेरै बढ्छ र गरिब परिवारहरूले खास गरी आफ्नो आम्दानीको धेरै हिस्सा खानामा खर्च गर्नुपर्ने हुन्छ।

त्यसका साथै, उल्लेख्य सङ्ख्यामा आर्जेन्टिनीहरू अर्थतन्त्रको अनौपचारिक क्षेत्रमा काम गर्छन्। बेतनधारी कामदारहरूको जस्तो उनीहरूको आम्दानी ट्रेड युनियन र व्यापार गृह अनि सरकारबिचको सम्झौताले समेट्दैन।

खर्च धान्नै नसक्ने अवस्था

स्वरोजगारमा रहेका मानिसको हकमा पनि त्यही हुन्छ। सरकारी तथ्याङ्कअनुसार आर्जेन्टिनाको कुल श्रमिक सङ्ख्याको आधा हिस्सा उनीहरू र अनौपचारिक क्षेत्रमा काम गर्ने मानिसहरूले ओगट्छन्।

तर औपचारिक क्षेत्रमै काम गर्नेका लागि पनि महँगीविरुद्ध बलियो सुरक्षाकवच उपलब्ध छैन। बेरोजगार दर ६.३ प्रतिशत मात्रै भए पनि ज्यालाको मूल्य भने असाध्यै घटेको छ।

आर्जेन्टिनामा न्यूनतम ज्याला अहिले प्रति महिना करिब ३५० डलर रहेको छ। दक्षिण अमेरिकामा सबैभन्दा कम ज्याला हुने देशहरूमध्ये आर्जेन्टिना दोस्रो स्थानमा पर्छ। जबकी एप्रिल महिनाको आँकडाहरू बमोजिम त्यहाँ दुई बालबालिका र दुई वयस्क भएको एक परिवारको निम्ति खानाको औसत खर्च भने ८२९ डलर पर्छ।

र, त्यसमा उनीहरूको अन्य घर खर्च पनि जोडिएको छैन।

यनिनाको पसलमा बिस्कुट किन्न आएकी ३७ वर्षीय सिन्थियाले बाल अस्पतालमा आफ्नो स्थायी जागिर रहेको बताइन्। तर भाडा यति बढेको छ कि अहिले उनी आफ्ना आमाबुवासँग बस्न जानुपरेको उनले बताइन्।

"म मेरो तलबमा बाँच्न नसक्ने भएँ र मेरा आमाबुवा पनि उनीहरूको पेन्सनका भरमा बाँच्न नसक्ने भए," सिन्थियाले भनिन्।

भाडा तिरेर एकै ठाउँमा बस्ने गरी उनीहरूले व्यवस्थापन गरे पनि प्रत्येक साता मासु किन्न उनीहरू सक्दैनन्। उनले अचेल आफ्नो परिवारले महिनामा केवल एक पटक मात्रै मासु खान सक्ने बताइन्।

महँगी अकासिँदा अचेल आफूले पालिरहेको छोराका लागि मन पर्ने मिठाइसमेत किनिदिन नसकेको उनले बताइन्।

"आर्जेन्टिनामा महँगी सधैँ थियो, तर काम गर्दा पनि अहिले गरिब हुनुपरेको छ।"

धनीलाई पनि चस्का परेको छ

सिन्थियाले मूल्य अकासिने गरी बढ्दा उपभोग्य सामानका लागि कति रकम आवश्यक पर्छ भनेर अनुमान गर्नै असम्भव भएको पनि बताइन्।

"यी बिस्कुट किन्नलाई कति पैसा पर्छ भन्ने मलाई थाहा छैन। हिजो यसको मूल्य अर्कै थियो र आज अर्कै हुनसक्छ," उनले भनिन्।

कामको ज्याला धेरै पाउने आर्जेन्टिनीहरू पनि अहिले सङ्घर्षरत छन्। एकातिर जीवनयापनको खर्च बढ्दो छ भने अर्कोतिर मुद्रास्फीतिको परिणामस्वरूप बढाइएका तलबमा कर पनि धेरै तिर्नुपरेकोछ किनभने करका दरहरू परिवर्तन गरिएका छैनन्।

लजिस्टिक विज्ञ ६७ वर्षीय गुयर्मोले तीस वर्षसम्म एअरलाइन कार्गो म्यानेजरको काम गरेर दुई वर्ष अगाडि अवकाश पाएका थिए। तर आफू र सन्तानका निम्ति अब फेरि उनी सक्रिय हुनुपरेको छ।

"यो वर्ष मैले नातिनीको स्कूल शुल्क तिर्न सुरु गरेँ किनकी उनकी आमाबुबाले सकेनन्। चार महिनामै शुल्क दोबर भयो," धनीहरूको बसोबास रहेको ब्युनस एरिजको उत्तरी इलाकामा एक सुपरमार्केटमा भेटिएका उनले बीबीसीसँग कुरा गर्दै भने।

तर तलब र पेन्सन भए पनि गुयर्मोले आफ्नो जीवनशैली धान्न केही परिवर्तन गर्नु परेको छ।

"मैले सिगार पिउँथेँ। तर ती आयातित सिगारको मूल्य बढेकाले मैलेँ छाडेँ। विगतमा दिनको १० खिल्ली भएको एक प्याकेट प्रयोग गर्दा ३०० आर्जेन्टिनी पेसो पर्थ्यो ($१.२९). अहिले त्यसको मूल्य ४,२०० ($१८.१६)। मैले धान्न सकिनँ।"

राजनीतिक उथलपुथल

अमेरिकी डलरको तुलनामा आर्जेन्टिनी पेसोमा भएको व्यापक अवमूल्यनका कारण पनि त्यहाँ मुद्रास्फिति चर्को दरमा बढेको हो।

त्यसकारण डलरसँग सम्बन्धित विदेश यात्रा वा नयाँ गाडी खरिद जस्ता विषय धनी आर्जेन्टिनीको निम्ति पनि कठिन हुँदै गएका छन्।

"हामी बेला बेला नयाँ गाडी किन्थ्यौँ। तर अब त्यो धान्न सकिन्न। साथै विदेश भ्रमणमा जानुको साटो देशभित्रै घुम्छौँ," ३३ वर्षीया मनोचिकित्सक तथा दुई सन्तानकी आमा जेसिकाले भनिन्।

आफूहरू त अन्यको तुलनामा भाग्यमानी भएको उनी ठान्छिन्। किनभने उनी तथा उनका पति दुवै जना स्वरोजगारमा रहेकाले उनीहरूले आफूले लिने सेवाशुल्क बढाउन सक्छन्।

जेसिका तथा बीबीसीले कुरा गरेका अन्य मानिसहरूले सन् २०२३ मा आर्जेन्टिनाको आर्थिक अवस्था झनै अनिश्चयपूर्ण रहने बताए किनभने अक्टोबरमा राष्ट्रपतिय निर्वाचन हुँदैछ।

वर्तमान राष्ट्रपति अल्बर्टो फर्नान्डेज एवं उनका दुवै पूर्ववर्ती माउरिसियो माक्री र अहिलेकी उपराष्ट्रपति क्रिस्टिना कर्चनरले उक्त निर्वाचनमा भाग नलिने बताइसकेका छन्।

यी तमाम अनिश्चयका माझ आर्जेन्टिनीहरूले धेरैको जीवनमा घाउ दिएर गएको सन् १९८९-९० ताकाको जस्तो आर्थिक सङ्कट नदोहोरियोस् भनेर कामना गरिरहेका छन्।