गाजामा एकै दिन २४ इजरेली सैनिक मारिए, तर प्रधानमन्त्री नेतन्याहु भन्छन्, 'पूर्ण जितबिना युद्ध रोकिँदैन'

इजरेल

तस्बिर स्रोत, REUTERS

इजरेली सेनाले सोमवार आफ्ना २४ जना सैनिक गाजामा मारिएका जनाएको छ जुन उसका लागि सो क्षेत्रमा जमिनमार्फत् सैन्य कारबाही सुरु गरेयताकै घातक दिन बनेको छ।

मारिनेमध्ये २१ जना जगेडा सैनिक छन् जो सम्भावित रूपमा एउटा धराप विस्फोटनका कारण मारिएका ठानिएको छ।

ती विस्फोटकलाई इजरेली सैनिकहरूले दुईवटा भवन ध्वस्त पार्नका लागि राखेको इजरेल डिफेन्स फोर्सेस (आईडीएफ)ले जनाएको छ।

प्यालेस्टिनी लडाकुहरूले त्यसको केहीअघि मात्र ती फौजको पहरा दिइरहेका ट्याङ्कमा प्रहार गरेको ठानिएको छ। 

आईडीएफले के भएको हो भनेर अनुसन्धान गरिरहेको जनाएको छ।

गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार सोमवार त्यहाँ १९५ प्यालिस्टिनी मारिएका छन्।

आईडीएफका मुख्य प्रवक्ताले जगेडाअन्तर्गत रहेर लड्न आएका फौजहरू सोमवार स्थानीय समय अनुसार ४ बजे आसपास मध्यगाजामा मारिएका जनाएका छन्।

उनीहरू दक्षिण इजरेलमा त्यहाँका बासिन्दालाई सुरक्षित रूपमा घर फर्काउन सक्ने माहोल बनाउने उद्देश्यसहित उक्त कारबाहीमा थिए।

अक्टोबर ७ को हमलापछि सीमावर्ती इजरेली क्षेत्रका दशौँ हजार मानिसलाई अन्यत्र सारिएको थियो।

इजरेलमा शोक

गाजा

तस्बिर स्रोत, AFP

विस्फोटमा परेर मारिनेहरूमध्ये सुरुवाती केहीको अन्तिम संस्कार जेरुसेलममा झरी पर्दै गर्दा माउन्ट हर्टसलमा गरिएको थियो।

त्यहाँ शोक व्यक्त गरिरहेका धेरैजसो सैन्य पोसाकमा थिए र त्यहाँ व्यापक रूपमा नीलो र सेतो रङ्गको इजरेली झण्डा देखिन्थ्यो।

इजरेली सेनाले सोमवार नै दक्षिण गाजामा भएको एउटा बेग्लै हमलामा परेर तीनजना सैनिक मारिएका पुष्टि गरेको छ।

प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले पीडाका बावजुत आफ्नो देशले "पूर्ण जित" हासिल नगरेसम्म लडाइँ जारी राख्ने बताएका छन्।

अन्यत्र गाजाको अवस्था के छ?

अरुतिर गाजामा दक्षिणतर्फको खान यूनिस सहरमा रहेका तीनवटा अस्पतालनजिक भीषण लडाइँ भएका छन्। त्यहाँ विस्थापित मानिसहरूको ठूलो भिड छ।

आईडीएफले आफूले उक्त सहरलाई पूर्ण रूपमा घेरेको जनाएको छ। त्यस ठाउँ हमासलाई लक्षित गर्दै गरिएको जमिनतर्फको लडाइँको मुख्य केन्द्र बनेको छ।

इजरेलले त्यहाँ उक्त लडाकु समूहका नेताहरू लुकिरहेको र त्यहाँ केही बन्धक बनाइएका इजरेलीहरू रहेको हुनसक्ने ठानेको छ।

आईडीएफका अनुसार दर्जनौँ स्थानीय बन्दुकधारीहरू उसको कारबाहीमा परेर मारिएका छन्।

सैनिकहरूले प्रहार गर्न तयारी अवस्थामा राखिएका रकेट लन्चरहरू एवं सुरुङ प्रवेश गर्ने भ्वाङ र ठूलो सङ्ख्यामा हतियार पाइएका थिए।

प्यालेस्टिनीहरूले उक्त सहरमा भएको पछिल्लो हमलामा परेर महिला र बालबालिकाहरू मारिएका जनाएका छन्।

उनीहरूले इजरेली नाकाबन्दी र सोमवारयता अस्पतालमा भएका निरन्तरका हमलाले गर्दा मृतक र घाइतेहरू उद्धारकर्ताको पहुँचमा हुन सकेका छैनन्।

मृतकहरूलाई नासेर अस्पताल परिसरमै गाडिएको छ। किनकि चिहानसम्म पुग्ने काम असुरक्षित बनेको छ।

मानवीय क्षतिको अवस्था

इजरेली फौजहरू अर्को अस्पताल अल-खाइरमा समेत बलजफ्ती प्रवेश गरेका छन्। पश्चिम गाजामा पर्ने अल-मवासी क्षेत्रमा रहेको उक्त अस्पतालमा प्रवेश गरेर उनीहरूले कर्मचारीहरूलाई गिरफ्तार गरेको बताइएको छ।

अक्टोबर ७ को हमलापछि हमासलाई सखाप पार्ने घोषित लक्ष्यसहित इजरेलले युद्ध थालेको थियो।

हमासका लडाकुहरूले ७ अक्टोबरमा इजरेलमा हमला गर्दा अधिकांश सर्वसाधारणसहित कम्तिमा १२०० जना मानिस मारिएका थिए।

अभूतपूर्व उक्त हमलाका क्रममा उनीहरूले २५० अन्यलाई बन्धक बनाएर लगेका थिए।

आईडीएफको वेबसाइटका अनुसार इजरेलले २७ अक्टोबरयता जमिनमार्फत्‌ हमला सुरु गरेदेखि २१७ जना सैनिक मारिएका छन्। अक्टोबर ७ यता भने ५५२ सैनिक मारिएका छन्।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता इजरेलले गाजामा सुरु गरेको सैन्य कारबाहीमा परेर कम्तीमा २५,४९० मानिस मारिएका छन् जसमध्ये अधिकांश महिला र बालबालिका छन्।

नोटः यो समाचारमा इजरेलमा अक्टोबर ७ मा भएको हमास लगायतका समुहको हमलामा मारिएकाहरूको अनुमानित सङ्ख्या सम्पादकीय कारणहरूले गर्दा सच्चाइएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।