भेडा, च्याङ्ग्रा व्यापारमा महँगीको मार

च्याङ्ग्रा
    • Author, नारायण कार्की
    • Role, पोखरा

पोखरामा दशैँ-तिहारजस्ता ठूला चाडबाडका बेला हिमाली क्षेत्रबाट ल्याइएको च्याङ्ग्राको मासुप्रति विशेष रुचि पाइन्छ। 

च्याङ्ग्रा तथा भेडाको मासु स्वादिष्ट हुने र तिनले जडीबुटी समेत खाएका कारण स्वास्थ्यवर्धक हुने मानिसहरूको विश्वास पाइन्छ।

वर्षौँदेखि नेपालकै हिमाली क्षेत्र र चीनको तिब्बतबाट च्याङ्ग्रा तथा भेडा ल्याउने गरिएको छ। 

सामाजिक विषयका एकजना अनुसन्धानदाता विश्व सिग्देलका अनुसार इतिहासदेखि नै हिमाली क्षेत्रमा उत्पादन हुने अन्नपात र भेडा,च्याङ्ग्राबीच विनिमय हुने गरेको बताउँछन्। 

उनी भन्छन्: "पोखरा उपत्यकाको पहुँच विगतमा भारतसँग भन्दा चीनको तिब्बतसँग सहज भएका कारण पनि कोरला नाकाबाट व्यापारिक गतिविधि हुने गर्थ्यो र भेडा, च्याङ्ग्रा त्यसका प्रमुख वस्तु हुने गर्थे।" 

व्यापारमा मार

च्याङ्ग्रा

गण्डकी प्रदेशको राजधानी पोखरा त्यसयता भेडा, च्याङ्ग्रा किनमेलको प्रमुख केन्द्रको रूपमा परिणत भएको धनगढीका व्यवसायी डिल्लीराज कँडेल बताउँछन्। 

उनी सुदूरपश्चिमको दार्चुलाबाट करिब दुई सय भेडा खरिद गरी धनगढी हुँदै पोखरामा ल्याएर विक्रीमा व्यस्त भेटिए। 

"पोखरामा तौलिएर च्याङ्ग्रा, भेडाको व्यापार हुन्न, हचुवाको भरमा खरिदविक्री हुन्छ," उनी भन्छन्। 

यहाँ सिङ मोटा हुने एक जातको लेकाली ठूलो भेडाको मूल्य प्रतिकिलो ७५० रुपैयाँ र खसीको ७०० रुपैयाँ राखेर अन्दाजी मूल्य भाउ गरेर विक्री हुने गर्छ।

डोल्पाका गणेश राना आफूसहित पाँचजना मिलेर डोल्पाबाट ८०० गोटा च्याङ्ग्रा, भेडा लिएर पोखरा आइपुगेका थिए।

उनले रोजा च्याङ्ग्रा ५० हजार रुपैयाँमा र भेडा ४५ हजार रुपैयाँमा विक्री गरिरहेको बताए।

मुस्ताङ हुँदै दश दिन लगाएर ल्याउँदा बाटोमै ५/६ वटा हराएको बताएका उनले अष्टमीसम्म विक्री गर्न नसके घाटा हुने भन्ने चिन्तामा थिए।

बाजुराका कालीबहादुर बूढाको पनि त्यस्तै दुःखेसो छ।

उनी भन्छन्: "चरन क्षेत्र र घरघरमा पुगेर सङ्कलन गर्दा एक महिना लाग्छ। यता बेचेर दशैँमा घर पुग्न सकिन्न। व्यापार भने बढ्दो होइन, घट्दो छ।"

किन महँगियो?

च्याङ्ग्रा

मुस्ताङ छोसेरका आङ्गेल गरुड कोरोना महामारी सुरु भएपछि चीनबाट भेडा, च्याङ्ग्रा ल्याउन प्रतिबन्ध लागेका कारण पनि भेडा, च्याङ्ग्रा महँगोमा बेच्नुपर्ने बाध्यता भएको बताउँछन्। 

"हामीजस्ता गरिबका लागि गरिखान कोरला नाका खुला गर्न सरकारले पहल गर्नुपर्‍यो," उनी भन्छन्।

महँगो मूल्यमा विक्री गर्नुपर्ने अर्को बाध्यता जताततै लिइने कर पनि भएको डोल्पाका भीम बूढाको गुनासो छ। 

उनी भन्छन्: "कुनै सिस्टम नै छैन। पालिका, वडा, युवा समूह, आमा समूह, सामुदायिक वन र प्रहरीबाट पनि मनलाग्दी पैसा असुली गरिन्छ।"

गत वर्ष प्रतिकिलो १७/१८ सय रुपैयाँमा फ्रेश हाउसबाट च्याङ्ग्राको मासु किनेर खाएका रमण लामिछाने यस पटक प्रतिकिलो २४ सय रुपैयाँ तिरेर च्याङ्ग्राको मासु खरिद गर्नु परेकोमा असन्तुष्ट छन्। 

बजार भाउमा कुनै पनि निकायको अनुगमन र नियन्त्रण नभएका कारण यो अवस्था सिर्जना भएको उनी बताउँछन्। 

खसीको मासु पोखराको बजारमा प्रतिकिलो झन्डै १२ सय रुपैयाँ पाइन्छ भने च्याङ्ग्राको मासु दोबर अर्थात् प्रतिकिलो २,४०० रुपैयाँ पर्छ। 

एकजना उपभोक्ता लक्ष्मी जिसी भन्छिन्: "केही वर्ष अघिसम्म खसीभन्दा च्याङ्ग्राको मासु सस्तो पर्थ्यो। अहिले ठीक उल्टो हुनुको कारण के?" 

बजारको अवस्था

च्याङ्ग्रा

नयाँ सडकका व्यापारी राजेन्द्र राना कोरोना कालअघि सिङ्गै च्याङ्ग्रा किनेर खाने गरेकोमा अहिले 'एउटा खुट्टामा' चित्त बुझाउन थालेको बताउँछन्। 

स्थानीयवासीको भनाइमा एक खुट्टाको अर्थ चार भागको एक भाग हो। 

अर्का उपभोक्ता काहुँ खोलाका रवीन्द्र बराल भन्छन्: "वर्ष दिनमा आउने दशैँमा च्याङ्ग्राको स्वाद त लिनै पर्‍यो। त्यसैले टोल छिमेक मिलेर च्याङ्ग्रा किनिएको छ।" 

केही वर्ष अघिसम्म पोखरामा रहेको टुँडिखेलमा अस्थायी खोरहरू बनाएर भेडा च्याङ्ग्रा किनबेचको व्यवस्था गरिन्थ्यो। 

टुँडिखेल तारबारले घेरिएपछि पोखरा बागलुङ राजमार्गका भित्ताको भिरालो ठाउँमा भेडा, च्याङ्ग्राको व्यापार हुन्छ। यसले गर्दा ग्राहक र विक्रेता दुवै थरीलाई असहज भएको छ। 

पोखरा महानगरपालिकाले व्यवस्थित बजारको विकास गर्नुपर्ने स्थानीयहरूको माग छ। 

केही वर्षअघि १५ देखि २० हजारको सङ्ख्यामा भेडा च्याङ्ग्राको व्यापार हुने पोखरामा यस वर्ष अवस्था फरक छ। 

व्यवसायीहरूका अनुसार बजार भाउ अचाक्ली बढेका कारण तिनको सङ्ख्या आधा जतिले घटेको बताइन्छ। 

सप्तमी, अष्टमी र नवमीका दिन भेडा, च्याङ्ग्राको सबैभन्दा बढी विक्री हुन्छ। 

त्यति बेला माग बढी भयो र सोहीअनुसार भेडा, च्याङ्ग्रा उपलब्ध रहेनन् भने अहिलेको भाउ अझै बढ्न सक्ने व्यवसायीहरू बताउँछन्। 

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।