मनाउन थालेको एक दशकपछि पनि टोपी दिवसबारे 'विवाद'

हरेक वर्ष ज्यानुअरी १ मा केही वर्षयता नेपालमा 'टोपी दिवस' का रूपमा मनाउन थालिएको छ।

अङ्ग्रेजी नयाँ वर्षका दिन नेपालमा मात्रै नभई विदेशमा रहेका नेपालीले समेत परम्परागत ढाका र भादगाउँले टोपी लगाएर यो दिवस मनाइरहेका छन्।

टोपी मात्र नभएर दौरा-सुरुवाल जस्ता पोसाक लगाउने चलन पनि पछिल्ला दिनमा बढ्दो क्रममा रहेको बताइन्छ।

मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले विक्रम सम्वत २०७० सालदेखि 'टोपी दिवस' मनाउने अभियान थालेका थिए।

एउटा अभियानका रूपमा 'टोपी दिवस' सुरु भए पनि सामाजिक सञ्जालबाट भएको प्रचारका कारण यसले बिस्तारै दिवसकै रूपमा निरन्तरता पाउन थालेको देखिन्छ।

तर उक्त दिवस मनाउने क्रम सुरु भएको एक दशक भइसक्दा पनि त्यसबारे पक्ष र विपक्षमा बहस जारी छ।

नेपालभित्रै टोपी दिवसका पक्षधर र त्यसको विरोध गर्नेहरू उल्लेख्य छन्। उनीहरूले सामाजिक सञ्जालमा पनि त्यस्तै खाले अभिव्यक्तिहरू दिइरहेका छन्।

टोपी दिवसको शुभकामनामा र विभेदका कुरा

टोपी दिवसको शुभकामना दिँदै कतिपयले सामाजिक सञ्जालमा नेपालभित्र हुने गरेका जातीय तथा क्षेत्रीय विभेदको प्रसङ्ग पनि कोट्याएका छन्।

सबै नेपालीलाई समान व्यवहार गरिनुपर्ने र विभेद अन्त्य हुनुपर्ने उनीहरूको भनाइ छ।

एक जना नेपाली अभिनेता नाजिर हुसेनले आफूले समाजमा भोगिरहेको ‘विभेद’को उल्लेख गर्दै टोपी दिवसको शुभकामना दिएका छन्।

उनले लेखेका छन्, “… सबैको सोच र विचार अग्लियोस्, ढाका टोपी (नेपाली टोपी) दिवसको सबैमा शुभकामना।”

एक जना दलित अधिकारकर्मी मित्र परियारले टोपी दिवसप्रति व्यङ्ग्य गर्दै लेखेका छन्, “ टोपी दिवस रे…? खै! त टोपी सिउनेलाई चैँ इज्जत, सम्मान?”

यद्यपि सामाजिक सञ्जालमा धेरैले टोपी दिवस र अङ्ग्रेजी नयाँ वर्षको शुभकामना सङ्गसँगै दिँदै पोस्टहरू गरेका छन्।

त्यस्ता पोस्ट गर्ने कतिपयले ढाका टोपी तथा भादगाउँले टोपी लगाएको आफ्नो तस्बिर पनि राखेका छन्।

टोपी दिवसको विरोध र समर्थन

कतिपयले चाहिँ टोपी दिवस मनाउनुको अर्थ नरहेको भाव व्यक्त गर्दै सामाजिक सञ्जालमा लेखेका छन्।

एक जना पत्रकार मधुसूदन पन्थीले ट्विटरमा लेखेका छन्, “पोसाकको पनि किन दिवस चाहियो? आफूलाई जे मन लाग्छ त्यही लगाउने हो। जे सहज हुन्छ, त्यही लगाउने हो। नेपालभरि सयौँ जातजातिका आफ्नै पोसाक छन्। ती सबै राष्ट्रिय पोसाक हुन्। एकथरिमा ताइँ न तुइँको राष्ट्रियता उर्लिएको छ फेरि।”

एमाले नेता भीम रावलले चाहिँ टोपी दिवसलाई देशको पहिचानसँग जोडेर शुभकामना दिएका छन्।

ट्विटरमा उनले लेखेका छन्, “… देशको पहिचान र इतिहास मेटेर त्यहाँको कुनै बासिन्दाका पहिचान र स्वाभिमान संसारमा रहन सक्दैन।”

तर उनको उक्त कुरामा एमालेकै युवा नेता उषा किरण तिम्सिनाले असहमति जनाएकी छन्।

उनले रावललाई प्रतिउत्तर दिँदै लेखेकी छन्, “यो पूरै पुरुषहरूको पोसाक दिवस हो।“

एक जना कृषिविद् कृष्णप्रसाद पौडेलले चाहिँ सबै खाले टोपीको मर्म बुझेर सम्मान गर्नुपर्ने धारणा ट्विटरमा व्यक्त गरेका छन्।

राप्रपाकी केन्द्रीय सदस्य सन्तोषी शाहीले टोपी दिवसको शुभकामना दिएकी छन्।

एकजना साहित्यकार सीमा आभाषले चाहिँ टोपी दिवसमा महिलाहरूले टोपी लगाएकोबारे प्रश्न गरेकी छन्।

उनले ट्विटरमा लेखेकी छन्, "पोहोर पनि भनेकी थिएँ यो पाली पनि भनेँ, टोपी दिवसमा दिदीबहिनीले ढाकाटोपी लगाएर सामाजिक सञ्जालमा फोटो किन खसाएका ? फेरिअघिपछि लगाएको देख्तिनँ।"

पूर्व जलस्रोत सचिव शीतलबाबु रेग्मीले चाहिँ टोपी दिवसको आधिकारिकताबारे प्रश्न गरेका छन्।