नेपाल उपनिर्वाचन: तीनवटै निर्वाचन क्षेत्रमा झण्डै आधा मतदान

तनहुँ-१, बारा-२ र चितवन-२ मा जारी प्रतिनिधिसभा सदस्य चयन गर्ने उपनिर्वाचन अधिकांश ठाउँमा शान्तिपूर्ण रहेको र ती सबै क्षेत्रमा अपराहन्नसम्म लगभग आधाजसो मत खसेको निर्वाचन आयोगले जनाएको छ।
बिहान ७ बजे सुरु भएको मतदानमा साढे तीन बजेसम्ममा सबैभन्दा बढी चितवनमा ५५ प्रतिशतभन्दा धेरै मत खसेको आयोगले जनाएको छ। तनहुँमा ४८ प्रतिशतभन्दा धेरै र बारामा ४५ प्रतिशतभन्दा केही बढी मत खसेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बीबीसीलाई बताएका छन्।
तनहुँ र चितवनमा शान्तिपूर्ण ढङ्गमा चुनाव भइरहेको चितवन र पोखरास्थित हाम्रा संवाददाताहरूले जनाएका छन्।
बारामा मतदानस्थल नजिकै आएका भनिएका अन्य जिल्लाका चारजना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको वीरगञ्जस्थित हाम्री संवाददाता माधुरी महतोले जनाएकी छन्।
तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति, बारा-२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएसँगै त्यहाँ नयाँ सांसदका लागि उपनिर्वाचन भइरहेको हो।



तस्बिर स्रोत, rss
चितवन-२ त्यहाँबाट निर्वाचित रवि लामिछानेको सांसद पद उनको नागरिकता विवादमा सर्वोच्च अदालतले खारेज गरिदिएपछि पुन: चुनाव भएको हो जसमा लामिछाने स्वयंसमेत उम्मेदवार छन्।
आज दिउसो चितवनकै नवकिरण माविमा रवि लामिछाने र अन्य दल पक्षधरबीच विवाद हुँदा तीन घण्टाभन्दा बढि समय अवरुद्ध बनेको मतदान रास्वपाले माफी माग्नेगरी भएको सर्वदलीय सहमतिपछि पुन: सुरु गरिएको त्यहाँ रहेका बीबीसी संवाददाता ईश्वर जोशीले बताएका छन्।
रवि लामिछाने पक्षधहरूले उनको पक्ष नाराबाजी गरेसँगै उत्पन्न उक्त विवादलाई नियन्त्रणमा लिने क्रममा विद्यालय परिसरबाहिर प्रहरीले बल प्रयोग समेत गरेको थियो।
आयोगका सहायक प्रवक्ता अर्याल भन्छन्, “त्यस केन्द्रमा समय थप्नेबारे केही सोचिएको छैन। पाँच बजेभित्र मतदान केन्द्र पुग्नुहुने सबैले त्यो नसकिँदासम्म भोट हाल्न पाउनुहुन्छ।”
चितवनको उपनिर्वाचनमा १२ दल र १० स्वतन्त्र गरी २२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

तस्बिर स्रोत, RSS
बारा-२ मा १० जना राजनीतिक दल र २४ जना स्वतन्त्र गरी ३४ जना उम्मेदवार छन्।
तनहुँ-१ मा भने सबै ९ जना राजनीतिक दलका उम्मेदवार छन्।
निर्वाचन आयोगले शारीरिक अपाङ्गता, क्रियापुत्री, वृद्धवृद्धा र जटिल स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई मतदान केन्द्रसम्म पुग्न विशेष व्यवस्थाका लागि अनुमति दिने र प्राथमिकताका साथ मतदानमा सहभागि गराउन निर्देशन दिएको जनाएको छ।

तस्बिर स्रोत, Ishowr Joshi/BBC

तस्बिर स्रोत, RSS

तस्बिर स्रोत, RSS
निर्वाचन आयोगले चुनावकै दिन मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले बारा-२ मा 'अनुमतिबिना' गरेको भ्रमणलाई लिएर त्यहाँ पुग्नुको कारण स्पष्ट पार्न भन्दै स्पष्टिकरण सोधेको छ।
उक्त क्षेत्रका केही मतदान केन्द्रमा बुथहरू सुरक्षित नरहेको र कब्जा हुनसक्ने भन्दै नेताहरूबाट सार्वजनिक अभिव्यक्ति आउन थालेपछि थप सुरक्षाकर्मी पठाइएको आयोगका सहायक प्रवक्ता अर्यालले बीबीसीलाई बताए।

तस्बिर स्रोत, Madhuri Mahato/BBC

तस्बिर स्रोत, Madhuri Mahato/BBC

तस्बिर स्रोत, RSS











