नेपाल उपनिर्वाचन: चितवन, बारा र तनहुँमा सङ्घीय सांसद चयनका लागि बिहानैदेखि मतदान

उपनिर्वाचन

नेपालका तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा आइतवार बिहान सात बजेबाट मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ।

तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति, बारा-२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएसँगै त्यहाँ नयाँ सांसदका लागि उपनिर्वाचन भएको हो।

चितवन-२ मा भने त्यहाँबाट निर्वाचित रवि लामिछानेको सांसद पद उनको नागरिकता विवादमा सर्वोच्च अदालतले खारेज गरिदिएपछि पुन: चुनाव भएको हो जसमा लामिछाने स्वयं समेत उम्मेदवार छन्।

कुल ६५ जना उम्मेदवारले प्रतिस्पर्धा गरिरहेको यस उपनिर्वाचनमा तनहुँ-२ मा दलीय उम्मेदवारहरू मात्र छन् भने बाँकी दुईमा उल्लेख्य सङ्ख्यामा स्वतन्त्र उम्मेदवारहरू समेत प्रतिस्पर्धामा छन्।

उपनिर्वाचनका लागि भनेर सरकारले तीनवटै निर्वाचन क्षेत्रमा सार्वजनिक बिदा दिएको छ। 

मतदान साँझ पाँच बजेसम्म चल्नेछ। तर उक्त समयभित्र मतदान केन्द्र प्रवेश गरिसकेका मतदाताले त्यसपछि समेत मतदान गर्न पाउने आयोगका एकजना प्रवक्ताले बताएका छन्।

उपचुनाव क्षेत्रको अवस्था कस्तो छ?

उपनिर्वाचन

हाम्रा संवाददाता ईश्वर जोशीका अनुसार चितवनमा मतदान केन्द्रमा मानिसहरूको बिहानैदेखि मानिसहरूको भीड देखिएको छ।

"दिउँसो गर्मी हुने भएकाले पनि मानिसहरू बिहानैदेखि लाइनमा बसेका छन्," उनी भन्छन्।

"मतदान केन्द्रहरूमा मानिसहरूको उल्लेख्य उपस्थिति देखिन्छ। एउटा मात्रै बुथ भएका मतदान स्थलमा अझ धेरै भीड लागेको छ।"

चितवनको कविलास माध्यमिक विद्यालयमा राखिएको एक केन्द्रमा १०४ वर्षकी गोरीमाया गुरुङले मतदान गरेकी छन्। 

हाम्री संवाददाता माधुरी महतोका अनुसार बारा जिल्लाका ८२ वटा मतदानस्थलमध्ये ६५ वटालाई सुरक्षाका हिसाबले 'अति संवेदनशील' भनेर वर्गीकरण गरिएको छ।

कमजोर पूर्वाधार भएका र सीमा क्षेत्रमा पर्ने अनि भिडभाडको जोखिम रहेका स्थलहरूलाई ध्यान दिएर जिल्ला प्रशासनले सुरक्षा योजना लागु गरेको हो।

बारा

तस्बिर स्रोत, Madhuri Mahato/BBC

अधिकारीहरूले एउटा मतदान केन्द्रमा १० देखी ३० जना सुरक्षाकर्मी खटाएको बताउँदै बाराको उपचुनावका लागि करिब ३ हजार सुरक्षाकर्मी जिल्लाभर परिचालित भएको जानकारी दिएका छन्।

मतदाताको थप-घट

तीन वटा निर्वाचन क्षेत्रमा ४ मङ्सिरमा भएको निर्वाचनको लागि प्रकाशित अन्तिम मतदाता नामावलीको तुलनामा बारा र चितवनका क्षेत्रमा उपनिर्वाचनमा केही मतदाता बढेका छन्।

तनहुँको निर्वाचन क्षेत्रमा भने मतदान केही घटेका पाइन्छन्।

  • बारा-२: १,०५,२४८ (थप २३७)
  • चितवन-२: १,२४,६९५ (थप ४८०)
  • तनहुँ-१: १,२३,३०५ (कम १३५)

आयोगका अनुसार यस उपनिर्वाचन १९४ मतदान स्थलका ४२७ मतदान केन्द्रमा मतदान भइरहेको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, निर्वाचनमा 'नो भोट'को व्यवस्था कति सम्भव?

मतदान अवधिभर समेत मौन अवधिकै नियम लागु हुने बताउँदै त्यसबिचमा प्रचारप्रसार गर्ने वा प्रलोभनमा पार्ने कुनै पनि काम गर्न नपाइने निर्वाचन आयोगका अधिकारीहरूले बताएका छन्।

'सहज मतदान'

समानुपातिकतर्फ मतदान गर्न नपर्ने एवं प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक दुवैको भार नरहेकाले यस पटकको मतदान र मतगणना दुवै पहिलेभन्दा सहज हुने आयोगका अधिकारीहरू बताउँछन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, नेपाल निर्वाचन: 'विकास होस्, भ्रष्टाचार नहोस्'

"पहिले चार वटा मतपत्र हुनेमा यस चुनावमा एउटा मात्र मतपत्र छ," निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल भन्छन्।

"तर मतदान गर्ने तरिका पहिलेको जस्तै हो- सेतो कागजमा रातो मसीले छापिएको मतपत्रको चुनाव चिन्हमा स्वस्तिक छाप लगाएर मत खसाल्ने।"

सहायक प्रवक्ता अर्यालका अनुसार मतदाता नामावलीमा नाम भएर पनि मतदाता परिचय पत्र हात नपरेको वा हराएको अवस्थामा पाँच प्रकारका परिचयपत्रका भरमा मतदान गर्न सकिनेछ।

उनी भन्छन्, "ती नागरिकता, लालपुर्जा, राहदानी, सवारी चालक अनुमति पत्र र राष्ट्रिय परिचयपत्र रहेका छन्। जसको फोटो स्पष्ट बुझिने सक्कली प्रति बोकेको हुनुपर्छ।"

उम्मेदवार र नतिजा

मतदान केन्द्र

तस्बिर स्रोत, Madhuri Mahato/BBC

तस्बिरको क्याप्शन, बारास्थित एक मतदान केन्द्र

बारा-२ मा ३४, तनहुँ-१ मा ९ र चितवन-२ मा २२ गरी कुल ६५ उम्मेदवार निर्वाचनमा सहभागी छन्।

एउटा मात्र मतपत्र भएका कारण "कुनै विवाद नभएमा गणना सकिएको २४ घण्टाभित्र नतिजा सार्वजनिक हुनसक्ने" आयोगले अनुमान गरेको छ।

"४ मङ्सिरमा चारवटा पानामा हुने छुट्टाछुट्टै मतपत्रमा मतदान गरेकाले ३ देखि ५ मिनेट लागेको थियो, यसपटक त्यस्तो समय लाग्दैन," सहायक प्रवक्ता अर्याल भन्छन्।

"गणना समेत आइतवार रातीबाट गन्न सुरु भएमा सोमवार रातीसम्म आइपुग्न सक्छ।"

मतगणनाको काम जिल्ला सदरमुकामहरूमा हुने बताइएको छ।

नेपालको संविधानले सङ्घीय संसद् अन्तर्गत १६५ सिट पहिलो हुनेले जित्ने प्रणालीबाट र ११० वटा सिट समानुपातिक प्रणालीबाट निर्वाचित हुने व्यवस्था गरेको छ।

संसद्को आयु ६ महिनाभन्दा बढी रहेको अवस्थामा कुनै पनि सिट रिक्त भएको खण्डमा जुन प्रणालीबाट सांसद चुनिएको हो त्यहीबाट परिपूर्ति गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

यातायात प्रभावित

मतदानको समयमा निर्वाचन भएका क्षेत्रमा सार्वजनिक तथा निजी यातायात आवागमन रोकिएको छ।

निर्वाचन आयोग

तस्बिर स्रोत, Reuters

आयोगले यातायात व्यवस्थापनको जिम्मा स्थानिय प्रशासनलाई दिएपछि उनीहरूले एकैखाले निर्णय गर्दै निर्वाचन क्षेत्र छुने राष्ट्रिय राजमार्गहरूमा समेत अत्यावश्यक बाहेकका सवारीसाधन चलाउन नदिइने बताएका छन्।

चितवनको निर्वाचन क्षेत्रमा महेन्द्र राजमार्ग र काठमाण्डु र पोखरा जोड्ने नारायणगढ-मुङ्लिन खण्ड पर्छ भने तनहुँको निर्वाचन क्षेत्रमा पृथ्वी राजमार्ग पर्छ।

बाराको निर्वाचन क्षेत्रमा भने मुख्य राजमार्ग पर्दैन।

"लामो दूरीका गाडीलाई सुरुमा स्कर्टिङ गर्नेबारे सोचिए पनि त्यो सम्भव नहुने ठानेर यस्तो विकल्पमा गएका हौँ," चितवन जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माले भने।

"बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म त्यसरी यातायात सञ्जालनमा रोक लगाइएको छ।"

उपनिर्वाचन

तस्बिर स्रोत, Madhuri Mahato/BBC

आयोगले एक विज्ञप्तिमार्फत् "दृष्टिविहीन वा शारीरिक रूपले पूर्ण अशक्त वा अति अशक्त अपाङ्गताको प्रमाणपत्र भएको वा कुनै दुर्घटनामा परी वा अन्य कारणले आफैँ मतदान कक्षमा गई एक्लै मतदान गर्न असमर्थ व्यक्ति"का हकमा मतदान अधिकृतले छुट्टै व्यवस्था गर्न सक्ने जनाएको छ।

जसमा "आफैँ मत सङ्केत गर्न नसक्ने मतदाताका हकमा एकाघरको परिवारको सदस्यलाई मतदान कक्षमा जान अनुमति दिई मतदान अधिकृतको रोहबरमा सम्बन्धित मतदाताले भने बमोजिमको निर्वाचन चिन्हमा मत सङ्केत गर्ने उपयुक्त व्यवस्था मिलाउने" भनिएको छ।

त्यसैगरी "अशक्त ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी वा गर्भवती वा आफ्नो काखे बच्चा साथमा भएकी महिला, किरियापुत्री आदि जस्ता मतदातालाई मतदान गर्ने कार्यमा प्राथमिकता दिई सहज रूपमा मतदान गर्ने व्यवस्था मिलाउन" समेत आयोगले निर्देशन दिएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, नेपाल निर्वाचन: मेशिनको प्रमाणीकरणमा निर्वाचन आयोगको आशङ्का