'जेन जी'ले चाहेको प्रधानमन्त्री कस्तो, प्रधानमन्त्रीमा दाबी ककसको छ

सिंहदरबारअगाडि नेपालको झन्डा बोकेका जेन जी प्रदर्शनकारी

तस्बिर स्रोत, Reuters

    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै देखिएको रिक्ततामा संसद्‌‌बाहिरबाट अन्तरिम प्रधानमन्त्री बनाउने अभ्यास सुरु भएको प्रधानसेनापतिसँग वार्तामा बसेको दाबी गर्ने 'जेन जी' प्रतिनिधि, मेडिकल व्यवसायी दुर्गा प्रसाई र धरान उपमहानगरका मेयर हर्क साम्पाङले बताएका छन्।

अहिलेको संविधानले संसद्‌का सदस्यबाट मात्रै प्रधानमन्त्री बन्ने व्यवस्था गरेका कारण दुई दिनसम्म देशैभरि प्रदर्शन गरेका 'जेन जी' पुस्ताको भावनाअनुसारको नयाँ सरकार बनाउने प्रक्रियामा अन्योल देखिएको कतिपयले औँल्याएका छन्।

अर्कोतर्फ वार्ताका लागि पुगेका र आफूलाई 'जेन जी' प्रदर्शनका आधिकारिक प्रतिनिधि दाबी गर्नेहरू नै विभाजित देखिएपछि आन्दोलनको मागअनुसारको नयाँ सरकार गठन प्रक्रिया लम्बिएको उनीहरूले बताएका छन्।

प्रधानमन्त्रीको दाबी ककसले गरे?

एक जना जेन जी प्रदर्शनकारी नेपालको नक्सा बोकेर प्रदर्शनमा

तस्बिर स्रोत, Reuters

'जेन जी' प्रतिनिधिहरूको एक समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नयाँ प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेको छ। कार्कीले पनि आफू त्यसका लागि तयार रहेको अभिव्यक्ति केही सञ्चारमाध्यमलाई दिएकी छन्।

यसअघि 'जेन जी' प्रदर्शनका क्रममा कतिपयले काठमाण्डू महानगरपालिकाका मेयर बालेन शाहको नाम भावी प्रधानमन्त्रीका रूपमा लिएका थिए। तर उनी आफैँले पनि कार्कीको नाममा समर्थन जनाउँदै नेतृत्वका लागि हतार नगर्न अरूलाई भनेका छन्।

"अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने—तपाईँहरूको जोस, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारिता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नुहोला," बालेनले फेसबुकमा लेखेका छन्।

आफू 'जेन जी' पुस्ता नभएका कारण प्रदर्शनमा सहभागी नहुने घोषणा गरेका शाहले 'जेन जी'का नाममा प्रधानमन्त्रीको रूपमा कार्कीलाई गरेको सिफारिसबारे कतिपयले भने प्रश्न उठाएका छन्। उनीहरूले कार्कीलाई प्रधानमन्त्री मान्न नसकिने अभिव्यक्ति समेत दिइरहेका छन्।

'जेन जी'को एउटा समूहबाट अन्तरिम प्रधानमन्त्रीका रूपमा अघि सारिएका अर्का उम्मेदवार हुन् मङ्गलवार मात्रै काठमाण्डू आएका धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ। बुधवार प्रधानसेनापतिसँगको भेटपछि साम्पाङले आफू पनि प्रधानमन्त्री बन्न तयार रहेको सञ्चारमाध्यमसँग बताएका छन्।

बीबीसीले साम्पाङसँग कुरा गर्ने प्रयास गरेको थियो तर सफल हुन सकेन।

त्यसअघि प्रधानसेनापतिसँग भेट गरेका व्यवसायी दुर्गा प्रसाईले 'जेन जी'ले चाहेको प्रधानमन्त्रीको उम्मेदवारमा आफ्नो समर्थन हुने तर कोही अघि नबढे आफू पनि प्रधानमन्त्रीका लागि तयार रहेको बताएका छन्।

प्रधानसेनापतिसँगको वार्तामा उनको उपस्थितिबारे 'जेन जी'का कतिपय प्रतिनिधिले सार्वजनिक टिप्पणी गरेका थिए।

दुर्गा प्रसाई के भन्छन्?

प्रधानसेनापतिसँगको भेटमा दुर्गा प्रसाई

तस्बिर स्रोत, Durga Prasai/FB

बीबीसीको जिज्ञासामा प्रसाईले भ्रष्टाचारविरुद्ध आवाज उठाएको भएका कारण प्रधानसेनापतिले बोलाएरै आफू वार्ताका लागि पुगेको बताए।

"जेन जी भनेका हाम्रै बच्चा होइनन्? उनीहरूले भन्दा आउने नआउने कुरा हुँदैन नि त। खै त नेता 'जेन जी'को? म हो नेता भनेर निस्कनुपर्‍यो नि त," 'जेन जी' सँगको वार्तामा उनको उपस्थितिबारे सोधिएको प्रश्नमा प्रसाईले बीबीसी न्यूज नेपालीसँग भने।

उनले आफू प्रधानसेनापतिलाई भेट्न पुग्दा सैनिक मुख्यालयमै 'जेन जी'का प्रदर्शनकारी दाबी गर्ने फरकफरक समूह विवाद गरिरहेको देखेको दाबी गरे।

"मैले के भनेँ भने म प्रधानमन्त्री हुन आएको पनि होइन, मलाई चाहिन्छ भनेको पनि होइन। देशले माग्यो, आवश्यकता पर्‍यो भने देखि पछि हट्दिनँ," प्रधानसेनापतिसँगको कुराकानीबारे उनले भने।

प्रसाईले 'जेन जी'को आह्वानमा भएको आन्दोलन उनीहरूको मात्रै नभएर सबै नेपालीको भएको बताए।

"जेन जी ले चाहेको मान्छे प्रधानमन्त्री बनाउनू, हामीलाई केही छैन। हामी सबैको देश होस्। समयमा चुनाव होस्। फेरि मुलुक लयमा जाओस्, हामी सबैको आन्दोलन हो," उनले भने।

प्रसाईले 'जेन जी'ले चाहेको व्यक्ति प्रधानमन्त्री बनाएर निर्वाचन गर्ने वा नेपाली सेनाले आफैँ सत्ता हातमा लिएर निर्वाचन गर्नुपर्ने विकल्प आफूले देखेको बताएका छन्।

प्रसाईले संविधानभित्रैबाट निकास आफूले नदेखेको बताए पनि 'जेन जी'का एक अभियानकर्मीले भने संविधान नभए कानुनी रिक्तता हुने र राष्ट्रिय सुरक्षाका कतिपय विषयमा पनि खतरा उत्पन्न हुने बताएका छन्।

"हाम्रो संविधान पूरा त्याग गर्ने भनेको हैन। यसलाई खारेज नगर्ने," 'जेन जी'को आन्दोलनको नेतृत्व गरेको दाबी गरेका सुदन गुरुङले पत्रकार सम्मेलनमा भनेका छन्।

"प्राविधिक कुरा बुझ्न पर्‍यो। संविधान पूरै चाहिँदैन भनेर नहुने रहेछ।"

'जेन जी'ले कस्तो प्रधानमन्त्री चाहेको छ?

प्रधानमन्त्री कार्यालयका जेन जी प्रदर्शनकारी नेपालको झण्डासहित

तस्बिर स्रोत, EPA/Shutterstock

धेरै जनाले प्रधानमन्त्रीमा आकाङ्क्षा राखिरहेको प्रसङ्ग उल्लेख गर्दै गुरुङले आफूहरूलाई अनुभवी प्रधानमन्त्री चाहिएको बताए।

"हामी त्यहाँ अनुभवी छौँ त? हामीसँग पूरै ज्ञान छैन होला नि त," आफूहरू पहरेदारको रूपमा बस्नुपर्ने र परिपक्व व्यक्ति प्रधानमन्त्री भएर जानुपर्ने उनले बिहीवारको पत्रकार सम्मेलनमा बताए।

"यो जेन जी को मात्रै होइन, हरेक नेपालीको आन्दोलन हो। त्यहाँ राम्रो मान्छे पठाउनुपर्छ," गुरुङले भनेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।