आमाको उपचार खर्च जुटाउन उत्तराखण्ड गएका ४२ वर्षे नेपाली बेपत्ता, शिशुसहित बर्दियाका दम्पती पनि 'पुरिए'

तस्बिर स्रोत, EPA/Shutterstock
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
- Author, विमला चौधरी
- Role, नेपालगन्ज
बिरामी आमाको उपचारका लागि र दशैँ खर्चको जोहो गर्ने सपना बुनेर जाजरकोटका ४२ वर्षीय कर्णबहादुर सिंह भारतको उत्तराखण्ड पुगेको दुई महिना पनि भएको थिएन।
कुशे गाउँपालिकाको ढौरगाउँमा भएको अलिकति खेतमा धान रोपाइँ सकेर भारतको उत्तराखण्ड गएका सिंह उत्तरकाशीको धरालीमा गत मङ्गलवार आएको बाढीपछि सम्पर्कविहीन छन्।
उत्तराखण्डमा आएको बाढी र पहिरोमा हराइरहेका कैयौँ नेपालीहरूमा कर्णबहादुर सिंह पनि रहेको खबर दुई दिन पछि मात्रै थाहा पाएका उनकी आमा र श्रीमती दोहोरो चिन्तामा परेका छन्।
"जानुभएको दुई महिना हुन लाग्यो। मामूलाई अस्पताल लैजान्छु भनेर जानुभा हो। खेतीपाती लायो अब दशैँसम्म आउँछु भनेर जानुभा हो," कर्णबहादुरकी पत्नी निरुता शाही सिंहले बीबीसी न्यूज नेपालीलाई टेलिफोनमा भनिन्।
"यहाँ रोजगारी पनि नाइँ, केही नाइँ। खर्च पानी हुने भए त नजानु हुने हो। गरिब अवस्था भयो केही गरूँला आमालाई औषधि गरुँला, खर्चपानी दशैँको गरूँला भनेर जानुभा हो।"
उनका अनुसार उनकी सासू अशक्त छिन्। उनलाई सास बढ्ने र शरीर सुन्निने समस्या छ।
"यहाँ सन्चो हुँदैन। तलतिर लिएर जाने भनेर जानुभा हो," निरुता भन्छिन्।

तस्बिर स्रोत, Family Handout
वडाध्यक्ष मानबहादुर सिंहका अनुसार उक्त वडाका पाँच जना हराइरहेको जानकारी धरालीमा रहेका गाउँकै एक युवकले दिएका छन्।
"असारको खेतीपाती लगाएर दशैँतिहारमा घर फर्किने गरी जानुभएकाहरू बेपत्ता भएको खबर आएको छ। उहाँहरू त्यहाँ बस्ने ठाउँ होइन। सामान किन्न जाँदा त्यस्तो घटनामा परेको भन्ने आएको छ," उनले भने।
"त्यहाँ कुनै पनि सञ्चार छैन। सेनाको वाइफाइ जडान गरेर यहाँकै सुशील सिंहले पठाएको भोइस मेसिजमा बेपत्ता भएको भन्ने आएको हो। त्यसपछि कुनै सम्पर्क छैन। सम्पर्क गर्ने माध्यम पनि छैन।"
१८ महिनाको शिशुसँग परिवारै बेपत्ता
उत्तराखण्डकै पौडी गढवाल जिल्लाको खटोरामा पहिरोमा पुरिएर पाँच नेपालीहरू हराइरहेको जानकारी दिल्लीस्थित नेपाली दूतावासले पाएको छ।
खटोरामा बन्दै गरेको सडकमा मिस्त्री काम गर्न गत असार ६ गते बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ६ सानोश्रीबाट अठारमहिने छोरा पनि लिएर गएका एक दम्पती र उनीहरूका शिशु पनि बेपत्ता छन्।
साउन २१ गते बिहान ८ बजे खाना खाएर काममा जाने तयारी गरिरहेका बेला एक्कासि लेदोसहित बाढी आएको नेपालबाट कामदार लिएर गएका चित्र पौडेलले परिवारलाई जानकारी गराएका छन्।

तस्बिर स्रोत, FamilyHandout
उनका अनुसार त्यहाँ रहेका अधिकांश कामदारहरू भागेर ज्यान जोगाउन सफल भएका थिए। तर ३९ वर्षका नरेन्द्र श्रीमती र छोरीलाई लिन छाप्रोमा छिरेकै बेला पहिरोले पुरेको बमराज खड्काले बताएका छन्।
"चित्र पौडेलले सबै जना बाहिर निस्केर भाग भनेर चिच्याउँदा अन्य कामदारहरू भागेछन्, नरेन्द्र पनि एक पटक बाहिर निस्किएर फेरि श्रीमती र छोरालाई लिन छाप्रोभित्र पस्दा पुरिए भन्ने जानकारी आयो," उनले भने।
नरेन्द्रको घरमा अहिले उनका आमा, बुवा, भाइ र बुहारी छन्। नरेन्द्रको दम्पती रोजगारीका लागि यसअघि पनि भारत जाने आउने गरेको थियो।
केही समयअघि मात्रै भारतबाट फर्केर उनीहरूले पक्की घर बनाउन सुरु गरेका थिए। तर नरेन्द्र फेरि थप आयआर्जन हुने आशमा उत्तराखण्ड गएको परिवारले जनाएको छ। नरेन्द्रको परिवार सामान्य खान लाउन पुग्ने आर्थिक स्थितिको रहेको आफन्तहरूले बताएका छन्।
उत्तरकाशीमा कति नेपाली बेपत्ता

तस्बिर स्रोत, Reuters
प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक पनि परेको खबर आएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। तर उक्त सङ्ख्यामा नेपाली बेपत्ता भएको स्वतन्त्र पुष्टि हुन सकेको छैन।
"उनीहरूको उद्धारको लागि दूतावास मार्फत् तत्काल कूटनीतिक छलफल भएको थियो," प्रधानमन्त्रीले भनेका छन्।
परराष्ट्रमन्त्री आरजू राणा देउवाले पनि बेपत्ता नेपालीहरूको खोजी र उद्धारका लागि सरकारले कूटनीतिक पहल सुरु गरिसकेको बताएकी छन्।
"नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई हराएका नेपाली नागरिकहरूको खोजी तथा उद्धारका लागि भारत सरकारसँग समन्वय गरी तदारुकताका साथ लाग्न निर्देशन दिएकी छु," राणाले शुक्रवार फेसबुकमा लेखेकी छन्।
दिल्ली स्थित नेपाली दूतावासका नियोग उपप्रमुख सुरेन्द्र थापाका अनुसार उत्तराखण्डको दुई स्थानमा बाढी र पहिरोमा नेपाली नागरिकहरू बेपत्ता भएको खबरपछि दूतावासले स्थानीय अधिकारीहरूसँग समन्वय गरिरहेको छ।
उनका अनुसार उत्तरकाशीको धरालीमा २० जना नेपाली बस्ने गरेको जानकारी दूतावासले पाएको छ। तीमध्ये कति जना बेपत्ता छन् भन्ने शुक्रवार मध्याह्नसम्म यकिन हुन सकेको छैन। त्यहाँ जीवितै उद्धार गरिएका र मृत फेला परेकामध्ये कुनै पनि नेपाली नागरिक नरहेको स्थानीय प्रशासनले नेपाली पक्षलाई जानकारी गराएको छ।
"त्यहाँ होटलहरू ४०-५० फिटसम्म लेदोले पुरिएको जानकारी आएको छ। त्यहाँ रहेका र काम गर्ने मान्छेहरू नेपाली रहेको हुन सक्ने सम्भावना छ," थापा भन्छन्।
"त्यहाँ बेपत्ता हुनेको यकिन सङ्ख्या आइसकेको छैन। त्यहाँ अहिले बिजुली र टेलिफोन पनि नभएका कारणले पनि मानिसहरू सम्पर्कविहीन भएका हुन सक्छन्। पुरिएका कारण कति र अन्य कारण कति सम्पर्कविहीन भएका हुन् अहिले नै भन्न सकिँदैन।"
वडाध्यक्ष सिंहका अनुसार त्यहाँको यहाँको बाढीपछि बेपत्ता हुनेहरूमध्ये रुकुम पश्चिम र जुम्लाका पनि एक-एक जना रहेको जानकारी सुशील सिंहले जाजरकोटमा रहेका आफन्तहरूलाई दिएका छन्।
बर्सेनि भारत जाने बाध्यता

तस्बिर स्रोत, Hikmat Bahadur Rawal
जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत आफ्नो क्षेत्रबाट रोजगारीका लागि भारत जानुपर्ने बाध्यतामा कर्णालीका मानिसहरू रहेको बताउँछन्।
"पो पटक मात्रै होइन बर्सेनि जाजरकोटबाट मात्रै होइन नेपालका अन्य ठाउँबाट पनि भारत जाने चलन छ। त्यो बाढी आएको पर्यटकीय क्षेत्र भएका कारण पनि बलिया मान्छेहरू त्यहाँ भारी बोक्न र अन्य कामका लागि जाने चलन छ," उनले भने।
कर्णालीका मानिसहरू वर्षको दुई पटक कमाइका लागि भारत जाने गरेका छन्। असार अन्त्यतिर जाने अधिकांश नेपालीहरू स्याउ टिप्ने कामका लागि पुग्छन् भने हिउँद सकिएपछि जाने नेपालीहरूले गोडमेल गर्ने अन्य काम पाउँछन्।
'क्लाउड बर्स्ट' भएर बाढी आएको उत्तरकाशी र भारतको चर्चित तीर्थस्थल केदारनाथ क्षेत्रमा चाहिँ भरियाका रूपमा काम गर्न पनि नेपालीहरू जाने गरेका छन्।
युवाहरू खाडी जाने प्रचलन बढ्दै गए पनि अधबैँसे उमेरका मानिसहरू सपरिवार भारत जाने गरेको जाजरकोटको नलगाड हल्चौरका रामप्रसाद खत्री बताउँछन्।
"गरिबीका कारणले, बालबच्चा पढाउने खान लाउन वर्षभरि नपुग्ने कारणले हो इन्डिया जाने। दशैँतिहार मान्नका लागि खर्च, बच्चाबच्चीको पढाइको खर्च... यताउतिका लागि जाने हो," जाजरकोटको खत्री भन्छन्।
"यहाँ [अवसर] छैन। बेरोजगार छन् सबै। अनि इन्डिया नगई नहुने बाध्य भएर पनि हो।"

तस्बिर स्रोत, Kushe Rural Municipality
असार सकेर भारतका विभिन्न ठाउँ काम गर्न जाने नेपालीहरू दशैँ मान्न आउने गरेको वडाध्यक्ष मानबहादुर सिंहले जानकारी दिए।
"यहाँ उब्जनी हुँदैन। वर्षभरि खान लाउन पुग्दैन," सिंह भन्छन्, "भारत जानुपर्ने बाध्यता छ।"
उनका अनुसार उनको गाउँबाट गएका पुरुषहरू सामानको भारी र तीर्थयात्रीलाई बोक्ने काम गर्छ भने महिलाहरू स्थानीय होटलमा काम गर्छन्।
सुर्खेतबाट प्रकाश पन्तको थप रिपोर्टिङ
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








