काठमाण्डूका अग्ला भवनमा आगो लागे निभाउन न दमकल छ, न भर्‍याङ नै

काठमाण्डूमा जेन जी प्रदर्शनका क्रममा जलेको हिल्टन होटेल

तस्बिर स्रोत, AFP via Getty Images

तस्बिरको क्याप्शन, गत भदौ २४ को प्रदर्शनका क्रममा हिल्टन होटेलमा लगाइएको आगो केही दिनसम्म निभेको थिएन
    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

काठमाण्डू महानगरपालिकाले ३० मिटर उचाइका भवनसम्म आफ्ना अग्निनियन्त्रकलाई पुर्‍याउन सक्ने अत्याधुनिक दमकलसहितको भर्‍याङको परीक्षण भर्खरै बनेको नक्सालस्थित हिल्टन होटेलमा दुई वर्षअघि गरेको थियो।

उक्त परीक्षणमा हिल्टन होटेलका सबैभन्दा माथिल्लो तलासम्मै आगो निभाउन सकिने विश्लेषण महानगरका अग्निनियन्त्रकले गरेका थिए।

तर गत भदौ २४ को प्रदर्शनका क्रममा हिल्टन होटेलमा साँच्चिकै आगजनी भयो। प्रदर्शनकारीले लगाएको आगो कैयौँ दिनसम्म पनि बलिरहँदा समेत महानगरको दमकलले निभाउन सकेन। यसअघि परीक्षण गरिएको अग्ला भवनमा आगो निभाउने भर्‍याङसहितको दमकल बिग्रिएकाले त्यस्तो अवस्था उत्पन्न भएको जुद्ध वारुणयन्त्र कार्यालयले दाबी गरेको छ।

"गत वर्षसम्म हामीले १० तलासम्म आगलागी नियन्त्रण गरिरहेका थियौँ। दुर्भाग्यवश हाम्रो उपकरण भर्‍याङ बिग्रिएको कारणले गर्दा अग्ला भवनमा तत्कालका लागि हामी असमर्थ छौँ," महानगरपालिकाअन्तर्गत रहेको उक्त कार्यालयका प्रमुख विष्णु जोशीले भने।

दमकल र भर्‍याङ खरिदका लागि प्रक्रिया बढाइए पनि केन्द्र सरकारले युरो-६ मापदण्डका मात्रै खरिद गर्न निर्देशन दिएका कारण काम अघि नबढेको जोशी बताउँछन्।

"अहिले तीनचार तलासम्म मात्रै पुग्ने भर्‍याङ हामीसँग छन्। त्यसभन्दा माथि जानुपर्‍यो भने अहिले हामीसँग भर्‍याङ छैन।"

महानगरको विपद् व्यवस्थापन विभागका अनुसार राजधानी सहरको स्थानीय सरकारसँग रहेका ३० मिटर र २५ मिटर लामा दुवै मशीनरी भर्‍याङ बिग्रिएका छन्। युरोपमा बनेका ती दमकलका भर्‍याङ मर्मत गर्ने प्रयास भए पनि सफल नभएको जोशी बताउँछन्।

अग्ला भवनमा आगो निभाउने यन्त्र छैन

काठमाण्डू महानगरको अग्निनियन्त्रण उपकरण

तस्बिर स्रोत, Bishnu Joshi

हङ्‌कङमा बहुतले आवासीय भवनहरूमा भएको आगलागीमा ९० जनाभन्दा धेरैले ज्यान गुमाएसँगै नेपालमा पनि बढिरहेका गगनचुम्बी भवनहरू अग्निसुरक्षाका दृष्टिले असुरक्षित रहेको विज्ञहरूले बताएका छन्।

काठमाण्डूको नयाँसडकमा रहेको ऐतिहासिक जुद्ध वारुणयन्त्र अहिले महानगरपालिकाले व्यवस्थापन गर्दै आएको छ। जानकारहरूका अनुसार नेपालमा सबैभन्दा अत्याधुनिक वारुणयन्त्र रहेको काठमाण्डू महानगरपालिका नै हो।

महानगरपालिकासँग अहिले पाँच वटा मात्रै दमकल चालु अवस्थामा रहेको अधिकारीहरूले बताएका छन्।

"ती दमकलका म्यानुअल भर्‍याङ तीन-चार तलासम्म पुगे पनि त्यहाँबाट पानीको फोहराले थप केही मिटरमाथिसम्म आगो निभाउन चाहिँ सकिन्छ," जोशी भन्छन्।

महानगरपालिकाले गत फागुनमा ड्रोनमार्फत् 'फायर इक्स्टिङ्ग्विशर बल' खसालेर अग्ला भवनमा आगो निभाउन सकिनेबारे प्रयोग गरेको थियो।

"अग्ला भवनहरूमा ड्रोनबाट अग्निनियन्त्रक बल खसाउँदा त्यो छतमा मात्रै पुग्ने र घरका भित्री भागमा खसाल्न नसकिने रहेछ भन्ने निष्कर्षमा हामी पुग्यौँ," जोशीले भने।

कति तलासम्म बनाउन पाइन्छ भवन

काठमाण्डू उपत्यकामा देखिएका अग्ला भवनहरू

तस्बिर स्रोत, BBC/Ashok Dahal

नेपालमा अग्ला भवनहरूमा अग्निनियन्त्रण गर्ने व्यवस्था नभए पनि सरकारी निकायहरूले १०० मिटरसम्म वा २५ तलासम्मका भवन बनाउन अनुमति दिँदै आएको अधिकारीहरू बताउँछन्।

सबैभन्दा धेरै बहुतले भवन रहेको काठमाण्डू महानगरपालिकाका सहरी व्यवस्थापन विभाग प्रमुख हरिचन्द्र लामिछानेका अनुसार महानगरमा कति अग्लासम्म भवन बनाउन दिइने भन्ने स्पष्ट मापदण्ड छैन।

"पचास मिटरभन्दा अग्ला भवनहरू बनाउनका लागि अनुमति माग भएको अवस्थामा हामी नागरिक उड्डयन प्राधिकरणलाई सोध्छौँ। विमानस्थललाई असर नपर्ने हदसम्म त्यहाँबाट दिइने स्वीकृतिका आधारमा महानगरले नक्सा पास गर्ने गरेको छ," लामिछानेले बीबीसी न्यूज नेपालीसँग भने।

महानगरका अनुसार काठमाण्डूमा बन्नका लागि स्वीकृत गरिएको सबैभन्दा अग्लो भवन नारायणहिटी दरबार सङ्ग्रहालयको पश्चिमपट्टिको भवन हो। यो भवनले ९८.७ मिटर उचाइसम्म बनाउने अनुमति लिएको छ। केशरमहलसँगै गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष शेष घलेको एमआईटी ग्रूप होल्डिङ्सले बनाइसकेको उक्त भवनले होटेल सञ्चालनका भवन निर्माणको अनुमति लिएको छ।

सहरी विकास मन्त्रालयले गगनचुम्बी भवनहरूको परिभाषामा नौ तलादेखि ३९ तलासम्म वा २५ मिटरदेखि १०० मिटरसम्मका भवन भन्ने उल्लेख गरिएको छ।

भवन संहितामा अग्निसुरक्षाको मापदण्ड के छ

काठमाण्डूमा अग्निनियन्त्रण गरिँदै

तस्बिर स्रोत, KMC

सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत भवन संहिता तथा आवास शाखाका इन्जिनियर देवेन्द्रदेव खनाल अग्ला भवनहरूका लागि छुट्टै अग्निशमन मापदण्ड सरकारले लागु गरेको बताउँछन्।

"अग्ला भवनहरूमा चारैतिरबाट अग्निनियन्त्रणका लागि दमकल जान सक्ने ठाउँ छोड्न अनिवार्य गरिएको छ। धूवाँ भएपछि अलार्म बज्ने प्रणाली जडान, भवनमा आगलागी हुँदा आपत्कालीन रूपमा बाहिरिने बाटो, आगोले सहजै नभेट्ने अलग्गै लिफ्ट, फायर हाइड्रन्ट उपकरण जडानजस्ता कैयौँ मापदण्ड भवन संहितामा उल्लेख छन्," खनाल भन्छन्।

"पच्चीस मिटरभन्दा अग्ला सबै भवनमा प्रत्येक चार तल्लामा उद्धारका लागि एउटा बार्दली राख्ने नियम छ।"

नेपालमा अग्ला भवन निर्माणको अनुमति दिइँदै आए पनि ती भवनमा अग्निसुरक्षाको पर्याप्त मापदण्ड नअपनाइएको एक जना अग्निसुरक्षा इन्जिनियर रुकेश शिल्पकार बताउँछन्।

"हाम्रोमा अग्निसुरक्षालाई ध्यान दिएर भवनहरूको डिजाइन भएजस्तो मलाई लाग्दैन," शिल्पकार भन्छन्।

"हाम्रोमा इन्जिनियरिङ विषय अध्ययनका क्रममा पनि अग्निसुरक्षाको खासै पढाइ हुँदैन।"

अग्निसुरक्षाबारे प्रभावकारी पाठ्यक्रम नहुँदा आर्किटेक्टहरूले पनि भवनहरूको डिजाइनमा यसबारे आवश्यक ध्यान दिन नसकेको उनको बुझाइ छ।

"अहिले सस्तो र आकर्षक देखिने भएका कारण प्लास्टिकबाट बनेका सामग्रीहरू भवनका भित्री सजावटमा प्रयोग हुने प्रवृत्ति बढिरहेको छ। आगलागीका समयमा यस्ता सामग्री धेरै असुरक्षित हुन्छन्," शिल्पकार भन्छन्।

भवनहरूमा प्रयोग गरिएका अग्निनियन्त्रणका कतिपय उपकरणहरू आपत्कालीन अवस्थामा नचल्ने वा चलाउने चेतना मानिसहरूमा नरहेको आफूले पाएको शिल्पकारले बताए।

भवन संहिता शाखाका इन्जिनियर खनालको पनि यो विषयमा शिल्पकारको जस्तै बुझाइ छ।

उनले भदौ २४ को आगजनीमा पनि यो अवस्था देखिएको बताए।

"भदौको आगलागीमा पनि भएकै अग्निनियन्त्रण प्रणालीहरू, स्प्रिङ्कलहरू प्रयोगमा आइदिएनन्," खनाल भन्छन्।

संसद् भवनमा लागेको आगो निभाउँदै एउटा दमकल, अगाडि एक सैनिक उभिएका छन्

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, भदौमा भएको जेन जी आन्दोलनका बेला कैयौँ सरकारी, व्यापारिक र निजी भवनहरूमा आगजनी भएको थियो

अग्ला भवनको अग्निसुरक्षा कसरी गर्ने?

काठमाण्डू महानगरका सहरी व्यवस्थापन प्रमुख लामिछाने अग्ला भवनहरूमा अग्निसुरक्षाका लागि नेपालका नियमकानुनका साथै अन्तर्राष्ट्रिय अभ्यासहरू पनि लागु गर्न आफूहरूले प्रोत्साहन गरिरहेको बताउँछन्।

"हामीले अग्ला र ठूला भवनको नक्सा पास गर्ने क्रममा अग्निसुरक्षा विज्ञहरू सहितको निर्णायक मण्डल राख्ने गरेका छौँ," लामिछाने भन्छन्।

"दरबारमार्गमा बनिरहेको एउटा नयाँ भवनमा हामीले यसको अभ्यास गरिरहेका छौँ।"

सहरी विकास विभागका शाखा प्रमुख खनालका अनुसार भवनहरूमा प्रयोग हुने भर्‍याङ र लिफ्टहरू पनि आगोले सहजै नभेट्ने गरी डिजाइन गरिएको हुनुपर्ने व्यवस्था भवन संहिताले गरेको छ।

हरेक नयाँ निर्माणमा अग्निनियन्त्रणका उपायहरू अनिवार्य लागु गरिनुपर्ने वारुणयन्त्र कार्यालय प्रमुख जोशी बताउँछन्।

सर्वसाधारणलाई पनि अग्निनियन्त्रणका उपायबारे सजग गराइनुपर्ने अग्निनियन्त्रण विज्ञहरू बताउँछन्।

महानगरका वारुणयन्त्र प्रमुखका अनुसार अहिले नयाँ बहुतले भवन निर्माण गरिरहेका कतिपय व्यक्ति वा कम्पनीहरूले अग्निनियन्त्रणका उपकरणहरू जडान गरेर महानगरलाई त्यसको अनुगमन गरिदिन पनि भन्ने गरेका छन्।

अग्ला भवनसम्म पुग्ने भर्‍याङ भएका दमकल प्रयोगमा नहुँदा महानगरले त्यस्ता भवनमा आगलागी भएको अवस्थामा नजिकैका अग्ला भवनको प्रयोग गरेर आगो निभाउने गरेको पनि उनको भनाइ छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।