भारत-पाकिस्तान सङ्घर्षबारे ट्रम्पको नयाँ दाबी – 'पाँच लडाकू विमान खसालिएका थिए'

तस्बिर स्रोत, Anna Moneymaker/Getty
- Author, बीबीसी हिन्दी
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मे महिनामा भएको भारत-पाकिस्तान सङ्घर्षका दौरान 'पाँच लडाकू विमान खसालिएका थिए' भनेर दाबी गरेका छन्।
तर उनले कुन देशका कति वटा लडाकू विमानलाई नोक्सानी पुगेको भनेर चाहिँ खुलाएनन्।
शुक्रवार ह्वाइट हाउसमा रिपब्लिकन सांसदहरूसँगको रात्रिभोजका बेला उनको यो नयाँ दाबी आएको हो।
यसअघि पाकिस्तानले पनि भारतका 'पाँच लडाकू विमान खसालिदिएको' दाबी गरेको थियो। तर ती दाबीलाई भारतले खारेज गरिदिएको थियो।
विपक्षी कांग्रेसले उठायो प्रश्न
ट्रम्पको ताजा दाबीपश्चात् भारतको विपक्षी पार्टी कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रश्न गरेको छ।
सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै कांग्रेसले लेखेको छ, "ट्रम्पले भारत-पाकिस्तानबीचको युद्धमा पाँच जेट खसालिएको भनेका छन्। अनि यसको साथै २४ पटक उनले व्यापारको धम्की दिएर भारत-पाकिस्तान युद्ध रोकिदिएको भनेका छन्।"
"ट्रम्प लगातार यी कुरा दोहोर्याइरहेका छन् र नरेन्द्र मोदी मौन छन्। नरेन्द्र मोदीले व्यापारका निम्ति देशको सम्मानमाथि किन सम्झौता गरे?"
मे महिनाको आखिरमा भारतका चीफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहानले पाकिस्तानसँग भएको सङ्घर्षका बेला भारतका लडाकू विमान खसालिएका भन्ने बारे सोधिएका प्रश्नको जबाफ दिएका थिए। उनले पाकिस्तानको तर्फबाट विमानहरूमा नोक्सानी पुर्याइएका दाबीलाई सोझै खारेज गरिदिएका थिए।
यसका अतिरिक्त ट्रम्पले भारत र पाकिस्तानबीचको सङ्घर्षविराम गराइदिएको दाबी पनि गर्दै आएका छन्।
ट्रम्पले यहाँसम्म भनेका छन् कि उनले भारत र पाकिस्तानसँग व्यापार रोकिदिने धम्की दिएका थिए र त्यसपछि दुई देश सङ्घर्षविराम गर्न तयार भए।
खासमा मे महिनाको सुरुमा भारत र पाकिस्तानबीच भएको सैन्य टकरावका बेला अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गरेका थिए।
अमेरिकाले सोही कुराकानीलाई सङ्घर्षविराम आफूले गराएको भनेर प्रचार गर्यो र ट्रम्पले नै सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत् सङ्घर्षविराम भएको घोषणा गरे।
यो महिनाको सुरुमा भारतीय विदेशमन्त्री एस जयशङ्करले एउटा अन्तर्वार्तामा सङ्घर्षविराम सम्पूर्ण रूपमा द्विपक्षीय निर्णय भएको बताएका थिए।
ट्रम्पले के भनेका हुन्?
शुक्रवार राति ह्वाइट हाउसमा रिपब्लिकन सांसदहरूको सामु ट्रम्पले अमेरिकाले कैयन् युद्ध रोकेको र ती सबै गम्भीर युद्ध रहेको बताएका थिए।
उनले भने, "भारत र पाकिस्तानबीच पनि यही भइरहेको थियो। त्यहाँ विमान खसालिँदै थिए। मलाई लाग्छ खासमा पाँच जेट खसालिएका थिए। यी दुवै परमाणु शक्ति सम्पन्न देश हुन् र एकअर्काविरुद्ध हमला गरिरहेका थिए।"
"यस्तो लाग्छ यो एक नयाँ तरिकाको युद्ध हो। तपाईँहरूले हालै हामीले इरानमा के गर्यौँ भनेर देख्नु भयो। हामीले उनीहरूका परमाणु क्षमता पूर्ण रूपमा नष्ट गरिदियौँ।"
बोल्ने क्रममा ट्रम्पले फेरि एक पटक व्यापारको पनि उल्लेख गरे र भने कि यसकै माध्यमबाट उनले युद्ध रोकाइदिए।
ट्रम्पका अनुसार भारत र पाकिस्तानबीच सङ्घर्ष बढिरहेको थियो र त्यसलाई उनले व्यापारमार्फत् सुल्झाइदिए।
"हामीले भन्यौँ – तपाईँहरू (अमेरिकासँग) व्यापार सम्झौता गर्न चाहनु हुन्छ। तर यदि तपाईँहरू एक-आपसविरुद्ध हमला गर्नुहुन्छ वा सायद परमाणु अस्त्रले हमला गर्नुहुन्छ भने हामी व्यापार सम्झौता गर्दैनौँ।"
विमान खसालिएको दाबीबारे भारतको जबाफ
मे ३१ मा भारतका चीफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहानले पाकिस्तानले भारतीय विमानमा नोक्सान पुर्याएको भन्ने दाबीलाई सोझै खारेज गरिदिएका थिए।
ब्लूमबर्ग टिभीलाई दिएको अन्तर्वार्तामा जनरल चौहानलाई पाकिस्तानले भारतीय वायुसेनाको एकभन्दा धेरै विमान खसालेको दाबी गरेकोबारे के उनले पुष्टि गर्न सक्छन् भनेर सोधिएको थियो।
जबाफमा जनरल चौहानले भनेका थिए, "यो महत्त्वपूर्ण होइन कि जेट खसालिए। महत्त्वपूर्ण कुरा यो हो कि यस्तो किन भयो।"

तस्बिर स्रोत, Getty Images
त्यसपछि पत्रकारले फेरि सोधे, "कम्तीमा एउटा जेट खसालिएको थियो, के त्यो साँचो हो?"
जनरल अनिल चौहानले जबाफ दिए, "राम्रो कुरा के हो भने हामीले हाम्रा ट्याक्टिकल गल्ती जान्न पायौँ, तिनलाई सुधार्यौँ र त्यसको दुई दिनपछि लागु गर्यौँ। त्यसपछि हामीले आफ्नो सबै जेट उडायौँ र लामो दूरीको लक्ष्यहरूलाई निशाना बनायौँ।"
पत्रकारले एकचोटि फेरि सोध्छन्, "पाकिस्तानको दाबी छ कि भारतको ६ वटा लडाकू विमान खसाल्न ऊ सफल भयो, के उसको त्यो आकलन सही हो?"
जनरल चौहानले जबाफ दिँदै भने, "यो बिल्कुल गलत हो। तर मैले भनेको जस्तो यो जानकारी खासमा महत्त्वपूर्ण होइन। के महत्त्वपूर्ण हो भने जेट किन खसे र त्यसपछि हामीले के गर्यौँ। यो हाम्रो लागि बढ्ता महत्त्वपूर्ण हो।"
सङ्घर्षविराम कसले गरायो भन्ने विवाद
हालै भारतीय विदेशमन्त्री एस जयशङ्करले अमेरिकामा क्वाड देशका विदेशमन्त्रीहरूको बैठकमा भाग लिएका थिए। त्यहाँ उनले न्यूजवीक पत्रिकालाई दिएको अन्तर्वार्तामा सङ्घर्षविराम पूर्ण रूपले द्विपक्षीय निर्णय भएको बताए।
अन्तर्वार्ताका दौरान जयशङ्करलाई सोधिएको थियो, "राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री मोदीको कुराकानीपश्चात् भारतको तर्फबाट जारी गरिएको वक्तव्यमा भारत-पाकिस्तानबीच कुनै तेस्रो देशको मध्यस्थता स्वीकार्य नभएको उल्लेख छ। तर राष्ट्रपति ट्रम्पले कैयन् पटक भनेका छन् कि सङ्घर्ष रोक्नका लागि व्यापारलाई एक साधनका रूपमा उपयोग गरिएको थियो। के यसले व्यापार सम्झौताबारे भइरहेका कुराकानीमा कुनै असर परेको छ?"
त्यसको जबाफ दिँदै जयशङ्करले भनेका थिए, "तपाईँलाई बताउन सक्छु कि जब मे ९ को राति उपराष्ट्रपति जेडी भान्सले प्रधानमन्त्री मोदीसँग कुराकानी गरे तब म त्यो कोठामा उपस्थित थिएँ। उनले (भान्सले) भनेका थिए कि यदि हामीले केही विषय मानेनौँ भने पाकिस्तानले भारतमाथि एउटा ठूलो हमला गर्न सक्छ। तर प्रधानमन्त्रीलाई पाकिस्तानको धम्कीले कुनै असर गरेन। प्रधानमन्त्रीले उल्टै स्पष्ट सङ्केत दिए कि भारतले जरुर जबाफ दिनेछ।"
पाकिस्तानसँगको सबै मामिला द्विपक्षीय रहने भनेर कैयौँ वर्ष यता एक राष्ट्रिय सहमति रहेको पनि जयशङ्करले बताए।
जयशङ्करले भने, "यो कुरा त्यो रातको हो, जुन तपाईँलाई थाहा होला, त्यही रात पाकिस्तानले हामीमाथि जोडदार हमला गरेको थियो। हामीले तुरुन्त जबाफ दियौँ। त्यसपछि बिहान मार्को रुबियो (अमेरिकी विदेशमन्त्री)ले मलाई फोन गरेर पाकिस्तान कुराकानीका लागि तयार भएको बताए। मैले जे अनुभव गरेँ त्यही मात्र तपाईँलाई बताइरहेको छु। बाँकी तपाईँ बुझ्न सक्नु हुन्छ।"
जुन महिनामा प्रधानमन्त्री मोदी जी सेभेनको सम्मेलनमा भाग लिन क्यानडा गएका थिए र त्यहीँबाट उनले राष्ट्रपति ट्रम्पसँग फोन वार्ता गरेका थिए।
भारतका विदेश सचिव विक्रम मिश्रीका अनुसार उक्त वार्ताका क्रममा प्रधानमन्त्री मोदीले ट्रम्पसँग पाकिस्तानसँगको सङ्घर्षविराम द्विपक्षीय रहेको र कुनै तेस्रो देशको हस्तक्षेपका कारण नभएको स्पष्टरूपमा भनेका थिए।
साथै सङ्घर्षविरामका लागि अमेरिकासँग व्यापारको कुनै कुरा नभएको पनि प्रधानमन्त्री मोदीले ट्रम्पलाई बताएको मिश्रीले उल्लेख गरेका थिए।
अहिलेसम्म कस्ता कस्ता दाबी गरिए?

तस्बिर स्रोत, EPA/PTV
अमेरिकी राष्ट्रपति ट्रम्पले कैयौँ पटक भारत र पाकिस्तानबीच आफूले सङ्घर्षविराम गराएको र दुवै देशलाई परमाणु युद्धतर्फ अग्रसर हुनबाट रोकेको दाबी गरेका छन्।
उनको उक्त दाबीलाई पाकिस्तानले समर्थन गरेको छ। सङ्घर्षविरामपश्चात् पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भनेका थिए, "म राष्ट्रपति ट्रम्पप्रति आभार व्यक्त गर्न चाहन्छु। सङ्घर्षविराममा वाशिङ्टनले महत्त्वपूर्ण भूमिका निभाएको छ।"
सङ्घर्षका दौरान पाकिस्तानले पाँचवटा भारतीय लडाकू विमान खसालिदिएको दाबी गरेको थियो।
पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भनेका थिए, "हालसम्म तीन राफाएल, एक एसयू-३० र एक मिग-२९ तथा एक हेरन ड्रोन सहित पाँचवटा भारतीय विमान खसालिएको म पुष्टि गर्न सक्छु।"
त्यतिखेर भारतले यी दाबीबारे कुनै प्रतिक्रिया दिएको थिएन। तर पछि भारतले यी दाबीलाई खारेज गरिदियो।
यसका अतिरिक्त इन्डोनेशियाको राजधानी जकार्तामा भारतीय दूतावासमा तैनाथ सैनिक सहचरीले गरेको टिप्पणीको पनि निकै चर्चा भयो।
जुन १० मा जाकार्ताको एक विश्वविद्यालयको सेमिनारमा भारतीय नौसेनाका क्याप्टेन शिवकुमार सहभागी भएका थिए।
त्यहाँ आफ्नो प्रस्तुतीका बेला उनले कथित रूपमा 'राजनीतिक नेतृत्व'को आदेशका कारण केही 'वाधाहरूका माझ भारतीय वायुसेनाले प्रारम्भिक चरणको सैन्य अभियानमा पाकिस्तानी सैन्य प्रतिष्ठानहरूमा हमला गर्न नसकेको' बताए।
समाचार एजेन्सी पीटिआईका अनुसार उनले भनेका थिए "हामीले केही विमान गुमायौँ र त्यो यसकारण मात्र भयो किनकी सैन्य प्रतिष्ठान वा उनका हवाई रक्षा प्रणालीमाथि हमला नगर्नका लागि राजनीतिक नेतृत्वका तर्फबाट वाधाहरू खडा गरिएका थिए।"
"तर (ती) गुमेपछि हामीले आफ्नो रणनीति परिवर्तन गर्यौँ र हामी सैन्य प्रतिष्ठान तर्फ गयौँ। हामीले सबभन्दा पहिले दुश्मनको हवाई रक्षाको दमन र विनाश गर्यौँ। यसैकारण हामीले जमिनबाट जमिनमा प्रहार गर्ने क्षेप्यास्त्र तथा ब्राह्मोस क्षेप्यास्त्रको प्रयोग गरेर हमला गर्न सक्यौँ।"
उनको सो टिप्पणीबारे भारतीय दूतावासले भनेको थियो, "हामीले सञ्चारमाध्यममा केही विवरण देखेका छौँ जुन एक सेमिनारमा सैनिक सहचरीको प्रस्तुतीसँग जोडिएका छन्। उनको भनाइलाई वास्तविक सन्दर्भबाट हटाएर देखाइएको छ र सञ्चार माध्यमहरूका रिपोर्टमा उनका कुरालाई गलत तरीकाले पेश गरिएका छन्।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








