इरान-इजरेल युद्ध: तेहरानमा सत्ता परिवर्तनको सम्भावनाबारे ट्रम्पको नयाँ सङ्केत

इरानका परमाणु केन्द्रहरूमा सफल सैन्य कारबाही गरेको बताएलगत्तै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तेहरानको सत्ता नेतृत्वमा परिवर्तनको सम्भावनाबारे इशारा गरेका छन्।

आइतवार इरानका परमाणु केन्द्रहरूमा हमला गरेपछि अमेरिकी अधिकारीहरूले इरानी नेतृत्व बदल्नेतर्फ आफ्नो ध्यान नभएको बताएका थिए।

अमेरिकी सञ्चारमाध्यमहरूसँग कुरा गर्दै उपराष्ट्रपति जेडी भान्सले आफ्नो देशको युद्ध इरानको परमाणु कार्यक्रमविरुद्ध रहेको बताएका थिए।

ट्रम्पको सङ्केत कस्तो?

राष्ट्रपति ट्रम्पले उनको सामाजिक सञ्जालमा टिप्पणी गर्दै 'रेजिम चेन्ज' वा सत्ता परिवर्तनको शब्दको प्रयोग राजनीतिकरूपमा बेठिक भए तापनि यदि, उनकै शब्दमा, 'इरानको वर्तमान सरकार इरानलाई फेरि महान् बनाउन असमर्थ छ भने किन परिवर्तन नहोस्' भनेका छन्।

उनको टिप्पणी त्यतिखेर आएको छ जतिखेर उनका वरिष्ठ अधिकारीहरूले अमेरिकाको त्यस्तो योजना नभएको बताउँदै आएका थिए।

आइतवारको हमलापछि बोल्दै रक्षामन्त्री पिट हेग्सेथले 'यो कारबाही सत्ता परिवर्तनलक्षित नभएको' भनेका थिए।

उपराष्ट्रपति भान्सले पनि एबीसी टेलिभिजनसँग कुरा गर्दै भने: "पहिलो कुरा, हामी सत्ता परिवर्तन हासिल गर्न चाहँदैनौँ। हामी इरानको परमाणु कार्यक्रम अन्त भएको हासिल गर्न चाहन्छौँ।"

ट्रम्पको रिपब्लिकन पार्टीभित्र पनि सत्ता परिवर्तनको विषय विवादित रहँदै आएको छ।

यसअघिका रिपब्लिकन राष्ट्रपति जोर्ज डब्लु बुशले इराकमा आमसंहारका अस्त्र रहेको भन्दै त्यहाँ सत्ता परिवर्तन गराउने सैन्य कारबाही गरे तर पछि उक्त दाबी तथ्यहीन सावित भयो

रिपब्लिकनहरूको समर्थकहरूमाझ सत्ता परिवर्तन अनि मध्यपूर्वमा अमेरिकी प्रत्यक्ष संलग्नाको विषय रुचाइँदैन। बुशको समयका अति दक्षिणपन्थीहरूको अलोकप्रियताका कारण नै ट्रम्पको राजनीतिक उदय भएको थियो। उनले 'नयाँ युद्ध' नगर्ने वाचा गर्दै अघि बढेका थिए।

तर अझै पनि रिपब्लिकन राजनीतिमा परम्परागत कठोर राष्ट्रिय सुरक्षा नीति अँगाल्नेहरूको कमी भने छैन।

त्यसैले इरानको परमाणु केन्द्रमा हमला गर्ने राष्ट्रपति ट्रम्पको निर्णय केवल विदेश नीतिसँग सम्बन्धित निर्णय मानिँदैन। उनले अब घरेलु राजनीतिमा रहेका विभिन्न प्रतिस्पर्धी विचार बीचको सन्तुलन पनि मिलाउनु पर्ने देखिएको छ।

इरानको प्रतिक्रिया कस्तो?

संयुक्त राष्ट्रसङ्घका निम्ति इरानका राजदूतले अमेरिकी कारबाहीलाई 'ठाडो आक्रमण' भनेका छन्।

सुरक्षा परिषद्‌को आकस्मिक बैठकमा बोल्दै अमिर-सइद इराभानीले अमेरिकाले बेतुकपूर्ण बहानामा युद्ध छेडेको बताए।

तेहरानले परमाणु अस्त्र चाहेको भन्ने आरोप पनि उनले अस्वीकार गरे।

यसबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानलाई महत्त्वपूर्ण स्ट्रेट अफ होर्मुज नाका बन्द नगराउनका निम्ति मनाउन चीनलाई आग्रह गरेका छन्।

विश्वको तेल तथा ग्यासको करिब एक चौथाइ परिमाण ढुवानी गरिने पर्सिअन खाडीको मुखमा रहेको उक्त साँघुरो समुद्री मार्ग बन्द गराउने योजनालाई इरानी संसद्‌ले अनुमोदन गरेको इरानको सरकारी टेलिभिजनमा जनाइएको छ।

"म बेइजिङ्स्थित चिनियाँ सरकारलाई यसबारे (इरानसँग) कुरा गर्न प्रोत्साहित गर्छु किनभने उनीहरू तेल आपूर्तिका निम्ति स्ट्रेट अफ होर्मुजमा निर्भर छन्," रुबियोले फक्स न्यूजसँग भने।

"यदि (इरानले) त्यसो (मार्ग बन्द) गरेमा त्यो अर्को खराब भूल हुने छ। उनीहरूका लागि त्यो आर्थिक आत्महत्या हुने छ।"

आपूर्तिमा कुनै रोकावट भएमा विश्वको अर्थतन्त्रमा गम्भीर प्रभाव पर्छ र तेलको भाउ बढेमा त्यसले भारत, चीन र जापानजस्ता मुख्य आयातकर्ताहरूका लागि समस्या पैदा गर्छ।

विश्लेषकहरूका अनुसार उक्त मार्ग अवरोधको निर्णय इरानको सरकारको सुरक्षा अधिकारीहरूले मात्र गर्न सक्छन् नकि त्यहाँको संसद्ले। इरानको आफ्नै निर्यात र उसको अर्थतन्त्रका लागि पनि त्यहाँ निर्वाध ढुवानी भइरहनु जरुरी हुनाले त्यसलाई अवरोध गर्ने निर्णय उनीहरूकै लागि पनि जोखिमपूर्ण कदम हुन सक्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।