'म गुप्त रूपमा काम गरेर कमाएको पैसा सरकारलाई दिन्थेँ अब आफै राख्न पाउँछु'

    • Author, बेथ गडविन र जुली यूनयङ ली
    • Role, बीबीसी ट्रेन्डिङ र बीबीसी न्यूज

जिन-सुले बताएअनुसार पछिल्ला कैयौँ वर्षयता पश्चिमा कम्पनीहरूमा आईटीसम्बन्धी 'रिमोट' अर्थात् टाढै बसेर गर्न सकिने कामहरूमा आवेदन गर्न उनले सयौँ नक्कली परिचय, फेक आइडीको प्रयोग गरेका छन्। यो उत्तर कोरियाका निम्ति आर्थिक स्रोत जुटाउने एउटा विस्तारित गुप्त योजनाको हिस्सा थियो।

बीबीसीसँगको एउटा दुर्लभ साक्षात्कारमा उनले अमेरिका र युरोपका रोजगारीहरूबाट उनले प्रतिमहिना कम्तीमा ५ हजार डलर आम्दानी गर्ने गरेको बताए। उनका अनुसार केही अन्य सहकर्मीहरूले त्योभन्दा पनि अधिक कमाउँथे।

भागेर देश छाड्नुअघि जिन-सु (परिचय गोप्य राख्न नाम परिवर्तन गरिएको) पनि उत्तर कोरियाले आफ्नो उक्त गोप्य कार्यक्रममा भाग लिन चीन, रुस वा अफ्रिका तथा अन्यत्रका देशमा पठाउने गरेको ठानिएका हजारौँ कामदारमध्ये एक थिए।

उत्तर कोरियाका आईटी कामदारहरूमाथि नजिकबाट निगरानी राखिन्छ र केहीले मात्रै सञ्चारमाध्यमसँग कुरा गरेका छन्। तर जिन-सुले बीबीसीलाई उक्त योजनामा सामेल भएका व्यक्तिका दैनिकीका भित्री पाटो र काम गर्ने तरिकाबारे खुलासा हुने गरी विस्तृत बयान दिएका छन्। संयुक्त राष्ट्रसङ्घ र साइबर सुरक्षा प्रतिवेदनहरूमा गरिएका अनुमानहरू उनको प्रत्यक्ष अनुभवसँग निकै हदसम्म मेल खान्छ।

उनका अनुसार उनको कमाइको ८५ प्रतिशत सरकारलाई जान्थ्यो। रकमको अभाव खेपिरहेको उत्तर कोरियामाथि वर्षौँदेखि अन्तर्राष्ट्रिय प्रतिबन्धहरू लाग्दै आएको छ।

"यो डकैतीजस्तै हो भन्ने हामीलाई थाहा छ तर हामीले यसलाई भाग्यका रूपमा स्वीकार्यौँ," जिन-सुले भने, "त्यसो हुँदाहुँदै पनि उत्तर कोरियामा रहनुको तुलनामा यो निकै उत्तम छ।"

सन् २०२४ को मार्चमा प्रकाशित राष्ट्रसङ्घीय सुरक्षा परिषदको प्रतिवेदनअनुसार गुप्त रूपमा काम गर्ने आईटी कामदारहरूले उत्तर कोरियाका निम्ति वर्षेनि २५ करोडदेखि ६० करोड डलरसम्म कमाइ गर्दथे। महामारीको समयमा 'रिमोट कार्य' सामान्य बनेका बेला उक्त गतिविधि व्यापक रूपमा फस्टाएको र त्यसयता बढ्दै गएको अधिकारी तथा साइबर सुरक्षाका जानकारहरूले बताएका छन्।

अधिकांश त्यस्ता कामदारहरू सरकारलाई पठाउन सोझो तलबको खोजीमा हुन्छन् तर केही मामिलामा तिनले रोजगारदाताको 'डेटा' चोरेर वा 'ह्याक' गरेर पैसा माग्छन्।

गतवर्ष एउटा अमेरिकी अदालतले १४ जना उत्तर कोरियालीले गोप्य रूपमा काम गरेर ६ वर्षको अवधिमा अमेरिकी फर्महरूबाट ८ करोड ८० लाख रूपैयाँ असुली गरेको औपचारिक अभियोग लगाएको थियो।

पछिल्लो महिना थप चार उत्तर कोरियालीमाथि एउटा क्रिप्टोकरेन्सी फर्मका निम्ति आईटीको 'रिमोट' काम सुनिश्चित गर्ने फर्जी परिचय प्रयोग गरेको अभियोगमा मुद्दा चलाउने निर्णय गरिएको थियो।

रोजगारी प्राप्ति

देश छाड्नुअघि जिन-सुल‍े केही वर्ष चीनमा रहेर आफ्नो देशको सरकारका निम्ति आईटी कामदारका रूपमा काम गरे। उनले बीबीसीलाई बताएअनुसार उनी र उनका सहकर्मीहरू धेरैजसो १० जनाको समूह बनाएर काम गर्थे।

उत्तर कोरियामा इन्टरनेटमाथिको पहुँच नियन्त्रित छ तर विदेशमा यी कामदारहरूले अधिक सजिलोसँग काम गर्न सक्थे।

उनीहरूले पश्चिमी देशका मानिसको रूपमा नक्कली परिचय अपनाउँदा धेरै कमाउन सकिने भएकाले मात्रै आफ्नो राष्ट्रियता लुकाउँदैनथे, उत्तर कोरियामाथि मुलत: उसका परमाणु अस्त्र तथा बलिस्टिक क्षेप्यास्त्र कार्यक्रमका कारण व्यापक अन्तर्राष्ट्रिय प्रतिबन्धहरू लागेकाले पनि त्यसो गरिन्थ्यो।

यो योजना उत्तर कोरियाको 'ह्याकिङ' अभियान भन्दा भिन्न हो तर त्यसले पनि सरकारका निम्ति रकम जुटाउने गर्छ। यो वर्षको प्रारम्भमा 'लाजरस ग्रुप' नामको एउटा कुख्यात 'ह्याकिङ' समूहलाई उत्तर कोरियासँग सम्बन्धित भएको ठानिन्थ्यो, भलै उसले त्यो कहिल्यै स्वीकारेन। उक्त समूहले 'बाईबीट' नामक क्रिप्टोकरेन्सी फर्मबाट १ अर्ब ५० करोड डलर चोरी गरेको ठानिएको थियो।

जिन-सु आफ्नो अधिकांश समय फर्जी परिचय बनाउनमा बिताउँथे ताकि रोजगारीका निम्ति आवेदन गर्दा त्यसको प्रयोग गर्न सकियोस्। बीबीसीलाई बताएअनुसार उनी आफूलाई चिनियाँका रूपमा प्रस्तुत गर्थे र हङ्गेरी, टर्की र अन्य देशका मान्छेलाई सम्पर्क गरेर आफ्नो आयको निश्चित हिस्सा दिने सर्तमा उनीहरूको परिचय प्रयोग गर्न दिन अनुरोध गर्थे।

"तपाईँले आफ्नो प्रोफाइलमा 'एसियाली अनुहार' देखाउनुभयो भने कहिल्यै पनि काम पाउनु हुन्न।"

त्यसपछि त्यसरी जुटाइएको परिचयको प्रयोग उनी पश्चिम युरोपका मानिसहरूलाई सम्पर्क गर्न र उनीहरूको परिचय हात पार्न उपयोग गर्थे जसलाई उनी अमेरिका र युरोपमा रोजगारीका निम्ति आवेदन गर्न प्रयोग गर्थे।

जिन-सुले प्राय: यूकेका नागरिकलाई प्रभावित तुल्याउन सफलता पाउँथे।

"केहीबेरको कुराकानीमै यूकेका मान्छेले सजिलै आफ्नो परिचय उपलब्ध गराउँथे," उनले भने।

राम्रो अङ्ग्रेजी बोल्ने आईटी कामदारले कहिलेकाँही आवेदन प्रक्रिया सम्हाल्छन् तर 'फ्रिलान्सर साइट'हरूका काममा आमुन्नेसामुन्ने अन्तर्वार्ताको खाँचोसमेत पर्दैन र दैनन्दिनका अन्तर्क्रिया 'स्ल्याक'जस्ता कुराकानीका प्ल्याटफर्महरूमार्फत गरिन्छन् जसमा छद्म परिचय प्रयोग गर्न सजिलो हुन्छ।

जिन-सुले ''अमेरिकी कम्पनीहरूमा तलब धेरै पाइने भएकाले'' अमेरिकी बजारलाई धेरैजसो आफ्नो निसाना बनाउने गरेको बीबीसीसँग बताए। उनले अत्यन्तै धेरै कामदारहरूले काम पाउने गरेको र कम्पनीहरूले प्राय: अन्जानमा एकभन्दा धेरै उत्तर कोरियालीलाई काममा लिने गरेको उनले दाबी गरे। "त्यस्तो निकै हुन्थ्यो," उनले भने।

आईटी कामदारहरूले पश्चिमा देश तथा चीनमा भएका मध्यस्थकर्ताहरूको सञ्जालका माध्यमबाट आफ्नो कमाइ एकत्र गर्ने गरेको ठानिन्छ। गतसाता मात्रै एक अमेरिकी महिलालाई उत्तर कोरियाली आईटी कामदारहरूलाई काम खोज्न र तिनलाई पैसा पठाउन सघाएको विषयसँग सम्बन्धित अपराधमा आठ वर्षको कैद सजाय सुनाइएको थियो।

बीबीसीले जिन-सुको बयानका मसिना पक्षलाई स्वतन्त्र रूपले पुष्टि गर्न सकेन तर उत्तर कोरियामा मानवाधिकारबारे पैरबी गर्ने संस्था 'पीएससीओआरई' का माध्यमले हामीले देश छाडेर भागेका अर्का आईटी कामदारको बयान पढ्यौँ र त्यो जिन-सुको दाबीसँग मिल्दो पायौँ।

बीबीसीले ह्यून-सङ ली नाम गरेका देश छाडेर भागेका अर्का एक व्यक्तिसँग पनि कुरा गरेको थियो जसले उत्तर कोरियाली सत्ताका निम्ति काम गर्ने व्यापारीका रूपमा चीनको भ्रमण गर्दा आईटी क्षेत्रमा काम गर्ने उत्तर कोरियाली कामदारहरूलाई भेटेका थिए।

बढ्दो समस्या

बीबीसीले साइबर सुरक्षा तथा सफ्टवेयर विकासको क्षेत्रका नियुक्ति प्रक्रियासँग सम्बन्धित विभिन्न प्रबन्धकहरूसँग कुरा गर्दा उनीहरूले छनौट प्रक्रियाका क्रममा उत्तर कोरियाली भएको शङ्का लाग्ने कैयौँ आवेदकहरू देखेको बताए।

अमेरिकाको 'अलाई सेक्युरिटी'का सहसंस्थापक रब हेन्ली हालसालै आफ्नो फर्मका निम्ति 'रिमोट' अर्थात् टाढैबाट काम गर्न मिल्ने रिक्त स्थानहरूका निम्ति कामदारहरू हेर्दै थिए। उक्त प्रक्रियाका क्रममा आफूले ३० जनासम्म उत्तर कोरियाली आईटी कामदारहरूको अन्तर्वार्ता गरेको उनको ठम्याइ छ। "सुरुवातमा यो एक हदसम्म कुन सक्कली कुन नक्कली भनेर पत्ता लगाउने एउटा खेलजस्तो थियो तर छिटै यो चिढ्याउने किसिमको हुन गयो," उनले भने।

आखिरमा उनले उम्मेदवारहरूलाई उनीहरू बसेको स्थानमा दिउँसोको समय भए नभएको भिडिओ कलमा देखाउन भने।

"हामी यी पदहरूमा केवल अमेरिकी आवेदकहरूलाई लिँदै थियौँ। कमसेकम बाहिर त उज्यालो हुनु पर्थ्यो। तर मैले कहिल्यै दिनको उज्यालो देखिनँ।"

त्यस्तै मार्चमा पोल्यान्डस्थित 'भिडक सेक्युरिटी ल्याब'का सहसंस्थापक डाविट मोचाडोले एउटा 'रिमोट' कामका निम्ति गरिएको अन्तर्वार्ताको भिडिओ शेअर गरेका थिए जसमा उम्मेदवारले आफ्नो अनुहार बदल्न आर्टिफिसल इन्टेलिजन्सको सफ्टवेयर प्रयोग गरेका थिए। यसबारे विशेषज्ञहरूसँग कुरा गरेपछि उनले ती उत्तर कोरियालीहरू हुन सक्ने ठाने।

हामीले प्रस्तुत सामग्रीमा उठाइएका आरोपहरूबारे प्रतिक्रियाका लागि लन्डनस्थिति उत्तर कोरियाली दूतावासलाई सम्पर्क गरेका थियौँ तर उनीहरूले प्रतिक्रिया जनाएनन्।

भाग्ने कठिन बाटो

विदेशी मुद्रा आर्जन गर्न उत्तर कोरियाले दशकौँदेखि आफ्ना कामदारहरूलाई विदेश पठाउँदै आइरहेको हो। एक लाखसम्मको सङ्ख्यामा उनीहरू विदेशमा कारखाना तथा रेस्टुराँ कामदारका रूपमा कार्यरत छन्। तीमध्ये धेरैजसो चीन र रूसमा छन्।

केही वर्ष चीनमा बसिसकेका जिन-सु दबावपूर्णस्थितिमा काम गर्दा 'बन्धनमा परेको' महसुस हुने गरेको बताउँछन्।

"हामीलाई बाहिर जाने अनुमति थिएन र जतिखेर पनि भित्रै बसिरहनुपर्थ्यो," उनले भने, "कसरत गर्न तथा आफ्नो मर्जीले केही पनि गर्न पाइन्नथ्यो।"

तथापि जिन-सुका अनुसार विदेशमा छँदा उत्तर कोरियाली आईटी कामदारहरूलाई पश्चिमा सञ्चारमाध्यमहरूमा पहुँच प्राप्त गर्न भने अधिक स्वतन्त्रता थियो। "(त्यसपछि) तपाईँले असली दुनियाँ देख्नुहुन्छ। विदेशमा भएका बेला हामी उत्तर कोरियाभित्र केही न केही गडबड रहेको भन्ने महसुस गर्थ्यौँ।"

तर त्यसका बाबजुद, उनको दाबीअनुसार निकै कम उत्तर कोरियाली आईटी कामदारहरूले मात्रै उनले झैँ भाग्ने बारेमा सोच्थे।

"तिनीहरू केवल पैसा लिन्थे र घर जान्थे, निकै कमले मात्रै देश छाडेर भाग्नेबारे सोच्थे।"

कमाइको सानो हिस्सामात्रै आफूले पाउने भए पनि उनीहरूका निम्ति उत्तर कोरियामा त्यसले निकै महत्त्व राख्थ्यो। देश छाडेर भाग्ने कुरा निकै गाह्रो र जोखिमपूर्ण थियो। चिनियाँ निगरानी भनेकै भाग्नेमध्ये धेरैजसो समातिनु हो भनेझैँ थियो। भाग्न सक्ने सीमितले पनि सायदै फेरि आफ्नो परिवारलाई देख्न पाउँथे र देश छाडेर भागेकोमा तिनका परिवारजनमाथि सजाय समेत हुन सक्थ्यो।

जि-सुले देश छाडिसकेका छन् तर अझै आईटी क्षेत्रमै काम गर्छन्। उनका अनुसार शासनसत्ताका निम्ति काम गर्दा हासिल गरेको कौशलले उनलाई नयाँ जीवनलाई व्यवस्थित पार्न सघाएको छ।

नक्कली परिचयका बलमा एकै पटकमा धेरैतिर काम नगर्ने भएकाले सरकारका निम्ति काम गर्दाको तुलनामा उनले अहिले कम कमाउँछन्। तर कमाइको ज्यादा हिस्सा आफैँसँग राख्न पाउने भएकाले उनको साथमा धेरै पैसा हुन्छ।

"पहिले म गैरकानुनी काम गरेर पैसा कमाउने गर्थेँ तर अहिले मेहनत गरेर योग्यताअनुसारको कमाउँछु।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।