खालिदा जियाका पति जियाउर रहमानको शव उत्खनन र पुन: गाडिएको कथा

तस्बिर स्रोत, Getty Images
- Author, रकीब हसनत
- Role, बीबीसी न्यूज बाङ्ग्ला
बाङ्ग्लादेशकी पूर्वप्रधानमन्त्री तथा बाङ्ग्लादेश न्याश्नालिस्ट पार्टी (बीएनपी) की अध्यक्ष खालिदा जियालाई ढाकाको शेर-ए-बाङ्ग्ला नगरमा उनका दिवंगत पति जियाउर रहमानको चिहान नजिकै समाधिस्त गरिएको छ।
बाङ्ग्लादेशका पूर्वराष्ट्रपति तथा मुक्तियुद्धका प्रमुख कमान्डर जियाउर रहमानको सन् १९८१ मे ३० मा चटगाउँमा सैन्य विद्रोहको प्रयासका क्रममा हत्या गरिएको थियो।
त्यसपछि उनको शवलाई चटगाउँको रङ्गुनिया हिल्स क्षेत्रमा गाडिएको थियो।
तत्कालीन सरकारको पहलमा उनको शवलाई पछि ढाका ल्याएर तत्कालीन शेर-ए-बाङ्ग्ला पार्कमा राजकीय सम्मानका साथ गाडिएको थियो।
पालैपालो दुई थरी नाम
पछि हुसेन मोहम्मद इरशाद सरकारको कार्यकालमा शेर-ए-बाङ्ग्ला नगरमा संसद्सँगै रहेको उक्त पार्कलाई 'चन्द्रिमा उद्यान' नाम दिइएको थियो।
बीएनपी सरकारले पछि त्यसको नाम 'जिया उद्यान' राखेको थियो।
त्यसपछि सत्तामा आएको अवामी लीग सरकारको कार्यकालमा यसको नामकरण पुनः 'चन्द्रिमा उद्यान' नै गरिएको थियो। तर अवामी लीग सरकारको पतनपछि अहिले फेरि 'जिया उद्यान' को रूपमा साइनबोर्ड राखिएको देखिन्छ।
राजनीतिक इतिहासका अनुसन्धानकर्ता र लेखक मोहिउद्दीन अहमद भन्छन् - "यस पार्कको नाम परिवर्तन गर्नुको कारण जेसुकै भए तापनि जियाउर रहमानलाई त्यहाँ राजकीय सम्मानका साथ गाड्ने निर्णय तत्कालीन अन्तरिम राष्ट्रपति न्यायाधीश अब्दुस सत्तारको नेतृत्वमा रहेको सरकारले गरेको थियो।"

तस्बिर स्रोत, BNP
गाडिइसकेको शव किन निकालियो
अब्दुस सत्तारको मन्त्रिपरिषद्का पूर्वउपमन्त्री एबीएम रुहुल हवालादार अमिन पनि जियाउर रहमानको अन्त्येष्टिको समयमा उपस्थित थिए।
अमिनले बीबीसी बाङ्ग्लालाई भने - "न्यायाधीश अब्दुस सत्तारले यस प्रस्ताव राखेका थिए। मन्त्रिपरिषद्ले सर्वसम्मतिले यसलाई अनुमोदन गर्यो। पछि सेनाप्रमुख एर्शादले पनि यसलाई समर्थन गरे। जियाउर रहमानले देशमा बहुदलीय लोकतन्त्र स्थापना गरेका थिए। त्यसैले उनलाई संसद् भवननजिकै गाड्ने निर्णय गरिएको थियो।"
हालै खालिदा जियाको पार्टी बीएनपीले खालिदा जियाको शवलाई पनि जियाउर रहमानको चिहाननजिकै गाड्ने निर्णय गर्यो। उनको अन्तिम संस्कार पनि राजकीय सम्मानका साथ गरियो।
लामो समयदेखि उपचाररत खालिदाको मङ्गलवार ढाकाको एक अस्पतालमा मृत्यु भएको थियो।
जियाउर रहमानको अन्तिम संस्कार
तत्कालीन राष्ट्रपति जियाउर रहमानले स्थानीय पार्टी नेतासँगको मतभेद समाधान गर्न सन् १९८१ को मे २९ मा दुई दिन लगाएर चटगाउँको भ्रमण गरेका थिए।
उनीसँगै आएका विभिन्न पार्टीका नेता र कार्यकर्ताहरूबाट प्राप्त विवरणअनुसार दिनभरि विभिन्न बैठकहरू गरेपछि पहिलो दिन जियाउर रहमान मध्यराततिर सुते।
केही घण्टापछि सैन्य अधिकारीहरूको एउटा समूहले चटगाउँ सर्किट हाउसमा आक्रमण गरे र गोली चलाउँदा रहमानको घटनास्थलमै मृत्यु भयो।
रहमानको मृत्युको खबर पहिलो पटक मे ३० को बिहान रेडियोमा प्रसारित भयो।
राष्ट्रपतिको हत्यापछि तत्कालीन उपराष्ट्रपति न्यायाधीश अब्दुस सत्तारले अन्तरिम राष्ट्रपतिको पद ग्रहण गरे।
उनले मे ३० का दिन दिउँसो रेडियो र टेलिभिजनमार्फत् राष्ट्रलाई सम्बोधन गर्दै जियाउर रहमानको मृत्युको खबर आधिकारिक रूपमा घोषणा गरे।
यसैबीच हत्या भएको केही घण्टाभित्र जियाउर रहमानको शव गोप्य रूपमा चटगाउँको पहाडी क्षेत्र रङ्गुनियामा पुर्याइएको थियो।
त्यसबेला धेरै पत्रपत्रिकाहरूमा प्रकाशित समाचारहरूमा जियाउर रहमानलाई रङ्गुनिया क्षेत्रको पहाडको फेदमा गाडिएको उल्लेख थियो।
सन् १९८१ जुन २ मा प्रकाशित एक समाचारमा 'दैनिक संवादले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै मे ३० मा बिहान ८ देखि ९ बजेको बीचमा सैन्य कर्मचारीहरूको एक समूह चटगाउँ सर्किट हाउसमा आइपुगेको जनाएको थियो।
उनीहरूले राष्ट्रपति रहमानसहित तीन जनाको शव गाडीमा राखेर अज्ञात स्थानमा लगेका थिए।

उक्त घटनापछि मे ३० तारिखका दिन बिहान तत्कालीन सेनाका मेजर रेजाउल करीम रेजा सर्किट हाउस गएका थिए। उनले उक्त घटनाको विवरण पनि बीबीसीलाई दिएका थिए।
अर्कोतर्फ तत्कालीन सरकारले हत्याको जानकारी पाएपछि सोही दिन राष्ट्रपति रहमानको शव ढाका ल्याउने प्रयास गरिएको जनाएको थियो।
तत्कालीन प्रधानमन्त्री शाह अजिजुर रहमानले त्यस बेला पत्रकारहरूलाई भनेअनुसार स्थानीय अधिकारीहरूसँग प्रत्यक्ष सम्पर्क नभएका कारण अन्तर्राष्ट्रिय संस्था रेडक्रसमार्फत् राष्ट्रपतिको शव ढाका पठाउन अनुरोध गरिएको थियो।
यद्यपि सरकारले पछि एक विज्ञप्तिमा भनेको थियो- चटगाउँ क्यान्टोन्मेन्टका तत्कालीन जीओसी मेजर जेनरल अबुल मन्जुरले त्यस अनुरोध अस्वीकार गरे।
सन् १९८१ मे ३१ मा 'दैनिक संवाद'मा प्रकाशित एक समाचारअनुसार अन्तरिम राष्ट्रपति न्यायाधीश अब्दुस सत्तारको मन्त्रिपरिषद्को पहिलो औपचारिक बैठक मे ३० तारिखमा बङ्गभवनमा भएर शोक प्रस्ताव पारित गरिएको थियो।
त्यही दिन अब्दुस सत्तारले ढाकामा भने - "हामीले रेडक्रसमार्फत् राष्ट्रपतिको शवलाई चटगाउँबाट ल्याउन धेरै प्रयास गर्यौँ। तर उनीहरूले कुनै प्रतिक्रिया दिएनन्। त्यसैले हामीले शवको अनुपस्थितिमा अन्तिम प्रार्थना गर्यौँ।"
तर मे ३१ मा विद्रोहमा संलग्न सैनिक र अधिकारीहरूबीच मतभेद देखा पर्यो। धेरैले विद्रोहयो योजना रच्नेहरूलाई छाडेर अन्तरिम राष्ट्रपति अब्दुस सत्तारको सरकारप्रति बफादारी व्यक्त गर्न थाले।
यसैबीच सरकारले विद्रोही अधिकारी र सैनिकहरूलाई आत्मसमर्पण गर्न आदेश दियो।
तीव्र गतिमा विकसित घटनाक्रमबीच मेजर जेनरल मन्जुर र कर्नल मतियुर रहमानलगायत धेरै विद्रोही अधिकारीहरू मे ३१ को रात चटगाउँ शिविरबाट भागे।
मेजर जनेरल मन्जुर भागेपछि चटगाउँ सैन्य शिविर सरकारी नियन्त्रणमा फर्कियो। प्रहरीले पछि मन्जुरलाई पक्राउ गर्यो र उनलाई क्यान्टोन्मेन्टमा फिर्ता ल्यायो।
पछि उनको गोली हानी हत्या गरियो।

... अनि शव भेटियो

तस्बिर स्रोत, Getty Images
तत्कालीन ब्रिगेडिअर हन्नान शाहले जुन १ मा जियाउर रहमानको शव फेला पारेका थिए।
पछि बीबीसी बाङ्ग्लासँगको एक अन्तर्वार्तामा उनले आफूहरू जियाउर रहमानको शव खोज्न कप्ताई रोड गएको र अनुमानको आधारमा नयाँ चिहान फेला पारेको बताएका थिए।
स्थानीय गाउँलेहरूले एउटा सानो पहाड औँल्याएर ब्रिगेडिअर हन्नान र उनको टोलीलाई सैन्य अधिकारीहरूले केही दिनअघि त्यहाँ एक मानिसलाई गाडेको बताएका थिए।
गाउँलेहरूबाट प्राप्त जानकारीका आधारमा हन्नान शाह सेनाका कर्मचारीहरूसँग त्यहाँ पुगे। उनीहरूले त्यहाँको चिहानमा भर्खरै खोस्रिएको माटो देखे।
त्यसलाई खनेपछि राष्ट्रपति जियाउर रहमान र अन्य दुई सैन्य अधिकारीहरूको शव बरामद गरियो। त्यहाँबाट रहमानको शव पहिले चटगाउँको सैन्य शिविरमा लगियो र जुन १ मा हेलिकप्टरबाट राजधानी ढाका पुर्याइयो।
भोलिपल्ट अर्थात् जुन २ मा रहमानको शव बिहान ११ बजेसम्म संसद् भवनमा जनताले श्रद्धाञ्जली व्यक्त गर्न सक्ने गरी राखिएको थियो।
जुन २ मा प्रकाशित समाचारमा एक समाचारसंस्थालाई उद्धृत गर्दै भनिएको छ - "स्वर्गीय राष्ट्रपति जियाउर रहमानको अन्तिम संस्कारको प्रार्थना आज (मङ्गलवार, जुन २) दिउँसो १२:३० बजे मानिक मियाँ एभिन्यूमा हुनेछ। त्यसपछि उनको शवलाई दिउँसो १ बजे नयाँ संसद् भवननजिकै तालको किनारमा गाडिने छ।"
भोलिपल्ट अर्थात् जुन ३ मा 'दैनिक इत्तेफाक' मा प्रकाशित एक समाचारमा भनिएको छ - "पूर्वराष्ट्रपतिको चिहानस्थलको रूपमा शेर-ए-बाङ्ग्ला नगर पार्क छनोट गरिएको छ। यस पार्क नयाँ संसद् भवन र तालको उत्तरमा र गणभवनको पूर्वमा अवस्थित छ।"
अनुसन्धानकर्ता मोहिउद्दीन अहमदले बीबीसी बाङ्ग्लालाई भने - "त्यस समयमा न्यायाधीश सत्तारको अन्तरिम सरकारले धेरै निर्णयहरू गर्यो, जसमा जियाउर रहमानलाई राजकीय सम्मानका साथ गाड्ने पनि थियो। उनीहरूले चिहानस्थलबारे समेत निर्णय गरे।"
एबीएम रुहुल अमिन हवालादार बताउँछन् - "जियाउर रहमानलाई संसद् भवन क्षेत्रमा गाड्ने निर्णयमा सहमति भएको थियो। अन्तिम संस्कारको समयमा तत्कालीन आवामी लीगका धेरै सांसदहरू पनि उपस्थित थिए। दलगत सीमाभन्दा माथि उठेर समाजका सबै वर्गका मानिसहरू अन्तिम संस्कारमा भाग लिए।"
करिब ४४ वर्षपछि जियाउर रहमानकी श्रीमती खालिदा जियालाई त्यही चिहानको छेउमा गाडिएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








