बाङ्ग्लादेशमा भारतले के गुमायो? इन्टरन्याश्नल क्राइसिस ग्रुपको प्रतिवेदनका सार र विज्ञका धारणा

भारतका विदेशमन्त्री एस जयशंकर र बाङ्ग्लादेशका अन्तरिम सरकारको विदेश मन्त्रालयका सल्लाहकार तौहिद हुसेन

तस्बिर स्रोत, @DrSJaishankar

तस्बिरको क्याप्शन, भारतका विदेशमन्त्री एस जयशंकर र बाङ्ग्लादेशको अन्तरिम सरकारका विदेश मन्त्रालयका सल्लाहकार तौहिद हुसेन
    • Author, रजनीश कुमार
    • Role, बीबीसी संवाददाता

प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदीको तेस्रो कार्यकाल गत वर्ष जुनमा सुरु भयो। त्यसको एक महिनापछि जुलाईमा बाङ्ग्लादेशमा मानिसहरू शेख हसिनाविरुद्ध सडकमा उत्रिए।

विरोध प्रदर्शन यति हिंसात्मक भयो कि हसिनालाई आफ्नो ज्यान बचाउन अगस्ट ५ मा देश छाडेर भारत भाग्नुपर्‍यो।

हसिनामाथि बाङ्ग्लादेशमा निरङ्कुश शासन चलाएको आरोप लगाइएको थियो। अर्कातर्फ हसिनाको कार्यकालमा बाङ्ग्लादेशको आर्थिक ट्र्याक रेकर्डमा उल्लेखनीय सुधार भयो।

हसिनाका बुबा मुजिबुर रहमान बाङ्ग्लादेशका संस्थापक थिए र भारतसँग उनको ऐतिहासिक सम्बन्ध थियो।

हसिना र भारतबीचको सम्बन्धले पनि यस्तै निरन्तरता कायम राख्यो।

यद्यपि बाङ्ग्लादेशका विपक्षी दल र हसिनाका विरोधीहरूलाई उनी भारतको समर्थनमा सत्तामा रहेको लागिरह्यो।

गत वर्ष अगस्टमा भारतले हसिनालाई शरण दिँदा बाङ्ग्लादेशमा भारतविरोधी भावना अझ बलियो भयो।

बाङ्ग्लादेशमा हसिनालाई मृत्युदण्डको सजाय सुनाइएको छ र भारतबाट उनलाई सुपुर्दगीको माग भइरहेको छ।

बाङ्ग्लादेशका सञ्चारमाध्यमहरूले भारतले बाङ्ग्लादेशलाई सधैँ हसिना परिवारको लेन्सबाट हेरेको र त्यसबाट कहिल्यै नबाहिरिएको बताउने गरेका छन्।

यस महिनाको डिसेम्बर २३ मा ब्रसेल्सस्थित गैरनाफामुखी अनुसन्धान संस्था 'इन्टरन्याश्नल क्राइसिस ग्रुप' (आईसीजे)ले "आफ्टर द गोल्डन च्याप्टर: रीसेटिङ्ग बाङ्ग्लादेश-इन्डिया रिलेसन्स" शीर्षकको भारत-बाङ्ग्लादेश सम्बन्धबारे ५३ पृष्ठको अनुसन्धान प्रतिवेदन प्रकाशित गर्‍यो।

उक्त प्रतिवेदनमा सत्ताबाट हसिनाको बहिर्गमन भारतका लागि एक महत्त्वपूर्ण धक्का भएको उल्लेख छ।

आईसीजेले भारत-बाङ्ग्लादेश सम्बन्धमा आफ्नो हालैको प्रतिवेदनमा विलियम भ्यान शेन्डेलको पुस्तक "अ हिस्ट्री अफ बाङ्ग्लादेश" को उद्धरण समावेश गरेको छ जसमा दुई देशले एकअर्कालाई कसरी हेर्छन् भन्ने कुरा समेटिएको छ।

दुवै देशका समान भावना

शेख हसिना र नरेन्द्र मोदी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, शेख हसिना सन् २०२४ को अगस्ट ५ देखि भारतमा बस्दै आएकी छिन् (फाइल तस्बिर)

'अ हिस्ट्री अफ बाङ्ग्लादेश' मा विलियम भ्यान सेन्डेल लेख्छन्: "बाङ्ग्लादेशको स्वतन्त्रताको लागि भारतको समर्थनका बाबजुद दुई देशबीचको द्विपक्षीय सम्बन्ध पूर्ण रूपमा शत्रुतापूर्ण नभए तापनि प्रायः तनावपूर्ण छ। दुवै देशले स्वतन्त्र राष्ट्रका रूपमा बाङ्ग्लादेशको उदयमा एकअर्काको भूमिकालाई कमजोर पार्ने बहसलाई बढवा दिएका छन्।"

"भारतमा रहेको एक आम धारणामा बाङ्ग्लादेशले स्वतन्त्रता सङ्ग्राममा नयाँ दिल्लीको योगदानप्रति पर्याप्त कृतज्ञता नदेखाएको भन्ने छ। त्यस्तै बाङ्ग्लादेशमा भारतले केवल आफ्नै रणनीतिक हितको लागि हस्तक्षेप गरेको र प्रायः स्वतन्त्र बाङ्ग्लादेशलाई बेवास्ता गर्ने मनोवृत्तिसहित एउटा स्याटलाइट राज्यजसरी व्यवहार गरेको भन्ने व्यापक विश्वास पाइन्छ।"

सोही प्रतिवेदनले 'इन्डियन फरेन अफेयर्स जर्नल'मा स्मृति एस पटनायकको लेख उद्धृत गरेको छ जसमा उनले लेखेकी छन्: "द्विपक्षीय सम्बन्धको अवस्था निर्धारण गर्ने प्रमुख कारक भनेको ढाकामा अवामी लीग सत्तामा छ कि छैन भन्ने हो। किनकि भारतले लामो समयदेखि उक्त दललाई बाङ्ग्लादेशमा आफ्नो हितसँग जोडेर हेरेको छ। अन्य समयमा नयाँ दिल्ली र ढाकालाई सन्तुलित सम्बन्ध कायम राख्न कठिनाइ भएको छ र बारम्बार पारस्परिक शङ्का, उत्तेजना र आक्रोशमा फसेका छन्।"

ढाकाको एउटा प्रमुख अङ्ग्रेजी भाषाको पत्रिका 'द डेली स्टार'ले डिसेम्बर २२ मा दुई देशबीच बिग्रँदै गएको सम्बन्धको बारेमा सम्पादकीय लेख्यो।

जसमा लेखिएको छ: "कैयौँ वर्षदेखि भारत र बाङ्ग्लादेशबीचको सम्बन्धको जग शेख हसिनाको पार्टी अवामी लीगलाई भारतको अटल समर्थनले बलियो बनाएको कुरा दोहोर्‍याउनु महत्त्वपूर्ण छ। अब यस पार्टी सत्ताबाट हटाइएको छ र यसका निर्वासित नेताले भारतविरुद्ध भड्काउने टिप्पणी गरिरहेका छन्। त्यसले उक्त जग गम्भीर रूपमा हल्लाएको छ।"

"त्यस ठाउँमा अब पारस्परिक आशङ्काले भरिएको शून्यता देखा परेको छ। ढाकाले नयाँ दिल्लीलाई बाङ्ग्लादेशविरुद्ध षड्यन्त्र रच्ने भड्किला व्यक्तिहरूका लागि सुरक्षित आश्रय स्थलको रूपमा हेर्छ। अर्कोतर्फ भारतले छिमेकीलाई बहुसङ्ख्यकवादी अराजकतामा फसिरहेको देख्छ।"

भारतले अल्पसङ्ख्यकहरूको संरक्षणको लागि यस अन्तरिम सरकारको दृष्टिकोणलाई शङ्काको नजरले हेर्छ र ढाकाको आश्वासनलाई अपर्याप्त मान्दछ।

दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयको दक्षिण एसियाली अध्ययन केन्द्रका प्राध्यापक महेन्द्र पी लामा भारतले सुरुमा हसिनालाई बाध्यताका कारण समर्थन गरेको ठान्छन्। जियाउर रहमान र खालिदा जियाले भारतको हितलाई हानि पुर्‍याइरहेकाले त्यसो गरेको उनको विश्वास छ।

'सबै अन्डा एउटै टोकरीमा'?

शेख मुजिबुर रहमान र इन्दिरा गान्धी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, बाङ्ग्लादेशका संस्थापक शेख मुजिबुर रहमान इन्दिरा गान्धीसँग (फाइल फोटो)

प्राध्यापक लामा भन्छन्: "पूर्वी पाकिस्तानका कारण भारतका उत्तरपूर्वी राज्यहरू लगभग काटिएका थिए। बाङ्ग्लादेशको निर्माणले आशा ल्यायो। शेख मुजीबुर रहमान र शेख हसिनाको कार्यकालमा यो आशा जीवित रह्यो। यद्यपि बाङ्ग्लादेशमा जियाउर रहमान र एर्शादको उदयले भारतको हितलाई हानि पुर्‍यायो। भारत शेख हसिना र अवामी लीगलाई बलियो बनाउन बाध्य भयो।"

"तर जब हसिना आफैँ बाङ्ग्लादेशमा अत्यन्तै अलोकप्रिय हुँदै गइरहेकी थिइन् तब भारतले आफ्नो नीति परिवर्तन गर्नुपर्थ्यो। सन् २०२३ को चुनावमा भारतले उनको बचाउ गर्नु हुँदैनथ्यो। विभाजनको डरका बाबजुद पनि भारतले आफ्ना सबै अण्डा अवामी लीगको टोकरीमा राख्यो। हामीले यही कुरा बाङ्ग्लादेशसँग मात्र होइन माल्दिभ्स र नेपालसँग पनि गर्‍यौँ।"

आईसीजीको प्रतिवेदनले भारत-बाङ्ग्लादेश सम्बन्धमा अविश्वासका ऐतिहासिक कारणहरू पनि उल्लेख गरेको छ।

आईसीजीले आफ्नो प्रतिवेदनमा लेखेको छ: "सन् १९७५ को अगस्टमा स्वतन्त्रता आन्दोलनका नेता तथा बाङ्ग्लादेशका प्रथम प्रधानमन्त्री शेख मुजीबुर रहमान, उनका परिवारका अधिकांश सदस्यहरू सहित असन्तुष्ट सैन्य अधिकारीहरूद्वारा हत्या गरिएको थियो। त्यस घटना उक्त देशका लागि एक महत्वपूर्ण मोड बन्यो। ती हत्यापछि बाङ्ग्लादेशमा सैन्य शासनको अवधि सुरु भयो। खासगरी सन् १९७६ देखि १९८१ सम्म जियाउर रहमानको नेतृत्वमा (जसलाई पछि सैन्य सदस्यहरूले हत्या गरे) र त्यसपछि सन् १९८२ देखि १९९० सम्म हुसेन मोहम्मद एर्शादको नेतृत्वमा।"

आईसीजी लेख्छ: "यी सरकारहरूले भारतविरुद्ध सन्तुलित नीतिको एक भागको रूपमा बाङ्ग्लादेशलाई पाकिस्तान, अन्य मुस्लिम बहुल देशहरू, चीन र अमेरिकाको नजिक लैजाने प्रयास गरे। जियाउर रहमान र एर्शाद दुवैले आफ्नो शासनलाई वैध बनाउन र अवामी लिगको प्रतिरोध गर्न राजनीतिक दलहरू बाङ्ग्लादेश न्याश्नालिस्ट पार्टी (बीएनपी) र जातीय पार्टी स्थापना गरे। उनीहरूले शेख मुजीबुर रहमानको सरकारको धर्मनिरपेक्ष नीतिहरूलाई पनि पछि धकेले जसमा जमात-ए-इस्लामीलाई राजनीतिमा फर्कन अनुमति दिइएको थियो र राजनीतिक लाभका लागि भारतविरोधी भावनालाई बढावा दिइएको थियो।"

शहबाज सरीफ र मोहम्मद युनस

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, शेख हसिनालाई सत्ताबाट हटाइएपछि बाङ्ग्लादेश र पाकिस्तानबीचको ऐतिहासिक दूरी साँघुरिँदै गएको छ

आईसीजीको प्रतिवेदनले सिङ्गापुरको 'एस राजरत्नम स्कूल अफ इन्टरन्याश्नल स्टडीज'का लागि भूमित्र चकमाको अनुसन्धानलाई उद्धृत गरेको छ। चकमा लेख्छन्: "सन् १९७५ पछि सैन्य शासनले कैयौँ अवामी लीगका नेताहरूको हत्या वा कैद गर्‍यो जसले गर्दा पार्टी राजनीतिक रूपमा सीमान्तकृत हुन पुग्यो। शेख मुजीबुर रहमानकी छोरी हसिना सन् १९७५ को अगस्टमा देशबाहिर आफ्नो परिवारको हत्या हुँदा त्यसबाट बचिन्।"

"भारतमा रहेकी उनी स्वेच्छिक निर्वासनबाट सन् १९८१ मा नफर्किएसम्म त्यहीँबाट पार्टीको नेतृत्व गरिन्। नयाँ दिल्लीको समर्थनले अवामी लीग र भारत सरकारबीचको घनिष्ठ सम्बन्धलाई बलियो बनायो। उक्त सम्बन्ध हसिना र इन्डिअन न्याश्नल कङ्ग्रेसका नेताहरूबीचको व्यक्तिगत सम्बन्धमा आधारित थियो जसले स्वतन्त्रतापछि भारतीय राजनीतिमा प्रभुत्व जमाएको थियो।"

आपसी सम्बन्धमा दुवै देशको अविश्वास

आईसीजीले लेखेको छ: "ढाकामा १५ वर्षको सैन्य शासनकालमा भारत र बाङ्ग्लादेशले एकअर्कालाई खासगरी सुरक्षा दृष्टिकोणबाट हेरे। दुवै देशले एकअर्काको क्षेत्रमा सक्रिय विद्रोही समूहहरूलाई गोप्य सहयोग गरे। नयाँ दिल्लीले बाङ्ग्लादेशको चट्गाउँ पहाडी क्षेत्रमा शान्ति वाहिनीलाई समर्थन गर्‍यो।"

"त्यस्तै ढाकाले भने भारतको उत्तरपूर्वी क्षेत्रमा सक्रिय विद्रोहीहरूलाई हतियार आपूर्ति गर्न मद्दत गर्‍यो र बाङ्ग्लादेशी भूमिमा शिविरहरू स्थापना गर्न अनुमति दियो। सन् १९८० को दशकमा बाङ्ग्लादेशबाट हुने अवैध आप्रवासन भारतमा राजनीतिक मुद्दा बन्यो। त्यसको जबाफमा नयाँ दिल्लीले सीमामा बार लगाउन थाल्यो र सीमा सुरक्षा कडा बनायो।"

मोहम्मद युनुस बाङ्ग्लादेश जमात-ए-इस्लामी प्रमुख शफिकुर रहमानसँग (फाइल फोटो)

तस्बिर स्रोत, @ChiefAdviserGoB

तस्बिरको क्याप्शन, मोहम्मद युनुस बाङ्ग्लादेश जमात-ए-इस्लामी प्रमुख शफिकुर रहमानसँग (फाइल फोटो)

सन् १९९०-१९९१ मा बाङ्ग्लादेशमा लोकतन्त्रमा पुनर्बहाली भएपछि सुरुमा भारतमा द्विपक्षीय सम्बन्धमा सुधार हुन सक्ने आशा जगाइयो। यद्यपि ढाकाको नयाँ सत्ता बीएनपीको नेतृत्वमा थियो जुन समूहलाई नयाँ दिल्लीले सधैँ आशङ्काबाट हेरेको थियो।

सन् १९९२ मा प्रधानमन्त्री खालिदा जियाको भारत भ्रमण र दुई देशबीचको नयाँ व्यापार सम्झौताजस्ता प्रारम्भिक सकारात्मक सङ्केतहरूका बाबजुद सम्बन्ध सुधारको आशा चाँडै नै धूमिल भयो।

जमात-ए-इस्लामी समर्थित बीएनपी सरकारप्रति नयाँ दिल्लीको लामो समयदेखिको अविश्वास बिस्तारै शत्रुतामा परिणत भयो। भारतीय अधिकारीहरूले ढाकालाई विद्रोहीहरूलाई निरन्तर समर्थन गरिरहेको आरोप लगाए र पानी बाँडफाँड तथा सीमाङ्कन जस्ता प्रमुख द्विपक्षीय मुद्दाहरूमा थोरै मात्र प्रगति भए।

भारतको आन्तरिक राजनीतिले पनि दुई देशबीचको सम्बन्धलाई असर गर्‍यो। हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा)को उदय र सन् १९९२ को डिसेम्बरमा भीडद्वारा बाबरी मस्जिद भत्काइएपछि बाङ्ग्लादेशमा भारतविरोधी भावना बढ्यो।

"हिन्दुत्व"बाट प्रेरित भाजपाको विचारधाराले हिन्दू संस्कृतिलाई भारतीय पहिचानको केन्द्रमा राख्छ। खासगरी मुस्लिमहरू सहित अन्य धार्मिक समुदायले यसलाई भेदभावपूर्ण मान्छन्। बाबरी मस्जिद भत्काइएपछि बाङ्ग्लादेशका हिन्दू समुदायहरूमाथि आक्रमण गरियो भने भारतमा हिन्दू-मुस्लिम साम्प्रदायिक हिंसा पनि भड्कियो।

प्राध्यापक लामा यदि भारतको घरेलु राजनीतिमा मुस्लिमहरूविरुद्ध घृणाको राजनीति भएमा यसले बाङ्ग्लादेशलाई पनि असर गर्ने र आफूहरूले त्यहाँ उदार लोकतन्त्रको आशा गर्न नसक्ने बताउँछन्।

विगत १६ महिनादेखि बाङ्ग्लादेश-भारत द्विपक्षीय सम्बन्धमा तनाव कायम छ।

विगत ११ दिनमा यो तनाव गम्भीर सङ्कटमा परिणत भएको छ। दुवै देशले एकअर्काका कूटनीतिज्ञहरूलाई बोलाएर निरन्तर प्रतिवाद गरिरहेका छन्।

सुरक्षाको कारण देखाउँदै ढाकाले दिल्लीसहित कम्तीमा चार स्थानहरूमा भारतको भिसा सेवाहरू निलम्बन गरेको छ। भारतले पनि ढाकासहित चार स्थानहरूमा भिसा सेवाहरू अस्थायी रूपमा निलम्बन गरेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।