कोलकाता घटनाको विरोधमा भारतभरि डाक्टरहरूको हड्ताल

तस्बिर स्रोत, Reuters
- Author, क्याथरीन आर्मस्ट्रङ
- Role, बीबीसी न्यूज
भारतीय राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा एकजना महिला चिकित्सकको बलात्कार र हत्या भएपछि डाक्टरहरूले भारतभरि हड्ताल गरेका छन्।
भारतीय डक्टरहरूको सबैभन्दा ठूलो सङ्गठन इन्डियन मेडिकल असोसिएसन 'आईएमए'ले अत्यावश्यक बाहेकका सबै सेवा शनिवार बन्द रहने जनाएको छ।
आईएमएले गत शुक्रवार भएको घटनालाई “महिलाका लागि सुरक्षित ठाउँको अभावमा भएको बर्बर अपराध” भनेको छ। उक्त सङ्गठनले “न्यायको लडाइँमा” साथ दिन देशवासीहरूलाई आह्वान पनि गरेको छ।
महिला चिकित्सकमाथि बलात्कार र हत्या भएको अस्पतालमा गत बुधवार एउटा भीडले तोडफोड गरेपछि महिलाहरूका लागि बलियो सुरक्षाको माग गर्दै पछिल्ला दिनहरूमा भारतभरि प्रदर्शनहरू चर्किएका छन्।
एक वक्तव्यमा आईएमएले २४ घण्टाका लागि आह्वान गरिएको हड्तालमा पनि अत्यावश्यक र दुर्घटनासम्बन्धी उपचार भने जारी रहने जनाएको छ।
कतिपय सरकारी अस्पतालका चिकित्सकहरूले यसअघिबाटै अति जरुरी बाहेकका शल्यक्रिया नगर्ने बताएका थिए।
आईएमएले स्वास्थ्यकर्मीहरूमाथि हुने हिंसाबाट सुरक्षाका लागि कानुनी सुधार, अस्पतालहरूमा सुरक्षा व्यवस्थामा सुदृढीकरण र आरामका लागि सुरक्षित ठाउँ बनाइनुपर्ने लगायतका मागको सूची सार्वजनिक गरेको छ।
उक्त हत्याको सूक्ष्म र व्यावसायिक अनुसन्धान गर्न पनि उक्त सङ्गठनले माग गरेको छ। साथै अस्पतालमा भएको तोडफोडमा संलग्नहरूमाथि कारबाही र महिलाको परिवारलाई क्षतिपूर्ति दिन पनि माग गरिएको छ।
भारतलाई स्तब्ध बनाउने घटना

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
एक जना ३१ वर्षीय प्रशिक्षार्थी चिकित्सकमाथि गत शुक्रवार भएको बलात्कारको घटनाले भारत स्तब्ध भएको छ।
आफ्नो सिफ्ट सकेर आराम गर्न गएकी ती महिला चिकित्सकको शव आरजी कर मेडिकल कलेजको सेमिनार हलमा अर्धनग्न र चोटपटक लागेको अवस्थामा फेला परेको थियो।
उक्त घटनामा संलग्न भएको आशङ्कामा अस्पतालमा स्वयंसेवकको काम गर्न आएका एक जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानले गति नलिएको गुनासो व्यापक भएपछि उक्त हत्याको अनुसन्धान गर्ने जिम्मा स्थानीय प्रहरीबाट भारतको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई दिइएको छ।
ती महिला चिकित्सकको मृत्युपछि पनि भारतमा थप बलात्कारका घटना भइरहेको समाचार प्रकाशित भएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले “महिलामाथि रक्षसी व्यवहार गर्नेलाई छिटो भन्दा छिटो कडा सजाय हुनुपर्ने” बताएका छन्।
राजनीतिक मुद्दा

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
महिला चिकित्सकको बलात्कार र हत्याको घटना पश्चिम बङ्गाल राज्यमा राजनीतिक आरोप प्रत्यारोपको विषय बनेको छ।
राज्यको प्रतिपक्षी भारतीय जनता पार्टीले राज्य सरकारको नेतृत्व गरिरहेको त्रिणमूल कंग्रेसलाई आक्रमणमा जिम्मेवार रहेको आरोप लगाएको छ।
त्रिणमूल कंग्रेसले आरोपको खण्डन गर्दै “राजनीतिक बाहिरिया”हरूले राज्यमा हिंसा भड्काएको आरोप लगाएको छ।
रिक्लेम अफ द नाइट मार्च

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
महिलाहरूलाई “स्वतन्त्र र त्रास रहित बाँच्न पाउने अधिकार”को माग गर्दै दशौँ हजार महिलाहरूले बुधवार राति कोलकातामा 'रिक्लेम द नाइट' जुलुस निकालेका थिए।
सन् १९७० को दशकमा यौन हिंसाको विरुद्ध र लैङ्गिक समानताको पक्षमा लण्डनमा आयोजना गरिएको अभियानलाई 'रिक्लेम द नाइट' नाम दिइएको थियो।
महिलाहरूले आयोजना गरेको प्रदर्शन शान्तिपूर्ण रहेको भए पनि अपरिचित एउटा समूहले महिला चिकित्सकको बलात्कार र हत्या भएको आरजी कर अस्पतालमा तोडफोड गरेको थियो।
उक्त तोडफोडमा संलग्न भएको आरोपमा हालसम्म कम्तीमा २५ जना पक्राउ परिसकेका छन्।
भारतका दिल्ली, हैदराबाद, मुम्बई र पूणे सहितका अन्य सहरहरूमा पनि विरोध प्रदर्शन भएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








